Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेशरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा, २८.८ करोड बिगो दाबी

शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा, २८.८ करोड बिगो दाबी


काठमाडौं,जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध बुधवार मुद्दा दायर गरेको छ।

उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

“प्रहरीले चारवटा अभियोगमा मुद्दा दर्ता गर्न सिफारिस गरेकोमा हामीले किर्तेसम्बन्धी थप मुद्दा पनि दायर गरेका हौँ,” उनले भने।

काठमाण्डू जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
यसअघि प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरी मुद्दाबारे निर्णय लिन सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको थियो।

मुद्दा दायर गर्नका लागि बुधवार अन्तिम म्याद थियो। सङ्गठित अपराधसम्बन्धी अभियोगमा प्रहरीले अनुसन्धान थालेको ६० दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ।

मुद्दा दर्ता भएका ३० जनामध्ये १४ जना फरार छन् भने दुई पूर्वमन्त्रीसहित अरू प्रहरी हिरासतमा छन्।

प्रहरीले के ‍सिफारिस गर्‍यो?
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न सिफारिस गरेको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिहरूमा दुई पूर्वमन्त्री र एक बहालवाला सचिवसहित अधिकारीहरू र उक्त ‘गिरोह’मा संलग्न भनिएका व्यक्तिहरू छन्।

उक्त प्रकरणमा संलग्नताको आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना प्रहरी हिरासतमा छन्।

पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।प्रहरीले फरार रहेका अझै केही आरोपितहरूको खोजी भइरहेको जनाएको छ।

अबको प्रक्रिया के हुन्छ?
बुधवार मुद्दा दायर भएपछि अब अदालती प्रक्रिया शुरू हुन्छ।“गोलाप्रथाबाट न्यायाधीशको इजलास चयन हुन्छ अनि त्यसपछि सबै प्रतिवादीको बयान शुरू हुन्छ,” प्रवक्ता घिमिरेले बीबीसीसँग भने।

“बयान सकिएपछि थुनछेक बहस शुरू हुन्छ। थुनामा राखेरै बाँकी कारबाही अगाडि बढाउने कि धरौटीमा रिहा गरेर गर्ने भन्ने कुरा त्यहाँबाट तय हुन्छ।”

थुनछेकको आदेश आएपछि मुद्दाको अर्को प्रक्रिया अगाडि बढ्ने उनी बताउँछन्।

शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो?
१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ (बीबीसी)


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया