Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीक्यान्सर उपचार नेपालमै उपलब्ध, तर बिरामीहरू किन जान्छन् विदेश ?

क्यान्सर उपचार नेपालमै उपलब्ध, तर बिरामीहरू किन जान्छन् विदेश ?


काठमाडौं,केही साताअघि साङ्गीतिक समूह ‘अनुप्रस्थ’ले एक युवतीको जीवनरक्षार्थ सहयोगको याचना गर्दै फेसबुकमा लेख्योः “कीमोथेरपीपश्चात् उनी अस्पतालबाट घर फर्किएकी छन्। अब उनी बोनम्यारो ट्रान्सप्लान्टका लागि चाँडोभन्दा चाँडो भारत जानुपर्छ।”

उक्त समूहले गरिब तथा अतिविपन्न क्यान्सर रोगीको उपचारका लागि केही वर्षदेखि फाउन्डेशन स्थापना गरी आफूले सहयोगका लागि पहल गर्दै आएको जनाएको छ।

क्यान्सरको उपचारका लागि ‘भारत जानुपर्ने’ बताउँदै सामाजिक सञ्जालमार्फत् सहयोग खोज्नु नौलो विषय होइन।

गत मार्च २९ मा ‘टीम बुद्धशान्ति’ नामक फेसबुक पेजमार्फत् अर्की २४ वर्षीया युवतीका लागि सहयोग माग गरिएको छ।

सयौँ पटक शेअर भएको उक्त पोस्टमा क्यान्सर पुष्टि भएर विगत पाँच महिनादेखि पूर्वाञ्चल क्यान्सर हस्पिटल (बीएनसी) मा उपचार गरेको र त्यहाँबाट थप उपचारको लागि “परिवार र आफन्तको सल्लाहमा भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल गएको” जनाइएको छ।
नेपालमै क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, प्रविधि र पद्धति उपलब्ध रहेको यो क्षेत्रमा कार्यरत चिकित्सक र अन्य विज्ञहरूले बताएका छन्।

तर उपचार गर्न भारत, थाईल्यान्ड वा युरोपेली देशहरू धाउने बिरामीहरूको सङ्ख्या उल्लेख्य रहेको चिकित्सकहरू बताउँछन्।
विशेषतः बोनम्यारो वा फोक्सो प्रत्यारोपण अथवा रोबटको प्रयोगबाट उपचार हुने प्रोस्ट्रेट क्यान्सरका लागि विदेश धाउनु तर्कसङ्गत भएको उनीहरू बताउँछन्।

“बोनम्यारो वा फोक्सो प्रत्यारोपण नेपालमा पनि नहुने होइन। तर यी क्षेत्रमा हामी विकसित भइसकेका छैनौँ, बामे सर्दै छौँ। हामी त्यस्तो उपचारको प्रारम्भिक चरणमा भएकाले हाम्रा स्रोत तथा साधनहरू सीमित छन्,” क्यान्सर रोगविज्ञ डा. निर्मल लामिछानेले भने। उनी चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वअध्यक्ष हुन्।

सीमितताकै कारण कतिपय स्थितिमा क्यान्सरका बिरामीहरू बिदेसिनुलाई बाध्यताको रूपमा उनी व्याख्या गर्छन्। तर धेरै देखिने स्तन, थाइरोइड, आन्द्रा र मूत्रथैलीजस्ता अङ्गमा हुने क्यान्सरको नेपालमै स्तरीय उपचार हुने भए पनि भारत वा अन्यत्र धाउने प्रवृत्ति अझैसम्म हाबी भएको उनी बताउँछन्।“क्यान्सर पुष्टि हुनेबित्तिकै भारत दौडिनु जायज होइन,” उनले भने।

नेपालमा उपचार नै नहुने हो त?

केही वर्षअघिसम्म नेपालमा क्यान्सर पहिचान नहुने, उपचारका लागि जनशक्ति र स्रोतसाधनको अभावका कारण चिकित्सकहरूले क्यान्सरका बिरामीलाई उपचारका लागि भारत वा अन्य देश पठाउने गरेको नेपाल क्यान्सर हस्पिटलकी डा. अञ्जलि पण्डित बताउँछिन्।

“अभाव हुँदा उपचार गर्न जानुपर्ने बाध्यता अहिलेसम्म परम्परा जसरी रह्यो। अहिले क्यान्सर देखिनेबित्तिकै उपचारका लागि बाहिर जानुलाई उचित विकल्पको रूपमा हेरिन्छ,” उनले बताइन्।“तर अहिले क्यान्सर उपचारका लागि चाहिने प्रविधि र पद्धतिहरू नेपालमै छन्। सबै ठाउँमा अपनाइने उपचार प्रक्रिया एउटै हो। निको हुने खालको रोग रहेछ भने नेपालमै पनि ठिक हुन्छ। क्यान्सरको फैलावट अनुसार केहीलाई विदेशमा उपचार गरे पनि ठिक हुँदैन,” डा. पण्डितले भनिन्।नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख भएको पछिल्लो जनगणनाले देखाउँछ।

नेपालमा प्रत्येक वर्ष २०,००० जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने ग्लोब क्यान नामक एउटा सर्वेक्षणले देखाएको छ।
विश्व स्वास्थ्य सङ्गठनको क्यान्सरका बिरामीबारे जानकारी अभिलेखीकरण गर्ने निकाय इन्टरन्याश्नल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी)ले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा एक वर्षमा २०,५०८ जना क्यान्सरका नयाँ बिरामी थपिएका थिए। सोही वर्ष क्यान्सरकै कारण १३,६२९ जनाको मृत्यु भएको थियो।

क्यान्सरका हजारौँ नयाँ तथा पुराना बिरामीहरूको औषधोपचारका लागि देशभरि तीनवटा छुट्टै सरकारी अस्पताल छन्। त्यसबाहेक वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल लगायतमा पनि क्यान्सरको शल्यक्रिया वा थेरपी सेवा उपलब्ध छ।

नेपालमा निजी स्तरमा विभिन्न अस्पताल, अनुसन्धान केन्द्र र थेरपी केन्द्रहरू छन्।

आर्थिक सहयोग तथा सहुलियत
सरकारले क्यान्सरको बिरामीका लागि विभिन्न तहमा आर्थिक सहयोग गरेको र निजी अस्पतालहरूमा पनि विपन्न बिरामीहरूका लागि विशेष छुट र सहुलियत दिइने भएकाले क्यान्सरका बिरामीले देशमै उपचार गराउनु आर्थिक हिसाबमा कम बोझिलो हुने डा. पण्डितको विश्वास छ।

“तुलनात्मक रूपमा सरकारी अस्पतालमा क्यान्सरको उपचार सस्तो पर्छ नै। निजी अस्पतालमा पनि गरिब बिरामीहरूका लागि शय्या छुट्टाउने वा विभिन्न गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा सहयोग तथा सहुलियत दिइन्छ,” उनले जानकारी दिइन्।

क्यान्सरका बिरामीले केन्द्र सरकारबाट एक लाख रुपैयाँ र प्रदेश सरकारबाट ५० हजार रुपैयाँ अनुदान प्राप्त गर्छन्।
वार्षिक बीमाबाट एक लाख रुपैयाँ र प्रत्येक महिना वडाले ५,००० रुपैयाँ उपचार खर्च दिने गरेको भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति बताउँछन्।

यी सुविधाबाहेक क्यान्सर कुन चरणमा छ त्यसअनुरूप प्रभावित भाग शल्यक्रिया गरेर फाल्ने, क्यान्सरका कोशिकाहरू सुकाउने कीमोथेरपी वा रेडिओथेरपीको सुविधा सबै सरकारी अस्पतालहरूमा हुने उनले बताए।
सेवा छ तर जानकारी छैन

नेपालमै सहुलियत हुँदा पनि किन बिरामी वा तिनका आफन्तहरू ऋण गरेर वा सहयोग जुटाएर विदेश जान खोज्छन् त?

नेपालमा उपलब्ध क्यान्सर उपचारको सेवा तथा सुविधाबारे आम मानिसलाई जानकारी नहुनुलाई अर्को प्रमुख कारणको रूपमा व्याख्या गर्छन् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झा।

“नेपालमा जेजति सुविधा छ त्यसबारे जनतालाई सही ढङ्गमा जानकारी दिइएकै छैन। अवगत गराउन जिम्मेवार निकायहरूले पनि कस्ता सुविधा, कहाँ, कहिले र कसरी पाइन्छ भन्नेबारे सही ढङ्गमा सूचना सम्प्रेषण नै गरेका छैनन्,” उनले बीबीसीसँग भने।
त्यस्तै स्वास्थ्यकर्मीले आफूकहाँ उपचार सम्भव नभएका बिरामीलाई नेपालमै रहेका अन्य चिकित्सक वा स्वास्थ्यसंस्थामा पठाउनुको साटो दिल्ली पठाउने प्रवृत्ति पनि बढ्दो रहेको उनको अनुभव छ।

“नेपालमा भएको सेवाबारे जानकारी दिनुको साटो विदेश रेफर गरिदिने चिकित्सकहरू पनि धेरै छन्। त्यसो गर्नुमा बिचौलियाहरूको पनि भूमिका हुनसक्छ,” झाले आफ्नो मत राखे।

नेपालबाट अन्यत्र गरिने रेफरल ‘अनियन्त्रित र अमर्यादित’ भएको उनको बुझाइ छ।“सीधै रेफर हुने बिरामी वा उनीहरूका आफन्तले नेपालको उपचार पद्धतिबारे थाहा नै पाउँदैनन्। त्यसपछि उनीहरूसँग नयाँ बिरामीले अनुभव बुझ्न खोज्दा स्वतः विदेशकै सुनाउँछन् र विदेश नै जानुपर्ने रहेछ भन्ने विश्वास स्थापित हुन्छ,” डा. झाले थप भने।

अन्य कारण के हुन्?
नेपालको स्वास्थ्य प्रणाली र उपलब्ध सेवाप्रति अविश्वासको कारण र लहैलहैका कारण पनि “खर्च गर्न सक्ने” मानिसहरू क्यान्सरको उपचारका विदेश जाने गरेको यो क्षेत्रमा कार्यरत केही व्यक्ति र बिरामी पक्षको भनाइ छ।

गत फागुनमा झापाकी २४ वर्षीया युवतीलाई क्यान्सर भएको पत्ता लाग्यो। त्यसपछि थप उपचारका लागि उनलाई काठमाण्डू ल्याइयो। यहाँको एक निजी अस्पतालले “उपचार अघि बढाउन बायोप्सी गर्नुपर्ने” र त्यसको नतिजा दिल्लीबाट आउन १२/१५ दिन लाग्ने बताएको उनका काका प्रकाशले बाए।

“जाँच गरेर रिपोर्ट आउनै १५ दिन लाग्ने र त्यसपछि मात्र इलाज गर्न मिल्छ भन्नुभयो। कुर्नुपर्ने समयभरि छोरीलाई झन् गाह्रो होला र उपचारको लागि ढिला नहोस् भनेर हामीले भारत लग्यौँ,” उनले बताए।
नेपालमा उपचार प्रक्रिया नै ढिला सुरु हुनेजस्तो महसुस भएपछि परिवार र आफन्तको सल्लाहअनुसार राजीव गान्धी क्यान्सर अस्पताल पुर्‍याएको उनको भनाइ छ।

क्यान्सर देखिएलगत्तै निकै कम मानिसले चिकित्सकहरूसँग परामर्श गर्ने र उपचारका लागि आवश्यक सल्लाह लिने गरेको उनीहरू बताउँछन्।“क्यान्सर भएपछि त्यसबारे आवश्यक जानकारी चिकित्सकसँग लिनुभन्दा पनि टोल छिमेक वा चिनजानका मानिसहरूसँग सोधपुछ गरिन्छ। कसैले फलानोलाई ‘भारत गएर ठिक भयो’ भनेपछि सोहीअनुरूप बाहिर जानेहरू पनि छन्,” डा. निर्मल लामिछानेले भने।

“क्यान्सर भन्नासाथै मानिस भावनात्मक रूपमा बहकिन्छ। त्यसमाथि हाम्रा नेता र धनी मानिसहरू उपचारका लागि विदेश नै गएको देखेर पनि सर्वसाधारण मानिसहरू मनोवैज्ञानिक रूपमा प्रभावित भएका छन्। उनीहरूमा ‘नेपालको उपचार राम्रो छैन भन्ने परेको छ’,” उनले भने।
कतिपयले गोपनीयता कायम गर्न वा रोग लागेको अरूलाई थाहा नहोस् भन्ने हेतुले पनि उपचार गर्न भारत जाने गरेको उनले बताए।

क्यान्सर उपचारका लागि विदेश जानु धेरैका लागि बाध्यता नभई रोजाइ भए पनि त्यसमा सामाजिक तथा पारिवारिक दबावले उल्लेख्य भूमिका खेल्ने अर्का विशेषज्ञ डा. रोशन प्रजापतिको बुझाइ छ।

“भारत लगेपछि ठिक हुन्छ भनेर ठोकुवा गर्नेहरू हुन्छन्। त्यसले मानिसमा आशा जगाउँछ। यो सकारात्मक कुरा हो। तर यसले चिकित्साशास्त्र प्रतिको विश्वाससँगै भ्रम पनि प्रेरित गरिरहेको हुन्छ,” उनले भने।

बिरामीले चुकाइरहेको महँगो मूल्य
उपचारमा प्रयोग हुने पद्धतिहरू र उपचारका क्रममा निरन्तर लामो समयसम्म चिकित्सकीय निगरानीमा रहनुपर्ने भएका कारण क्यान्सर उपचार महँगो हुने चिकित्सकहरू बताउँछन्। त्यसमाथि देशबाट बाहिर रहेर उपचार गर्दा बिरामीहरू ठूलो आर्थिक भारमा पर्ने गरेको डा. अञ्जलि पण्डितको भनाइ छ।

“अहिले केहीले नेपालमै डाक्टर खोज्ने वा परामर्श लिने चलन सुरु भयो। तर यहाँका चिकित्सकलाई विश्वास गर्न नसक्दा धेरैले दुःख पाउनुभएको छ। कतिको घर खेत नै सकिएका उदाहरणहरू पनि छन्,” उनले भनिन्।
त्यस्तै देश छोडेर जाँदा भाषा र रहनसहनको समस्यादेखि बिरामीको मनोबल नै खस्किने समस्या समेत रहेको उनले सुनाइन्।

“नेपालको अस्पतालमा देशकै बिरामीहरू हुन्छन्। तीमध्ये कतिपयले क्यान्सरलाई जितेर नियमित परामर्श वा थेरपीहरूका लागि अस्पताल आएका हुन्छन्। उनीहरूलाई देखेपछि बिरामीलाई ‘ए, मलाई मात्र होइन रहेछ वा म पनि ठिक हुन्छु’ भन्ने विश्वास जाग्छ। तर विदेशी भूमिमा आफू मात्र एक्लो छु भन्ने भाव विकास हुन सक्छ,” उनले थप भनिन्।

उपचारको क्रममा वरपरको वातावरणले मनोवैज्ञानिक रूपमा प्रभाव पार्ने उनको बुझाइ छ।

फलोअपमा समस्या‌
पहिलो केही चरण भारतमा उपचार गरेर फर्किएका बिरामीहरूमा फलोअप उपचार, परामर्श वा थेरपीसम्बन्धी अन्योल देखिएको डा. रोशन प्रजापतिले बताए।

“समाज वा परिवारको दबावमा बाहिर जान्छन्। पैसा हुनेहरूलाई त समस्या भएन तर नहुनेहरूका लागि त्यहीँ रहेर नियमित उपचार गराउनु सम्भव हुँदैन,” उनले भने।

“त्यसपछि आवश्यक फलोअपका लागि पुनः बाहिर जाने पैसा हुँदैन। पैसा जुटाउन कोसिस गर्दागर्दै यहीँ सम्भव उपचार पनि ढिला भएका थुप्रै उदाहरणहरू छन्।”

फलोअप जाँच भारत र नेपालमा फरक नहुने चिकित्सकहरू बताउँछन्। यद्यपि कतिपय मानिस अविश्वासकै कारण आर्थिक रूपमा निकै नाजुक अवस्थामा पुगेपछि मात्र नेपालको अस्पतालसम्म पुग्ने गरेको उनको ठम्याइ छ।

“त्यतिन्जेल बिरामीको स्वास्थ्यमा पर्न सक्ने असरबारे बिरलै सोचिन्छ,” डा. प्रजापतिले भने।

सरकारी अस्पतालमा बिरामी जाँदैनन् त?
जति पनि बिरामी उपचार खोज्दै भारत जान्छन् ती “आर्थिक रूपमा सबलहरू” भएको डा. निर्मल लामिछाने बताउँछन्।तीबाहेक अधिकांश मानिस नेपालकै सरकारी अस्पतालहरूमा निर्भर भएको अस्पतालहरूको तथ्याङ्कले पुष्टि गर्छ।

भक्तपुर क्यान्सर अस्पतालकी सूचना अधिकारी राजामती गोसाईँका अनुसार सन् २०१७ देखि सन् २०२१ सम्ममा कुल १६,२८२ जना क्यान्सरका बिरामीले अस्पतालको सेवा लिए। तीमध्ये ७,२०५ जना पुरुष हुन् भने ८,९७७ जना महिला।

बीबीसीलाई उपलब्ध तथ्याङ्कअनुसार अस्पतालमा गत फागुन महिनाभरिमा १,३६७ जना बिरामीहरू परीक्षणका लागि आएका थिए।

तीमध्ये २७३ जनामा क्यान्सर पुष्टि भयो।सोही महिना ४,३७४ जना क्यान्सर भएका बिरामीहरू फलोअपका लागि अस्पताल पुगेको देखिन्छ।
त्यस्तै भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दैनिक ६०० देखि ७०० जना मानिसले ओपीडी सेवा लिने गरेको अस्पतालका पूर्वअध्यक्षसमेत रहेका डा. निर्मल लामिछानेको भनाइ छ।

”तीमध्ये आधा बिरामी नियमित फलोअपमा आउनेहरू हुन्। हामीकहाँ दैनिक १० देखि २० जनामा क्यान्सर पुष्टि हुने आकलन छ,” उनले भने।

त्यस्तै बाँकेस्थित सुशील कोइराला प्रखर अस्पतालमा गत फागुन महिनाभरि दैनिक औसत ८२ जना बिरामी ओपीडी सेवाका लागि पुग्ने तथ्याङ्क छ। तीमध्ये औसत ४४ जना नियमित फलोअपका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी डा. प्रवीण कुमार गुप्ताले बताए।

“सरकारी अस्पतालमा प्रायः निम्नमध्यम र निम्नवर्गका मानिसरू आउँछन्। तीमध्ये ४ देखि ५ प्रतिशत मात्र उच्चमध्यम वा उच्चवर्गका हुन्। क्यान्सरको उपचार हुने अस्पतालहरू सबै वर्गका मानिसको लागि हो भन्ने विश्वास स्थापित गर्नु नै हाम्रो प्रमुख चुनौती हो,” डा. रोशन प्रजापतिले भने।

बिरामी र अस्पतालबीचको सेतु के?
स्थापित अस्पतालहरूमा भौतिक, प्राविधिक एवं समग्र पाटोमा विकास हुनु बिरामी र अस्पतालबीचको सेतु बन्न सक्ने चिकित्सकहरू बताउँछन्।

“अस्पतालमा आफ्नो मान्छेलाई ल्याएर राख्नेहरू सानो औषधि खोज्न अन्यत्र कुद्न नपरोस्। सेवा र सुविधा किफायती र विश्वसनीय भएपछि बिरामीले अस्पताललाई विश्वास गर्न सक्छन्,” डा. प्रजापतिले भने।

अहिले विभिन्न सरकारी अस्पतालमा शल्यक्रियाका लागि बिरामीले महिनौँ वा हप्तौँ कुर्नुपरेको, रेडिओथेरपीको उपकरण दैनिक क्षमताभन्दा बढी प्रयोग भएको लगायत विवरणहरू सार्वजनिक हुने गरेका छन्। त्यस्तो समस्याको अन्त्यले नै क्यान्सर उपचारका लागि जनताले राज्यमाथि भरोसा दिलाउने चिकित्सकहरूले ठानेका छन्।

सरकारले प्रादेशिक वा क्षेत्रीय स्तरका सरकारी अस्पतालहरूमा रेडिओथेरपीको उपकरण राखिदिए “ठूलो मर्का” कम हुने डा. प्रजापतिको विश्वास छ।सञ्चालनमा रहेका सरकारी अस्पतालहरूमा क्यान्सर विशेष विभाग वा एकाइ स्थापना गर्नुले हरेक भेगका मानिसको समस्या सम्बोधन गर्न सक्ने डा. डाक्टर निर्मल लामिछाने बताउँछन्।

“बेग्लै संरचना खोल्न समय लाग्ला तर भइरहेकाबाट सेवा विस्तार गर्ने हो भने मानिसहरूले छिटो उपचार पाउँछन्,” उनले भने।

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्दै क्यान्सरको उपचार बीमासँग जोड्नुपर्ने उनको तर्क छ। विपन्नहरूका लागि हाल उपलब्ध सुविधा “अपुग भए पनि ठूलो राहत मिलेको” उनको बुझाइ छ। यद्यपि स्वास्थ्य अर्थतन्त्रको बिन्दुबाट हेर्दा अनुदान मात्र पर्याप्त नहुने उनी बताउँछन्।

“क्यान्सरको उपचार सरकारले प्रिमियम तिर्नेगरी बीमासँग जोड्नुपर्छ। सधैँ अनुदान दिनु समस्याको दीर्घकालीन समाधान हुँदै होइन,” डा. लामिछानेले भने।

यहाँ भएका उपचार पद्धति र सेवालाई गुणस्तरीय र आकर्षक बनाउनुपर्ने अर्का विशेषज्ञ अजयकुमार झाको सुझाव छ।

“नेपालमा एक चिकित्सकले एउटा सिङ्गो विभाग हेर्नुपर्ने अवस्था छ। भारतमा एउटा बिरामीलाई आठ चिकित्सकले हेर्छन्। अनि बिरामीले कुन सेवालाई विश्वास गर्ने? सोहीअनुरूप पहल आवश्यक छ,” उनले भने। (बीबीसी)


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया