Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाविद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयमा

विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयमा


पाल्पा (रामपुर) । रामपुर नगरपालिकाले विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विशेष गरेर दलित, विपन्न, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सघाउ पु-याउने ध्येयले नगरपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

स्नातक तथा स्नातकोत्तर तहमा रामपुरमै अध्ययन गर्न चाहने विपन्न, दलित, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क भर्ना गर्न नगरपालिकाले व्यवस्था मिलाएकोछ । रामपुरमै स्नातक तथा स्नातकोत्तर तहसम्मको शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा हौसला बढाउन नगरले शैक्षिक शुल्क सहयोगको कार्यक्रम ल्याएको नगरप्रमुख रमणबहादुर थापाले राससलाई बताए ।

“दलित, विपन्न, सीमान्तृत, अपाङ्गता भएका विद्यार्थीलाई माथिल्लो तह (स्नातक र स्नातकोत्तर तह) को शिक्षा लिन आर्थिक समस्याले बीचमै छाड्ने बाध्यता नपरोस् भन्नका लागि शैक्षिक क्षेत्रमा सहयोग कार्यक्रम ल्याएका छौँ”, उनले भने।

रामपुरमा स्नातक र स्नातकोत्तर तहसम्म पढाइ हुने सहिद बहुमुखी क्याम्पस र दर्छा क्याम्पस गरी दुई क्याम्पस सञ्चालित छन् । यहाँ अध्ययन गर्ने दलित, विपन्न, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई भर्ना शुल्कदेखि लिएर विभिन्न शुल्कमा मिनाहा गर्ने कार्य गरिएको छ ।

सम्बन्धित क्याम्पसले शैक्षिक सहयोगका लागि रामपुर नगरपालिकामा पेश गर्ने र नगरपालिकाले शैक्षिक सत्रको अन्तिममा सिफारिस आएका क्याम्पसलाई एकमुष्ट रकम उपलब्ध गराउने गरेको नगरप्रमुख थापाले जानकारी दिए । हालसम्म नगरपालिकाले रामपुरमै स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन गर्ने जम्मा २५ विद्यार्थीलाई रकम उपलब्ध गराएको छ । स्नातक तहमा २२ र स्नातकोत्तर तहमा तीन जनालाई नगरपालिकाबाट शैक्षिक शुल्क सहयोग गरिएको हो । हालसम्म जम्मा रु एक लाख ७२ हजार चार सय रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले प्राविधिक शिक्षा तथा चिकित्सा क्षेत्रमा अध्ययन गर्न चाहेमा निवेदनको आधारमा कूल शैक्षिक शुल्कको २५ प्रतिशत रकम नगरपालिकाले लगानी गर्ने भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई मध्यनजर गर्दै स्थानीय तहमा सञ्चालन भइरहेका कृषिबाली, पशु प्राबिधिक, इञ्जिनीयरिङ शिक्षामा छात्रवृत्तिको व्यवस्था छ । यसको लागि नगरले करिब रु. १५ लाख बजेटको व्यवस्थापन गरेको छ ।

एसइई परीक्षामा रामपुरबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी नेपालभित्र जुनसुकै स्थानमा गएर अध्ययन गर्न चाहन्छन् उनीहरुलाई कूल शैक्षिक शुल्कको २५ प्रतिशत रकम नगरपालिकाले तिरिदिने घोषणा गरेको छ । प्राविधिक धार अध्ययन गर्ने, जेहेन्दार, गरिब, अनाथ, अपाङगता भएका तथा सिमान्तकृत विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रममा प्राथमिकता दिइनेछ ।

विसं २०७६ साउनदेखि पछि जन्म भएका÷हुने सबै छोरीलाई नगरभित्रको सामुदायिक विद्यालय तथा क्याम्पसमा स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने, ‘हाम्रा जनप्रतिनिधि, हाम्रा शिक्षक हाम्रा बाबुनानीको संरक्षक’ कार्यक्रममार्फत छात्रवृत्ति वितरण, विद्यालयमा वडाध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम, नगरपालिकालाई समग्र शैक्षिक विकासको माध्यमबाट शैक्षिक केन्द्रको रुपमा विकास गर्न विस्तृत गुरुयोजना निर्माण गरी समग्र शैक्षिक क्षेत्र सुधारको नीति लिइने यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरभित्र बोलिने विभिन्न मातृभाषा र संस्कृत भाषालाई आवश्यकताअनुसार ऐच्छिक विषयको रुपमा शिक्षणको कार्य अगाडि बढाउने, सबै शिक्षकलाई सूचना प्रविधिको प्रयोग गरी शिक्षण गर्न सक्ने बनाउन आवश्यक सूचना प्रविधि साक्षरता कार्यक्रमको व्यवस्था, बालिकासँग मेयर कार्यक्रममार्फत ‘एक विद्यार्थी एक गमला’ कार्यक्रम गरी हराभरा रामपुर बनाउने नगरको नीति तथा कार्यक्रममा समावेश छ ।

कक्षा ५ सम्म नमूना सङ्गीत शिक्षा गाउँदै नाच्दै पढ्दै कार्यक्रम लागू गर्ने, प्राविधिक धार सञ्चालित विद्यालयलाई विद्यार्थी सङ्ख्याको आधारमा अनुदानको व्यवस्था, क्याम्पस तथा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई स्कुल एम्बुलेन्सको व्यवस्था गरिने, सबै सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण सुरु गरिने, रामपुर नगरपालिकामा बाल पुस्तक सहितको व्यवस्थित नमूना सार्वजनिक पुस्तकालयको विकास, हरित विद्यालय बनाउन र कृषिप्रति सकारात्मक धारणा विकास गर्न विद्यालयम फूलबारी तथा करेशाबारी निर्माणमा बालक्लवमार्फत विद्यार्थीलाई सक्रिय बनाइने कार्यक्रम यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।

रामपुर नगरभित्र सङ्घीय सरकारको दुई नमूना विद्यालय, प्रदेश सरकार र स्थानीय सरकारको एक÷एक वटा नमूना विद्यालय छन् । यहाँ रहेका विद्यालय शैक्षिक पर्यटकीय गन्तव्यका रुपमा पहिचान दिन सफल भएका छन् । प्राविधिक धारतर्फका विभिन्न विषय रामपुरमा नै पठनपाठनको व्यवस्था भएपछि माध्यामिक शिक्षा परीक्षा (एसइई ) उत्तिर्ण पश्चात् अन्यत्र सहर बजारमा धाउने पिरलो हटेको छ ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका, प्रविधि / शिक्षा


तपाईको प्रतिक्रिया