दोलखाका सातवटा क्याम्पसमा स्ववियु निर्वाचन नहुने
दोलखा । दोलखाका नौमध्ये सातवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । तर जिल्लाका सातवटा क्याम्पसमा भने तोकिएको मितिमा निर्वाचन नहुने भएको हो ।
निर्वाचनको लागि प्रक्रिया अगाडि बढाइसकेका चारवटा क्याम्पसहरूले विवादका कारण निर्वाचन स्थगित गरेका छन् भने तीनवटा क्याम्पसले निर्वाचनसम्बन्धी प्रक्रिया नै अगाडि बढाएका छैनन् । तामाकोशी गाउँपालिकामा रहेको गोल्मेश्वर क्याम्पस, बैतेश्वरको हनुमन्तेश्वर क्याम्पस, मेलुङको मेलुङ क्याम्पस र शैलुङको शैलुङ क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको हो । उम्मेदवारी दर्तामा विवाद देखिएपछि निर्वाचन स्थगित गरिएको क्याम्पसहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हनुमतेश्वर क्याम्पसमा शनिवार नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र माओवादीनिकट अखिल क्रान्तिकारीले मनोनयन दर्तामा निर्वाचन समितिले त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनसम्बन्धी कार्यतालिकाबाहिर गएर मनोनयन दर्ता गर्न नदिएको तथा समयतालिका परिवर्तन गरेको भन्दै तालाबन्दी गरेको थियो । क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले निर्वाचन स्थगित भएको सूचना जारी गरेको हो ।
नेविसंघ र अखिल क्रान्तिकारीले निर्वाचन अधिकृतको कार्यालयले नियमविपरीत गएर निर्वाचन गराउन खोजेको आरोप लगाएका छन् । उनीहरूले निर्वाचन स्थगित गर्न माग गरेको र सोहीअनुसार क्याम्पस प्रशासन, विद्यार्थी संगठन र निर्वाचन अधिकृतको संयुक्त छलफलबाट निर्वाचनसम्बन्धी सबै गतिविधि अर्को सूचना नआउँदासम्मको लागि स्थगित गरिएको हनुमतेश्वर क्याम्पसका स्ववियु निर्वाचन अधिकृत यज्ञराज खतिवडाले जानकारी दिए । मनोनयन दर्ताको समयअवधिभित्र क्याम्पस पुगेर पनि मनोनयन दर्ता गर्न नपाएको विद्यार्थी संगठनको गुनासो छ । यता क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको कार्यालयले भने बिहान ७ बजेदेखि ९ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको र सो समयभित्र विद्यार्थीहरू उम्मेदवारी दर्ता गर्न आईनपुगेकोले मनोनयन दर्ता रोकिएको जनाएको छ । हनुमतेश्वर क्याम्पसका प्रमुख कमल दाहालले सबैको सहमतिमा पछि निर्वाचन गरिने बताए ।
यस्तै मेलुङ क्याम्पसमा भने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघको अवरोधका कारण निर्वाचन स्थगित भएको हो । शैलुङ र गोल्मेश्वर क्याम्पसमा पनि विद्यार्थी संगठनका बीच विवाद बढेपछि स्ववियु निर्वाचन स्थगित गरिएको हो । यस्तै भीमेश्वर नगरपालिकामा रहेको गौरिशंकर बहुमुखी क्याम्पस, चरीकोट क्याम्पस र जिरी नगरपालिकामा रहेको जिरी क्याम्पसले भने स्ववियु निर्वाचनको कुनै पनि तालिका सार्वजनिक गरेका छैनन् ।
स्ववियु निर्वाचन हुने दुईवटा क्याम्पसमा भने सत्ता गठबन्धन दल र एमाले निकट विद्यार्थी संगठनले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दर्ता गरेका छन् । बैतेश्वरको त्रिपुरा क्याम्पस र कालिञ्चोकको प्रताप स्मृति क्याम्पसमा सत्ता गठबन्धनमा रहेका विद्यार्थी संगठन नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु एकीकृत समाजवादीले संयुक्त रूपमा मनोनयन दर्ता गरेका छन् भने एमालेनिकट अनेरास्ववियुले भने छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, प्रविधि / शिक्षा
ट्याग : #Page 8
ताजा अपडेट
- राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल
- कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
- हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया