सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो
बैतडी । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ । उनले भने, “भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्नेछ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।”
भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रुपमा कोरोना परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले राससलाई बताए ।
भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । उनले भने, “सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेका छौँ । यसले जोखिम कम गर्न सकिन्छ ।”
साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठजनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।
क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- सभामुखद्वारा सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त
- आइतबारदेखि मात्र मौसममा सुधार हुने
- चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ: उपाध्यक्ष पौडेल
- महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ : प्रधानमन्त्री
- सभामुख नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता
- नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
- विद्युत् महसुल वृद्धि र आपूर्तिबारे चिन्तन
- बीमाको पहुँच विस्तार र सरकारको दायित्व
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया