सेयरबजारबाट कति फाइदा, कति बेफाइदा ?
काठमाडौं । नेपालमा सेयरबजारको इतिहास त्यति लामो देखिँदैन । यद्यपि केही वर्ष यतादेखि भने यसप्रति मानिसको आकर्षण ह्वात्तै बढ्न गएको छ । अहिले करिब ५९ लाखभन्दा बढी डिम्याट खाता खोल्नेहरूको संख्या पुगेको छ । यो भनेको सकारात्मक पक्ष हो ।
कुनै पनि क्षेत्र आफैँमा जोखिम हुने होइन । जोखिमयुक्त बनाउने नबनाउने भन्ने कुरा व्यक्ति आफैँमा निर्भर हुने विषय हो । सेयरबजार पनि त्यस्तै हो । यसको व्यवस्थापन एवम् सञ्चालन पक्ष कमजोर भएको अवस्थामा मात्र संकट आउने हो । जसरी कुनै औद्योगिक उत्पादन तथा व्यवसाय राम्रोसँग सञ्चालन गर्न सकियो भने त्यसले राम्रो प्रतिफल दिन सक्छ, त्यस्तै हो सेयरबजार पनि । तर समस्या कहाँ छ भने उत्पादनमुखी क्षेत्रजस्तै सेयरबजारलाई स्वीकार नगरिएको कारणबाट समयसमयमा समस्या आउने गरेका छन् ।
सेयरबजारबाट सधैँ फाइदा र सधैँ जोखिममात्र हुन्छ भन्न सकिन्नँ । दुवै पक्षलाई व्यवस्थापन गर्न सक्नु नै विवेकशील लगानीकर्ताको बुद्धिमत्ता हो । जहाँ जोखिम हुँदैन त्यहाँ फाइदा पनि हुँदैन । फाइदा लिनका लागि त्यहाँ जोखिमको भार बहन गर्नै पर्छ । त्यसैले भन्ने गरिन्छ– नो रिस्क, नो गेन । निश्चय नै यी कुरामा सन्तुलन कायम गर्न सक्नुपर्छ । त्यसैले प्रत्येक दिनको कारोबारलाई लिएर लगानीकर्ताहरू सेयरबजारमा करेक्सन भयो भन्ने गरेका हुन्छन् । घट्ने बढ्ने भएन भने यसप्रति लगानीकर्ताको आकर्षण नै हुन सक्दैन । घट्नुबढ्नु भनेको माग र आपूर्तिमा सन्तुलन हुनु हो । बजारमा यस्तो हुनै पर्छ ।
नेपालजस्तो सानो अर्थतन्त्र भएको देश जसको संरचना करिब ५४ खर्बको छ । यस्तो देशमा सानातिना घटनाहरूले पनि सेयरबजारलाई असर गरेकै हुन्छन् । अहिलेको अवस्था यही हो । किनभने स्थायी सरकार छैन । अस्थिर सरकारले दीर्घकालीन आर्थिक नीति जारी गरेका हुँदैनन् । कुनै नीति लागू गरे पनि पछि आउने सरकारले परिवर्तन गरिदिने हुँदा सेयरबजारमा प्रत्यक्ष असर परेकै हुन्छ । त्यसकारण खुकुलो नीति हुँदा सेयरबजार उकासिने र कसिलो नीति हुँदा सेयरबजार खस्किने गरेको अहिलेको अवस्था हो ।
अहिले अर्थतन्त्रका सबै सूचकहरू ऋणात्मक भएको कारणले गर्दा सेयरबजार खस्किँदै गएको हो । तर सधैँ खस्किँदै गइरहन्छ भन्न सकिँदैन । तलमाथि हुनु यसको प्रकृति नै हो । त्यसकारण डराइहाल्नुपर्ने होइन । ३२ सय पुगेको नेप्से अहिले १८ सयको हाराहारीमा झरेको छ । अब झर्ने ठाउँ नै छैन । किनभने सीमान्त अवस्थामा पुगिसकेको छ । यसपछि हुने भनेको सुधार नै हो ।
यहाँ बुझ्नुपर्ने कुरा के हो भने सेयरबजार आफैँ खस्किएको हुँदैन । अहिले देशको अर्थतन्त्र नै खस्किँदो अवस्थामा छ । अधिकांश सटर, पसल बन्द छन् । रोजगारी खोसिएको छ । उद्योगी व्यवसायी पलायन हुने अवस्थामा छन् । मूल्यवृद्धि भएको कारणबाट उत्पादन लागत बढ्दै गएको छ । आन्तरिक उत्पादन लागत बढ्दै गएको हुनाले उत्पादित वस्तुको मूल्यवृद्धि भएको छ । आयातीत वस्तुले स्वदेशी उत्पादनलाई विस्थापित गर्दै गएकोले समग्र अर्थतन्त्र नै धर्मराएको देखिन्छ । यस्तो अवस्थामा सेयरबजार खत्तम भयो भन्नु अपरिपक्वता हो । देशको अर्थतन्त्रलाई समग्रतामा हेर्ने हो भने खस्किँदै गएको सेयरबजारबाट डराउनुपर्ने अवस्था देखिँदैन । केही समयमा रिभाइभ हुन्छ नै । तर केही समयसम्म भने प्रतीक्षा गर्नै पर्छ ।
राम्राराम्रा कम्पनीहरू कहिले पनि घाटामा गएका हुँदैनन् । किनभने उनीहरूको संगठनात्मक संरचना र अन्य आधारभूत कुराहरूले प्रभावकारी भूमिका खेली नै रहेका हुन्छन् । पूर्वनिर्धारित लक्ष्य प्राप्त गरेकै हुन्छन् । साना संरचनाका कम्पनीहरू जसले आफ्नो कार्यसम्पादन राम्रोसँग सञ्चालन गर्नसकेका हुँदैनन् उनीहरूलाई केही समय लाग्न सक्छ । तर जोखिमयुक्त भइरहन्छन् भन्न भने सकिँदैन । किनभने उनीहरूको मुख्य लक्ष्य भनेको विवेकपूर्ण किसिमबाट कम्पनी सञ्चालन गरेर नाफा कमाउनु नै हो ।
यदि तपाईं सेयरबजारमा लगानी गर्न चाहनु हुन्छ भने एकैचोटि कमाउँछु भन्ने तर्फ नलाग्नु नै उत्तम हुन्छ । धेरै फाइदा गर्छुभन्दा जोखिम निम्तिने सम्भावना पनि त्यत्तिकै प्रबल हुन्छ । धेरै आश गर्नुभन्दा पनि क्रमिकरूपले आर्जन गर्नेतर्फ लाग्नुपर्छ । अन्धाधुन्ध किसिमले लगानी गर्दा जोखिम आउन सक्ने पनि हुन्छ, भलै त्यो केही समयपछि लयमा आउन सक्छ । त्यसकारण कुनै पनि कम्पनीको अवस्था, क्षमता, वित्तीय विवरण र प्रतिफल दिने सम्भावनाको अध्ययनविना गरिएको लगानी भने जोखिमयुक्त नै हुन जान्छ । यस्ता विषयमा ध्यान दिनै पर्छ ।
ठूला लगानीकर्ताको ठूलै जोखिम हुन्छ र साना लगानीकर्ताको सानै हुन्छ । त्यसकारण साना लगानीकर्ताले जोखिमलाई न्यूनीकरण गर्न चिप्ले किराको जस्तो हिडाइ अवलम्बन गर्नुपर्छ, न कि भ्याकुताको जस्तो उफ्राइ, सिक्दै जाने हो, लगानी गर्दै जाने हो र फाइदा गर्दै जाने हो । तातै खाउँ जल्दी मरौँजस्तो गरी एकैचोटि फाइदा लिने उद्देश्य कहिल्यै लिनु हुँदैन । यो भनेको इनफ इज इनफ हो । अति भयो भने विनाशतिर पनि लाग्न सक्छ ।
निश्चय नै अहिले सेयरबजार खस्किँदै गएको छ । फाइदा लिनका लागि लगानी गरिएको हुन्छ, नोक्सानीमा गएपछि निराशा आउनु कुनै नौलो कुरो होइन । त्यसकारण साधारण लगानीकर्ता फुकीफुकी अगाडि बढ्नुपर्छ । यो नै लगानीको दृष्टिकोणबाट बुद्धिमत्ता हुन आउँछ ।
अर्को कुरा सेयर खरिद गर्दा सानो भयो भनेर उपेक्षा गर्नु पनि हुँदैन । अहिले खरिद गरेको सानो सेयरले पनि समस्या परेको समयमा ठूलै गर्जो टार्न सक्छ । तपाईसँग सेयर छ भने अरूसँग सरसापटी अथवा बैंकबाट कर्जा लिनै पर्दैन । आवश्यकताअनुसार एउटा सानो क्लिकबाट खरिद बिक्री गर्न सकिने हुन्छ । यो भनेको संकटको बेलामा सहयोग गर्ने साथीजस्तै हो ।
अहिले बजारमा आईपीओकै हाराहारीमा दोस्रो बजारमा सेयर किन्न सकिने अवस्था छ । त्यसकारण आईपीओमा दरखास्त राख्नुभन्दा दोस्रो बजारमा दगुरेका पनि हुन्छन् । दोस्रो बजारमा सस्ता सेयर पाउनु भनेको कमसल कम्पनीका मात्र हुन् । राम्रा कम्पनीका यसरी घटेका हुँदैनन् । यस अवस्थामा निश्चय नै भर्खर निस्किएका आईपीओ नै बढी फाइदाजनक हुन्छन् र उपेक्षा गर्नु राम्रो हुँदैन । १० कित्ता परेको सेयर तुरुन्त बिक्री गर्दा पनि केही न केही प्रतिफल दिएकै हुन्छ । पछिसम्म होल्ड गरेर राख्न सकियो भने राम्रै प्रतिफल दिन सक्छ ।
सेयरको सुरुआती अवस्थामा मैले कुनै कम्पनीको आईपीओमार्फत् आवेदन गरेको थिएँ । त्यो कम्पनी राम्रै रहेछ । त्यस बेलाको ३०/४० कित्ता सेयर बढेर त्यसको मूल्य अहिले करिब आठ/नौ लाख पुगेको छ । यसमा न त ठूलो लगानी भएको छ न त नाफा कमाउनका लागि जोखिम नै बहन गर्नुपरेको छ । विनापरिश्रम यति ठूलो रकम हात पर्नुभनेको साधारण लगानीकर्ताको लागि राम्रै अवसर भन्न सकिन्छ ।
कतिपय जानकारहरू १० कित्ते सेयर भनेर हेला गरेका पनि देखिन्छन् । यदि तपाईँ सेयरसम्बन्धी कारोबार गर्नुहुन्न भने त्यो अर्कै पाटो हो । गर्नुहुन्छ भने १० कित्ते भनेर उपेक्षा गर्नुहुन्नँ । जसरी काम सानो ठूलो हुँदैन । सेयर पनि त्यस्तै हो । कुनै समय त्यो १० कित्ता सेयर बढेर तपार्इंलाई ठूलै योगदान पु-याउन सक्ने हुन्छ ।
कुनै कम्पनी लिक्विडेसनमा गए पनि साना लगानीकर्ता आत्तिइहाल्नु पर्ने अवस्था हुँदैन । लगानी गरेको सेयरको केही अंश उपलब्ध भएकै हुन्छ । यो सानो अंशले पनि कालान्तरमा सहयोग गरेकै हुन्छ । भनाइको अर्थ कम्पनी डुबिहाले पनि छट्पटाइहाल्नुपर्ने अवस्था हुँदैन ।
हो, यसरी सेयरबाट प्रशस्त मात्रामा फाइदा लिन सकिन्छ । तर केही समयसम्म फाइदा नहुन पनि सक्छ । यसका लागि केही अवधिसम्म पर्खनै पर्छ । अतः १० कित्ते सेयर भनेर उपेक्षा गर्नुहुँदैन । तपाईँ हामी घरै बसेर एक क्लिकबाट १० कित्ता सेयर किन्न सक्छौँ र अर्को क्लिकबाट बिक्री गरेर नाफा कमाउन सक्छौँ भने सेयरबजारलाई किन हेला गर्ने ? न हिली हात, न धुली हात ! विनापरिश्रमको लगानीबाट अर्थोपार्जन गर्न सकिन्छ भने किन सेयरमा लगानी नगर्ने ?
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया