पर्यटन : ८ महिनामा संख्या बढ्यो, आम्दानी के हुने हो ?
काठमाडौं । नेपालमा यो (वर्ष सन् २०२३) को आठ महिनामा छ लाख एक हजार तीन सय ६० जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । तथ्याङ्कअनुसार जनवरी महिनामा ५५ हजार ७४ जना, फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना, मार्च महिनामा ९९ हजार चार सय २६ जना, अप्रिल महिनामा ९८ हजार सात सय ७३ जना र मे महिनामा ७७ हजार सात सय तीन जना, जुन महिनामा ७२ हजार दुई सय ५० जना, जुलाई महिनामा ५७ हजार दुई सय २६ जना र अगस्ट महिनामा ६७ हजार एक सय ५३ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । चालू वर्ष अर्थात् सन् २०२३ को बाँकी चार महिनामा चार लाखा विदेशी पर्यटक आउने सम्भावना भने देखिँदैन । किनभने बाँकी चार महिनामा मासिक एक लाखका दरले विदेशी पर्यटक आउनका लागि यथेष्ट हवाई उडान नै चालू गर्न सकेको छैन ।
सन् २०२२ को आठ महिना र सन् २०२३ को आठ महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलना गर्दा सन् २०२३ मा लगभग ४८ प्रतिशतले बढी संख्या रहेको देखिन्छ । त्यसैले सन् २०२३ अर्थात् यो वर्ष यही रफ्तारमा विदेशी पर्यटकको आगमन भएमा नेपालमा (सन् २०२३ मा) कम्तीमा नौ लाख ५० देखि ६० हजारदेखि १० लाख १० देखि १५ हजारसम्म संख्या पुग्ने सम्भावना देखिन्छ । त्यस्तै, सन् २०२२ को आठ महिनामा दुई लाख ८० हजार चानचुन विदेशी पर्यटकले मात्रै नेपालको भ्रमण गरेको तथ्याङ्क रहेको भए पनि सन् २०२२ को आठ महिनामा विदेशी पर्यटकबाट २५ अर्ब ५९ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो ।
नेपाल सरकारको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको तथ्याङ्कलाई उधृत गर्दै सहयोगी ‘अनलाइनखबर’ले केही महिनाअघि प्रकाशित गरेको समाचारअनुसार आर्थिक वर्षको २०७७/७८ (सन् २०२१) को सोही अवधिमा पर्यटन क्षेत्रबाट केवल छ अर्ब ६९ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा मात्रै आम्दानी भएको थियो । यस्तो हुनुमा सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिएको नोभेल कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिइएको) संक्रामक भाइरसको महामारी तीव्र गतिमा फैलिइरहेको थियो । फलतः त्यो बेला नेपालको पर्यटन उद्योग मात्रै नभएर विश्वकै पर्यटन उद्योगले अनपेक्षितरूपमा धक्का खानुपरेको थियो । तर अहिले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘कोरोना फ्रि’ भनी घोषणा गरिसकेको हुनाले आगामी दिनमा विश्व पर्यटन गतिविधिले तीव्रताका साथ ‘रात दुई गुणा र दिन चार गुणा’ उन्नति, प्रगति गर्ने छ भन्ने आशा गर्न सकिन्छ । हुन त नेपालको पर्यटनको इतिहासलाई हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको आधिकारिकरूपमा तथ्याङ्क राख्न थालेको सन् १९६३ देखि मात्रै हो । त्यस यताको लगभग ६० वर्षपछि अर्थात् सन् २०२३ मा फेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा बढोत्तरी हुँदै गएको छ, जुन धेरै राम्रो हो ।
यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ सम्म आइपुग्दा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार (लगभग १२ लाख) पुगेको थियो । जुन संख्या सन् २०१८ को तुलनामा दुई दशमलव एक प्रतिशतले बढी रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०१८ मा पनि ११ लाख ७३ हजार ७२ जना, अघिल्लो वर्षको तुलनामा २४ दशमलव आठ प्रतिशतले नै बढी रहेको थियो । त्यस्तै, सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८ जना, अघिल्लो वर्षको तुलनामा दुई दशमलव एक प्रतिशतले बढी र सन् २०१६ मा सात लाख २९ हजार पाँच सय ५० जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यही संख्याको रफ्तारलाई हेरेर नै होला नेपाल सरकारले सन् २०१८ मा पुनः तेहे-याएर (त्यसअघि सन् १९९८ र सन् २०११ नेपाल भ्रमण वर्ष मनाइसकेको थियोे) मा नेपाल भ्रमण वर्ष मनाउने भनी घोषणा गरेको थियो । तर सन् २०१८ मा विविध कारणले गर्दा नेपाल भ्रमण वर्ष मनाउन नसकेपछि फेरि सन् २०२० मा एकै वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा र तयारी गरियो । तर सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट अकस्मात् फैलन सुरु भएको ‘नोभेल कोरोना भाइरस’ को स्वरूप परिवर्तन भएर महामारीको रूप लिएको हुनाले सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने घोषणा गरिसकेको, सबै तयारी पूरा गर्दै केही कार्यक्रम लागू गरिसकेर उद्घाटनसमेत भइसकेको भए पनि रातारात स्थगित गर्नुपरेको थियो । हुन त उबेलामै विश्वको पर्यटन र पर्यटन उद्योगका सम्बन्धमा विज्ञता हासिल गरेका विज्ञ महानुभावहरूले विश्व पर्यटनमा सुधार आउनका लागि कम्तीमा पनि सन् २०२५/०२६ सम्म लाग्ने अनुमान गरेका थिए ।
जे होस्, यसरी हेर्दा सन् २०२३ मा विगतका वर्षहरूभन्दा (सन् २०२०/०२१/०२२) नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या अपेक्षित ढंगले बढेको देखिन्छ । जुन कुरोलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । तर पनि नेपाल आउने विदेशी पर्यटकहरूले नेपालमा रहँदा उनीहरूले गर्ने दैनिक खर्चको सीमा भने झन्झन् ह्रास आइरहेको अवस्था छ । यसमा सुधार ल्याउन के गर्न सकिन्छ ? यो पनि एक विचारणीय पक्ष रहेको देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया