Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगधरापमा परेको हवाइ सेवा, यसका प्रभाव र चुनौती

धरापमा परेको हवाइ सेवा, यसका प्रभाव र चुनौती


लक्ष्मण सिटौला
कोरोना प्रभाव र एयरलाइन्स उद्योग : यतिबेला विश्व लकडाउनमा छ । हवाइ सेवाका प्रायः सबै सेवाहरू ठप्प छन् । एउटा आँगनजस्तै र सबै एक परिवारजस्तै लाग्ने विश्व मानव समुदायबीचको भौगोलिक दूरी बढेको छ । कमर्सियल फ्लाईटहरू बन्द भएको स्थिति छ । कहिलेदेखि विश्वमानव सहज परिस्थिति र आफ्नो पूर्वअवस्थामा फर्किने हो कसैले आन्दाज गर्नसक्ने स्थिति छैन ।

कोरोनाबाट अति प्रभावित देश अमेरिका र युरोपेली मुलुकहरू पूर्वास्थामा फर्किन धेरै समय लाग्नेछ भनेर अनुमान गरिँदै छ । विश्व व्यापार ठप्प छ । तेल उत्पादक कम्पनीहरू खर्बाैं मा नोक्सानमा छन् । हवाइ सेवासमेत अति नै नराम्रोसग प्रभावित भएको छ । मानिसको यात्रा रोकिएको छ । हवाइ यातायातले संसारलाई जोडेको थियो र मानिसहरूले कहिले कल्पनासमेत गरेका थिएननन् कि उनीहरू जहाँ बसेका छन् त्यही रोकिन पर्ने अवस्था पनि सिर्जना हुनसक्छ भन्ने । आज विश्व त्रसित छ । कोरोनाको खोप उत्पादन हुन्जेलसम्म धेरै मानिसहरू हताहत भइसक्नेछन् ।

अनुसन्धानबाट आविष्कार हुने खोप पनि त्यति प्रभाशाली हुनसक्छ भन्ने कुनै ग्यारेन्टी छैन किनभने एचआईभी रोगको यात्रा ३५ वर्ष नाघिसकेको छ । आजसम्म यस्को रोकथाम मात्रै भएको छ निको हुने कुनै औषधि पत्ता लागेको छैन । अहिलेसम्म कोरोनामाथि गहिरो अध्ययन हुन सकेको छैन र भनिन्छ कोरोनाले रूप परिवर्तन गरिरहेको छ । चाइनाबाट उत्पत्ति हुँदाको अवस्थाभन्दा अहिले विश्वमा फैलिँदा यसको रूपमा, प्रभावमा र फैलावटमा परिवर्तन आइरहेको छ ।

खोपको विकास हुँदासम्म यसले विश्व मानवमाथि कति क्षति पु-याउँछ भन्न सकिने अवस्था छैन । मानिसको अवस्था सामान्य हुँदासम्मको स्थितिमा मात्रै हो व्यापार, जागिर, अध्ययन, अनुसन्धान र उसले गर्ने यावत कर्महरू त्यही गतिमा गतिमान हुने । अहिले जुनसुकै क्षेत्रको पनि गति रोकिएको छ । यस्तै गति आजभन्दा १०२ वर्ष अगाडि पनि रोकिएको थियो र त्यो बेला अहिलेको जस्तो रोगप्रतिरोधि ओखती पनि प्रयोगमा आइसकेको थिएन । मानिस जब ऊ असमान्य अवस्थामा रहन्छ न त्यहाँ व्यापार हुन्छ न त्यहाँ सामाजिक कामहरू हुन्छन् न जीवनका अरु गतिशील कर्महरू त्यही रफ्तारमा अगाडि बढ्न नै सक्छ ।

कोरोनापछिको हवाइ क्षेत्र र त्योसग सम्बन्धित सबै व्यापार अहिले विश्वभरि नै ठप्प छ । चार्टर र उद्धारभन्दा बाहेकको क्षेत्रमा हवाइ सेवा प्रयोगमा आएको छैन । व्यापारीक उडान यति छिटो नै सुरु होला भन्न सकिने अवस्था छैन । व्यापारको अरु क्षेत्रभन्दा हवाइ सेवा पृथक र रिस्क भएको क्षेत्र पनि हो । लामोदूरीमा उड्ने एउटा ए–३३० जहाज जब कमर्सियल उडानमा जान्छ तब यसको अप्रेसन लागत हामीले सोचेभन्दा धेरै फरक हुन्छ । जहाजको पनि हरेक पार्टसको आ–आफ्नै लाइफ र साइकल हुन्छ । उड्न थालेपछि उडानसँग सम्बन्धित सबै पूर्जाहरूको लाइफ साइकल सुरु हुन्छ । इन्जिनदेखि ल्यान्डिङ गियर, ह्वीलदेखि अरु नेभिगेसन र इलेक्ट्रिकल पार्टसहरूको आयु हुन्छ । तिनीहरूको हरेक उडानको घन्टासग र टेकअफ ल्यान्डिङसग समय गणना हुन्छ । निश्चित घन्टा पार गरेपछि फेर्ने वा ओभरलमा पठाउनुपर्नेहुन्छ ।

जहाज उड्न थालेको चार हजार घन्टामा इन्जिन ओभरल गर्नुपर्ने हुन्छ त्यसपछि सिङ्गै जहाजको सुरुमा निश्चित घन्टापछि ‘ए’ चेकमा जानुपर्ने हुन्छ । अर्को क्रमशः ‘बी’ चेक ‘सी’ चेक हुँदै जान्छ । म्यानुफेक्चरिङ कम्पनीले निर्धारण गरेको समयमा पूरै जहाज चेक गर्नुपर्ने हुन्छ । हरेक चेकमा धेरै खर्च हुन्छ । यही कारणले पनि हवाइ क्षेत्र एउटा निकै महंगो व्यवसाय हो । सबै प्रकारका जहाजको ओभरल (मेन्टेनेन्स लागत) चार्ज अत्यन्तै महंगो हुन्छ । त्यही कारण पनि एयरलाइन्सको व्यापार हम्मेसी नाफामा जाँदैन । गए पनि कुनै कारणवश उडान तालिकामा तलमाथि प-यो वा उडानहरू रद्द गर्नु परेको खण्डमा र यात्रुहरूलार्ई तारे होटेलमा राख्नुपर्ने स्थिति आयो भने टिकट बेचेको मूल्यभन्दा यात्रुलार्ई एक दिन पाल्नुपर्दाको अवस्था खर्चिलो हुन्छ । यो एउटा चुनौतीकै रूपैयाँ देखिन्छ । त्यसैले पनि सबै एयरलाइन्सले हम्मेसी उडानहरू रद्द गर्दैनन् । त्यसैले पनि विशेष परिस्थिति सिर्जना हुन नगएसम्म कुनै पनि हवाइ सेवा कम्पनीले आफ्नो निर्धारित उडान रद्द गर्न चाहँदैनन् ।

के हुन्छ उडान रद्द हुँदा ? निर्धारण गरेको फ्लार्ईट सेडुल विविध कारणले जब रद्द हुन्छ तब एयरलाइन्सको हालत खराब हुन्छ । अझ लङहल फ्लाइट रद्द हुँदा यात्रुहरूको गुनासो थेग्नसक्ने स्थिति नै हुँदैन । सबै यात्रुले आफू पुग्ने गन्तव्य यात्रा निश्चित मितिका लागि तय गरेका हुन्छन् त्यो समयमा पुग्न नसक्ने भएपछि उनीहरूको पनि आ–आफ्ना काम मिटिङ व्यापार होलान् अनि त्यसको निश्चित शोधभर्ना खोज्छन् । आईकाओको नियमअनुसार लङहलका सबै यात्रुलार्ई तारे होटेलमा राख्नुपर्ने हुन्छ । उडान रद्द हुँदा दुवैतर्फको प्यासेन्जरलाई खानपिन र आवास सुविधाको प्रबन्ध गर्नुपर्ने हुन्छ । अझ पूरै फ्लाइटको सिट अकुपेन्सी फुल छ भने पूरै यात्रुलाई व्यावस्थापन गर्नुपर्ने हुन्छ ।

अहिले प्रायः एयरलाइन्स कम्पनीहरू कोड सेयरिङमा चलेका छन् । ट्रान्जिट गरेर अर्को एयरलाइन्सको फ्लाइटको उपयोग गरी यात्रुलार्ई आफ्नो गन्तव्यमा पु-याउने कार्यलार्ई कोडसेयरिङ भनिन्छ । एयरलाइन्सभित्रको आन्तरिक सम्झौता हो यो । जस्तो, इतिहाद एयरले नेपालबाट उडान भरेर दोहा पुगेका यात्रुलार्ई कतारबाट युरोपेली देशमा पु-याएजस्तै । नाफा र नोक्सानको हिस्सामा साझेदार अपनाइने सम्बन्ध । हवाइ सेवा कम्पनीले निर्धारण गरेको फ्लाइट प्रोग्राम सकेसम्म रद्द गर्दैन किनभने यसबाट उसले धेरै नोक्सानी बेहोर्न पर्ने हुन्छ । जहाजमा प्राविधिक समस्या, क्याबिन क्रु र ककपिट क्रुको अभाव वा कुनै खराब मौसमका कारणले मात्रै निश्चित उडान तालिका रद्द हुनसक्ने अवस्था आउन सक्छन् ।

विमानहरू भूमिस्थ हुँदाको अवस्थामा पनि सम्बन्धित हवाइ नियमन र नियन्त्रक निकायलार्ई भूमिस्थ गरेको सबै जहाजको पार्किङ चार्ज तिर्नुपर्ने हुन्छ । हरेक महिना यसको महंगो इन्स्योरेन्स तिर्नुपर्ने हुन्छ । उडान गर्दा मात्रै होइन ग्राउन्डेड हुँदा पनि यसको आफ्नै खर्च भैरहेको हुँदा विश्वका हवाइ सेवा प्रदायक कम्पनीहरू प्रायः घाटामा गैरहेका हुन्छन् । सरकारले जिम्मेवारी लिएको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सहरू कतार, थाइएयर्वेज, एयर इन्डिया, इथेहाद अथवा नेपाल एयरलाइन्स अहिले उठ्नै नसक्ने गरेर थला परेको अवस्थामा छन् । इन्डियन एयर र एयर इन्डियापछि मर्जमा गए तर पनि उसको आर्थिक अवस्था सुधार हुन सकेन । इन्डियन गभर्मेन्टले अर्बाैं डलर लगानी गरिदिएको छ तर पनि बालुवामा पानी खन्याएजस्तो भएको छ । नाफामा गएको थाइल्यान्डको सरकारी एयरलाइन्सको हालत पनि टाटको अवस्थामा पुगेको छ ।

कोरोनापछि विश्व हवाइ सेवामा आएको आर्थिक मन्दी भर्जिन एयरले आफ्ना आफ्ना छ सय पाइलटसहित तीन हजार कर्मचारीहरू कटौती गरेको छ । फिन एयरले भाडामा लिएको १२ वटा जहाजसहित २४ सय कर्मचारी निष्कासन गरेको छ । साथै मौजुदा २२ वटा जहाज ग्राउन्डेड र आफ्ना ४१ सय स्थायी कर्मचारीलार्ई सेवाबाट अवकाश दिएको छ । रेनएयरले आफ्ना एक सय १३ वटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरूलाई भूमिस्थ गर्नुका साथै नौ सय १३ अन्तर्राष्ट्रिय चालकहरू घटाएको छ र कोरोनाको प्रभाव यस्तै रहेमा आउँदो महिना सम्ममा अरु चार सय ५० पाइलटहरू घटाउने योजनामा लागेको छ ।

नर्वेजियन एयरले लामोदूरीका सबै उडानहरू रद्द गरेको छ र लिजमा लिएको ७८७ सिरिजका सबै जहाजहरू लिजमा दिने कम्पनीलार्ई फिर्ता गरिसकेको छ । इतिहाद एयरले आफूले अर्डर गरेका सबै ए–३५० सिरिजका जहाजहरू निर्माण रद्द गरिसकेको छ । साथै उसले आफ्ना लङहल फ्लाइट गर्ने जहाजहरू ए–३८० र बोइङ सिरिजका जहाजहरू ग्राउन्डेड गरिसकेको छ । आफ्ना सात सय २० कर्मचारीलार्ई कटौती समेत गरेको छ । एयर इमिरेट्सले यो वर्ष सबैभन्दा धेरै निर्माण गर्न लगाएको ७७७ सिरिजका सबै एक सय ५० बोइङको निर्माण रद्द गरेको छ र आफ्ना ३८ वटा ए–३८० सिरिजका सम्पूर्ण जहाज भूमिस्थ गरेको छ । उसले आफ्ना स्थायी ५६ जना कर्मचारीलार्ई समेत अवकाश रोज्न आह्वान गरिसकेको छ ।

विज एयरले भाडामा लिएका ३२ वटा ए–३२० सिरिजका जहाजहरू कम्पनीलार्ई फिर्ता गरेको छ । आफ्ना दुई सय चालकसहित अन्य १२ सय कर्मचारी घटाइसकेको छ । अवस्था हेरेर आगामी महिनाभित्र अन्य चार सय ३० कर्मचारी पनि घटाउने योजनामा लागेको छ । बाँकी रहेका कर्मचारीहरूले खाइपाई आएको तलबमा समेत ३० प्रतिशतले कटौती गर्दै छ ।

आईएजी (बृटिस एयरवेज सग्को भगिनी संस्था) आफ्नो एयर युरोपसँगको सहकार्यलाई तोडेको छ र यसबापत उसले एयर युरोपालाई ४० मिलियन पाउन्ड तिर्दै छ । आईएजीले आफ्ना ५६ वटा जहाज ग्राउन्डेड गरेको छ । बृटिस एयरले पनि आफ्ना ३४ वटा लङहल फ्लाइटलार्ई ग्राउन्डेड गरिसकेको छ र ५८ वर्ष पार गरेकालाई सेवा मुक्त गरिसकेको छ ।

लुक्स एयरले पचास प्रतिशत जहाजहरू घटाएको छ र आफूले सहकार्य कोड सेयरिङ गरेका सबै भगिनी संस्थाहरूसगको आन्तरिक सम्झौता रद्द गरिसकेको छ । युरोविङ एयरवेज बैंक करप्टेसिमा परेको छ । ब्रसेल्स एयरलाइन्सले ५० प्रतिशतभन्दा बढी आफ्ना जहाजहरूमा कटौती गरेको छ र सहकार्य गरेका कतिपय एयर कम्पनीसँगको सम्झौतासमेत रद्द गरेको छ ।

त्यस्तै लुफ्थान्सा एयरले आफ्ना ७२ वटाभन्दा बढी लामोदूरीका जहाजहरू ग्राउन्डेड गरेको छ । त्यस्तै अर्को होप एयरले ५० प्रतिशतले कर्मचारी घटाउँदै र ५० प्रतिशतले जहाज पनि घटाउने योजना बनाउँदै छ । अहिले बोइङ निर्माण कम्पनीसँग कम्तीमा ६० भन्दा बढी निर्माण सम्पन्न भएका लामोदूरीका जहाजहरू ग्राहक कुरेर बसिरहेको छ । जब कि उक्त कम्पनीलार्ई अर्डरमा आएका जहाज निर्माण गर्न भ्याइनभ्याइ हुन्थ्यो । कतिपय जहाजहरू फिर्ता आउँदै र निर्माणका लागि बैना दिएका हवाइ सेवा कम्पनीहरूले धमाधम आफ्नो अर्डरसमेत रद्द गरिरहेका छन् । कोरोना प्रकोपकै कारण विश्वका बोइङ म्यानुफेक्चरिङ कम्पनीसमेत धरापको अवस्थामा पुगेका छन् र आफ्नो हाइलिस्किल म्यानपावरलार्ई समेत कामबाट निकाल्नुपर्ने बाध्यता छ ।

हवाइ उड्डयन सेवा प्रदायक कम्पनी मात्रै होइन जहाज निर्माण कम्पनीसमेत यतिबेला विश्वव्यापी कोरोना प्रभावका कारण अन्योलग्रस्त छन् । अर्बाैं डलरमा डिल भएका सेवा प्रदायक कम्पनीहरूले जहाज निर्माणको काम नै धमाधम रद्द गर्न थालेका छन् । विश्वव्यापी रूपमा कोरोनाको भ्याक्सिन उत्पादन सुरु हुन पनि अझै केही वर्ष लाग्ने सम्भावना बढ्दै गएको छ । यसको कारण पनि सबै हवाइ सेवा प्रदायक कम्पनीहरूको भविष्य अन्योलग्रस्त हुँदै गएको छ ।

एयरबस मेनेफेक्चरिङ कम्पनीसँग अहिले निर्माण सम्पन्न भएका र अर्डरमा आएका ७८ वटा लामोदूरीका एयरबसहरू ग्राउन्डेड छन् । त्यसमा ए–३५०का जहाजहरू मात्रै ३० वटा छन् । एयरबस कम्पनीले कोरोना प्रभावका कारण विश्वमा लगभग आठ हजार जहाजरु भूमिस्थ हुने र ९० हजार पाइलटहरूले आफ्नो जागीर गुमाउने आँकलन गरेको छ ।

प्रभाव र चुनौती : हवाइ सेवामा आएको व्यापार क्षयीकरणका कारण विश्वको दूरी लम्बिएको छ । मानिसहरूको व्यापारिक यात्रा नै रोकिएको छ । अत्यावश्यक सेवाका सामग्रीहरूको मूल्य आकासिएको छ । मानिसहरूको निर्धारित गन्तव्य र उद्देश्यसमेत स्थिर रहेको छ । हवाइ इन्धन उत्पादन गर्ने तेल कम्पनीहरू धराशायी हुने अवस्थामा पुगेका छन् । कार्गो ढुवानी शुल्कमा लागत बढेको छ ।

हजारौं पाइलट इन्जिनियर क्याबिन क्रुहरूको जागीर धमाधम खोसिएको छ । उपयोग नै नभएपछि हवाइ इन्धनको खपत एकाएक रोकिएको छ । यसबाट तेलसग सम्बन्धित कम्पनीमा काम गर्ने कर्मचारीहरू कटौतिमा पर्न थालेका छन् । पर्यटन उद्योग धराशायी बन्दै गएको छ । प्रायः सबै देशको गार्हस्थ्य उत्पादन ८० प्रतिशतले घटेको छ । होटेलमा गरिएका खर्बौं डलरको लगानी डुब्ने अवस्थमा पुगेको छ । करोडौँ मानिसहरू बेरोजगारको चपेटामा पर्न थालेका छन् । कोरोनाले हवाइ सेवा मात्रै होइन अब यसले मानिसको सामाजिक जीवनमा समेत प्रभाव पर्दै गएको छ । मानिसका सामु घनघोर समस्या र चुनौती थपिएका छन् । अब कुर्नु, हेर्नु, र धैर्य गर्नुभन्दा अरु विकल्प छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया