Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीझापामा दादुराको प्रकोप

झापामा दादुराको प्रकोप


झापा । पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिका झापा गाउँपालिका र विर्तामोड नगरपालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले बताएका छन् ।

उनले गत वर्ष बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिबाट फैलिएको दादुराको प्रकोप यस वर्ष झापासम्म आइपुगेको जानकारी दिए । जिल्लामा दुई हप्ताको अन्तरालमा सात जनामा दादुराको सङ्क्रमण देखिएको उनले बताए । झापा गाउँपालिकामा छ जना र विर्तामोड नगरपालिकामा एक जनामा दादुरा देखिएको छ ।

उनले सात वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट सङ्क्रमित भएको जानकारी दिए । झापा गाउँपालिका–७ मदरगाँछका दुई जना सन्थाल, तीन जना थापा र एक जना बराइली थरका व्यक्तिमा दादुराको सङ्क्रमण देखिएको उनले बताए । रक्त परीक्षणमा दादुराको प्रकोप एकै घरका तीन जनासम्ममा देखा परेको थियो ।

यसैगरी विर्तामोड नगरपालिका–३ की पाँच वर्षीया बालिकामा पनि दादुराको सङ्क्रमण देखा परेको छ । उपचारका लागि दुई दिनअघि बिर्तामोड नगर अस्पताल ल्याइएकी बालिकाको रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको थियो । हाल बालिकालाई आइसोलेसनमा राखिएको छ ।

सन् २०२३ सम्ममा नेपालबाट दादुरा रोग निवारण गर्ने सरकारले लक्ष्य राखेको थियो । तर हरेक वर्ष मुलुकका विभिन्न जिल्लामा देखिने दादुरा प्रकोपका कारण लक्ष्यप्राप्ति हुन नसकेको बताइएको छ । सरकारले नौ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, झापा गाउँपालिकामा मात्र सात वर्षको अवधिमा एक हजार सात सय ८७ जनाले नियमती खोप नलगाएको तथ्याङ्क फेला परेको अधिकृत पोखरेलले बताए ।

उनले दादुरा सङ्क्रमितको थुक, खकारबाटसमेत अर्को व्यक्तिमा सर्ने हुँदा झापा गाउँपालिकाका जनप्रतिनिधिलाई नै राखेर दादुरा रोगको लक्षण, यसको जलिटता, अन्य असर र समुदायमा पार्ने प्रभावका बारेमा समेत जानकारी दिएको बताए ।

प्रायः पाँच वर्षमुनिका बालबालिकामा दादुरा लाग्छ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यो रोग खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्दछन् । उनले आफ्नो घर वा छिमेकमा ज्वरो आएको बच्चा छ भने तत्काल रक्त परीक्षण गर्न आग्रह गरे । सङ्क्रमित अध्ययन गर्ने विद्यालयका सबै विद्यार्थीको रगत परीक्षण गरिरहेको जानकारी पनि दिए ।

दादुराको उपचार भनेको दादुरा आउन नदिने खोपमात्र भएका कारण सरकारले फागुनदेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको अधिकृत पोखरेलले बताए । सन् २००४ देखि नेपालमा दादुराको खोप अभियान सुरु भएको हो । धेरैले पहिलो डोज लगाएपछि दोस्रोे डोज नलगाएकाले पनि यो रोग निवारणमा चुनौती थपिएको उनको भनाइ छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया