Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाखाना पकाउने ग्यासको संभावित दुर्घटनाबाट बच्न तपाईँले अपनाउनै पर्ने सावधानी

खाना पकाउने ग्यासको संभावित दुर्घटनाबाट बच्न तपाईँले अपनाउनै पर्ने सावधानी


काठमाडौं,खाना पकाउनका लागि विशेषगरी सहर तथा बजार क्षेत्रका धेरै नेपालीले प्रयोग गर्ने एलपी ग्यास लीक भएर वा सिलिन्डर पड्केर दुर्घटनाहरू निम्तिएपछि त्यसको सुरक्षित प्रयोगबारे चर्चा हुने गरेको छ।

यसै साता बुधवार राति काठमाण्डूको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास लीक हुँदा गम्भीर घाइते भएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएपछि फेरि एक पटक ग्यासको सुरक्षित प्रयोगबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ।

त्यस घटनामा घाइते भएका सांसद भण्डारीको नेपालमा सम्भव नभएपछि मुम्बईमा लगेर अहिले उपचार जारी छ।

यस्ता घटनापछि नेपालमा बिक्री भइरहेका ग्यास, रेगुलेटर र पाइपको सुरक्षाबारे पनि प्रश्न उठ्ने गरेको छ।

बुधवारको घटनापछि विभिन्न सञ्चारमाध्यमहरूले सरकारी निकायहरूलाई उदृत गर्दै विगत तीन वर्षमा तीन दर्जनभन्दा बढी ग्यास लीक तथा सिलिन्डर विस्फोटनका घटना भएको विवरण सार्वजनिक गरेका छन्।

त्यस क्रममा १० जनाको निधन भएको र ४० जनाभन्दा बढी घाइते भएको विवरण पनि आएका छन्।

यस्ता घटना न्यूनीकरणका लागि ग्यासको सुरक्षित प्रयोग तथा सिलिन्डर, रेगुलेटर, भल्भ तथा पाइपको गुणस्तरबारे उद्योग, वितरक, उपभोक्ता र नियामक निकाय सबै सचेत हुनुपर्ने आवश्यकता धेरैले औँल्याएका छन्।

यसै सन्दर्भमा बीबीसीले सरकारी अधिकारीहरू तथा ग्यास व्यवसायी एवम् जानकारसँग ग्यासको सुरक्षित प्रयोग एवम् सिलिन्डरलागयतका कुराको गुणस्तरबारे कुराकानी गरेको छ।

उनीहरूले दिएको सुझावका आधारमा एलपी ग्यासबाट हुनसक्ने दुर्घटनाबाट बच्न गर्नुपर्ने प्रमुख उपायहरू:

१. किन्ने बेलामै ध्यान दिनुपर्ने कुरा

ग्यास

तस्बिर स्रोत,GETTY IMAGES

जानकारहरूका भनाइमा उपभोक्ताले ग्यास सिलिन्डर किन्दा केही कुरामा ध्यान पुर्‍याएमा दुर्घटना निम्तिनसक्ने सम्भावना कम हुन्छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका महासचिव कृष्णभक्त श्रेष्ठ भन्छन्, “उपभोक्ताले ग्यास किन्दा केही सावधानी अपनाइदिनु भयो भने धेरै दुर्घटना टर्न सक्छन्।”

“उपभोक्ताले आफ्नो घरमा डेलिभरी गरिएको ग्यास सिलिन्डरको सील कस्तो छ भनेर चेक गर्नुपर्छ। किन्ने बेलामा पनि मिति गुज्रिएको सिलिन्डर छ कि भनेर हेर्नुपर्छ।”

त्यस्तै सिलिन्डर कुच्चिएको छ कि भनेर पनि हेर्नुपर्ने सुझाव उनको छ।

नेपालमा बिक्री भइरहेका सिलिन्डरको माथिल्लो समाउने भागमा भित्रपट्टि मिति लेखिएको हुन्छ।

अङ्ग्रेजी मिति अनुसार महिना र वर्ष उल्लेख गरिएको त्यस्तो मिति हेरर मात्र ग्यास किन्नुपर्ने विज्ञहरूको सुझाव छ।

त्यस्तो मिति लेख्दा महिनालाई अङ्ग्रेजी अक्षरहरू ए, बी, सी र डीले बुझाइन्छ।

ए भनेको ज्यानुअरी, फेब्रुअरी, मार्च हो भने बी भनेको एप्रिल, मे र जुन, सी भनेको जुलाई, अगस्ट र सेप्टेम्बर अनि डी भनेको अक्टोबर, नोभेम्बर र डिसेम्बर हो।

उदाहरणका लागि कुनै सिलिन्डरमा ए (२३) लेखिएको छ भने त्यसको अन्तिम म्याद आगामी मार्चसम्म मात्र हुन्छ अर्थात् सन् २०२३ को मार्चसम्म मात्र हुन्छ।

यसरी किन्ने बेलामा अपनाउनु पर्ने सावधानीसँगै त्यसलाई घरसम्म पुर्‍याउँदा पनि सावधान हुनपर्ने सुझाव दिन्छन् नेपाल आयल निगमको एलपी तथा एभिएशन विभागका निर्देशक नेत्रप्रसाद काफ्ले।

“ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा पनि गुडाउने चलन छ। त्यस्तो गर्नु हुँदैन, त्यसरी गुडाउनु भनेको सिलिन्डरलाई कमजोर पार्नु हो। ग्यास विस्फोट हुने खतरा बढाउनु हो,” उनले भने।

त्यस्तै ग्यास सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिह्न हेरेर मात्र किन्न सुझाव दिन्छिन् गुणस्तर तथा नापतौल विभागकी प्रवक्ता ज्योति जोशी भट्ट।

उनका अनुसार नेपाल सरकारले रेगुलेटरका लागि ‘एनएस-५३०’, सिलिन्डरका लागि ‘एनएस-३६९’ र सिलिन्डरमा ग्यास भर्ने उद्योगहरूको पूर्वाधार अर्थात् बोटलिङ अपरेशनका लागि ‘एनएस-५३३’ चिह्न जारी गर्ने गरेको छ।

त्यस्ता चिह्न भएका वस्तु किन्दा सुरक्षित हुने सम्भावना अधिक हुने उनी बताउँछिन्।

“सुरक्षाको प्रत्याभूति र मापदण्ड पूरा नगरिकन हामीले गुणस्तर चिह्न दिएका हुदैनौँ। त्यस्ता कुराको नियमित अनुगमन पनि हुने गर्छ,” उनले भनिन्।

सगरमाथा आधार शिविर नजिकैको गाउँमा याकमार्फत ग्यासको ढुवानी गरिँदै

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,सगरमाथा आधार शिविर नजिकैको गाउँमा याकमार्फत् ग्यासको ढुवानी गरिँदै

२. ग्यास जोड्दा ध्यान दिनुपर्ने कुरा

उपभोक्ताले घरमा ग्यास पुर्‍याइसकेपछि पनि कतिपय कुरामा ध्यान दिनुपर्ने जानकारहरू बताउँछन्।

आयल निगमका काफ्लेका अनुसार नेपालमा बिक्री हुने एलपी ग्यासमा “त्यो लीक भएको छ कि छैन” भन्ने थाहा होस् भनेर एकखाले गन्ध मिसाइएको छ।

“लीक भइहाले थाहा होस् भनेर त्यस्तो गन्ध मिसाइएको हो,” उनले भने, “त्यसैले ग्यास ल्याएपछि जोड्ने बेलामा त्यस्तो गन्ध पो आएको छ कि भनेर जाँच गर्नुपर्छ।”

श्रेष्ठ पनि उपभोक्तालाई ग्यास जोड्नुअघि गन्ध आएको छ कि भनेर जाँच गर्न सुझाव दिन्छन्।

सकेसम्म भाल्भ लीक भएको छ छैन भनेर साबुन पानी लगाएर जाँच्न पनि सकिने जानकारहरूको भनाइ छ।

सील चेक गर्नुपर्‍यो। त्यसपछि जोड्नुभन्दा अघि गन्ध आउँछ कि आउँदैन भन्ने सुघ्नुपर्‍यो।

ग्यास जोड्ने क्रममा रेगुलेटरलाई राम्ररी मिलाएर जोड्ने, सुरक्षित खालको पाइप मात्र प्रयोग गर्नेलगायतका कार्य गर्नुपर्ने उनीहरूको सुझाव छ।

३. प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

उपभोक्ताले ग्यास प्रयोग गर्दा सावधानी नअपनाएका कारणले गर्दा धेरै दुर्घटना हुने गरेको कतिपयको भनाइ छ।

काफ्ले भन्छन्, “विगत दुई/चार वर्षका घटना हेर्दा ग्यास लीकका कारण दुर्घटना भएका घटना धेरै छन्। सिलिन्डर विस्फोट भएका कम छन्। त्यसैले उपभोक्तामा प्रयोग गर्दाको सचेतना कम भएर त्यस्तो भएको भन्न सकिन्छ।”

ग्यास प्रयोग गर्दा ऊनी, सिल्क वा त्यस्तैखाले आगोले चाँडै टिप्ने लुगा लगाउनु नहुने सुझाव उनको छ।

त्यस्तै पहिले रेगुलेटर बन्द गरेर मात्र चुह्लो बन्द गर्नुपर्ने, झ्यालढोका खुला राखेर ग्यास बाल्नुपर्ने, ग्यास चुह्लोको बर्नर सफा राख्नुपर्ने, कम्तीमा हरेक दुई/दुई वर्षमा रेगुलेटर र पाइप फेर्नुपर्ने सुझाव उनको छ।

“कुनै बेलामा दुर्घटना हुने सङ्केत हामीले पाइरहेका हुन्छौँ तर त्यसलाई ध्यान दिँदैनौँ,” उनी भन्छन्।

ग्यास सिलिन्डर सकेसम्म खुला स्थानमा राख्नुपर्ने, दुई वा त्यसभन्दा बढी सिलिन्डर एकै स्थानमा राख्नु नहुने, रातो रङमा ग्यास बल्न थाले त्यसलाई बन्द गरेर जाँच गर्नुपर्ने, ग्यासको गन्ध आएमा बल्ने कुरा बाल्ने वा बिजुलीको स्वीच अन गर्नु नहुनेलागतयका सावधानी अपनाउनु उपयुक्त हुने सुझाव जानकारहरूको छ।

ग्यास सिलिन्डर

नेपालमा कति छन् सिलिन्डर?

नेपाल आयल निगमका अनुसार नेपालमा हाल मासिक ४५ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ।

काफ्लेले भने, “अहिले नेपालमा हामीले प्रमाणित गरेका सिलिन्डरको सङ्ख्या एक करोड ११ लाख रहेको छ भने ५९ वटा उद्योगहरू दर्ता छन्।”

ती उद्योगमध्ये हालसम्म ५० वटाले मात्र नेपाल गुणस्तर चिह्न लिएको ज्योति जोशी भट्टले जानकारी दिइन्।

कतिपयले नेपालमा ग्यास सिलिन्डर, रेगुलेटर, पाइपलगायतको अनुगमन नहुँदा दुर्घटनाहरू भइरहेको आरोप लगाइरहेका छन्।

त्यसबारे प्रश्न गर्दा उनले भनिन्, “हामीले नियमित अनुगमन गरिहरेका छौँ र विभिन्न सञ्चारमाध्यमबाट उपभोक्ताले अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी गराइरहेका छौँ।” (बीबीसी)


क्याटेगोरी : प्रविधि / शिक्षा, बिशेष

तपाईको प्रतिक्रिया