Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाचन्द्रयान-३ को रोभरले चन्द्रमामा चाल्यो ‘पहिलो पाइला’

चन्द्रयान-३ को रोभरले चन्द्रमामा चाल्यो ‘पहिलो पाइला’


काठमाडौं,भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्‍याएको रोभरले चन्द्रमा सतहमा पहिलो यात्रा सुरु गरेको छ।इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर अवतरण गराएको एक दिनपछि ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो।

चन्द्रयान-३ ले लगेको ‘विक्रम’ नामक ल्यान्डरबाट रोभर बिहीवार बाहिर ओर्लिएर चन्द्रमामा हिँडेको हो। इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो)ले “भारत चन्द्रमामा हिँडेको” बताएको छ।

विक्रम ल्यान्डर योजनाअनुरूप नै बुधवार साँझ चन्द्र सतहमा सकुशल अवतरण भएको थियो।यससँगै अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीनपछि भारत चन्द्रमामा सकुशल अवतरण गर्ने देश बनेको छ।

प्रज्ञान नामक रोभरको तौल २६ किलोग्राम छ। संस्कृत शब्द प्रज्ञानको अर्थ विवेक वा बुद्धि भन्ने हुन्छ। उक्त रोभरलाई विक्रम ल्यान्डरभित्र राखेर लगिएको थियो।

यसरी चन्द्र सतहमा ओर्लियो प्रज्ञान
बुधवार साँझ अवतरणका क्रममा उडेको धुलो कम भएपछि विक्रमको एकापट्टि भएको ढोका खुलेको थियो।उक्त ढोकाबाट प्रज्ञानलाई चन्द्रमाको सतहमा ओराल्न बनाइएको भर्‍याङ बाहिर निस्किएको थियो र त्यसबाट प्रज्ञान चन्द्र सतहमा ओर्लिएको थियो।
त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर उक्त रोभरले महत्त्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ।

प्रज्ञानमा जडान गरिएका दुईवटा वैज्ञानिक उपकरणहरूले चन्द्र सतहमा उपलब्ध खनिजहरूका प्रकारहरू पत्ता लगाउनुका साथै त्यहाँ रहेको माटोको रासायनिक संरचनाबारे अध्ययन गर्ने छ।

प्रज्ञानको सूचना आदानप्रदान ल्यान्डरसँग मात्रै हुन्छ। ल्यान्डरले चन्द्रयान-२ ले यसअघिनै छोडेको अर्बिटरमा सूचना पठाउँछ।अझै पनि चन्द्रमालाई परिक्रमा गरिरहेको चन्द्रयान-२ ले उक्त सूचना विश्लेषणका लागि पृथ्वीमा पठाउँछ।

भारतको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार उक्त रोभर एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ। आफ्नो प्रत्येक चालमा रोभरले आफ्ना छवटा चक्कामा जडान गरिएको इसरोको लोगो र प्रतीक चिह्न माटोमा बनाउने छ।

चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लूनर डे’ को आरम्भकै दिन भारतले प्रक्षेपण गरेको रोभरयुक्त ल्यान्डर चन्द्रमामा अवतरण गरेको थियो।

ब्याट्री सकिएपछि के होला
चन्द्रमामा एक दिन बराबर पृथ्वीमा २८ दिन हुन्छ। त्यसको अर्थ ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुनका लागि १४ दिन निरन्तर सूर्यको प्रकाश पुग्छ।

तर रात पर्दा ब्याट्रीमा चार्ज नहुने भएकाले तिनले काम गर्न छोड्छन्।चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम गर्छ वा गर्दैन स्पष्ट छैन।
उक्त ल्यान्डरले अन्य कैयौँ वैज्ञानिक उपकरणहरू पनि लिएर गएको छ। ती उपकरणले चन्द्रमाको सतहमा, त्यसभन्दा मुनीको भागमा र सतहमाथि के हुन्छ भन्ने पत्ता लगायत सहयोग गर्छन्।

चन्द्रमामा महत्त्वपूर्ण खनिजहरू भएको विश्वास गरिन्छ। तर चन्द्रयान-३ को प्रमुख उद्देश्य पानीको खोजी गर्नु हो।वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला खाडलहरूमा सधैँ छाया पर्ने भएका कारण त्यहाँ बरफ जमेको हुनसक्ने र त्यसले भविष्यमा त्यहाँ जाने मानिसलाई सहयोग पुग्ने बताउने गरेका छन्।

मङ्गल वा टाढाका अन्य ग्रहहरूमा अन्तरिक्षयान पठाउनका लागि प्रपेलन्ट अर्थात् इन्धन आपूर्तिका लागि पनि यो स्थान काममा आउन सक्ने उनीहरूको ठम्याइ छ।

बुधवार चन्द्रमाको सतहमा अवतरण हुनुअघि ल्यान्डरले असुरक्षित गतिमा उचाइ कम गर्दै गएपछि केही बेर चिन्ताजनक स्थिति बनेको थियो। तर ल्यान्डरको गति प्रतिसेकेन्ड १.६८ किलोमिटरबाट घटाएर करिब शून्य बनाउँदै सुरक्षित अवतरणका लागि तयार गरिएको थियो।
कुनै पनि देश नपुगेको ठाउँ
उक्त ऐतिहासिक क्षणपछि भारतभरि उत्सव मनाइयो।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले “भारत अब चन्द्रमामा पनि” भन्दै थपे, “अरू कुनै पनि देश नपुगेको ठाउँमा हामी पुग्यौँ।”

रुसको लूना- २५ अन्तरिक्षयान चन्द्रमाको सतहमा अवतरणका क्रममा नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त भएको केही दिनमै भारतको अभियान चन्द्रमामा सफल अवतरण भएको हो।

रुसको अन्तरिक्षयानमा भएको दुर्घटनाले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको अप्ठ्यारो सतह चर्चामा आएको थियो। त्यहाँको सतह समथर नरहेको र ठूला खाडलहरू तथा चट्टानले भरिएको बताइएको छ।
चन्द्रमामा अरू देशको पनि रुचि
सन् २०१९ मा भारतको दोस्रो चन्द्र अभियान पनि त्यहाँ नियन्त्रित अवतरण गर्ने क्रममा असफल भएको थियो। उक्त अभियानमा पठाइएका ल्यान्डर र रोभर क्षतिग्रस्त भएका थिए। यद्यपि चन्द्रयान-२ मा पठाइएको अर्बिटर जोगिएको थियो।

त्यसले आजसम्म पनि चन्द्रमाको परिक्रमा जारी राखेको छ र अहिले विक्रम ल्यान्डरलाई तस्बिर र तथ्याङ्कहरू विश्लेषणका लागि पृथ्वीमा पठाउन सहयोग गरिरहेको छ।

चन्द्रमाको अन्वेषणमा आँखा लगाइरहेको भारत एउटा मात्रै देश चाहिँ होइन। अहिले विश्वव्यापी रूपमै त्यसबारे चासो बढ्दो छ। निकट भविष्यमा चन्द्र सतहका लागि अरू पनि कैयौँ अभियानहरू अघि बढिरहेका छन्।

वैज्ञानिकहरूले अन्तरिक्षको गहिराइसम्म पुग्ने प्रमुख बिन्दुको रूपमा व्याख्या गरिने चन्द्रमाबारे अझै कैयौँ कुराहरू बुझ्न बाँकी रहेको बताउने गरेका छन्।(बीबीसी)


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया