Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसुदूरपश्चिम प्रदेश११ आधारभूत अस्पताल सञ्चालनको योजना

११ आधारभूत अस्पताल सञ्चालनको योजना

पाँच वर्षमा एउटा मात्रै सञ्चालन


धनगढी । कैलालीमा ११ आधारभूत अस्पताल सञ्चालनको योजना बनाएर काम अगाडी बढाइएको थियो । तर पाँच वर्षमा एउटा मात्रै अस्पताल सञ्चालनमा आएको छ ।

दुई वर्षमै पूर्वाधार निर्माण सम्पन्न गरी तेस्रो वर्षदेखि १५ शय्याको अस्पताल सञ्चालन गर्ने उद्देश्यले यहाँका ११ स्थानीय तहमा २०७७ सालमा योजना सुरु गरिएको थियो । तर, पाँच वर्ष पुग्दा पनि छ स्थानीय तहमा भवन नै बनेको छैन । दुई स्थानीय तहमा भवन बनाउन नपर्ने भए पनि अस्पताल सञ्चालनमा ढिलाइ भएको छ भने एक स्थानीय तहमा भर्खरै भवन हस्तान्तरण भएको छ । बर्दगोरिया गाउँपालिकामा मात्रै १५ शय्याको अस्पताल सञ्चालन भएको हो । बर्दगोरिया गाउँपालिकाले दोदोधारा अस्पताल २०८० मा नै अस्पताल सञ्चालन ल्याएको थियो ।

लम्कीचुहा नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भइरहेको छ । कैलालीको चुरे गाउँपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र गौरीगंगा नगरपालिकामा निर्माणको सुरसार नै छैन । ती स्थानीय तहहरुमा अस्पताल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनेको छैन । चुरे गाउँपालिकाको सहजपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शय्याको अस्पताल बनाउन २०८०/८१मै डीपीआर बनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गजेन्द्रबहादुर बिष्टले बताए । मन्त्रालयले अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित पाएपछि मात्रै डीपीआर स्वीकृत गरेर बजेट पठाउने आश्वासन दिएको उनले बताए ।

यसैगरी, जानकी गाउँपालिकाको वडा नं. १ मा १५ शय्याको अस्पताल बनाउन डीपीआर नै तयार छैन । गौरीगंगा नगरपालिकाका भने डीपीआर बनाइएको भए पनि मन्त्रालयबाट स्वीकृत भएको छैन । यहाँका जनस्वास्थ्य निरीक्षक सुनिलकुमार चौधरीले वडा नं. २ स्थित पुरानो चौमाला बजारमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने गरी डीपीआर बनाइएको भए पनि मन्त्रालयबाट स्वीकृत नभएपछि योजना अलपत्र गरेको बताए । जोशीपुर गाउँपालिकामा १५ शयय्याको अस्पताल बनाउन जमिनको भोगाधिकार लिने काम मात्रै भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले निर्माणमा जान अझै धेरै समय लाग्ने बताए ।

मोहन्याल गाउँपालिकामा १० शय्या र घोडाघोडी नगरपालिका १५ शय्याको अस्पतालका लागि भवन निर्माण सुस्त गतिमा छ । मोहन्याल गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारीले वडा नं. ६ सोल्टामा निर्माण भइरहेको भवनको एक सेक्सन ढलान भएको र अर्को सेक्सन ढलान गर्न बाँकी रहेको बताए । उनले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुने बताए । छ करोडमा २०७७/७८मै ठेक्का लगाइएको भए पनि सुरुको दुई वर्ष केन्द्रबाटै बजेट नआएपछि २०८०/८१ बाट मात्रै काम सुरु भएको इञ्जिनियर भण्डारीले बताए ।

यसैगरी, घोडाघोडी नगरपालिकाको वडा नं.२ साँडेपानीमा १५ शय्याको अस्पताल भवन निर्माणको काम सुस्त गतिमा भइरहेको नगरपालिकाका स्वास्थ्य जनस्वास्थ्य अधिकृत देवबहादुर चौधरीले बताए । उनले २०७७/७८ मै ठेक्का लगाएर निर्माण भइरहेको भए पनि भवन निर्माण सम्पन्न नहुँदा अस्पताल सञ्चालनमा समेत ढिलाइ भइरहेको बताए । कैलारी गाउँपालिका वडा नं. ५ बैसपुरमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको छ । जेठमा निर्माण सम्पन्न भवनको असोजमा गाउँपालिकालाई हस्तान्तरण भएको स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले बताए । उनले स्वास्थ्य मन्त्रालयलाई सञ्चालनका लागि उपकरण उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिए ।

भवन नबनाई अस्पताल सञ्चालन गर्न सकिने व्यवस्था रहेको भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा सञ्चालनको तयारी भइरहेको जनाएकोे छ । भजनी नगरपालिकाको वडा नं. १ स्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गर्ने योजना अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य शाखा संयोजक कैलाशबहादुर डगौराथारुले अस्पताल सञ्चालनका लागि औषधि, उपकरण खरिद तथा जडान, ओएनएम सर्भे स्वीकृतिलगायतका काम सम्पन्न भइसकेको बताए । यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं. १८ फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनको तयारी भइरहेको छ । एडीबीले बनाएको बहुउद्देश्यीय भवन प्रयोगविहीन भएपछि सो भवनलाई पार्टेसन गरेर अस्पताल सञ्चालनको तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । उनले पार्टेसनको काम सकिएपछि उपकरण जडान गरी तिहारपछि सञ्चालन गर्ने तयारी रहेको बताए ।

टीकापुर नगरपालिकामा ५१ शय्याको जिल्ला अस्पताल र गोदावरीमा मालाखेती अस्पताल सञ्चालनमा रहेको हुँदा ती दुई स्थानीय तह १५ शय्याको अस्पताल बनाउने सूचीमा परेका थिएनन् । नेपाल सरकारले नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ २०७७ मा आधारभूत अस्पताल बनाउने योजना अगाडि बढाएको थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, सुदूरपश्चिम प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x