सामाजिक सद्भावमा समृद्धि
काठमाडौं । विकसित सामाजिक परिवेशबाट नै वैभवशाली आर्थिक समृद्धि हासिल गर्न सकिने आधारस्तम्भ तयार हुनेछ । तसर्थ, आर्थिक सम्मुन्नतिसहितको विकसित समाजको चाहना राख्ने जो कसैले पनि मुलुक तथा जनहितका खातिर सङ्कीर्ण सोचबाट माथि उठ्ने प्रयासलाई निरन्तरता कायम राख्नु सही अर्थमा सामाजिक सद्भावको अभिवृद्धि गर्नु हो ।
जहाँ सद्भाव कायम रहन्छ, त्यहाँ निश्चितरूपमा समृद्धि सम्भव रहनेछ । जसका लागि कायमी आपसी भाइचारालाई उदार एवम् संयमताका साथ परिपालना गर्ने दृढ सकल्पसहितको चाहना नै सभ्य नागरिक समाजको परिकल्पना हो । त्यसो भएको हुँदा हामीले एक आपसमा फुटेर होइन जुटेर आपसी समस्याको समाधान गर्नेतर्फ अगाडि बढ्दा मुलुक विरोधी अन्य पक्षधरहरूले सहजै आफ्नो गलत अभिष्ट पूरा गर्ने अवसरबाट वञ्चित रहनेछन् ।
नेपाललगायत विश्वका कुनै पनि मुलुकमा यदि कुनै द्विविधाजन्य अवस्थाका कारण आन्तरिक सामाजिक सद्भाव खल्बलिएको रहेछ भने, वैरीपक्षले त्यसको ऋणात्मक लाभ हासिल गर्न सक्ने सम्भावनालाई मध्यनजरमा राख्दै सदैव सचेत एवम् सतर्क रहँदै सद्भावको जर्गेना गर्न सिकौँ । जसले निश्चितरूपमा आपसी वेमेलका दृष्य–परिदृष्यलाई सकारात्मक सोचसहितको वार्ताको टेबुलमा मनका तिक्ततालाई सार्थकरूपमा खोल्ने अवसरको सुनिश्चितता प्रदान गर्नेछ ।
आपसी सद्भावमा बेमेल पैदा भए दोषको सम्पूर्ण भागिदार अन्य कुनै पनि पक्ष नभई स्वयम् हामी आफैँ हुने सामाजिक तथ्यगत विशेषतालाई मनन गर्दै शान्तिको मार्गलाई अवलम्बन गर्नु अत्यन्त जरुरी भइसकेको छ । राम्रानराम्रा हरेक पक्षलाई मनन् गर्दै जिम्मेवार बन्ने प्रयास नै यथार्थपरकरूपमा सामाजिक सद्भावको मूर्त रूप समेत हो । जसमा हरेक जात–जाति, धर्म, सम्प्रदाय, वर्ण, लिङ्ग, भाषिक समुदाय विशेषको समान–समान प्रतिनिधित्व कायम रहनुपर्नेछ । विशिष्ट विविधीकरणको बीचमा पनि ऐक्यबद्धता कायम रहनु नेपाल र नेपालीको अद्वितीय पहिचान समेत हो । यही अद्वितीय पहिचान नै विश्वका अन्य मुलुकका लागि पाठका रूपमा चित्रण गर्नु समय सान्दर्भिक रहनेछ । अनेकौँ जातको साझा फूलबारी भइकन पनि एकताको सुगन्धित फूल फुलाउन हामी नेपालीबाहेक विश्वमा अर्को कुनै जाति रहेको छैनभन्दा त्यति अत्युक्ति नहोला ।
ऐतिहासिक कालखण्डमा कयौँ विमतिहरू रहँदा–रहँदै पनि जातीय विखण्डन तथा धार्मिक द्वेषको केसमा नेपाल र नेपाली कहिल्यै नपरेको ज्युँदो इतिहास साक्षी रहेको तथ्यगत विशेषतालाई हामीहरू कसैले पनि सहजै भुल्न मिल्दैन । तसर्थ, सामाजिक हितका लागि सकारात्मक ऊर्जाको विकास गर्दै विगतका तिक्ततालाई आपसी प्रेमले सिँचित गर्दै व्यवहारतः लागू गर्ने संकल्पको विकासले द्वन्द्वगत मनोभावलाई क्रमशः न्यून गर्न मद्दत पु-याउनेछ भन्ने विश्वास लिन सकिनेछ । तसर्थ, कुनै पनि समूह वा साम्प्रदायिक सद्भावमा गम्भीर आघात पुग्ने प्रवृत्तिका कार्यहरू नगर्ने वा नगराउने कार्यले विभेदमा पनि सद्भावको बीज अंकुरण हुने अवस्था तयार हुने देखिन्छ । किनकि नेपाल बहुभाषिक, धार्मिक, सांस्कृतिक एवम् प्रकारले जातीय समूहको अनुपम संगमस्थल समेत रहेको तथ्यलाई बुझ्नु जरुरी छ ।
विपरीत अवस्था पैदा भए सामाजिक सद्भावको क्षेत्रमा ऋणात्मक ऊर्जा विकासले आपसी सद्भाव विथोलिन गई अराजकता र उद्दताले प्रश्रय पाउने अवस्था तयार हुने देखिन्छ । जुन निकै नै चिन्ताको विषय हो । एक पक्षलाई अर्को पक्षबाट अलग बनाउन चाहने संस्कृतिको विकासले कायमी सद्भावमा विभेदजन्य परिस्थितिको निर्माण हुने हुँदा समयमा नै सचेत रहनुपर्ने हुन्छ । सद्भाव नै यस्तो कडी हो जसले नागरिक समुदायमा रहेका हरेक तह र तप्काका समूहलाई एक आपसमा हातेमालो गर्दै गोलबद्ध रहन सहयोगीको भूमिका निर्वाह गर्नेछ । त्यसो भएको हुँदा सामूहिक हितको लागि सहयोगी मनहरूको विकास हुनु जरुरी छ । जसले समाजमा रहेको पारस्परिक जवाफदेहिताको विकास गर्दै सम्बद्ध क्षेत्रमा सद्भावको विजारोपण गर्न कोशेढुङ्गा सावित हुने देखिन्छ ।
निश्चितरूपमा प्राप्त जवाफदेहितामा लापरबाही रोक्न सक्ने क्षमताको विकासले सद्भावजन्य सत्मार्गमा लाग्न प्रेरित गर्ने अवस्था सिर्जना गर्नेछ । अन्यथा सामाजिक सद्भावको जग हल्लिन्ने मात्र नभई ध्वस्त हुने सम्भावना जीवन्त रहन्छ । जसबाट लोकतान्त्रिक उपलब्धिहरू गुम्न सक्ने अवस्था प्रारम्भ नहोला भन्न सकिँदैन । प्रस्तुत अवस्था तयार हुनु भनेको प्राप्त राजनीतिक उपलब्धिमाथि कुठाराघात हुनेबाहेक अर्को कुनै ठोस राजनीतिक श्रेय प्राप्त हुन नसक्ने देखिन्छ । जुन आर्थिक विकासविरोधी हुनुको साथै नागरिक समृद्धिको बाधक तत्व विशेष समेत हो भनी ठोकुवा गर्न सकिनेछ ।
यदि कुनै रीतले बिथोलिएको सद्भावलाई गोलबद्ध गर्दै एकताको सूत्रमा उन्न पक्कै पनि केही समय लाग्ने हु‘दा सम्पूर्ण सुरक्षा निकायलगायत राज्यको ध्यान सद्भाव कायम राख्नेतर्फ केन्द्रिकृत रहँदा विकास निमार्णका गतिहरू मन्दगतिमा चल्न गई अवरोध उत्पन्न हुन जाने तथ्यलाई इन्कार गर्न मिल्दैन । तसर्थः आर्थिक प्रगतिको सम्भावनामा सामाजिक सद्भावको भूमिका निकै नै अर्थपूर्ण रहँदै आएको छ । जसको अभावमा शान्ति–सुव्यवस्था बहाल राख्न कठिनाई उत्पन्न हुने देखिन्छ । सामाजिक आर्थिक कारकहरूले आय–आम्दानीसम्बन्धी क्षेत्रमा समस्या उत्पन्न हुन गई समग्र आर्थिक सरोकारसँग प्रत्यक्ष वा परोक्ष साक्षात्कार रहने समूह समेत प्रभावित रहन गई नागरिक समाजमा असञ्जस्यताको कठिन परिस्थितिको जन्म हुने देखिन्छ । जुन मुलुक र नागरिक हितविपरीतको कार्य भएकाले कुनै पनि पक्षधर समूह विशेषले प्रस्तुत प्रवृत्तिको कार्यलाई निरन्तता प्रदान गर्नु सद्भाव एवम् आर्थिक समृद्धिको गतिमा अवरोध खडा गर्नुबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक आर्थिक लाभ हासिल गर्न सकिने अवस्था भने पक्कै पनि होइन ।
तसर्थ, सद्भाव विखण्डनतर्फ उन्मुख रहे द्वन्द्वगत अवस्थाको सामना गर्नुपर्ने हुन्छ । हालसम्म पनि कुनै सामाज्य विशेषको उपनिवेश नरहेको नेपालले सामाजिक सद्भाव बिथोलिएबाट उत्पन्न हुन सक्ने द्वन्द्वगत अवस्थाको सामना कहिल्यै गर्नुपरेको छैन । जुन राष्ट्रको लागि सकारात्मक पक्ष समेत हो । दक्षिण एसियाका विभिन्न मुलुकहरूमा बेलाबखत देखिँदै आएको साम्प्रदायिक दंगाबाट आवश्यक पाठ सिक्दै त्यसबाट पृथक रहने वातावरणको विकास नै सही अर्थमा सामाजिक सद्भावको अनुकरणीय उदाहरण समेत हो । यसमा हामी न त कहिल्यै चुकेका थियौँ न त भविष्यको कुनै पनि कालखण्डमा चुक्न सक्ने अवस्था पैदा हुन दिँदैनौँ भन्ने सन्देश प्रत्येक नेपालीको मनमष्तिकमा प्रतिस्थापन गर्नु सद्भाव अभिवृद्धि गर्नु सरहको अवस्था हो । अन्यथा आज पर्यन्त नभोगेको कठिनभन्दा कठिन परिस्थितिको सामना गर्नुपर्ने भएकाले समयमा नै सद्भावको गतिमा सकारात्मक ऊर्जा प्रवाहित गर्न सबै पक्षबाट सक्दो सहयोग र सद्भाव कायम राखौँ जुन सर्वपक्षीय हितकर कदम समेत हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया