Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपेट्रोलियमको राजनीतिकरणबाट बच्ने उपाय

पेट्रोलियमको राजनीतिकरणबाट बच्ने उपाय


काठमाडौं । पृथ्वीमा रहेको तेलजन्य पेट्रोलियम घाउ प्रशोधन गरेपछि पेट्रोलियम पदार्थको रूपमा बिक्री वितरणका लागि बजारमा पठाइन्छ । जुन आम उपभोक्ताहरूको दैनिकीको अग्रस्थानमा रहँदै आएको छ । पेट्रोलियम पदार्थले आर्थिक राजनीतिको विश्व बजारमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको छ । तर यसले अनावश्यक आर्थिक चलखेलको दरमा तीव्रता ल्याएकाले उपभोक्ताहरू चिन्तित छन् ।

सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुयलाले पेट्रोल निर्यात गर्ने देशहरूको संगठन ओपेक स्थापना गरे । यसको दश वर्षपछि अर्थात् सन् १९७० मा इराक, कुवेत र साउदी अरबसहित केही देशहरूले तेल उद्योगहरूलाई राष्ट्रियकरण गरी ठूला विदेशी कम्पनीहरूलाई हटाएर पेट्रोलको मूल्य बढाए । त्यसपछि विश्वमा पेट्रोलको मूल्य घटबढ हुन थाल्यो र विश्व अर्थतन्त्र नै धेरै प्रभावित हुन थाल्यो ।

ओपेक राष्ट्रहरूले आफ्ना पेट्रोल उत्पादन नियन्त्रणमा लिएपछि विश्व बजारमा यिनीहरूको प्रभाव निकै नै बढ्न थाल्यो । किनभने यिनीहरूले विश्वको आधारभन्दा बढी पेट्रोल उत्पादन आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । फलतः यिनीहरूले विश्वको मागअनुरूप अधिकतम फाइदा उठाउन सफल भए ।

सन् १९७३ मा इजरायल र सिरियालाई समर्थन ग-यो । त्यसपछि ओपेक राष्ट्रहरूले एकातिर अमेरिकालाई पेट्रोल निर्यात गर्न प्रतिबन्ध लगायो अर्कोतिर विश्वभरि नै पेट्रोलको मूल्य निकै बढ्यो ।

विगतमा इरान र इराकबीचको युद्धमा पेट्रोलको वितरण न्यायपूर्ण हुन सकेन भने वर्तमान समयमा रुसको पेट्रोल व्यापारमा प्रतिबन्ध लागेकाले विश्वको पेट्रोल व्यापारमा नकारात्मक प्रभाव परेको छ । साधारणतः युद्धको बेला पेट्रोलको मूल्य बढ्छ । जसबाट नेपालजस्तो अतिकम विकसित देश भएको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ ।

बीसौं शताब्दीमा युद्धको स्वरूप बदलिएकाले पेट्रोलको माग बढेको छ । जसले गर्दा विश्वभर पेट्रोलको वितरण असहज भएको छ । वर्तमानमा विश्वमा पेट्रोलियम पदार्थको खपत दिन प्रतिदिन बढिरहेको छ । हाल यहाँ प्रतिदिन दश करोड ब्यारेल तेल खपत हुन्छ । जुन ७५ वर्षअघिको तुलनामा १० गुणा बढी छ । फलतः पेट्रोलजन्य राजनीतिकरणका अभ्यासहरू बढिरहेका छन् ।

वस्तुतः पेट्रोलजन्य उद्योगहरूको प्रतिस्पर्धात्मक व्यापारलगायत ठूला शक्ति राष्ट्रहरूले पेट्रोलका खातिर, आफ्नो प्रभुत्व कायम राख्ने एक किसिमको होडबाजी विकास गर्दै आएको छन् । जसको कारण विश्वका महाशक्ति राष्ट्रहरूले पेट्रोलियम पदार्थको घनचक्करमा आर्थिक नाकाबन्दीलगायत युद्ध पनि निम्त्याएको तथ्य बिर्सन सकिँदैन ।

आज विश्वमा पेट्रोलियम पदार्थको मौज्दात कम छ । परन्तु धेरैजसो देशहरूमा उक्त पदार्थ प्राप्तिका लागि परनिर्भरता घट्न सकेको छैन । यही कारणले केही वर्षयता विश्वका केही शक्ति राष्ट्रहरूले उक्त पदार्थलाई आर्थिक राजनीतिका रूपमा अङ्गीकार गर्दै अनधिकृत प्रभाव एवम् वर्चस्व कायम गर्दै साना तथा अति कमविकसित राष्ट्रहरूलाई आफू अनुकूलका प्रभावमा पारी राजनीति गर्ने संस्कृतिको विकास भएको छ । विगतमा नेपालले पेट्रोलियम पदार्थको आयातका लागि आर्थिक नाकाबन्दीलगायत शासकीय स्वरूप परिवर्तनसम्मको कठिनाइ भोग्नुपरेको थियो । यहाँ प्रत्येक वर्ष पेट्रोलियम पदार्थको खपत बढिरहेकाले भविष्यमा उक्त कठिनाइ पुनः भोग्नु नपर्ला भन्न सकिँदैन ।

आजसम्म गरिएको सर्वेक्षणको आधारमा नेपालमा सम्भावित पेट्रोलियम पदार्थको उत्खनन् तथा प्रशोधन गर्दा लाग्ने लगानीको अनुपातमा उक्त पदार्थको उत्पादन न्यून हुने आकलन गरिएकाले आजसम्म पनि उपभोग तथा बिक्रीको लागि परिचालन गर्न सकिएको छैन । यही कारणले यहाँ आवश्यक पेट्रोलियम पदार्थको परिपूर्तिका लागि अन्य देशहरूमाथि सदैव निर्भर हुनु परेकाले विश्वमा हुने गरेको पेट्रोलियम पदार्थको राजनीतिकरणबाट नेपाल आजसम्म पनि अलग रहन सकेको छैन ।

यहाँ विद्यमान उक्त अवस्थाको अन्त्य गर्न पेट्रोलियम पदार्थको विकल्प पहिचान गरी प्रयोग गर्न आवश्यक छ । विशेषतः यहाँ पेट्रोलियम पदार्थको चार विकल्प प्रयोग गर्न सकिन्छ ।

सर्वप्रथमतः यहाँ वार्षिक झन्डै तीन सय दिन सहजै प्राप्त गर्न सकिने सूर्यको तापबाट प्रशस्त मात्रामा सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । जसबाट यहाँका सवारी साधनहरू चलाउन सकिने हुनाले आयातीत महँगो पेट्रोलियम पदार्थको खपत क्रमिकरूपले घटाउन सकिन्छ र सञ्चित विदेशी मुद्रा अन्य आवश्यक कामका लागि खर्च गर्न सकिन्छ । यसबाट यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।

दोस्रो, यहाँका केही ठाउँहरूमा वायु तीव्र गतिले बहन्छ । जसलाई वायु ऊर्जाको रूपमा प्रयोग गर्न सके यहाँ विद्यमान पेट्रोलियम पदार्थको खपत न्यून गर्न सकिन्छ । यसबाहेक यहाँको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ ।

तेस्रो, यहाँका गाउँघर तथा अन्य ठाउँहरूमा समेत जैविक मल सहजै प्राप्त गर्न सकिन्छ । जसलाई यहाँ ऊर्जाको रूपमा प्रयोग गर्न सके आयातीत पेट्रोलियम पदार्थको खपत घटाउन सकिन्छ । जसको फलस्वरूप यहाँको अर्थतन्त्र सबलीकरणमा सघाउ पुग्नेछ । जैविक स्रोतमा आधारित ऊर्जाको उत्पादनलाई निरन्तरता दिन उपयुक्त जैविक स्रोतहरूको उपलब्धता उपयुक्त प्रविधि एवम् जनशक्तिको आवश्यकता पर्छ । यसका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूको सम्बन्धित ध्यान जान आवश्यक छ ।

चौथो, जल सम्पदाको लागि नेपाल विश्वको दोस्रो धनी देश मानिन्छ । यहाँ झन्डै छ हजार नदीनालाहरू छन् । जसबाट प्रचुर मात्रामा जल ऊर्जा उत्पादन गर्न सकिने भएकाले आयातीत महँगो पेट्रोलियम पदार्थको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । यसबाहेक जल ऊर्जाबाट विभिन्न किसिमका उद्योगहरू सञ्चालन गर्न सकिने हुँदा देश औद्योगिक विकासको पथमा अग्रसर हुनेछ र थप रोजगारी अवसरहरू प्राप्त हुनेछन् । जसले भविष्यमा वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न सघाउ पुग्नेछ ।

वस्तुतः जल ऊर्जाको ठोस विकास गर्न सके नेपालको एक क्षेत्र मात्र नभई विभिन्न क्षेत्रको विकासमा टेवा पुग्नेछ । यति मात्र नभई यहाँ आवश्यक जल ऊर्जा उत्पादन गर्न सके आयातीत पेट्रोलियम पदार्थको विकल्पको रूपमा परिचालन गर्न सकिन्छ र विश्वमा विद्यमान पेट्रोलियम पदार्थको राजनीतिकरणबाट अलग रहन सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया