Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाइटलीमा च्याटजीपीटीमाथि प्रतिबन्ध, तत्काल अनुसन्धान गरिने

इटलीमा च्याटजीपीटीमाथि प्रतिबन्ध, तत्काल अनुसन्धान गरिने


काठमाडौं,इटली आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने पहिलो पश्चिमी मुलुक बनेको छ।

इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको छ।ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ।

इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ।

छोटो समयमै लाखौँ प्रयोगकर्ता
गत नोभेम्बरमा सुरु भएको च्याटजीपीटीको अहिले लाखौँ मानिसहरूले प्रयोग गरिरहेका छन्।यसले मानिसकै जस्तो भाषा प्रयोग गरेर प्रश्नहरूको जवाफ दिन सक्छ।

च्याटजीपीटीले अन्य लेखन शैलीको पनि नक्कल पनि गर्न सक्छ।उसले इन्टरनेट प्रयोग गरेर सन् २०२१ सम्ममा डाटाबेसमा रहेका कुराका आधारमा त्यस्तो जवाफ दिने गर्छ।

माइक्रोसफ्टले च्याटजीपीटीमा अर्बौँ डलर खर्च गरेको छ र त्यसलाई गत महिनादेखि उसको सर्च इन्जिन बिङ्गमा पनि समावेश गरिएको छ।

माइक्रोसफ्टले वर्ड, एक्सेल, पावरप्वाइन्ट र आउटलुकलगायतका अफिस एपहरूमा पनि उक्त प्रविधिको एउटा संस्करण समावेश गर्ने जनाएको छ।

जोखिमको चिन्ता
अहिले विश्वभरि नै एआईका सम्भावित जोखिमबारे चिन्ता व्यक्त भइरहेका छन्।त्यस्ता चिन्ताहरूमा एआईले रोजगारीमा पार्ने खतरा र पूर्वाग्रह तथा झूटा खबरहरू फैलाउने खतरालगायत छन्।

यसै साताको सुरुमा इलोन मस्कलगायत प्राविधिक क्षेत्रका प्रमुख व्यक्तिहरूले त्यस्ता प्रकारका एआई प्रणालीहरूलाई निलम्बन गर्न आह्वान गरे।

यस्ता खाले प्रणाली विकास गर्ने दौड नियन्त्रण बाहिर जान सक्छ भन्ने चिन्ता व्यक्त गर्दै उनीहरूले त्यस्तो आह्वान गरेका हुन्।

इटलीको नियामक निकायले ओपनएआईको च्याटबोटलाई रोक्ने मात्र नभइ उक्त कम्पनीले सामान्य डेटा संरक्षण नियमको पालना गरेको छ कि छैन भनेर अनुसन्धान पनि गर्ने जनाएको छ।

इटलीको आरोप
उक्त नियमले व्यक्तिगत डेटा प्रयोग, प्रशोधन र भण्डारण गर्ने तरिकालाई नियन्त्रण गर्ने गर्छ।उसले २० मार्चमा उक्त एपले प्रयोगकर्ताको कुराकानी र भुक्तानीसम्बन्धी जानकारीबारे डेटा उल्लङ्घनको अनुभव गरेको बताएको छ।

उक्त निकायले “च्याटजीपीटी सञ्चालनका लागि एल्गोरिदमलाई ‘प्रशिक्षण’ गर्ने उद्देश्यका लागि व्यक्तिगत डेटाको ठूलो सङ्कलन र भण्डारण” गर्ने कार्यलाई उचित ठहर्‍याउने कुनै कानुनी आधार नभएको बताएको छ।

त्यस्तै उसले प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने कुनै तरिका नभएकाले एपले “नाबालिगलाई उनीहरूको विकास र जागरूकताका तुलनामा अनुपयुक्त जवाफको सामना गर्नुपर्ने अवस्थामा पुर्‍याउने” पनि जनाएको छ।

च्याटजीपीटीको प्रतिस्पर्धी गुगलले बनाएको एआई च्याटबोट बार्डले भने १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले मात्र प्रयोग गर्न मिल्नेगरी सेवा सुरु गरेको छ।

गोपनीयतासम्बन्धी यस्तै चिन्ताहरूका कारण उसले त्यस्तो गरेको हो।इटलीको डेटा संरक्षण प्राधिकरणले ओपनएआईलाई उक्त निकायले व्यक्त गरेका चिन्ताहरूलाई उसले कसरी सम्बोधन गर्छ भन्ने सफाइ दिन २० दिनको समय दिएको छ।

गोपनीयता हनन्‌ भएको पुष्टि भए उक्त कम्पनीमाथि दुई करोड ७० लाख डलर वा उसको वार्षिक आम्दानीको ४ प्रतिशतसम्म जरिवाना हुनसक्नेछ।

ईयूमा व्यक्तिगत डेटा सुरक्षित राख्नका लागि मौलिक अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी पाएको आइरिस डेटा संरक्षण आयोगले बीबीसीलाई इटलीको नियामकसँग उसले कदमको आधार बुझ्नको लागि समन्वय गर्ने जनाएको छ।

ब्रिटिश डेटा नियामकले पनि बीबीसीलाई उसले एआईको विकासलाई “समर्थन” गर्ने तर त्यो डेटा सुरक्षा कानुनलाई पालन नगर्ने खालको देखिएमा त्यसलाई चुनौती दिन पनि तयार रहेको बताएको छ।

ओपनएआईलाई त्यसबारे बीबीसीले सोधेको प्रश्नको उसले हालसम्म जवाफ दिएको छैन।(बीबीसी)


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया