Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारओली चुके कहाँ ?

ओली चुके कहाँ ?


काठमाडौं ।
विश्वको प्रायः सबै मुलुकमा राजनीतिमा खारिएका राजनीतिज्ञहरुमध्ये उच्चतम नेतृत्व क्षमता भएकै व्यक्ति नै मुलुक हाँक्ने राष्ट्रपति वा प्रधानमन्त्रीको रुपमा कार्यकारी प्रमुख हुनपुग्ने हो । नेपालमा पनि २ वर्ष ८ महिनापहिले मुलुकको राजनीतिमा सफल भएर नै खड्ग प्रसाद शर्मा ओली विधिवत् रुपमा संविधानलाई हुबहु अनुकरण गरी प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

निर्वाचनमा नेकपाले पार्टी स्वार्थ र राष्ट्रिय स्वार्थलाई जोडेर चातुर्यका साथ केही मुद्दालाई उचालेर मतदाताहरुको मन जित्न सफल भएकोलाई एक सामान्य लोकतान्त्रिक अभ्यास मानिन्छ र यो संसारभर हरेक प्रजातान्त्रिक मुलुकमा हुने एक अत्यन्तै स्वाभाविक काम कुरा हो । त्यसैगरी पार्टीभित्र ‘तिकडम’ खेलेर प्रधानमन्त्रीको एक मात्र उम्मेदवार बन्न ओली सफल भएको पनि उनको उच्च नेतृत्वक्षमताको एक उदाहरण नै मान्नुपर्ने हुन्छ । तर, आजको दिनमा आएर चारैतिर सरकारको चर्को विरोध भइरहेकोलाई सामान्य रुपमा लिनु ठूलो भूल हुनेछ ।

उच्च कोटिको नेतृत्व क्षमतामा हुनुपर्ने लक्षण, बानीव्यहोरा, चरित्र, स्वभाव, विशेषता आदि सम्बन्धमा गत सय वर्ष पहिलेदेखि पश्चिमा मुलुकका विज्ञहरुले गरिरहेको अनुसन्धान, अध्ययन, विश्लेषणलाई अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् । ती अहिलेसम्म गरिएको अनुसन्धान र अध्ययनको निचोडबाट तय भएका अनिवार्य रुपमा हुनुपर्ने विशेषताहरुलाई दुई वर्गमा बाँड्न सकिन्छ । पहिलो वर्गमा भिजन, तीक्ष्ण मन, भविष्यको अनुमान गरी योजना बनाउने सीप, साहस, निर्णय गर्ने क्षमता, आपसमा खुला संवादको वातावरण निर्माण गर्ने कुशलता, अरूलाई प्रभाव पार्ने र प्रेरणा दिने कला, आफ्नो स्वार्थलाई समेत दाउमा राखेर खतरा मोल्न सक्ने सामथ्र्य, सबैलाई नतिजाकेन्द्रित बनाउन सक्ने सीप र सधैं फुर्तिलो, सक्रिय भइराख्ने स्वभाव पर्छन् ।

गत दुई वर्ष आठ महिनाको कार्यकालमा यी विशेषताहरुमध्ये कुन–कुन मामिलामा प्रधानमन्त्री ओली चुकेको भनी विश्लेषण गर्दा केही कुरामा निकै कमजोर भएको देखिन्छ । सायद उनको स्वभाव र बानीले होला पार्टीभित्र र मन्त्रिपरिषदमा खुला संवाद गर्ने वातावरण सिर्जना गर्नै सकेन । मन्त्री र सचिवहरुलाई प्रेरणा दिएर नतिजाकेन्द्रित बनाउने कुशलता पनि देखाउन सकेनन् उनले । ‘कडा निर्देशन’ले नै ठूलो उपलब्धि हासिल भइहाल्छ भन्ने परम्परागत सोचबाट उनी पनि बाहिर निस्किन सकेनन् ।

असाधारण र विशिष्ट प्रकारको नेतृत्वको लागि दोस्रो वर्गमा पर्ने लक्षणहरु बढी महत्वपूर्ण हुन्छन् । यो वर्गमा आत्मबोध, आत्मव्यवस्थापन, निर्णयमा निष्पक्षता, पारदर्शिता, अरूको कल्याण गर्नेमा रुचि, सत्यनिष्ठा, विश्वसनीयता, इमानदारिता, मूल्यमान्यतामा आधारित सही मूल्यांकन, निरन्तर रूपमा ज्ञान प्राप्त गर्दै आफ्नो र अर्काको समेत सामथ्र्य र बौद्धिक क्षमता विकास गर्नेमा चासो पर्छन् । गत दुई वर्ष आठ महिनाको अवधिमा भए गरेका सत्तारुढ पार्टी र सरकारको क्रियाकलापलाई नियालेर हेर्दा यस वर्गमा पर्ने सम्पूर्ण लक्षणहरुमा प्रधानमन्त्री ओली नराम्रोसँग चुकेको प्रष्ट देखिन्छ ।

बाँकी दुई वर्ष चार महिनामा प्रधानमन्त्रीले राज्यसत्ता सञ्चालनमा काँचुली फेर्ने खालको परिवर्तन ल्याउने हो भने उपर्युक्त दोस्रो वर्गमा पर्ने गुणको अभिवृद्धिमा विशेष जोड दिनैपर्छ । सुरुवातको रुपमा मन्त्रिपरिषद् हेरफेरबारे अहिले चलिरहेको हल्लालाई सम्बोधन गरेर प्रधानमन्त्रीले उदारता देखाएर आफ्नो स्वार्थ त्याग गरेको खण्डमा उनीनजिकको केहीले चित्त दुःखाए पनि जनताको माझमा उनको हाइट बढ्छ ।

प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव चार जनासँग दुई÷चार घण्टा बन्द कोठामा बसेर एक जना पनि राज्यमन्त्री र सहायक मन्त्री नराखीकन अहिले भइरहेको मन्त्रालय संख्यामा एक मन्त्रालय पनि नथपीकन चिटिक्क पर्ने मन्त्रिपरिषद् गठन गर्दा प्रधानमन्त्रीको छवि ह्वात्तै बढ्ने निश्चित छ । प्रधानमन्त्रीले नै त्याग गरेर देखाएपछि अरु चार जना नेताले पनि आआफ्नो अडान छोड्न पर्ने वातावरण स्वतः सृजना हुन्छ नै । ओलीको लागि आफ्नो नेतृत्व क्षमता देखाउने एक सुनौलो अवसर मन्त्रिपरिषद् पुनर्गठन नै हो । यस्तै तरिकाले मनलाई काबुमा राखेर आफ्नो अहम् र घमन्डलाई जबर्जस्ती नै नियन्त्रण गरी पार्टी र सरकारमा अत्यन्त निष्पक्षता देखाउनेदेखि दोस्रो वर्गमा पर्ने अरु नेतृत्व सीप बढाउने आँट गरिएको खण्डमा ओली राष्ट्रको एक राजनेता बन्ने अवसर अझै सुरक्षित छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया