Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधबैंकिङ कसुरमा भागेका भण्डारी पक्राउ, हुण्डी कारोबारमा संलग्न पनि समातिए

बैंकिङ कसुरमा भागेका भण्डारी पक्राउ, हुण्डी कारोबारमा संलग्न पनि समातिए


काठमाडौं, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नवराज भण्डारीलाई बुधबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रतिवादी भण्डारीले वि.सं. २०७७ माघ १९ गते सेञ्चुरी बैंक लिमिटेड मण्डिखाटार शाखामा रहेको खाताबाट रकम भुक्तान हुने उक्त बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा दुई दिन कैद र १३ लाख ६० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । सोपश्चात् भने फरार रहेका भण्डारीलाई बुधबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको थियो ।

सोही दिन नै अदालतबाट कैद भुक्तानको लागि भण्डारीलाई कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पनि हुण्डी कारोबारमा संलग्न भारतको हिमाञ्चल प्रदेश सिमला थाना घर भई हाल जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजय कुमार गुप्तालाई ७१ लाख ८० हजार रुपैयाँसहित पक्राउ गरेको जानकारी दिएको छ ।

काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश÷निर्देशन विपरीत हुने गरी इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको विशेष टोलीले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र नलिई वित्तीय कारोबार गर्ने कार्यमा संलग्नहरुको निगरानी राखी खोजतलास गर्ने क्रममा यही फागुन ८ गते कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको तीन थान चेक गरी जम्मा ७१ लाख ८० हजारसहित तत्काल पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका गुप्ताले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको खुलेको र गुप्तालाई यसअघि पनि मिति २०७५ साउन ७ गते भारतीय रुपैयाँ दुई लाख र नेपाली ३१ लाख रकमसहित यसै कार्यालयबाट पक्राउ गरी राजस्व छलीसम्बन्धी कसुरमा राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया