Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीआजदेखि क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउन शुरु

आजदेखि क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउन शुरु


काठमाडौँ । देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।

बुधबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रममा ‘एचपिभी’का खोपको शुभारम्भ गर्दै उनले निकट भविष्यमा सबै उमेर समूहका किशोरीलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । “सीमित स्रोत र साधनका बाबजुत हामीले एचपिभी खोप लगाउन सुरु गरेका छौँ”, उनले भने, “उमेर समूहलाई ध्यानमा राखेर दिने खोप, यो खोप ७७ जिल्लाका सबै महिला÷किशोरीले पाउनुपर्छ । निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीहरुले यो खोप पाउनुपर्ने हुन्छ, त्यसका लागि मन्त्रालय दृढताका साथ अघि बढ्छ ।”

उनले गाभीले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी दिए । मन्त्री बस्नेतले ‘एचपिभी’ खोप अस्पताललाई हस्तान्तरणपछि छजना किशोरीले खोप लगाए । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खोपको मात्रा कम भएता पनि यसको समानुपातिक वितरण हुने जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले पहिलो मात्राका लागि उमेर खुलेको आधिकारिक प्रमाण पुग्ने कागजात लिएर खोप लगाउन पाइने जानकारी दिँदै अभिभावक, विद्यालय र अस्पताललाई सहजीकरण गर्न आग्रह गरिन् ।

देशभरका छवटा सङ्घीय अस्पताल र सुदूरपश्चिम प्रदेशका लागि डडेल्धुरा अस्पतालबाट सुर्खेत किशोरीलाई बुधबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइएको परिवार कल्याण महाशाखाको निर्देशक डा. विवेककुमार लालले बताए । तर कोशी प्रदेशले भने बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए । उक्त खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई दिइँदै छ ।

खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ । बुधबार मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेबाट खोप लगाउन सुरु भएको हो । यस्तै, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ ।

नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो । बुधबार पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ ।

खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ । एचपिभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया