Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीकार्यान्वयन भएन सरकारको ‘सार्वजनिक स्थलमा सुर्तीजन्य तथा धुम्रपान निषेध’ नीति

कार्यान्वयन भएन सरकारको ‘सार्वजनिक स्थलमा सुर्तीजन्य तथा धुम्रपान निषेध’ नीति


काठमाडौं,सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेध गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । २०६८ देखि सार्वजनिक स्थलमा धुम्रपान निषेधलाई कार्यान्वयनमा ल्याएको बताए पनि हालसम्म त्यसले पूर्णता प्राप्त गर्न सकेको छैन, जसले गर्दा निजी तथा सार्वजनिक स्थलहरूमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग सर्वसाधारणले स्वतन्त्ररूपमा गरेको पाइन्छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने सरकारको नीतिलाई संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायले आत्मसात् गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा उनीहरू समेत यसमा असफल हुनपुगेका छन् । यसले गर्दा राजधानी उपत्यका र उपत्यकाबाहिरका सहर तथा गाउँहरूका सार्वजनिक स्थलमा स्वतन्त्ररूपले सुर्तीजन्य पदार्थको प्रयोग गरेको पाउन सक्छौँ ।

सरकारले ऐन नियम बनाए पनि पूर्णरूपमा लागू नहुँदा सार्वजनिक यातायात, सरकारी कार्यालय, सार्वजनिक स्थल र स्वास्थ्य संस्थामा सुर्तीजन्य पदार्थ सेवन प्रतिबन्धित भए पनि ती स्थानमा अझै पनि सुर्तीजन्य पदार्थ सेवन रोकिएको पाइँदैन ।

काठमाडौं महानगरपालिकाको हकमा भने नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गर्दै त्यसलाई कार्यान्वयन गर्ने बताइएको थियो । महानगरले गत असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य महानगर क्षेत्रमा निषेध गरिएको भन्दै सार्वजनिक सूचना समेत जारी गरेको थियो ।

सार्वजनिक सूचनामार्फत महानगरले सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त गर्ने÷गराउने कार्यका लागि गरिने नियमन नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेको थियो । यदि सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने समेत महानगरका पदाधिकारीले बताएका थिए । उनीहरूले महानगरभित्र धुम्रपान निषेध कार्यक्रमले सदैव निरन्तरता पाउने समेत बताउँदै आएका छन् ।

महानगरका साथै ललितपुर महानगर, भक्तपुर नगरपालिका, काठमाडौंका ११ वटा नगरपालिकाले पनि सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ निषेध गरेको छ । तर, ती स्थानहरूमा कार्यान्वयन हुन सकेको पाइँदैन । दक्षिणकाली, साँखु नगरपालिका पदाधिकारीहरू नगरपालिकाका सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजनय पदार्थ निषेध गर्न नसकेको स्वयं स्वीकार गर्छन् ।

नेपाली समाजमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्दा मान बढ्ने गलत मनसायको प्रभावका कारण यसको प्रयोगमा कमी हुन नसकेको पदाधिकारीहरू बताउँछन् । धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मान बढेको तथा जमघट, भेटघाट हुँदा समेत प्रयोग गरिँदा थप समस्या देखिएको पाउन सक्छौँ । नगरपालिका क्षेत्रका सार्वजनिक स्थल र खाजा पसलहरूमा साथीहरू जमघटको समयमा युवापुस्ताले सुर्तीजन्य पदार्थ प्रयोग गरेको सहजै देखिने ललितपुर महानगरका एक अधिकारीले बताए । यस्तो क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने समेत उनको भनाइ छ ।

सुर्तीजन्य पदार्थको प्रयोगको कारणले वर्तमान र भावी पुस्ताहरूको स्वास्थ्य, सामाजिक वातावरण र आर्थिक पक्षमा पर्ने असर र प्रभावबाट बचाउन र ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई साकार पार्न कठिन हुने बताउँदै सरकारले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्नका लागि ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।

सरकारले २०६८ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्नको लागि भन्दै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन– २०६८ र सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन नियमावली– २०६८ तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याएको थियो । सरकारले ल्याएको उक्त नियमले सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउनुको साथै, बिक्री–वितरणका लागि इजाजत लिनुपर्ने, जरिबानाको समेत व्यवस्था गरेको छ । ऐनको दफा ४ मा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न नपाइने भनिए पनि सार्वजनिक यातायातका साधन, अस्पतालबाहेकका क्षेत्रमा नियन्त्रण हुन सकेको छैन । सोही ऐनको दफा ११ मा १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन भनिए पनि नियन्त्रण भएको छैन ।

ऐनको दफा ३ मा विद्यालय, स्वास्थ्य संस्थालगायत सार्वजनिक स्थानमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न÷गराउन नपाउने उल्लेख गरिए पनि कानुनको पूर्ण पालना गरेको पाइन्न । अस्पताल, विद्यालय, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागकै प्रवेशद्वारमा खुलारूपमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण, सेवन भइरहेको पाइन्छ । यसका साथै सरकारले बजेटमार्फत सुर्तीजन्य पदार्थको करमा वृद्धि गरेको पाइन्छ । सरकारले सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पाइन्छ । यति हुँदाहुँदै पनि सुर्तीजन्य पदार्थको जथाभावी प्रयोग र कारोबार हुँदा सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउने र सर्वसाधारणको स्वास्थ्यलाई सुरक्षित राख्ने कार्ययोजना निष्प्रभावी देखिएका छन् ।

तथ्यांकलाई हेर्दा भने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्यांकले नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्ने २८ दशमलव नौ प्रतिशत रहेको बताएको छ । जसमध्ये ४८ दशमलव तीन प्रतिशत पुरुष र एक दशमलव छ प्रतिशत महिला छन् । नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थको प्रयोगले लाग्ने उपचार खर्च, अकाल मृत्यु, अशक्त र रोगीको उत्पादकत्वमा आएको ह्रासमा ४७ अर्ब रुपैयाँबराबरको क्षति हुनेगरेको समेत सो तथ्यांकले देखाएको छ ।

यता सन् २०१७ मा नेपाल सरकार सुर्तीजन्य पदार्थविरुद्धको अभियान (एचसीटीसी)ले गरेको अध्ययनले नेपालमा प्रतिवर्ष २७ हजार आठ सय जनाको मृत्यु हुनेगरेको तथ्य सार्वजनिक गरेको थियो । त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि नेपालमा प्रतिवर्ष २७ हजारको मृत्यु हुनेगरेको तथ्यांक सार्वजनिक गरेको थियो । यसका साथै धुम्रपान गर्नेमा युवापुस्ताको संख्या धेरै हुनेगरेको बताइएको छ । यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक हुँदा पनि सरकारी नीति–नियमहरूले भने सुर्तीजन्य पदार्थको कारोबार तथा प्रयोगलाई नियन्त्रणमा लिन सकेको पाइँदैन ।

धुम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक मानिन्छ । यसको सेवनले फोक्सोको क्यान्सर, मस्तिष्कघात, मुख तथा घाँटीको क्यान्सर हुनुका साथै कम तौल भएको, शारीरिक असक्तता भएको शिशुको समेत जन्म हुने हुँदा यसको प्रयोग नगर्न सरकारले आग्रह गर्दै आएको छ । धुम्रपान तथा सुर्तीमा हुने निकोटिन तथा टार, कार्बन मनोअक्साइडले मुटु र फोक्सोको रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।

उनीहरूका अनुसार सुर्तीजन्य पदार्थमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरका कारक तत्व हुन्छ, जसले गर्दा सुर्तीजन्य पदार्थको प्रयोगका कारण प्रमुख चारवटा अर्थात् क्यान्सर, दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेह लाग्ने गर्छ । त्यसैले चिकित्सकहरू सुर्तीजन्य पदार्थको प्रयोग नगर्न आग्रह गर्दछन् । पाँच जनामध्ये दुई जना व्यक्ति अरुले खाएको धुम्रपानको धुवाँले पीडित हुन्छन् । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सुर्तीजन्य पदार्थ सेवनले लाग्ने नसर्ने रोग र मृत्युदरमा अन्य कारणभन्दा उच्च रहेको अनुसन्धानले समेत प्रमाणित गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 1, #page 2

तपाईको प्रतिक्रिया