Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘लकडाउन’ र नेपालमा फसेका चार हजार विदेशी पर्यटकहरू

‘लकडाउन’ र नेपालमा फसेका चार हजार विदेशी पर्यटकहरू


निनाम कुलुड. ‘मंगले’
सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक देखापरेको नोभेल कोरोना भाइरस डिजिज–२०१९ (कोभिड–१९) ले विश्वव्यापी रूपमा महामारीको रूप लिएपछि र (कोभिड–१९) रोगको संक्रामक भाइरसले नेपाललाई पनि अत्यधिक प्रभावित पार्ने संभावना देखिएपछि नेपाल सरकारले नेपाललाई पनि चैत ११ देखि चैत १८ गतेसम्म एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो ।

पहिलो लकडाउनको अवधि नसकिदै चैत १७ मा फेरि अर्को एक हप्ताका लागि नेपाल सरकारले दोस्रो पटक लकडाउन थप्ने घोषणा गर्यो । त्यसपछि नेपालको विभिन्न पर्यटकीयस्थल (ठाउँ)मा के होला ? कसो होला ? भनी पर्खी बसेका विदेशी पर्यटकहरूको उद्धारका लागि नेपाल सरकार र नेपालस्थित विभिन्न देशको राजदूतावासको समन्ययमा नेपालको विभिन्न पर्यटकीयस्थलमा फसेका पर्यटकहरूको उद्धार कार्य सुरु भएको थियो ।

त्यसो त नेपाल सरकारले एक हप्तासम्म नेपाललाई लकडाउन गर्ने घोषणा लागू गर्नु/हुनुअघि नेपालको विभिन्न क्षेत्रमा घुम्न गएका विश्वका विभिन्न देशका पर्यटकहरू कति संख्यामा बाँकी छन् ? त्यसरी नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न गएका विदेशी पर्यटकहरूमध्ये कहाँ कति संख्यामा रहेका छन् ? उनीहरूको अवस्था कस्तो छ ? उनीहरू फर्केर पोखरा वा काठमाडौं कहिले आइपुग्छन् ? उनीहरूमध्ये कति जना भिसा थपेर नेपालमै बस्न चाहन्छन् ? कति जना आफ्नो देश फर्कन चाहन्छन् ? सोधखोज गरेर लगत राखेको थिएन नै । त्यसैले अझै पनि नेपाललाई लकडाउन गर्नुअघि नेपालको विभिन्न क्षेत्रमा घुम्न गएका विदेशी पर्यटकहरू डोल्पाको माथिल्लो डोल्पा क्षेत्र र हुम्लाको यारीलगायत विकट क्षेत्रमा भ्रमण गर्न गएका केही विदेशी पर्यटकहरू अझै पनि बाँकी रहेका हुन सक्छन् ।

यसबारेमा गृह मन्त्रालयको मातहत रहेको अध्यागमन विभागलाई वास्तविक कुरो थाहा हुन सक्छ । किनभने, यी क्षेत्रमा भ्रमण गर्न जान चाहने विदेशी पर्यटकहरूलाई अन्य पर्यटकीय क्षेत्रमा भन्दा केही महंगो शुल्क लिएर ‘स्पेसल परमिट’ जारी गर्ने काम अध्यागमन विभागले नै गर्ने गर्छ । खैर, अझै पनि विभिन्न देशबाट नेपाल घुम्न आएका विदेशी पर्यटकहरू नेपालको कुनै न कुनै ठाउँमा फसेर बसेका भए त्यसरी फसेका विदेशी पर्यटकहरूलाई हामीले निःस्वार्थ भावले तदारुकताका साथ उद्धार गर्ने नै छौं भन्ने प्रण गरौं ।

जे भए पनि अब लागौं हाल विश्वभरि नै (प्यान्डेमिक, विश्वको सम्पूर्ण जनसंख्याको २० प्रतिशतसम्म मानिस बिरामी हुने/बनाउने महामारी रोग) महामारीको रूपमा फैलिरहेको (कोभिड–१९) रोगको संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनका कारण नेपालमा फसेका कतिजना विदेशी पर्यटकहरू उनीहरूको आफ्नो देश फर्के ? भन्ने सम्बन्धमा केही जानकारी लिनेतर्फ ।

गत चैत १६ गतेदेखि चैत २२–२३ गतेसम्मको अवधिमा नेपाल घुम्न आएका तर, नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण नेपालमा फसेका वा भनौं वाध्यतावश बसेका विभिन्न देशका दुई हजार तीन सय ७० जना विदेशी पर्यटकहरू पहिलो चरणमा आआफ्नो देश फर्केका थिए । त्यसपछि पनि नेपाल सरकारले नेपालमा पटक–पटक गरे यही वैशाख २५ गतेसम्मका लागि लकडाउन थपेका कारण लामो समयसम्म नेपालमै रोकिएर बस्न वाध्य भएका वा नेपालमै सुरक्षित महसुस गरी लकाउन अवधिभरि नेपाल बस्न चाहेका विभिन्न देशका विदेशी पर्यटकहरू फेरि अर्को चरणमा आफ्नो देश फर्केका थिए भने यो क्रम अझै केही हदसम्म जारी नै रहेको छ ।

यसरी गत चैत यता विभिन्न समयमा फर्केका विभिन्न देशका पर्यटकहरूमा जर्मनी, फ्रान्स, नेदरल्यान्ड, फिनल्यान्ड, डेनमार्क, इटली, पोर्चुगल, लक्जेम्बर्ग, अमेरिका, क्यानडा, अष्टेलिया, रुस, अष्ट्रिया, न्यूजिल्यान्ड, चेक गणतन्त्र, सिंगापुर, श्रीलंका, ब्राजिल, मलेसिया, थाइल्यान्ड, बेलायत, बेल्जियम, पोल्यान्ड, चीन, लगायत अन्य देशका रहेका छन् । यसरी नेपालबाट उद्धार गरेर आफ्नो देशका नागरिहरूलाई ती देशका सरकारले आफ्नो नागरिकहरूप्रतिको कर्तव्य पूरा गरेको देखिन्छ । हाम्रो देशको सरकारले नि ? यसबारेमा कुरै नगरौं ।

जे होस्, नेपालमा लकडाउनका कारण फसेका वा भनौं बाध्यतावश नेपाल बसेका आफ्ना देशका नागरिकहरूको उद्धार गर्ने देशमा सबैभन्दा धेरै स्वदेश फिर्ता गर्ने वा भनौं उद्धार गर्ने देशमा जर्मनी नौ सय ७ जना, फ्रान्स छ सय ८ जना, अमेरिका तीन सय २ जना, अष्ट्रेलिया एक सय ५६ जना, नेदरल्यान्ड एक सय २२ जना, चेक गणतन्त्र एक सय २ जना र मलेसिया ६६ जना रहेको छ ।

पुनश्चमाथि उल्लेखित तथ्यांक राससलाई उधृत गर्दै नागरिक दैनिकले विसं २०७६ चैत २३ गते प्रकाशित गरेको समाचारको आधारमा दिइएको हो । त्यसैले हालसम्म आइपुग्दा यो तथ्यांकमा तलमाथि भएको हुनसक्छ । यसरी विदेशीहरूले आफ्ना देशका नागरिकहरूलाई उद्धार गर्ने क्रममा ती सबै देशले विषेशतः कतार एयरवेजको हवाइ जहाज रिजर्भ गरेर आफ्ना देशका नागरिकहरूको उद्धार गरेको थियो भने कतार एयरवेजवाहेक मलेसियन एयरलाइन्स, मालिन्डो एयर, गो एयर, स्टार एयरलाइन्स्, नेपाल वायुसेवा निगम (एनएसी) को हवाइ जहाज रिजर्भ गरेर पनि केही देशले आफ्ना देशका नागरिकहरूलाई स्वदेश फर्काएको थियो । तर, दुःखको कुरो नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी)को हवाइ जहाज भने, अष्ट्रेलिया एउटा देशले मात्रै प्रयोग ग-यो । बाँकी अरु देशहरूले नेपालको राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी)को हवाइ जहाज किन प्रयोग गरेनन् ? किनभने, यसमा पनि राजनीति लुकेको छ ।

कस्तो राजनीति लुकेको छ भन्दा सन् २०१३ देखि नै युरोपियन युनियन मातहत रहेको ‘युरोपियन हवाइ सुरक्षा (सेफ्टी) कमिटी’ले नेपालको आकाशलाई असुरक्षित मान्दै ‘कालो सूची’ (ब्लाक लिस्ट) मा राखेर हवाइ जहाजको राजनीति गर्दै आएको छ । जसले गर्दा आपत्विपतको यो घडीमा पनि युरोपियन युनियन मातहत रहेका जर्मनी, फ्रान्स, नेदरल्यान्ड, अमेरिका, चेक गणतन्त्र आदि देशका लागि नेपालको राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी)को हवाइ जहाज रिजर्भ गरेर आफ्ना नागरिकहरूको उद्धार गर्न नैतिक संकट परेको हो ।

सम्भवतः त्यही कारणले गर्दा जर्मनी, फ्रान्स, नेदरल्यान्ड, अमेरिका, चेक गणतन्त्र आदि युरोपियन देशहरूका लागि नेपालको राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी) को हवाइ जहाज रिजर्भ गरेर आफ्नो देशका नागरिकहरूलाई स्वदेश फर्काउनु नैतिक रूपमा अप्ठ्यारो पर्यो । हुन पनि नेपालको राष्ट्रिय ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’ (एनएसी)को हवाइ जहाज रिजर्भ गरेर आफ्ना नागरिकहरूको उद्धार गर्नु अरु देशहरूले देख्दा पनि अप्ठ्यारो नै थियो ।

नेपाल सरकारले सुरुमा १ हप्ताका लागि (११ देखि चैत १८ गतेसम्म) लकडाउन गर्ने घोषणा गरेको भए पनि पहिलो लकडाउनको अवधि नसकिदै चैत १७ मा अर्को एक हप्ताका लागि दोस्रोपटक लकडाउन थप्ने घोषणा ग¥यो भने, त्यही बेला धनगढीमा दोस्रो स्टेजको (विदेशबाट आएका कोरोना संक्रमितले नेपालमा रहेका आफन्तलाई सारेको पक्का भएपछि) सो भाइरसलाई अरु बढी फैलन नदिन भनी सरकारले फेरि तेस्रो चरणको (विसं २०७७ वैसाख ३ सम्म) लकडाउन घोषणा ग-यो । त्यसपछि पनि नेपाल कोरोनाको जोखिम मुक्त हुने संकेत देखा नपरेपछि सरकारले एकैचोटी वैसाख २५ गतेसम्मका लागि लकडाउन थप ग-यो । तर, पटक–पटक गरेर हिजोसम्ममा नेपालमा ७५ जनामा कोरोना पोजिटिभ देखा परी सकेको अवस्था छ ।

त्यसैले अब कोरोना पोजिटिभ देखा परेको एरिया वा भनौं वस्ती क्षेत्रलाई ‘रेड जोन एरिया’ तोकेर ‘लकडाउन लागू’ गर्नुपर्ने देखिन्छ । त्यस्तै सके रातको समयमा बेलुकीको ७/८ बजेदेखि बिहानको ६÷७ बजेसम्म कर्फ्यु लगाउँदा अझ ठीक होला कि ? के हुने हो ? यसै भन्न सकिन्न ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया