Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषविदेशमा नेपालीको जनसङ्ख्या २२ लाख देखाएको जनगणनाको नतिजामा किन धेरैको आशङ्का?

विदेशमा नेपालीको जनसङ्ख्या २२ लाख देखाएको जनगणनाको नतिजामा किन धेरैको आशङ्का?


काठमाडौं,गत एक दशकमा विदेशमा रहेका नेपालीको सङ्ख्या झन्डै साढे दुई लाखले मात्र बढेको र उनीहरूको सङ्ख्या २२ लाख मात्र देखिनुलाई जानकार तथा विज्ञहरूले सन्देहपूर्वक हेरिरहँदा अधिकारीहरूले भने विवरणमा ‘केही त्रुटि भएकै भए पनि त्यो नै यथार्थनजिक’ भएको प्रतिक्रिया दिएका छन्।

विज्ञहरूले नेपाल सरकारकै र अन्य स्रोतबाट विगतमा प्रस्तुत गरिएका विवरणसँग मेल नखाने गरी जनसङ्ख्या प्रतिवेदनमा विदेशमा रहेका नेपालीहरूको विवरण देखिएको भन्दै गणकहरूको बुझाइमा नै समेत समस्या देखिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयका एकजना अधिकारीले समेत आफूहरूले तथ्याङ्क सङ्कलनमा अपनाएको शैलीको ‘केही सीमितता भएको’ स्वीकारेका छन्।

“परिवार नै पूरै विदेशमा बस्ने नेपालीहरूलाई जनगणनाको समयमा हामीले सम्पर्क गर्न सकेनौँ,” कार्यालयका उपप्रमुख हेमराज रेग्मीले भने।
“नेपालको क्षेत्रभित्र मात्र गरिएको जनगणना भएकाले परिवारको कम्तीमा एकजना सदस्य नेपालमा रहेकाको हकमा मात्र त्यस्तो विवरण लिएका हौँ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताले वास्तविकतामा ‘२०-३० प्रतिशत त्रुटि’ भएको हुनसक्ने ठान्छन्।

प्रवक्ता डन्डुराज घिमिरे भन्छन्, “भारतमा धेरै मौसमी रोजगारीमा जान्छन्, कोरोनाकालमा धेरैजना स्वदेश फर्किएको समय थियो। निश्चित समयपछि फर्कनेहरू समेत उत्तिकै रहेको जनगणनाले देखाएको छ।”

कस्तो विवरण

राष्ट्रिय तथ्याङ्क कार्यालयका अधिकारीहरू २२ लाख मानिसहरू भनेको भविष्यमा स्थायी रूपमा ‘नेपाल फर्किएर आउने’ जनसङ्ख्या भएको बताउँछन्।

हेमराज रेग्मीको भनाइ छ, “नेपाल नै छाडेर विदेश गएका नेपालीको विवरण यस जनगणनाले दिन सकेको छैन।”कार्यालयको वेबसाइटमा परिवारबाट अनुपस्थित भएर विदेशमा बसेका र भविष्यमा परिवारमा पुनः फर्की आउने सुनिश्चित भएका व्यक्तिहरूको सङ्ख्या परिवारमा अनुपस्थित (विदेश गएका) अन्तर्गत लिइएको जनाइएको छ। जसमा श्रमिकदेखि विद्यार्थीहरूसम्म समेटिएका हुन्छन्।

श्रम स्वीकृति जस्ता अन्य सरकारी विवरणमा थप लाखौँ मानिसहरू वैदेशिक रोजगारीमा गएको हुनसक्ने देखिएको छ।

तर श्रम स्वीकृतिको हकमा भने देशबाहिर जानेहरूको अवस्था देखिए तापनि त्यसले फर्किनेको विवरण सजिलै थाहा नहुने अवस्था रहेको अधिकारीहरू बताउँछन्।

तथ्याङ्क कार्यालयका रेग्मी भन्छन्, “जसले गर्दा परिवार नै बाहिर हुनेको हकमा केही छुटेकै भए पनि जनगणनाअघि सोचिएजस्तो त्यति धेरै नै पो छैन कि भन्ने समेत लागेको छ।”

जनगणना २०७८ ले झन्डै साढे १५ लाख घरबाट झन्डै २२ लाखको सङ्ख्यामा नेपालीहरू परिवारमा अनुपस्थित अर्थात् विदेशमा रहेको देखाएको थियो।जनगणनाले नेपालमा घरधुरीको सङ्ख्या साढे ६६ लाखभन्दा केही बढी देखाएको छ।

किन आशङ्का?

कतिपय विज्ञहरूले ४०-५० लाख विदेशमा रहेको भनेर विगतमा भनिए तापनि जनगणनाजस्तो विस्तृत विवरण अर्को हुन नसक्ने हुँदा त्यसलाई विश्वास गर्नुको विकल्प निकै कम हुने बताउँछन्।

“नेपालमा प्रत्येक घरधुरीमा गएर लिइने तथ्याङ्क भनेको जनगणना मात्र हो अर्को छैन,” वैदेशिक श्रमविज्ञ गणेश गुरुङ भन्छन्।तर उनले यसलाई आलोचनात्मक रूपबाट समेत हेर्न आवश्यक भएको बताउँछन्।

“भारतले विभिन्न समयमा दिने औपचारिक वक्तव्य र विवरणमा दशौँ लाख नेपालीहरू आफूकहाँ भएको बताउने गरेको छ, त्यसको विवरण जनगणनामा कसरी लिइयो भन्ने कुरा अहम् छ,” गुरुङ भन्छन्।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको एक प्रतिवेदनले पछिल्लो दशक (सन् २०१०-२०) मा मात्र नेपालबाट ४० लाखभन्दा धेरै श्रम स्वीकृति जारी भएको जनाएको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन आइओएमको एक प्रतिवेदनमा भारतमा मात्र एउटा कुनै समयमा ३० देखि ४० लाखबिचको सङ्ख्यामा नेपालीहरू काम गरिरहेको हुने अनुमान गरेको देखिन्छ।

गुरुङ भन्छन्, “त्यसैले २२ लाख मात्र नहुनुपर्ने भन्ने मसहित धेरैलाई लागेको छ। गणकहरूको बुझाइ र त्यही अनुसार उनीहरूले सोधेका प्रश्नबाट समस्या उत्पन्न भयो कि भन्ने एउटा अवस्था रहन सक्छ।”

आप्रवासन, वैदेशिक रोजगारीको विषय नेपालका लागि अन्तर्राष्ट्रिय मुद्दा भएकाले त्यसमा वास्तविक तथ्याङ्क नहुँदा देशले कतिपय अवसर र लाभ गुमाउन सक्ने अवस्था रहने उनी ठान्छन्।

“त्यसैले भारतमा गएर काम गर्नेहरूको यकिन विवरण थाहा हुने प्रणाली बनाउनुपर्छ। विदेशबाट फर्केकाहरूको विवरण समेत जाँदा जसरी नै लिनुपर्छ।”

विप्रेषणका आधारमा जाँच्न सकिँदैन?
सन् २०२१ मा नेपालले ८ दशमलव २ अर्ब डलर (१० खर्ब ८६ अर्ब रुपियाँ) विप्रेषणको रूपमा भित्र्याएको थियो र त्यो सन् २०२२ मा बढेर ८ दशमलव ५ अर्ब डलर अर्थात् सवा ११ खर्ब रुपियाँ भन्दा बढी पुग्ने विश्व ब्याङ्कको प्रक्षेपण गरेको थियो।

तर पछिल्लो दशकमा नेपालमा विप्रेषण पठाउने शैलीमा व्यापक फेरबदल आएको भन्दै त्यसका आधारमा विदेशमा रहेकाहरूको विवरणलाई जाँच्न कठिन हुने नेपाल राष्ट्र ब्याङ्कका एक पूर्वअधिकारी बताउँछन्।

“भारतबाट आउने विप्रेषणको ठूलो हिस्सा अनौपचारिक ढङ्गले आउँछ। दश वर्षअघिको अवस्थामा विदेशबाट धेरैजसो पैसा हुन्डीमार्फत आउँथ्यो भने अब त्यो ब्याङ्किङ प्रणालीमा गएको छ,” पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धर भन्छन्।

“त्यसैले विप्रेषणको तथ्याङ्क र विदेशमा बस्ने नेपालीको तथ्याङ्कलाई स्पष्टसँग जोडेर हेर्न सकिँदैन।”उनले जनगणनाले विगतमा गरिएका ‘अनुमानलाई एउटा स्पष्ट आकार दिने’ भएकाले त्यसलाई विश्वास गर्नुको विकल्प नहुने बताउँछन्।

“तर गणना कसरी गरिएको छ भन्ने कुराको समीक्षा नभइकन बाँकी प्रतिक्रिया दिनु ठीक हुँदैन।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता घिमिरेले यसपटक धेरैमा उत्पन्न भएको सन्देहका कारण अब स्वदेश फर्कनेको विवरण राख्ने काम समेत उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश आफूहरूले पाएको बताए।(बीबीसी)


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया