Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीसोलुखुम्बुमा आँखाको निःशुल्क शल्यक्रिया

सोलुखुम्बुमा आँखाको निःशुल्क शल्यक्रिया


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुमा झण्डै एक सय जनाले आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिष्ठानसँगको समन्वयमा तीन दिनसम्म सञ्चालन गरेको आँखा शल्यक्रिया शिविरमा ९६ जनाले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् ।

वैशाख २९, ३० र ३१ गते फाप्लुमा सञ्चालन गरेको मोतिविन्दुको शल्यक्रिया शिविरमा ५० जना महिला र ४६ जना पुरुष रहेको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए । वृद्धावस्थामा आश मारिसकेको आँखाले फेरि संसार नियाल्न पाउँदै अत्यन्त खुसी लागेको महाकुलुङ गाउँपालिका ३ छेस्कामकी ७२ वर्षीया विबामनी कुलुङले बताइन् । काठमाडौं गएर लाखौँ खर्च गरेर उपचार गर्नुपर्ने आँखाको अप्रेसन जिल्लामै निःशुल्क भएको भन्दै गार्माका ङिमा शेर्पाले खुसी व्यक्त गरे ।

लामो समयदेखि आँखा नदेख्ने समस्याबाट ग्रसित शेर्पा शल्यक्रियामार्फत देख्न सक्ने भएपछि माप्यदुधकोशीका वृद्धा नरेन्द्र राईमा पनि खुसीको सीमा रहेन । उनले गहभरि आँसु पार्दै भने भने, ‘हामीलाई संसार देखाउन काठमाडौंदेखि यस्तो विकट ठाउँमा आएर सेवा दिनुभयो, उहाँहरू त साँच्चै भगवान् नै हो, फाप्लुको आँखा अस्पतालका सरहरू र काठमाडौंबाट आएर हामीलाई अप्रेसन गर्नुहुने सबैलाई म नमस्कार भन्छु, खै म बुढो मान्छेले अरु त के नै दिन सक्छु र !’ फाप्लुमा भएको शल्यक्रिया शिविरमा तिलगंगा आँखा प्रतिष्ठानकी वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर रोजिता पराजुलीसहितको टिम खटिएको थियो ।

शल्यक्रियाका लागि जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले वैशाख ३ गतेबाट गाउँ÷गाउँमा सञ्चालन गरेको शिविरमार्फत मोतिविन्दुका बिरामीहरू शल्यक्रियाका लागि छनोट गरेका थिए । जिल्लाको नुनथला, जुभिङ, काँकु भेडाचौर, वाकु, पावौ, छेस्काम, गुदेल, लोखिम, काँगेल, केरुङ, गोरा र नेचामा गरिएको आँखा शिविरमा १५ सय ८२ जनाले निःशुल्क आँखा जाँच गराएका थिए । जसमा नौ सय आठ महिला र छ सय ७४ जना पुरुष रहेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख विधान ताम्राकारले बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया