Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअत्यावश्यक वस्तुमा समेत परनिर्भरताको डरलाग्दो तथ्याङ्क

अत्यावश्यक वस्तुमा समेत परनिर्भरताको डरलाग्दो तथ्याङ्क


नन्दलाल खरेल
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा साढे ३४ खर्बको अर्थतन्त्र भएको हाम्रो मुलुकले निरन्तर चैत्र ११ गतेबाट लकडाउनको सामान गरिरहेको छ । निरन्तर लकडाउनको कारणबाट मुलुकको अर्थतन्त्रमा बहुआयामिक अवयवहरूमा नकारात्मक परेको छ । पर्यटन क्षेत्रमा असर परेको कारण उड्डयन, यातायात, होटल, व्यापारमा समेत गम्भीर असर परेको छ । उद्योग तथा कृषि क्षेत्रमा समेत कम प्रभाव परेको छैन त्यतिमात्र होइन वित्तिय तथा सेवा क्षेत्रमा रोजगार गर्ने व्यक्तिहरूको समेत रोजगार गुमेको छ ।

आयात–निर्यातबाट सरकारलाई प्राप्त हुने राजस्व पनि सरकारले गुमाएको छ । आपूर्ति प्रणालीको चक्रमा पनि ठूलै असर परेको छ । सरकारले सम्पन्न गर्नुपर्ने साना, ठूला आयोजना तथा राष्ट्रियस्तरका गौरवका आयोजनामा गम्भीर असर परेको कारण ती आयोजनामा लागत बढ्न गई कहिलेसम्म हुने हो त्यसको एकिन हुन सकेको छैन । के लकडाउन मात्रै यो महामारीबाट बच्ने उपाय हो ? किन हामी अन्य सावधानी अपनाएर लकडाउन खुकुलो गर्न सक्दैनौ ? के कोरोना भाइरसले मात्रै मुलुकको जनस्वास्थ्यमा क्षति भएको छ ? यी सबै प्रश्नहरूको उत्तर खोज्ने बेला आएको छ ।

महामारीबाट मुलुकको अर्थतन्त्रको उल्लेख्य गतिविध नहुँदा पनि हाम्रो परनिभरतामा खासै कमी आउन सकेको छैन । धेरैलाई थाहा छ नेपाल कृषि प्रधानदेश हो । तर, थोरैलाई थाहा छ, लकडाउनको अवस्थामा समेत कृषिमा परनिर्भरताको तथ्याङ्क डरलाग्दो छ । चालू आर्थिक वर्षको चैत्र महिना सम्म ४१ अर्ब रूपैयाँबराबरको खाद्यन्न आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार ४० अर्ब ८२ करोड ३८ लाख रूपैयाँ वराबरको खाद्यन्न आयात भएको हो । यो कृषि प्रधान देशका लागि लज्जाको विषय हो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी भारतबाट खाद्यन्न आयात भएको हो । खाद्यन्न आयातमध्ये ठूलो हिस्सा धान रहेको छ । ९ महिनामा २६ अर्ब रूपैयाँभन्दा धेरै धान, चामल आयत भएको छ । सो अवधिमा १९ अर्ब ३९ करोड रूपैयाँको चामल, पाँच अर्ब ६० करोड रूपैयाँको धान, ८४ करोड रूपैयाँको कनिकालगायत आयात भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार साउन देखि चैत्र सम्मा ४० अर्ब ८२ करोड ३८ लाख रूपैयाँबराबरको खाद्यन्न आयात भएको छ । गत आर्थिक वर्ष यही अवधिको तुलनामा ६१ करोड रूपैयाँले वढी हो ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा पछिल्लो समय अत्यावश्यक वस्तुको मात्र आयात भएको छ । पछिल्लो समय आयात ९ महिनामा नौ खर्ब ८२ अर्ब ५३ करोड रूपैयाँबराबरको आयात भएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ७७ दशमलब ४५ प्रतिशतले कम हो । आव २०७५/०७६ को पहिलो १० महिनामा आबमा १० खर्ब ६१ अर्ब ६१ करोड रूपैयाँ बराबरको आयात भएको थियो ।

धान, चामलमा मात्र होइन तरकारीको आयातमा समेत डरलाग्दो तथ्याङ्क हाम्रो सामु देखापरेको छ । मुलुकले लोकतान्त्रिक यात्राको डेढ दशक पार गरिसक्दा पनि उत्पादनमा उपयुक्त रणनीति नबन्नु अभिसाप हो । कृषिप्रधान मुलुकको लागि विगत ११ वर्षमा मुलुकमा तरकारीको आयातको मूल्यमा ११ गुणा वृद्धिभएर रु १५ अर्ब १३ करोड पुगेको छ ।

आर्थिक वर्ष २००८/०९ मा सो आयात एक अर्ब २९ करोडको हाराहारीमा थियो । परिमाणमा हेर्दा पनि यस अवधिमा करिब ५ गुणा वृद्धि भएको छ । यसरी हेर्दा आयातित तरकारी दिनप्रति दिन महंगो हुँदै गएको र नेपाल यस उत्पादनमा परनिर्भर हुँदै गएको प्रस्ट हुन्छ । सहरी क्षेत्रको तीव्र विकाससँगै तरकारी उत्पादनमा आएको कमी तथा तरकारी उपभोगमा व्याप्त अवैज्ञानिक पद्धतिले गर्दा यस्तो अवस्था सृजना भएको हो । वर्तमान संकटको समयमा गाउँ भित्रिएको जनशक्तिलाई यस कार्यमा व्यवस्थित रूपमा सक्रिय गराउन सक्ने हो भने ६ महिनामै १५ अर्ब आयात सजिलै प्रतिस्थापन गर्न सकिने देखिन्छ ।

त्यतिमात्र होइन फलफूल र नटको आयातको मूल्यमा पनि विगत ११ वर्षमा ३ दशमलव ५ गुणा वृद्धि भई वर्षिक १८ अर्ब ११ करोड पुगेको छ । आर्थिक वर्ष २००८/०९ मा सो आयात ५ अर्ब १८ करोडको हाराहारीमा थियो । फलफुल र नटमात्र होइन घाँसमा आधारित पशुपालनलाई परित्याग गर्दा विगत ११ वर्षमा मुलुकमा पशुआहाराको आयातको मूल्यमा १७ गुणा वृद्धि भई ३५ अर्ब ४५ करोड पुगेको छ । आर्थिक वर्ष २००८/०९ मा सो आयात दुई अर्ब ७ करोडको हाराहारीमा थियो । परिमाणमा हेर्दा पनि यस अवधिमा करिब ७ गुणाले वृद्धि भएको छ ।

भारत तथा अन्य मुलुकबाट आयात भएका तरकारी, फलफूल, माछामासु तथा खाद्यन्न वस्तुमा सिमानाकामा परिक्षण नहुँदा हामीले विषादीयुक्त त्यस्ता चिजहरूको उपभोग गरिरहेका छौं । जसले गर्दा कैयौ नेपालीहरूको विभिन्न रोग तथा मृत्युको शिकार भएका छन् । केपी ओलीको सरकारले राजपत्रमा सूचना प्रकाशीत गरेर विदेशबाट नेपाल भित्रिने फलफुल, तरकारी, दलहन र खाद्य पदार्थमा जीवाणु र विषादी जाँच गर्ने घोषाणा भारतीय साम्राज्यबाद सामू लम्पसार पर्दा नेपाली उपभोक्तालाई स्वस्थ खाद्यन्न उपभोग गर्न पाउनु पर्ने हकबाट समेत वञ्चित हुनु परेको छ ।

विषादीयुक्त सागसब्जी र फलफूल निर्वादरूपमा आयात गर्ने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य हो । मुलुकमा विषादी परीक्षण गर्ने विश्वसनीय संयन्त्र छैन । एउटा लेवलभन्दा बढी विषादीको प्रयोग भएको छ भने स्वास्थ्यमा असर गर्छ । यसले युवा अवस्थामै कपाल फुल्ने, रक्तचाप र हार्मोनसम्बन्धी समस्या देखा पर्छ ।

विश्व अहिले कोरोनामय भएको छ । यसले अत्यन्तै चर्चा र सन्त्रास फैलाएको छ । एउटा यस्तो देश छैन, जँहा कोरोनाको महामारी नफैलिएको होस् । आफूलाई शक्तिशाली विकासमा अगुवा ठान्ने देशहरूको आर्थिक समृद्धि यतिवेला शून्य विन्दुमा झरेको छ । अबको केही वर्षसम्म संसारको आर्थिक वृद्धिदर रोकिने अवस्थामा छ । विकास र आयोजनाभन्दा पनि मानिसको जनस्वास्थ्यका लागि ठूलो बजेट खर्चिनु पर्ने अवस्था छ । त्यति मात्र होइन जनतालाई भोकमारीबाट बचाउनु पर्नेछ । जनतालाई भोकमारीबाट बचाउने भनेको एक मात्रै विकल्प हो । भूमिको वैज्ञानिक व्यवस्थापन र कृषि उत्पादन चाहे धनी हुन चाहे गरिव सबैले खाने त्यही कृषि उपज हो । विश्वले प्रविधिमा मारेको फड्को कृषिमा पनि हुन सकेको भए अहिले आएर अति नै कम लाग्ने थियो ।

यस्तो विषम परिस्थितिमा अरु मुलुकझैँ हाम्रो मुलुकले पनि कृषि क्रान्तिको विकल्प नसोचे हुन्छ । कृषि क्रान्ति गर्नु भनेको उत्पादन वृद्धि गर्नु हो । पुन त्यसको अर्थ हुन्छ कृषि र उद्योगको विकास अहिलेसम्म देशमा कुनै उत्पादन वा विकास नगरिकन विदेशबाट आएको आयात सहयोग ऋण वा रेमिट्यान्सको आधारमा बाँचिरहेको नेपालका लागि त्यसो गर्नु सजिलो हुने छैन । उत्पादनको वृद्धि या देशको विकासका लागि सबैभन्दा महत्वको कुरा राज्यको नीति हो । राज्यको नीति कस्तो बन्छ त्यस कुराले निर्धारण गर्छ ।

आगामी आर्थिक वर्षको वजेट निर्माण गर्दा कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्दछ । विदेशबाट रोजगार गुमाएर आएका व्यक्तिहरूलाई आधुनिक कृषि व्यावसायिक वातावरण बनाई उनीहरूको सीप र ज्ञानलाई समेत प्रयोग गरी सो क्षेत्रको विकास गर्नुपर्छ । त्यति मात्र होइन कृषि जन्य वस्तुमा आधारित साना, मझौता उद्योगहरू सञ्चालन गर्न राज्यको विशेष ध्यान दिनु पर्छ । कतिपय कृषिसँग सम्बन्धित रुग्ण उद्योगहरूलाई समेत बजेटको व्यवस्था गरी सञ्चालन गर्नुपर्छ । यसो गर्न सके थप रोजगारी सृजना हुन्छ । कृषि जन्यवस्तु उत्पादन गर्नसके झण्डै डेढ खर्बको कृषि जन्यवस्तुको परनिर्भरता हट्न गई व्यापारघाटालाई सन्तुलनमा ल्याउन सकिन्छ ।

कृषिमा व्यापक परिवर्तन गर्न अहिलेको सरकारको कार्यशैली प्रयाप्त छैन । आधारभूत रूपमा आमूल परिवर्तन हुनुपर्दछ । त्यसप्रकारको परिवर्तन गर्न देशका सबै राजनीतिक दल, सरकार र जनताले समेत गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ । तर, त्यसप्रकारको परिवर्तन हुन सक्छ वा सक्दैन त्यो कुरा आउने दिनहरूमा नै प्रस्ट हुँदै जानेछ । तर, एउटा कुरा प्रस्ट र निश्चित छ, त्यसप्रकारको परिवर्तनविना देश अगाडि बढ्न सक्दैन । अहिले कोभिड १९ ले पैदा गरेको विश्वव्यापी संकटको स्थितिमा विदेशीएका नेपालीहरू देशभित्र आएमा सरकारका गलत नीतिहरूका विरुद्ध उभिने एउटा ठूलो शक्ति भने अवश्य देखा पर्नेछ । आशा गरौं ती युवाहरूले देशको विकासमा महत्वपूर्ण योगदान पु-याउनेछ ।

अन्त्यमा हामी नेपालीले आफूकहाँ उत्पादन नहुने पेट्रोलियम पदार्थ, अटोमोवाइल्स इलोक्ट्रोनिक सामानमा परिर्निभरता बढ्नु स्वभाविक हो । तर, कृषिजन्य वस्तुमा परर्निभरता बढ्नु लज्जाको विषय हो । कृषिमा आत्मनिर्भर बन्न जमीनलाई वैज्ञानिक समाजवादी सिद्धान्तबाट हेर्न जरुरी छ । जमीन जनताको साझा सम्पत्ति हुनुपर्दछ । जमिनको स्वामित्व राज्यको मातहातमा रहने नीतिलाई लक्ष्यमा राख्दै हाललाई क्रान्तिकारी भूमिसुधार अवलम्बन गरी जमिनदारी प्रथाको अन्त्य गर्नुपर्दछ । राज्यले कृषिको वैज्ञानिकीकरण र आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्दै लाने हो भने मात्र हामी कृषिमा आत्मनिर्भर हुन सक्छौं । माथि उल्लेखित नीति सरकारले अवलम्बन गर्ने हो भने कृषिमा आत्मनिर्भर हट्नेछ । नत्र हाम्रो कृषिमा परनिर्भरताको आयतन झन नबढ्ला भन्न सकिन्न ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया