Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदिगो विकास लक्ष्य र कोभिड–१९ महासङ्कट

दिगो विकास लक्ष्य र कोभिड–१९ महासङ्कट


गोपीनाथ मैनाली
विश्व विकासको मार्गचित्रका रूपमा रहेको दिगो विकास लक्ष्य कार्यान्वयनको पाँचौँ वर्षमा कोभिड १९ को विश्वव्यापी महामारीले विश्वलाई नै आक्रान्त पारेको छ । दिगो विकास लक्ष्य बहुआयामिक र अन्तरसम्बन्धित विषय हो । यसले सामाजिक, आर्थिक, वातावरणीय, संस्थात्मक र शासकीय सवै आयामलाई सरोकार राख्दछ । १७ वटा लक्ष्य, एक सय ६९ सहकायक लक्ष्य स्थापित गरिबनुबाटै विकासलाई दिगो वनाउने विषय बहुआयामिक हो भन्ने स्पष्ट छ । त्यस्तै कोभिड–१९ महासङ्कटको प्रभाव पनि जनस्वस्थयमा मात्र सीमित नभई जनजीवनका सबै क्षेत्रमा परेको छ । त्यसैले कोभिड–१९ महामारीले दिगो विकास लक्ष्यका सवै आयामलाई प्रभाव पारिरहेको छ ।

दिगो विकास लक्ष्यको प्रमुख आशय नै सहस्राब्दीको दास्रो १५ वर्र्षभित्र विश्वलाई स्वस्थ्य, सुरक्षित, समृद्ध, सुशासित र सुसांस्कृत बनाउनु हो । यसका लागि क्षेत्रगत उद्देश्य, रणनीति, कार्यक्रम र समयबद्ध कार्यान्वयन कार्ययोजना तय गरी राष्ट्रिय सरकारहरूसँग विश्वसुमदायले सहकार्यका आधारमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएको थियो । धेरैजसो मुलुकहरूले प्रतिबद्धतालाई राष्ट्रिय नीति तथा कार्यक्रमसँग आन्तरिकीकरण गरी कार्यान्वयनलाई गति पनि दिएका थिए ।

तर, कोारेना महामारीले अब सहकार्य कसरी गर्ने ? कुन सामथ्र्यमा रहेर गर्ने ? स्रोत तथा प्रविधिको साझेदारी कसरी कसरी गर्ने भन्ने चुनौती थपिदिएको छ । किनकी विश्वका सवै मुलुक, समुदाय र व्यक्तिहरू एकसाथ विपत्ति र सन्त्रासमा छन् । यस्तो महामारीको अनुमान गरेर प्लान वी (वैकल्पिक रणनीति)को तयारी पनि विश्व समुदायले गरेको थिएन । न यति ठूलो महामारीको सामना गर्नुपर्ला भन्ने सामान्य कल्पना नै गरिएको थियो । अहिलेको पहिलो काम नै जीवनको रक्षा र मानव सभ्यताको संरक्षण हो । पहिलो युद्ध नै संक्रमणविरुद्धको सहकार्य हो । जतिसक्दो चाँडो कोभिड–१९ बाट विजय प्राप्त गरेपछि समाजव्यवस्थाको सामान्यीकरण र अर्थतन्त्रको पुनसंरचनासाथ दिगो विकास लक्ष्यको कार्ययोजना परिमार्जन साथ कार्यान्वयन गरिनु आवश्यक भएको छ, किनकी दिगो विकासका सवै पक्षहरूमा यसले प्रभाव पारेको छ ।

दिगो विकासको पहिलो लक्ष्य सबै स्वरूपको गरिबीबाट समाजलाई मुक्त बनाउनु हो । अल्पविकासित र विकासशील मुलुकमा ठूलो हिस्सा गरिवीमा रहेको छ । न्यूनतम आवश्यकताबाट बञ्चिती, आधारभूत सामाजिक सेवाबाट बञ्चिती, शिक्षा स्वास्थ्य खानेपानी र सरसफाइबाट वञ्चिती, क्षमता निर्माणको अवसरबाट वञ्चित, शासकीय र आवाजको पहूचमा वञ्चित गरिबीका स्वरूप हुन् । गरिबी बहुआयामिक विषय हो, तर कतिपयले भनेजस्तो प्रथम आकृतिमा देखिने अभावमात्र गरिबीको स्वरूप होइन ।

एसिया, अफ्रिका, सवसहाराका मुलुकहरू यसै पनि कुनै स्वरूपको जकडाइमा थिए, कोरोनाले राज्य, सामाजिक र स्वयं गरिबको क्षमतालाई कमजोर बनाएको छ । सरकारको लक्षित कार्यक्रम सञ्चालन गर्ने क्षमता कमजोर भएको छ । जो भर्खरै गरिबीको सीमाबाट उक्लिदै थिए, पुनः गरिबीतिर धकेलिएका छन् । आर्थिक बाहेक अन्य स्वरूपको गरिबीलाई महामारीले बढाउँदै छ । किनकी जोखिम र गरिबीको सीमान्त तहमा रहेका व्यक्तिहरू नै सामाजिक पूजी निर्माण, क्षमता विकास र शासकीय पहुँचबाट धकेलिनेछन् । भनिरहनु पर्दैन, खाद्य सुरक्षा र पोषणमा प्रभाव परिरहेको छ ।

अधिकांश गरिबहरू स–सानो व्यवसाय, निर्वाह खेती र अनौपचारिक श्रममा छन् । विश्व नै सन्त्रासका साथ लकडाउनमा रहेकोले जीवन निर्वाह सामथ्र्य निकै साँघुरिएको छ । लकडाउनका समयमा मानवीय सेवा आपूर्ति भएका स्थानमा पनि कोरोना नियन्त्रणपछि समस्याहरू सतहमा देखिनेछन् । विश्व बैंकले ठूलो संख्यामा मानिसहरू गरिबीतर्फ धकेलिने अनुमान गरेको छ भने विश्व खाद्य संगठनलगायत मानवीय संस्थाहरूले विश्व चरम खाद्य सङ्कटमा पुग्ने अर्को सन्त्रासको अनुमान गरिरहेका छन् । यसर्थ दिगो विकासका प्रमुख लक्ष्यहरू सवै स्वरूपको गरिबी निवारण एवम् खाद्य एवम् पोषण सुरक्षा (लक्ष्य १ र २) नै नराम्ररी प्रभावित हुने सम्भावनामा छ ।

गरिबी र खाद्य एवं पोषण सुरक्षाका लक्ष्यहरू दिगो विकास लक्ष्य प्राप्तिका लागि अन्तरसम्बन्धित असर राख्ने गर्दछन् । त्यसै पनि खाद्य पोषण र गरिबीको प्रभाव स्वास्थ्य क्षेत्रमा पर्ने नै भए, कोभिड–१९ को ‘प्राइमा फेसी’ असर स्वास्थ्य (लक्ष्य ३)मा परेको छ । कोारेनाको प्रभावमा सुरुमा मानव स्वास्थ्यमाथि नै परेको हो । लाखौँको मृत्यु, विश्वका सबैजसो मानिस प्रत्यक्ष वा परोक्ष स्वास्थ्य समस्यामा छन् । अस्पताल, स्याहार केन्द्र, विद्यालय, ठूला आवास संरचनाहरू आइसोलेशन स्थलमा परिवर्तन भएका छन् । बृद्ध, महिला, किशोरी, विशेष सहयोग चाहिने वर्ग र बालबालिका उच्च जोखिममा छन्, र स्वास्थ्य सेवा र उपचारको समस्याले पछिल्तिर धकेलिएका छन् । किनकी सबै स्वास्थ्यकर्मीको प्राथमिकता कोरोना प्रभावितलाई बचाउनुमा रहेको छ ।

महामारीले बालबालिकाले स्तरीय शिक्षा हासिल गर्ने र युवाहरूले सीपयुक्त तालिमबाट जीवन निर्वाह क्षमता आर्जन गर्ने (लक्ष्य ४) पनि नराम्ररी प्रभावित छ । लामो समयदेखि शैक्षिक प्रतिष्ठानहरू सञ्चालनमा छैनन् । युनेस्कोको अनुमानअनुसार एक अर्ब २५ करोड छात्रछात्राहरू पढ्नबाट वञ्चित छन् । केही विकसित मुलुकहरूमा र सम्पन्न परिवारका बालबच्चाहरू अनलाइन प्रविधिबाट शिक्षा हासिल गर्ने सीमित अवसर रहे पनि अधिकांश गरिब मुलुकका अधिकांश बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुँदै छन् । यसको तत्कालीन परिणाम शिक्षा र स्वास्थ्यमा देखिए पनि दीर्घकालीन असर भने राम्रा वैज्ञानिक, विचारक र विश्व निर्माताको निर्माणमा विश्वपछि पर्नेछ । असमानता विस्तार र सामाजिक संस्कृतिमा देखिनेछ । सहस्राब्दीका खुसी दोहन गर्ने सामर्थ्य खुम्चिनेछ ।

गरिबी, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, आय बृद्धिसँग सम्बन्धित लक्ष्यको केन्द्रविन्दुमा लक्ष्य नं ८ (रोजगारी) रहेको छ । कोभिड–१९ ले प्रतिदिन आफ्नो पेशा व्यवसाय गुमाउने र सामाजिक सुरक्षा माग गर्नेका संख्या बढिरहेको छ । सम्पन्न मुलुक संयुक्त राज्य अमेरिकामा मात्र करिब साठी लाखले पूर्णरूपमा रोजगारी गुमाइसकेका र दुई करोडले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । खर्बौं डलरको सुरक्षा प्याकेजमार्फत जनतालाई भत्ता दिई क्रयशक्ति हस्तान्तरण गर्न सरकार लागिरहेको छ । अल्पविकसित अर्थतन्त्रहरू नराम्ररी प्रभावित भएका छन् । किनकी सबैजसो काम भौतिक र म्यानुएलरूपमा नै गर्नु यस्ता मुलुकको बाध्यता हो । यस अवस्थामा विश्व रोजगारीमा तीन प्रकारका असर देखिएका छन्, पहिलो रोजगारीको आयतन नै घटेको छ, दोस्रो रोजगारीको पहुँच (गुणस्तर) घटेको छ र तेस्रो महिला, निम्न आय समूह र अनौपचारिक श्रमिकहरूमा प्रभावको आयतन एवं घनत्व अत्यासलाग्दो देखिनेछ ।

दिगो विकास लक्ष्यले उत्पादन बढाउने र सबै स्वरूपका असमानता घटाउने लक्ष्य राखेको छ । उत्पादन वृद्धि गर्ने लक्ष्य लगानी, रोजगारी, आपूर्ति व्यवस्थापन, स्वास्थ्य र सबल शासकीय गतिविधिमा आधारित छन् । विश्व बैंकको अनुमानअनुसार २०२० मा आर्थिक वृद्धि २ प्रतिशतभन्दा कम हुनेछ । बेरोजगारी सङ्कटको तत्कालीन प्रभाव विश्लेषणपछि मात्र विश्वको उत्पादन यस्तो होला भन्न सकिएला । तर, के अनुमान गर्न सकिन्छ भने उत्पादन उल्लेख्यरूपमा घट्नेछ । त्यो गतवर्षको तुलनामा ऋणात्मक होला कि भन्ने चिन्ता छ । लगानी सामथ्र्यमा वित्तीय मध्यस्थता सेवा दिने संस्थाहरू रहने छैनन् । वित्तीय तरलताको अभाव देखिने छ, बैंक तथा वित्तीय संस्थाहरूमा प्रवाहित कर्जाहरूको पुनतालिकीकरण गर्नुपर्ने स्थिति छ । प्रवाहित कर्जामा ऋण मोचन वा ब्याज सहुलियतको प्रतीक्षा छ । पर्यटन, शिक्षा, यातायात, चलचित्र, खेलकुदजस्ता सेवा व्यवस्थापनले उत्पादनमा दिने योगदान विश्व नै लकडाउनमा रहेकाले ठप्प छ । आपूर्ति अवरुद्धका कारण ‘प्रोडक्सन चेन’लाई स्थापित गर्न पनि जनजीवन सामान्यीकरण भएको केही समय लाग्नेछ । त्यसपछि पनि अर्थतन्त्रको लागत संरचना बढ्नेछ । तेल अर्थतन्त्रहरू यसको न्यून मागका कारण धक्कामा पर्नेछन् भने यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा पर्नेछ ।

दिगो विकासका अभिन्न अंगका रूपमा रहेको पेरिस सम्झौता कार्यान्वयनलाई कोभिड–१९ ले प्रभाव पार्नेछ । कोप/२१ र सीएमपी–११ ले सन् २१०० सम्म उल्लेख्यरूपमा तापमान बढ्न नदिन (बेल विलो टु एम्विशनका लागि) उत्सर्जन न्यूनीकरण, हरित अर्थतन्त्र विस्तार र न्यून उत्सर्जक मुलुकहरूलाई लस एण्ड ड्यामेजको क्षतिपूर्ति दिन, जीसीएफलगायत जलवायु वित्त सञ्चालन गर्न बाधा पार्ने सम्भावना छ । यस वर्र्षको जलवायु वार्ता प्रभावित भएकोले जलवायु परिवर्तन (लक्ष्य १३)मा विश्व समुदायले गर्नुपर्ने कार्यको प्रभावकारी समीक्षा हुनेछैन । स्वास्थ्य, सरसफाइ र खानेपानीसम्बन्धी लक्ष्य (६) मा पर्ने प्रभावमा अध्ययन भैसकेको छैन । तर, जनस्वाथ्यका सबै क्षेत्रमा कोरोना महामारीबाट अछुतो छैन । तर, जैविक विविधता संरक्षण, प्रदूषण नियन्त्रण, पारिस्थितिक प्रणाली संरक्षण र समुद्री सतहसँग सम्बन्धित लक्ष्यहरू (लक्ष्य १४ र १५) मा सकारात्मक अवसर देखिएका छन् । दिगो संस्थात्मक व्यवस्था, दिगो शान्ति र सुशासन (लक्ष्य १६) स्वाभाविकरूपमा केही ओझेलमा छन् । किनकी जीवनको रक्षा र राहत एवं उपचार पहिलो प्राथमिकतामा छन् ।

दिगो विकासको लक्ष्यहरू कार्यान्वयनका लागि आवश्यक संयन्त्रका विषयमा लक्ष्य नं १७ ले उल्लेख गरेको छ । कार्यान्वयन संयन्त्र भएनन् भने लक्ष्यहरू अपेक्षाका सूची मात्र हुन्छन् भन्ने विषयमा संवेदनशील भएर कार्यान्वयन संयन्त्रका रूपमा पुँजी, प्रविधिलगायतको सहकार्य गर्ने प्रतिबद्धता यस लक्ष्यमा राखिएको । यो लक्ष्य विकसित मुलुकहरूले आफ्नो दायित्व पूरा नगरेका कारणमा कमजोर यसअघि नै थियो, अब कोरोना सङ्कटबाट नराम्ररी प्रभावित भएको छ । त्यसै पनि अन्तर्राष्ट्रिय समुदाय र विकसित मुलुकहरू अल्पविकसित मुलुकहरूमा स्रोत, साधन, प्रविधि, दक्षता हस्तान्तरण गर्न त्यति उत्साहित नभएका अवस्थामा कोभिड–१९ ले प्राथमिकताहरू परिवर्तन भएका छन् । उनीहरूको ध्यान तत्कालन महामारी नियन्त्रणका लागि औषधि उपचारमा केन्द्रित गर्ने र जनजीवन सामान्यीकरण भएपछि महामारीले पु-याएको क्षति पुनर्निर्माण गर्नेतर्फ केन्द्रित हुनेछ ।

तर, यसै समय अल्पविकसित मुलुकहरूमा स्रोत, साधनका अभावमा झनै रहनेछन् । तर दिगो विकास लक्ष्यले स्थापित गरेका साझा प्रतिबद्धता भने झनै सान्दर्भिक छन् । ठूला माहमारीको विस्तार सबै मुलुकहरूमा हुनसक्ने भएकाले सहकार्य र साझोदारीको महत्व झनै देखिएको छ । कोरोनाको असरले कोरोना पूर्वको विश्वलाई एक प्रकारकले समीक्षा गरी कोरोनापछिको नयाँ विश्व व्यवस्था कायम गर्नेगरी दिगो विकासको लक्ष्यहरूको पुनः परिभाषा, लक्ष्यहरूको पुनर्तालिकीकरण र कार्यान्वयन विधिको नयाँ ढाँचामा पुग्नुपर्ने अवश्यकता देखिएको छ । सरकारका तहहरू, नागरिक तह, सामुदायिक तथा निजी क्षेत्रको सहकार्यको ढाँचा पुनः परिभाषित गरी कार्यमूलक बनाउनुपर्ने देखिएको छ । तर, कोरोना आयो अब दिगो विकासका लक्ष्यहरू आवश्यक छैनन् वा यी लक्ष्यहरू कार्यान्वयन गर्न सकिँदैन, पछि कार्यान्वयन गरौँला भनेर साझा भविष्य र समृद्ध विश्व निर्माणको कार्य थाती राख्नु कदापि हुँदैन । बरु दिगो विकास लक्ष्यका समग्र पक्षमा परिमार्जन मात्र कोभिड–१९ ले मागेको हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया