Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाग्रहहरूको उत्पत्ति र पृथ्वीमा जीवन सुरुवातको रहस्य खोल्ने नमुनाको अन्तिम प्रतीक्षामा नासा

ग्रहहरूको उत्पत्ति र पृथ्वीमा जीवन सुरुवातको रहस्य खोल्ने नमुनाको अन्तिम प्रतीक्षामा नासा


काठमाडौं,सौर्य मण्डलको सबैभन्दा खतरनाक चट्टानको रूपमा वर्णन गरिएको एउटा क्षुद्र ग्रहको अध्ययन गरिरहेको सात वर्षे अन्तरिक्ष मिशनले उसको नाटकीय निष्कर्ष निकाल्न लागेको छ।

ओसाइरिस-रेक्स अन्तरिक्ष यानले क्षुद्रग्रह बेनुको सतहबाट लिएको “माटो”का नमुनाहरू पृथ्वीमा ल्याउँदैछ।

उक्त धुलोलाई नासाको प्रोबले आइतवार खसाल्ने छ र त्यसबाट पृथ्वीको विगतबारे महत्त्वपूर्ण जानकारी प्राप्त हुने ठानिएको छ।

पृथ्वीमा खसाउने क्रममा आगोबाट नजलोस् भनेर उक्त धुलोलाई क्याप्सुलभित्र सुरक्षित रूपमा राखिएको छ।
त्यसलाई अमेरिकी राज्य यूटामा खसालिनेछ।

वैज्ञानिकहरूले उक्त नमुनाको रासायनिक अध्ययनले ४ अर्ब ५० करोड वर्ष पहिले ग्रहहरूको उत्पत्ति बारेमा नयाँ जानकारी प्रकट गर्ने र सम्भवतः पृथ्वीमा जीवन कसरी सुरु भयो भन्नेबारे अन्तर्दृष्टि दिने अपेक्षा गरेका छन्।
कहाँ खसालिन्छ?
उक्त प्रोबले छाडेको क्याप्सुलले अमेरिकी रक्षा मन्त्रालयको स्वामित्वमा रहेको मरुभूमिमा स्थानीय समय अनुसार बिहानको ८ बजेर ५५ मिनेटमा भूमि छुने अपेक्षा गरिएको छ।

ओसाइरस-रेक्स परियोजनामा संलग्न सबैका लागि विशेषगरी उक्त क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अन्तिम १३ मिनेट चिन्ताजनक हुने निश्चित छ।

कारको टायर आकारको उक्त कन्टेनर सुरुमा १२ किलोमिटर प्रति सेकेन्डभन्दा बढी गतिमा खस्नेछ र त्यसको तापक्रम ३,००० डिग्री सेल्सिअसभन्दा बढी पुग्नेछ।

तर ‘थर्मल शिल्ड’ र प्यारासुटको संयोजनले त्यसलाई मरुभूमिको सुरक्षित स्थानमा ल्याउनु पर्ने हुन्छ।

उक्त मिशनका प्रमुख अन्वेषक दाँते लौरेडोले बीबीसीलाई भने, “हामीले आकस्मिक परिस्थितिहरूको लागि तयारी गर्न अत्यधिक समय खर्च गरेका छौँ, सबै गलत हुन सक्छ र सबै खाले डरलाग्दा चिजहरू जुन हामीले सामना गर्न सक्छौँ।”

“तर सबैभन्दा राम्रो कुरा के हो भने हामीले अभ्यास, अभ्यास र अभ्यास गरेका छौँ र त्यसैले हामी तयार छौँ।”
यान कहिले उडेको थियो?
ओसाइरिस-रेक्स अन्तरिक्षयानले बेनुको खोजी गर्न सन् २०१६ मा पृथ्वी छोडेको थियो।

उक्त क्षुद्रग्रह अर्को शताब्दीको अन्त्यमा हाम्रो ग्रहमा ठोकिन सक्ने एकदमै न्यून सम्भावना छ।

उक्त प्रोबले ५०० मिटर फराकिलो चट्टानमा पुग्न दुई वर्ष लगाएको थियो र थप दुई वर्ष त्यसलाई अवलोकन गर्दै रह्यो। त्यसपछि मात्र उक्त क्षुद्र ग्रहको सतहको सामग्रीको नमुना प्राप्त गर्ने अभ्यास गरेको थियो।

उक्त यानले सङ्कलन गरेका नमुनाहरू करिब २५० ग्रामका छन् र तीनलाई सुरक्षित रूपमा जमिनमा ल्याउनु पर्नेछ।

‘रिकभरी’ टोलीहरू विश्वस्त छन् तर कुनै पनि कुरालाई अस्वीकार गर्न सकिँदैन भन्ने पनि उनीहरूलाई थाहा छ।

वैज्ञानिकलाई लागेको डर
यस घटनामा हालसम्म वैज्ञानिकहरूलाई लागेको डर भनेको जेनेसिसको जस्तै घटना नहोस् भन्ने हो।

जेनेसिस क्याप्सुलले सन् २००४ मा मा सौर्य वायुका नमुनाहरू पृथ्वीमा ल्याउँदै थियो।

त्यसको प्यारासुट खुलेन र ३०० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा त्यो जमिनमा बज्रियो।

त्यसले गर्दा त्यसमा राखिएका नमुनाहरू वायुमण्डलमै पोखिए।

“हामी जेनेसिसमा भएको त्रुटि बुझेका छौँ। त्यसमा केही गुरुत्वाकर्षण स्विचहरू उल्टो गरी स्थापना गरिएका थिए,” उक्त क्याप्सुल निर्माता कम्पनी लकहिड मार्टिनका रिचर्ड विदरस्पूनले भने।

“यो क्याप्सुलमा गुरुत्वाकर्षण स्विचहरूको धेरै पटक दोहोर्‍याएर जाँचहरू गरिएका छन्। ती स्विचहरू सही स्थानमा राखिएका छन् भनेर सुनिश्चित गर्न त्यस्ता जाँचहरू भएका हुन्। त्यसैले हामीलाई वास्तवमा यो सफलतापूर्वक आउँछ र राम्रोसँग सञ्चालन हुन्छ भन्नेबारे कुनै चिन्ता छैन।”

तर पनि केही भइहाल्ला भनेर आपत्कालीन टोलीलाई तयारी अवस्थामा राखिएको छ।

यूटा परीक्षण क्षेत्रका मौसमविद्हरूले हालैका दिनहरूमा अन्तिम अवतरणका बेलाको मौसमी स्थितिको भविष्यवाणी गर्न मद्दत पुगोस् भनेर नवीनतम जानकारी प्राप्त गर्न केही दिनदेखि मौसमको जानकारी दिने बलुनहरू उडाएका छन्।

क्याप्सुलले यसको मुख्य सुटमा झुन्डिँदै पाँच मिनेट बिताउनेछ तर हल्का हावाको पूर्वानुमानका साथ त्यसलाई त्यसबाट टाढा धकेल्ने सम्भावना देखिएको छैन।
समस्या
सबैभन्दा ठूलो समस्या भनेको यो वर्ष मरुभूमिले अनुभव गरेको वर्षा हो। वर्षाका कारण त्यहाँ साना पानी जमेका स्थान र हिलो छ।

“यसले सवारी साधनहरू र ग्राउन्ड भेहिकललाई कुदाउन गाह्रो बनाउँछ,” अमेरिकी सेनाको डगवे आधारका प्रमुख मौसमविद् डन रुथले भने।

“ती साधनहरू हिलोमा गड्न सक्छन्। तर सकारात्मक रूपमा यसले धुलोलाई थिचेर तल राख्छ त्यसले उपकरणका लागि राम्रो गर्छ।”

रिकभरी टोलीले हेलिकप्टरमा उक्त क्षेत्रमा उडेर क्याप्सुललाई जालमा हाल्ने र हेलिकप्टरको मुनि झुन्ड्याएर अस्थायी ‘क्लिनरूम’मा लैजाने योजना बनाएका छन्।

नमुनाको परीक्षण

सफलतापूर्वक उक्त क्याप्सुलको अवतरण भएको अवस्थामा त्यसले ल्याएका नमुनाहरूलाई सुरक्षित रूपमा नासाको टेक्ससस्थित जोन्सन स्पेस सेन्टर विस्तृत विश्लेषणका लागि पुर्‍याइनेछ।

त्यस्ता नमुनालाई पृथ्वीका कुनै पनि पदार्थबाट दूषित हुनबाट जोगाइने गरी योजना बनाइएको छ।

“बेनुलाई हामी कार्बनसियस एस्टेरोइड भन्छौँ,” ओसिरिस-रेक्स मिसनका डेपुटी क्युरेटर क्रिस्टोफर स्नीडले भने।
“हामीलाई लाग्छ यस्तो प्रकारका चट्टानहरू ग्रहहरू निर्माणका लागि कुनै घर बनाउँदाका इँटाजस्ता हुन् र तिनले हामीलाई सौर्य मण्डलको सुरुमा पुर्‍याउँछन्।”

उनले नमुनाको अध्ययनबाट ग्रहहरूको उत्पत्ति र पृथ्वीमा जीवन सुरु गर्ने यौगिकको बारे पत्ता लाग्न सक्ने बताए।

उक्त क्याप्सुललाई छाडेपछि नासाको प्रोबलाई एपोफिस भनिने अर्को क्षुद्र ग्रहमा उडान गर्न आदेश दिइनेछ। त्यो उक्त क्षुद्रग्रहमा सन् २०२९ मा पुग्ने अपेक्षा गरिएको छ।
(बीबीसी)


क्याटेगोरी : प्रविधि / शिक्षा


तपाईको प्रतिक्रिया