Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानवतावाद र अन्तर्राष्ट्रियवाद : महामारीका दुई सन्देश

मानवतावाद र अन्तर्राष्ट्रियवाद : महामारीका दुई सन्देश


नन्दलाल खरेल
वर्तमान महामारीले विश्व मानव समुदायलाई अनेकौं सन्देशहरू दिइरहेको सन्दर्भमा मानतावाद र अन्तर्राष्ट्रियवादजस्ता दुई महत्वपूर्ण सन्देशमा केन्द्रित रही प्रस्तुत गर्ने जमर्को यहाँ गरिएको । केही मननीय भनाइबाट सुरु गरौँ ।
-यदि तिम्रो आफ्नो गल्ती स्वीकार्न सक्दैनौ वा स्वीकार्ने प्रयास गर्दैनौ भने यो नै तिम्रो ठूलो गल्ती हो । –चाणक्य
– महान मान्छेहरू अठोट र सङ्कल्प गर्छन् र सामान्य मान्छेहरू केवल कामना राख्छन् । –वासिङ्टन इर्भिङ
– महान व्यक्तिहरूको पहिलो परीक्षा उसको नम्रता हो । –जोन रस्किन
– धनमा हैन मनमै हुन्छ सुखको साँचो । –अज्ञात
– संसारमा तीन प्रकारका मानिस हुन्छन् । कोही आफैँ देख्छ, कोही देखाएपछि देख्छ र कोही जत्ति देखाए पनि देख्दै देख्दैन । –लियोनार्दो दाभिन्ची
– एक मात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो । –अल्वर्ट आइन्स्टाइन
– कृषिको अविष्कार नै मानव सभ्यतातर्फको ठूलो पाइला हो । –अर्थर केइथ
– धैर्य तीतो हुन्छ, तर यसको फल निकै स्वदिलो हुन्छ । –रुसो
– विलासिता भनेको प्रकृतिका आवश्यकताको विपरीत कुरा हो । –कार्ल माक्र्स
– यदि तपाईसँग जित्ने आकांक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसकेको छ । –डेविड एम्व्रोज
– हारेसे होय जित (हार्न सक्नु पनि जित हो) । –प्राणनाथ
– मानव जातिसँग एउटा साँच्चैको प्रभावकारी हतियार छ, त्यो हो हाँसो । –मार्क टियुइन

मानिसहरूलाई जस्तोसुकै संकट आइपर्दा पनि यी माथिका भनाइहरूलाई मनन गर्ने हो भने त्यस्ता संकटबाट बच्न अवश्यक पनि ऊर्जा मिल्नेछ । वर्तमान विश्वले कोरोना भाइरस (कोभिड १९)सँग जुधिरहेको छ । विश्वमै अत्यन्त चर्चा र सन्त्रासको रूपमा फैलिएको कोरोना भाइरसले मानविय क्षती मात्र गुमाएको छैन । आर्थिक, सामाजिक, मनोवैज्ञानिकलगायतका बहुआयामिक अवयवहरूमा गम्भीर असर पारिरहेको छ । हुनत मानवजातिले दुईवटा विनाशकारी विश्वयुद्धको परिणामलाई भोगिसकेको छ । त्यति मात्र होइन इतिहास फर्केर हेर्दा कोरोनाभन्दा ठूला महामारी विश्वले भोगिसकेको छ । तर, विश्वले यस्तो महामारी सामना गरेको यो पहिलो पटक भने होइन । मानव सम्यताले यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ ।

विश्वमा कैयौँ त्यस्ता महामारी भए होलान, तर केही महामारी इतिमासमा अलिखित छन् । इतिहासका पानामा पढ्दासमेत आतंकित बनिने त्यस्ता महामारी त्यसवेलाका मान्छेले कसरी सामना गरे होलान् कल्पना गर्न सक्दैनौँ । ती महामारीको नाम लिनु पर्दा व्ल्याक डेथ (कालो मृत्यु), स्पेनिस फ्लु, विफर (स्मलपक्स), प्लेग अफ जस्टिनियन, एचआइभी एड्स, तेस्रो प्लेग, प्लेग अफ लन्डन रहेका छन् ।

व्ल्याक डेथ (कालो मृत्यु)मानव सम्यताकै सबैभन्दा विनाशकारी महामारी हो । यो महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा सकिएको ‘दि गे्रट प्लेग’ हो । यसले ४ वर्षको समायवधिमा २० करोड मानिसको ज्यान लिएको थियो । यो महामारी युरोपबाट एसियासम्म फैलिएको थियो । संसारमा यो महामारीपछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न दुई शताब्दी अर्थात् २ सय वर्ष लागेको थियो । त्यस्तै स्पेनिस फ्लु अर्को ठूलो महामारी हो ।

यो माहामारी सन् १९१८ को सुरुमै संसारमा फैलियो । त्यसले पाँच करोड मान्छेको ज्यान लियो । ५० करोड मानिसलाई यो भाइरस लागेको थियो । जुन त्यसबेला विश्वको जनसंख्याको एक चौथाई अर्थात् २५ प्रतिशत थियो । विफर (स्मलपक्स) अर्को ठूलो महामारी हो । यो युरोप, एसिया र अरेविया क्षेत्रमा १६औं शताब्दीमा फैलिएको महामारी हो । सन् १५२० देखि फैलिएको यो महामारीबाट पाँच करोड ६० लाख मानिसको मृत्यु भएको थियो । स्मलप्क्स रोगले भेटेका १० जनामध्ये तीन को ज्यान जान्थ्यो भने बाँकीको शरीरमा दाग छोड्थ्यो । स्मलपक्स नै इतिहासको पहिलो माहामारी बन्यो यो भ्याक्सिनबाट नियन्त्रणमा आयो ।

यसले महामारीको रूप लिएको शताब्दीयौँ पछि १८औं शताब्दीको अन्त्ययतिर एडवार्ड जेनरले स्मलपक्सको भ्याक्सिन बनाए, जसले यो महामारीको अन्त्य भयो । लेग अफ जस्टिनियन यो घातक संक्रमण अरु केही नभएर प्लेग हो । यो प्लेग पहिलो पटक सन् ५४१ मा रोमको वाइजान्टाइन साम्राज्यको राजधानी कन्स्टान्टिनोपलबाट सुरु भएको थियो । एक वर्षसम्म विश्वभरि तवाही मच्चाएको त्यो प्लेग सन् ७५० सम्म पनि बेलाबेलामा देखिएको थियो ।

यो महामारी प्लेग लागेको झिंगाले कालो मुसालाई सारेको र मुसाले अन्न खाँदा अन्नमा व्याक्टेरिया फैलिएको विश्वस गरिन्छ । महामारी फैलँदा वाइजान्टाइनका साम्राट जस्टिनियन प्रथम रहेकाले इतिहासकारहरूले यो महामारीको नम प्लेग अफ जस्टिनियन राखेका हुन् । यो प्लेग डढेलोजस्तै युरोप, एसिया, उत्तरी अफ्रिका र अरेविया क्षेत्रमा फैलियो । यसले विश्वभरिका तीनदेखि पाँच करोड मानिसको ज्यान लिएको अनुमान छ, जुन सम्मवत त्यसबेलाको विश्व जनसंख्याको आधा थियो ।

हाम्रो शताब्दीमा देखिएको अहिलेसम्म निरन्तर जारी रहेको महामारी एचआइभी/एड्स हो सन् १९८१ बाट सुरु भएको यो महामारीका कारण हालसम्म संसारभरि दुई करोड ५० लाखदेखि तीन करोड ५० लाख मानिसको मृत्युको शिकार भइसकेका छन् । सन् २००४ को एकै वर्षमा यो रोगको कारण संसारभर १७ लाख मानिसको मृत्यु भएको थियो । अहिले तीन करोड ८० लाख मानिस यो रोगबाट संक्रमित छन् भन्ने अनुमान छ । एचआईभी एड्सलाई संसारको सबैभन्दा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा लिइएको छ ।

यो संक्रमण पहिलो पटक चिम्पाञ्जीबाट मानिसमा सरेको अनुमान गरिन्छ । मानिसबाट मानिसमा सर्न थालेकोले यसले महामारीको रूप लियो । यो असुरक्षित यौन सम्पर्क तथा रगतको माध्यमबाट सर्ने गर्छ । तेस्रो प्लेग मानव सभ्यताको अर्को ठूलो महामारी हो । दि ब्ल्याक डेथ र जस्टिनियनपछि यो तेस्रो ठूलो महामारी हो । सन् १८५५ मा चीनको युनानबाट सुरु भएको यो प्लेगले एक करोड २० लाख मानिसको ज्यान लिएको थियो । यो चीनको ग्वान्जाउ र हङकङसम्म फैलिएको थियो । ‘प्लेग अफ लण्डन’ अर्को ठूलो खतरानाक महामारी हो । सन् १३४७ को व्ल्याक डेथपछि तीन सय वर्षसम्म औसत २० वर्षको फरकमा यो प्लेगले विनाश मच्याएको थियो । जसले बेलायतमा संक्रमितमध्ये २० प्रतिशतको ज्यान लिएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) संसारमै अत्यन्त चर्चा र सन्त्रासको रूपमा फैलिएको छ । यसले मानवीय क्षति तथा जनस्वास्थ्य मात्र असर गरेको छैन आर्थिक, राजनीतिक, सामाजिक र मनोवैज्ञानिक क्षेत्रमा समेत यसले गम्भीर असर गरेको छ । यसलाई अत्यन्तै त्रासदीको रूपमा हेरिएको छ । यद्यपि यसले मानव समुदायलाई अत्यन्त दुईवटा ठूलो सन्देश दिएको छ : मानवतावाद र अन्तर्राष्ट्रियवाद अँगाल्नेतर्फ ।

भौतिक विज्ञानको क्षेत्रमा कल्पनै गर्न नसकिने ठूलो ठूला आविश्कार त भए, मानिससँग सुख, सयल, भोग, विलास गर्ने प्रयाप्त साघन त भयो तर अर्कातिर मानवतावादको चरम खडेरी पर्न गयो । विश्वमै ठूला–ठूला कहालीलाग्दा अपराधहरू बढ्दै गए । हत्या हिंसाका पासविक घटनाहरू पनि बढ्दै गए । अरु त के कुरा लकडाउनभित्र मानिस थुनिएको बेला पनि अबोध बालबालिकाहरू बलात्कृत भएका छन्, धिक्कार छ यौन पिपासुहरूलाई । धिक्कार छ ती अपराधीहरूलाई ।

कोरोना भाइरसले दिएका दुई प्रमुख सन्देशहरू मानवतावाद र अन्तर्राष्ट्रियवादको बारेमा यो पङ्तिकार अलिकति चर्चा गर्न चाहान्छन् । मानवतावादभित्र दया, माया, प्रेम, करुणा, सदभावजस्ता तत्वहरू समावेस हुन्छन् । मानवतावादले कुनै धर्म, वर्ग, उचनीच, शक्तिशाली–कमजोर आदिको सीमा राख्दैन । यो पृथ्वी साझा हो । प्रकृतिले सबैलाई हावा, पानी, जमिन, जंगल दिएका हुन् । यीमाथि सम्पूर्ण मानव जातिले उपभोग गर्न पाउनु पर्छ भन्ने मान्यता राख्दछ ।

त्यति मात्र होइन जीव, प्राणीले समेत यो प्रकृतिले दिएको साझा पृथ्वीमा बस्न पाउने अधिकार छ । यस मानवताले अमेरिकाको येशुक्रिष्ट मान्ने क्रिश्चियन नै किन नहोस्, कोही साउदीको अल्ला मान्ने मुस्लिम नै किन नहोस्, कोही जापानको बौद्धमार्गी नै किन नहोस्, कोही भारतको हिन्दु धर्म मान्ने हिन्दू नै किन नहोस्, जो कोही मर्दा पनि उत्तिकै उसलाई दुःख छ भने त्यो मानवता हो । त्यति मात्र होइन कोही प्राणी सडकमा गाडीले किचेर मर्दा पनि उसलाई उत्तिकै दुःख र कुनै मानिस मर्दा पनि उत्तिकै दुःख्छ । मानवताले सम्पूर्ण मानव जातिको एकै किसिमको जीवन देख्न चाहान्छ ।

आज अमेरिकी नागरिक, स्पेनिस, इटालीका नागरिक कोरोनाबाट मरिरहँदा हामीलाई उत्तिकै दुःख्छ भने त्यो मानवता हो । हामीले यो सोच्नु हुँदैन अमेरिकीहरूले दम्भ देखाइरहेका थिए । ठिकै भयो हामी भन्दैनौँ र भन्नु पनि हुँदैन । आज विपत्मा एक देशले अर्को देशलाई सहयोग गरिरहेको छ, त्यो मानवता हो । मानवतावाद र अन्तर्राष्ट्रियवाद एक–अर्काका परिपुरक हुन् अथवा केही समानान्तर गुण एक–अर्कामा पाइन्छ । युनानी दार्शनिक स्टोइक्सको समयकालदेखि अन्तर्राष्ट्रियवादको विकासक्रम सुरु भएको भनिन्छ । यिनीहरूले विश्वबन्धुतत्वको भावनाका सम्बन्धमा प्रकाश पारेका थिए ।

यस अन्तर्राष्ट्रियवादका अनुसार विश्वभरका मानिसहरू एउटै मानवजातिअन्तर्गत पर्दछन् । यो राष्ट्रवादको व्यापक रूप हो । ‘वसुधैव कुटुम्वकम’ का भावनाको राजनीतिक स्वरूप अन्तर्राष्ट्रियवाद हो । यो राष्ट्रहरूबीचका पारस्परिक द्वैष र बैमनस्यलाई हटाउने माध्यम हो । यसवादले सबै देशलाई विश्व समाजका विभिन्न अंग मान्दछ । यो धर्म जाति तथा राष्ट्रिय बन्धनहरूलाई तोडेर एउटा नयाँ व्यवस्थासम्बन्धी परिकल्पना हो । यस्तै परिकल्पना दार्शनिक मार्क्सले गरेका थिए । उनले वर्गविहीन र राज्यविहीन समाजको कल्पना गरेका थिए । जहाँ धनी र गरिब वर्ग नहोस्, विश्वका सबै देशहरूको एउटै राज्य होस् । तर, आजसम्म यस्तो राज्य बन्न सकेको छैन । तर, समाजवादी राज्यको अभ्याास भने केही देशहरूमा भएको थियो ।

विशेषगरी अन्तर्राष्ट्रियवाद विश्व प्रेमको भावना हो । अन्तर्राष्ट्रियवाद विश्वका सम्पूर्ण मानव जाति समान छन् भन्ने बौद्धिक चेतनामा आधारित छ । मानिस प्रकृतिदेखि नै समान भएकोले यसद्वारा मानिस जातिको विभाजनलाई कृत्रिम मानिएको छ । गोल्ड स्मिथका अनुसार, ‘अन्तर्राष्ट्रिय एक यस्तो भावना हो । जसअनुसार व्यक्ति आफ्ना राज्यको मात्र सदस्य नभएर विश्व नागरिक पनि हो ।’ विलियम लायड मोरिसनका अनुसार, ‘हाम्रो देश विश्व हो, हाम्रो देशवासी सम्पूर्ण मानवजाति हुन्, जसरी हामी सम्पूर्ण हाम्रो जन्मभूमिलाई माया गर्छौ त्यसरी नै हामी अरु देशलाई पनि माया गर्छौ ।’

अन्तर्राष्ट्रियवादले राष्ट्र–राष्ट्रबीचको विवादलाई हटाउन चाहन्छ । यसले कहिल्यै पनि युद्ध एवं अशान्तिको बाटोलाई स्वीकार गर्दैन । राष्ट्रहरूबीच पारस्परिक सहयोग सद्भाव र शान्तिपूर्ण सह अस्तित्वको विकास गर्न यसको प्रमुख उद्देश्य रहेको छ । यसले संघषको वातावरण कायम हुन दिँदैन । बाँच र बाँच्न देऊको भावनालाई विकसित गराउँछ । हो, आज यो महामारीले यही सन्देश दिएको छ । प्रकृतिमाथिको चरम दोहन, बढ्दो उपभोगवादी चरित्र, अस्वस्थय पुँजीवादी चरित्र, महाशक्ति राष्ट्रहरूको होडबाजीले अहिलेको समस्या निम्तिएको हो । आज विश्व एकातिर र कोरोना भाइरस अर्कोतिर भएको अवस्था छ । बन्दुक र बैभवको आडमा विश्व महाशक्ति बनेका देशहरूको दम्भ कोरोनाले चकनाचुर बनाइदिएको छ ।

अन्तरिक्षमाथिको विजयदेखि इन्फरमेसन सुपर जोनमा मानिसले पाएको विज्ञानको सफलता आज उपाय हीनताको मनोदशमा गुज्रिरहेको छ ।कोभिड–१९ ले मानवतावाद र अन्तर्राष्ट्रियवाद अँगाल्नु पर्ने सन्देश मात्र होइन जीवन के हो ? सफलता के हो ? सफलताको मापन कसरी गर्नुपर्छ ? मानिस किन आफ्नै कारणले बढी दुःख्ने गर्छ ? के सारा दुःख नराम्रा कामको भुक्तानी हो ? धनमा हैन मनको सुखमा मानिस किन बाँच्न सक्दैन ? जीवनलाई कसरी सुन्दर बनाउने हो ? के मानिसको सुख र आनन्द यौन र पैसा हो ? के मृत्यु मानिसको अन्तिम सत्य होइन ? के अनन्त इच्छा नै मानिसको दुःखको कारण हो ? किन सत्यको बाटोमा मानिसको भीड कम हुन्छ ? प्रकृतिले मानिस बनायो तर किन मानिसले बनायो जात ? यी सबै प्रश्नको उत्तर खोज्न कोरोना भाइरसले सन्देश दिएको छ । के अब अझै ढिला गर्ने यी सबै प्रश्नको उत्तर खोज्न ? पक्कै पनि विश्वका सम्पूर्ण मानिसले यी सबै प्रश्नहरूको उत्तर खोज्ने बेला आएको छ ।

सृष्टिको प्रारम्भमा मानिसको जात केवल मानिस नै थियो, काला हुन या गोरा, नाक चुच्चा हुन् या थेप्चा आखिर उनीहरूको पहिचान मात्र मानिस थियो । समयको कालसँगै जब मानिस शक्तिशाली र धन दौलतले पूर्ण बन्यो तब उसले निर्वल र कमजोरमाथि शासन गर्ने, प्रभाव जमाउने प्रपञ्चको रचना भयो । यही प्रपञ्चका बीच जन्मिए अनेक जातजाति र समूह । रूप, रङ्ग, आकार र चलनका आधारमा रह्यो समूहगत नाम । त्यत्ति मात्र होइन धर्म र शास्त्रहरूलाई बङ्ग्याउँदै जातीयताको गाहिराइ (खाडल) अझ बलियो बनाइयो । के अझै हामी यसको पछि लाग्ने त ? हामीले (विश्वभरिका) मानिसले ठण्डा दिमागले सोच्ने बेला आएको छ ।

मानिसको अन्तिम सत्य एक मात्र ‘मृत्यु’ हो । मृत्युको एक पल अघिसम्म पनि जिउन पाएकोमा उत्साव मनाऔं । जब मृत्यु आउँछ तब ती क्षणहरूमा पनि रमाउँदै खुसी मनाऔँ किन कि संसारका सबै मानिसको दुःखको अचुक उपाय मृत्यु हो । आज मानिस मृत्युदेखि डराइरहेको छ । मानिस बाँच्नकै लागि युद्धझैँ लडिरहेको छ । मानिसलाई भोकले मर्ने उत्तिकै चिन्ता छ । आज मानिस कोराना भाइरसले मात्र मरिन्छझैँ गरिरहेको छ । महान चिन्तक वासिङ्टन इर्भिङ भन्दछन्, ‘महान मान्छेहरू अठोट र सङ्कल्प गर्छन् र सामान्य मान्छेहरू केवल कामना राख्छन् ।’ आज धेरै मानिसहरू कोरोना भाइरस नियन्त्रण होस् भन्ने घरभित्र बसेर कामना गरिरहेका छन् । तर, महान मानिसहरू बाहिर निस्केर विपत्तमा परेका मानिसलाई सहयोग गरेका छन् । अनेक वैज्ञानिकहरू यो रोगको उपचारको खोजीमा छन् । डक्टरहरू सेवामा छन् । उनीहरूलाई थाहा छ जीवनको एक मात्र सत्य मृत्यु हो, किन मृत्युसँग डराउने उनीहरूले मृत्युलाई हाँसीहाँसी स्वीकार गरेका छन् ।

प्रसिद्ध विद्वान लिओनार्दो दाभिन्ची भन्छन्, ‘मानिस तीन प्रकारका हुन्छन्, कोही आफैँ देख्छ, कोही देखाएपछि देख्छ र कोही जत्ति देखाएपछि पनि देख्दैनन् ।’ आजको मूल समस्या जत्ति देखाए पनि देख्दै नदेख्ने मानिसहरूको भीडले उत्पन्न गराएको संकट हो । प्रकृतिले दिएको सन्देश, ज्ञानी सन्त महन्त दार्शनिकहरूले दिएको बाटो नहिँडेकोले मानिस आज दुःख पाइरहेको छ । तर, ऊ अझै अरुलाई दोष दिइरहेको हुन्छ । त्रिपिटकमा उल्लेख गरिएको छ, ‘इच्छा नै दुःखको कारण हो ।’ उत्सब मनाउन कुनै नयाँ वर्ष र कुनै चाडपर्वको जरुरी पर्दैन । जब प्रत्येक श्वास प्रकृतिको कृपाविना फेर्न सकिदैन भने हरेक श्वासमा हामी खुसी मनाऔँ । प्रत्येक पल, क्षण र वर्षमा खुसी मनाऔं, मनुष्यको जन्मभन्दा ठूलो संसार कुनै छैन । जनावरमा चार चेतनाका गुण छन् आहार, निन्द्रा, भय, मैथुन तर मानवमा सयौं गुण छन् । के यी गुणको हामीले सही सदुपयोग नगर्ने ।

चाणक्य भन्छन्, ‘बुद्धिमान मानिसहरू थोरै बोल्छन्, धेरै सुन्छन् र धेरै विचार गर्छन् ।’ तर आज मानिसहरू धेरै बोल्छन् थोरै सुन्छन् र कत्ति पनि विचार गर्दैनन् । आज मानिसहरू अपैचारिकतामा कुदिरहेका छन् । कति बाध्यतामा बाँचिरहेका छन् । आज मान्छे आफ्ना भावनाहरू गुम्साइरहेको छ । त्यति मात्र होइन मानिसहरू देखावटीमा हिँडिरहेका छन् । हो यस्ता चरित्रहरूले दुःख पैदा गर्छ । त्यतिमा होइन रोगसमेत निम्त्याउने आयुर्वेदको चिकित्सामा छ । तसर्थ कम बोल्नु आफ्नो बोलीमा बोल्नु नै सुखको कारण हो ।

मानिसको जीवन सुन्दर बनाउन सर्वप्रथम ऊ स्वस्थय हुनुपर्दछ । स्वस्थय हुन उसको आहार विहार तथा जीवन शैलीमा परिवर्तन आउन जरुरी छ । योग, ध्यान र प्राणायामले र उसको स्वात्विक भोजनले मात्र प्रत्येक मानिसको जीवनमा परिवर्तन आउँछ, ऊ निरोगी हुन्छ । जब मान्छे निरोगी हुन्छ, तब उसले कमाएको धनको पनि अर्थ हुन्छ । मनलाई सुखको अवस्थामा पु-याउने विभिन्न उपायमध्ये मनोविज्ञानले हाँस्नसक्नुलाई ठूलो उपलब्धि ठह-याएको छ । दिनमा पटक–पटक खुलेर हाँस्न सक्ने मानिस हृदय रोगबाट टाढा हुनसक्ने एक अनुसन्धानले देखाएको छ । हाँसोले प्रत्येक मानिसको जीवनमा उत्साह लिएर आउँछ । यसै कारण संसारका धेरै देशमा हाँस्या क्लवहरू खेलिएको पाइन्छ । निरन्तर हाँसिरहने मानिसमा ‘एन्डोर्फिन्स’ बढी निस्कन्छ, जसले ‘स्ट्रेस हार्मोन’लाई कम गर्छ र दुःख चिन्ता कम हुन्छ । डिप्रेसन उसैलाई हुन्छ, जसको शरीरमा ‘सेरोटानिन’ भन्ने हार्मोन कम निस्कन्छ वा निस्कँदैन । हाँसाको विज्ञानलाई ‘गेलोटोलजी’ भनिन्छ । हाँसोले शरीर मनमा पर्ने प्रभावबारे अध्ययन यसले गर्दछ ।

तर, हाम्रो समाजमा हाँसोलाई त्यति महत्व पनि दिइँदैन । हाम्रोमा परम्परागतरूपमा नै ‘हाँस्यो कि नास्यो’ भन्ने अवधारणा अहिले पनि व्याप्त छ । दार्शनिक पामको भनाइमा ईश्वरको रूप हाँसोमा हुन्छ । यसो भनिन्छ हासेर बोल्नेले खुसी लिन्छ र अरुलाई पनि खुसी दिन सक्छ । तसर्थ हाँस्न सक्नुमा सुखको फर्मुला लुकेको हुन्छ । मान्छेको मास्तिष्कमा औसत एक सय विलियन न्युरोन्स हुन्छन् । ३५ वर्षपछि दिनहुँ करिब सात हजार न्युरोन्स नष्ट भएर जान्छ । ती न्युरोन्सलाई नष्ट हुन नदिन आहार, विहार र व्यवहार शुद्ध हुन जरुरी छ ।

अन्त्यमा आज हामी संकटको घडीमा छौं । तर, हामीले बुझ्न जरुरी छ, यो संकट हामीले नै निम्त्याएको हो । यो कसरी निम्तिइरहेको छ, त्यसको कारण खोजौं । जीवनको एउटै मात्र सत्य हो– मृत्यु । त्यो अवश्यम्भावि छ । यस घडीमा हामीले सामाजिक दूरीलाई टाढा गरेर होइन सामाजिक दूरीलाई कम गरेर संकट समाधानतिर लाग्नु पर्छ । ‘सामाजिक दूरीलाई घटाऔँ, शारीरिक दूरीलाई बढाऔं’ भन्ने नारा अहिलेको सन्दर्भमा उपयोगी हुन्छ ।

जाँदाजाँदै महामती प्राणनाथले श्रीमत्तारतम सागरमा राखेको एउटा भनाइ यहाँ राख्नु अझ बढी सान्दर्भिक हुन्छ । ‘हारे से होय जित’ यसको तात्पर्य हो हार्नु नै जीवन हो । जसले हार्न सक्छ उसले नै संसार जितिरहेको हुन्छ । आज विश्वका महाशक्ति राष्ट्रहरूले यो कुरा बुझ्न जरुरी छ । त्यति मात्र होइन विश्का सबै मानिसहरूले यसतर्फ ध्यान जरुरी छ । मानिस सदियौंदेखि अनेक रोगले मृत्युवरण गरिरहेको छ । कोरोनाले भन्दा अरु रोगले मानिस मरेको छ । यो मृत्युलोक हो । मृत्युलोकमा जन्मेका सबै मानिस एक दिन मर्नै पर्छ । सबैलाई चेतना भया ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया