Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीमिर्गाैलासम्बन्धी चेतनामूलक कार्यक्रम

मिर्गाैलासम्बन्धी चेतनामूलक कार्यक्रम


काठमाडौं । नेपालमा विश्व मिर्गौला दिवस मनाइएको छ । प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार विश्वभर मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले यससम्बन्धी जनचेतना बढाउनुपर्ने बताए । ‘राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानलाई निरन्तरता दिनुपर्छ । स्वस्थ जीवनशैली अपनाइ समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराउन जनतामा सचेतना बढाउन आवश्यक छ’, उनले भने । दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, अङ्गदान शिविर तथा मिर्गाैला पदयात्रालगायतका विविध कार्यक्रम आयोजना गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य अभियान नेपाल र अङ्ग प्रत्यारोपण समाज नेपालले संयुक्तरुपमा कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाउने गरेको हो । केन्द्रले मिर्गौला रोगको उपचार र रोकथामबारे सचेतना फैलाउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्दै आएको छ ।

चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौला रोग लाग्ने तथ्यांक छ । मिर्गौला तथा विभिन्न अङ्ग काम नगर्ने समस्याले विकराल रुप लिइरहेको अवस्थामा दिवसले स्वस्थ जीवनशैली तथा अङ्ग दानसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ । अप्रत्याशित रुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउन पनि यो दिवसको महत्व छ । प्राकृतिक विपत्ति र विभिन्न कारणले विश्वमा करिब ८५ करोड मिर्गौलाका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुने गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापना भएको १० वर्षमा एक हजार २६ जनाको मिर्गौला प्रत्यारोपण र नौ जनाको सफल कलेजो प्रत्यारोपण गरेको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठले जानकारी दिइन् । उनले अङ्गदान शिविरबाट पाँच जनाले आफ्नो मृत्युपछिको अङ्ग दानका लागि नाम लेखाएको बताइन् । यसपटकको मिर्गौला दिवसको नारा ‘अप्रत्याशितरुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ । कार्यक्रममा अङ्गदाता, अङ्ग ग्रहणकर्ता र चिकित्सक, नर्स, कलाकार, समाजसेवीको उपस्थिति थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया