Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषनेपालको जाति, भाषा र संस्कृति

नेपालको जाति, भाषा र संस्कृति


काठमाडौँ । बाहुन, क्षेत्री खस आर्य–१८ : हिन्दूधर्म र संस्कृतिका संवाहक बाहुन अर्थात ब्राह्मण वर्ण र क्षेत्री (क्षत्रीय) वर्गका चाडपर्व हिन्दूधर्म संहितामा वर्णित विधिहरुअनुसारकै मनाइने गरिन्छ भनी प्रमुख चाडपर्वहरुबारे पनि उल्लेख गरिसकिएको छ । ती बाहुन क्षेत्रीहरुले मनाउँदै आएका चाडपर्वहरुलाई हिन्दू परम्पराअनुसार अन्य जनजाहिरुले समेत नेपालमा मनाउने गरेका छन् ।

अन्य जनजाति समेत हिन्दूधर्म संस्कृतिमा आबद्ध भइसकेका हुनाले नेपालभरिका मानिसहरुका मुख्य चाडपर्व एउटै भए पनि विभिन्न जनजातिहरुका मौलिक चाडपर्वहरु विभिन्न जनजातिहरुले आफ्नै तरिकाले मनाउँदै आइरहेका छन् । नेपालका हिन्दूहरुका मात्र चाडपर्व भनी नवरात्र मध्य दशमीका दिन ठूला बडाबाट आशीर्वाद लिइँदै अक्षता अबिर र दहीले मुछिएको टीका ग्रहण गर्नु नेपाली हिन्दू बाहुन (ब्राह्मण) क्षेत्री (क्षेत्रीय) लगायत सम्पूर्ण खस आर्य वर्ग मात्र होइन अन्य जनजाति, आदिवासीहरुको समेत प्रमुख र मुख्य चाडका रुपमा मनाइने गरिन्छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड मानिएको यस दशमी वा विजयादशमीलाई दशैं भनेर पनि सम्बोधन गर्ने गरिन्छ ।

यीमध्ये नेपालका ब्राह्मण वर्गमा प्रचलित धार्मिक कृत्यमध्ये स्वस्थानी व्रतकथा पनि एक हो । माघ महिनाको प्रथम पूर्णिमाका दिन मनाएर फागुन महिनाको पूर्णिमा समापन गरिने यस धार्मिक महिनामा व्रत समेत बस्ने गरिन्छ । यसमा एक महिनाभरि कथावाचन गर्ने गरिन्छ । कथावाचनका अन्त्यमा साँखु काठमाडौं, बागमतीको शालीनदीमा स्नान गर्नुको आफ्नै महत्व छ ।

नेपालबाहेकका अन्य हिन्दूजनको उपस्थित स्थानहरुमा स्वस्थानी कथा वाचन गरेको र स्वस्थानीको व्रत व्रतालु महिलाहरुले लिएको भनेर सुनिने गरिँदैन । यस स्वस्थानी कथामा वर्णित स्थानहरु पनि नेपालका विभिन्न स्थानहरुकै वर्णन रहेकाले यस कथा वा धार्मिक कृत्यको उत्पत्ति नेपाली खसआर्य ब्राह्मणहरुद्वारा नेपालमा भएको हो भनेर बुझ्न सकिन्छ ।

यसैगरी खस आर्य वर्गद्वारा त्यसमा पनि बाहुन (ब्राह्मण) वर्गद्वारा विशेष महत्व दिई मनाइने चाडमा जनैपूर्णिमा पनि एक हो । यस दिन हातमा पुरोहितद्वारा डोरा बाँध्ने, जनै फेर्नेजस्ता कार्य गरिन्छ । यस्तै माघ १ गते मनाइने माघे संक्रान्ति, कात्तिक महिनाको हरिबोधनी एकादशी जस्ता पर्वलाई क्षेत्री र ब्राह्मण वर्गले विशेष श्रद्धासाथ पूजाआजा गरी मनाउने गर्दछन् ।

यसैगरी श्रावण महिनालाई शिव शंकर भगवानको महिना भनी कतिपय बाहुन क्षेत्री वर्गले माछामासु नखाई साथै श्रावण महिनाको सोमवार व्रत समेत बसी मनाउने गर्दछन् । यसैगरी भाद्र शुक्लपक्ष तृतीयाका दिन नेपाली खस आर्य महिला वर्गद्वारा मनाइने एवं व्रत बसी पूजा आराधना र नाचगान गरी मनाइने हरितालिका तिज पर्वको पनि महिला तथा पुरुष वर्गमा समेत महत्व रहेको पाइन्छ ।

महिलाले व्रत बसी श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै यो पर्वलाई मनाइन्छ भने शिवशंकरझैँ दिव्य सुन्दर मनमोहक श्रीमान् प्राप्त होस् भनेर मनाइने गरिन्छ । तिजको दुई दिनपश्चात् अर्थात् पञ्चमीका दिनमा महिलाहरुद्वारा ऋषि पञ्चमी मनाउने गरिन्छ । यो पर्व पनि महिलाहरुद्वारा मनाइने पर्व हुनाले खस आर्य बाहुन क्षेत्री महिलाहरुद्वारा ऋषि पञ्चमी मनाएर पूजा आराधना गरी मनाइने गरिन्छ ।

यस्तै शुक्लपक्षको कुशे औँसी र यसै दिन मनाइने बाबु अर्थात् बुबाको मुख हेर्न दिन त्यस्तै वैशाख महिनाको ……औँसीका दिन मनाइने मातातीर्थ औँसीका पनि आफ्नो महत्व रहँदै आएकोमा हिजोआज विदेशी संस्कृतिको प्रभावका कारण फादर्स डे र मदर्स डे झँै विशेष तामझामका साथ मनाउने प्रचलन समेत आएको देख्न सकिन्छ । यसबाहेकका अन्य मुख्य चाडपर्वहरु दशैँ, तिहार, होली, कृष्णजयन्ती, रामनवमी, गणेश चतुर्थी, शिवरात्रि, वैशाख १ गते नयाँ वर्ष, ऋषि पञ्चमी आदि धुमधामले मनाउने गरिन्छ ।

त्यस्तै गरी बाहुन वर्गद्वारा पूजा अर्चना गरी व्रतादि बसेर वर्षभर नै पञ्चाङ्गअनुसारका विशेष दिनहरु वर्षभरिकै हरेक महिनाको कुनै न कुनै दिनमा पाउन सकिन्छ भने ती विशेष दिनहरुलाई सबैले मान्नु अनिवार्य नभए पनि धार्मिक प्रवृत्तिका विधिविधानलाई पालना गर्ने ब्राह्मण वर्गले भने विशेष दिनको महत्वअनुसारको कृत्य पालना गर्ने गर्दछन् ।

नेपाली ब्राह्मण वर्गमा वैष्णव सम्प्रदाय : नेपालमा वैष्णव सम्प्रदायलाई वैष्णव धर्मावलम्बी भनेर समेत भन्ने गरिन्छ । हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायमा सबै हिन्दू वर्गबाट वा जातबाट आई लसुन, प्याज समेत नखाई चन्दनको टीका लगाई वैष्णव बन्न सक्छन् । हिन्दू देवीदेवताहरुभित्रका विशेष देवता भगवान् विष्णुलाई केन्द्रमा राखी खडा भएको हिन्दूधर्मभित्रको सम्प्रदाय नै वैष्णव सम्प्रदाय हो ।

नेपालमा वैष्णव धर्मको इतिहास धेरै पुरानै रहेको हामी पाउँछौं । नोलको प्रमाणिक पुरानो अभिलेख अर्थात् चाँगुनारायणको अभिलेखमा वैष्णव धर्मको प्राचीनतालाई प्रमाणित गरेको छ । राजा मानदेव स्वयं विष्णुभक्त रहेको कुरा इतिहासमा उल्लेख छ । राजा मानदेव स्वयं विष्णुभक्त रहेका र उनकी आमा समेत विष्णुभक्त रहेको कुरा ऐतिहासिक रुपबाट सिद्ध हुन जान्छ । बूढानीलकण्ठमा भेटिएको सुप्रसिद्ध विष्णु भगवानको शयन मुद्राको मूर्तिले समेत नेपालमा शैवधर्मका साथ साथै राजा प्रजा सबै विष्णुभक्त रहेका थिए भन्ने बुझिनमा आउँछ ।

प्राचीन नेपालमा वैष्णव धर्म राजधर्म रहेको थियो । त्यसै बखतमा धेरै मात्रामा विष्णु मूर्तिहरु कुँदिएर यत्रतत्र शंखचक्र आदि पुरातात्विक वस्तुहरु भेटिएका छन् । लिच्छविकाल वा प्राचीन कालका वैष्णव मूर्ति तथा वैष्णव मन्दिरहरु काठमाडौंमा मात्रै चार दिशामा चार नारायण छन् । अर्थात् विष्णु भगवान् चारै दिशामा विराजमान रहून् भनी इचंगुनारायण, विशंखुनारायण चाँगुनारायण, शेषनारायणका मन्दिरहरु प्रसिद्ध छन् भने पाटनको कृष्ण मन्दिर, गरुड नारायण विष्णु यस्तै पश्चिम नेपालको कर्णाली क्षेत्रका विष्णुका मूर्तिहरु विष्णु भगवान्मा समर्पित मुक्तिनाथ क्षेत्र आदि वैष्णव सम्प्रदायका बाहुन क्षेत्रीहरुका ऐतिहासिकदेखि वर्तमानसम्मका प्रमुख तीर्थस्थलहरुलाई वैष्णव सम्प्रदायले पवित्र तीर्थस्थलका रुपमा मान्ने गरेका छन् ।

भगवान विष्णुलाई नारायण पनि भन्ने गरिन्छ । ब्राह्मणहरुको हिन्दू संहिता तथा ब्राह्मण साहित्यमा विष्णु भगवान्को महिलालाई धेरैभन्दा धेरै रुपमा प्रष्ट्याइएको पाइन्छ । विष्णु हिन्दूहरुका प्रमुख देवता हुनाले नै विष्णुका दश अवतार बारे वर्णन पाइन्छन् । विष्णु भगवानलाई नारायणका रुपमा सामञ्जस्य कायम गरिएको ब्राह्मण संहितामा तैत्तिरीय आरण्यक प्रमुख हो ।

ऋग्वेदिक युग अथवा सोभन्दा अघिको समयदेखि नै विष्णु हिन्दूहरुका प्रमुख देवता रहँदै आएकाले नै प्राचीन आर्यजनले क्षीर सागरमा विष्णु निवास गर्छन् भन्ने मान्यता राखेका थिए । सोही अवधारणाले जाडो र गर्मीयाममा सूर्य नारायण दक्षिणायन र उत्तरायण हुन्छन् अर्थात् साउने संक्रान्तिदेखि माघे संक्रान्तिसम्म दक्षिणायन भनेर भनिएको हो भने वर्षको बाँकी काल सूर्य नारायण उत्तरायण लाग्छन् भनेर भनिएको हो । वैष्णव सम्प्रदायमा कृष्ण प्रणामी सम्प्रदाय समेत पर्ने गर्दछन् ।

श्री कृष्ण विष्णुका दश अवतारमध्ये पर्ने हुनाले सो भएको हो । विष्णु भगवान्लाई मान्ने वैष्णव सम्प्रदायले ई.पू. छैठौं र पाँचौँ शताब्दिपश्चात् श्रीकृष्णमार्गीहरुका कारण वैष्णव धर्मले भक्तिमार्ग लिन गयो । वैष्णवहरु हिन्दूधर्ममा वर्जित वस्तुहरु मांस, माछा, मदिरादेखि लसुन, प्याज समेत ग्रहण गर्दैनन् र धार्मिक कृत्य र विष्णु पूजन अनुष्ठानमा सदा समर्पित भइरहने गर्दछन् । चारित्रिक शुद्धता र मन चित्तमा भगवान नारायणप्रतिको भक्तिभावमा यी सदा रमाउने गर्दछन् ।

बाहुन क्षेत्रीलगायत हिन्दूजन वैष्णवझैँ शैवधर्म मान्ने वा भगवान् शिवशंकर भोलेनाथलाई प्रमुख देवता मानी आफूहरुलाई शैवमार्गी बताउने सम्प्रदाय पनि छन् । भगवान् शिवको महिमा अत्यन्त प्राचीनकालदेखि रहेको हामी पाउँछौँ । सिन्धघाँटीको सभ्यता उत्खनन गरिएको स्थानमा पशुपतिनाथ अर्थात् पशुहरुकाबीच शिवजीको चित्र, अंकित पाषाण मूर्ति पाइएकाले भगवान शिव शंकर तथा शिव लिङ्ग पूजनको परम्परा अति नै प्राचीन रहेको प्रमाणित हुन्छ ।

कसै कसैले भगवान् शिवजीलाई अनार्यहरुका देवता त कसैले किराँतीहरुका देवता भनेर समेत भनेका छन् भने वैदिक आर्यहरुले ऋग्वैदिक कालमा शिवलाई रुद्रका रुपमा पुज्ने गरेको उल्लेख पाइन्छ । मानसरोवर झिलनजिकको कैलाश पर्वतलाई शिवजीको बासस्थान मानिन्छ ।


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया