Techie
विचार

सरकारलार्ई गालीगलौज मात्रै गर्ने कि विपत्तिमा सहयोग गर्ने ?

लक्ष्मण सिटौला
सन्त शब्द प्राकृतिक भाषाबाट बनेको हो । सन्तको अर्थ हुन्छ शान्त, जो रोगहीन द्वेषहीन रहन्छ, ऊ नै सन्त हो । महान सन्त ऊ होइन जोसँग हजारौं अनुयायी छन् । जोसँग धेरै शिष्य छन् त्यो महान सन्त होइन । महान सन्त त ऊ हो जो आफैँमा पूर्ण शान्त छ । भलै उसँग कोही अनुयायी नै छैनन । कोटि कोटि जनतालार्ई आफ्नो सम्बोधनले प्रभावित गर्ने प्रवचनकार ऊ सन्त साधु होइन । प्रवचन नदिने मान्छे असन्त होइन । शान्त मन नै सन्त हो र अशान्त मन नै असन्त हो । सन्तको उपस्तिथि समाजसेवा हो । उसको मौनता उसको प्रवचन हो । उसको सानिध्यता नै पथ दर्शन हो । सन्त ऊ होइन जस्ले सम्प्रदाय बोकेर हिँड्ने गर्छ । उही सन्त हो, जो आफू आफैँमा लिन रहन्छ । सन्त शान्तिले भिजेको हुन्छ र असन्त अशान्ति र आक्रोशको पसिनाले भिजेको हुन्छ । सन्त खोज्दैन ऊ आफूसँग भएको बाँड्छ मात्रै । असन्त खोजिरहन्छ बाहिरी दुनियाँमा । खोजेको कुरा संग्रह गर्छ र संग्रह गर्नुलाई ऊ महान सम्झिन्छ ।

सन्त अध्यात्मको वा समाजको पथप्रदर्शक हो तर पनि उसले कहिले प्रतिफलको अपेक्षा राख्दैन । जो प्रतिफलको अपेक्षा राख्छ ऊ असन्त हुन्छ र असन्तोषमै बाँचिरहेको हुन्छ । धनी हुनु सुखी हुनु होइन र गरिब हुनु दुःखी हुनु पनि होइन । प्रपञ्चबाट, भौतिक संग्रहबाट मिल्ने सुखानुभूतित त्यो हो जो जाडो महिनामा कागज बाल्दा मिलेको तापको क्षणिक न्यानो मात्रै हो । जब कागज बलेर खरानी हुन्छ अनि हामीले तापेको न्यानो पनि सकिन्छ । धनी र गरिबी केवल मनको अनुभूति मात्रै हो । धनीहरू दुखमा विलय हुन्छन् अन्ततः । किनकी संग्रहको मातले हरपल उनीहरूलार्ई गाँजिरहेको हुन्छ ।

महान चिन्तक नित्सेले भगवानको अस्तित्व अस्वीकार गरे र भगवानको मृत्युको घोषणा गरे । तर, त्यति नै बेला तात्कालिक समाजले के भन्यो भने भगवान अस्तित्वमा नभएको भएः ‘भगवान मरेको’ घोषणा किन गर्नुभएको भन्ने कुराले झन व्यापकता पाएको थियो । ईश्वर सत्तामा विश्वास गर्ने पनि सन्त होइनन् र अईश्वरवादी पनि असन्त होइनन् । सन्तले शान्तिलार्ई नै परिप्राप्तिको बाटो हो भन्छ र त्यहीअनुरूपको आचरण निर्धारण गर्छ । मानिस अरुभन्दा फरक र अगाडि जान खोज्ने जीवन हो । प्रतिस्पर्धा छ । प्रतिस्पर्धा रहेसम्म सन्त र शान्तिको अस्तित्व संकटमा परिरहन्छ । भौतिक विचारधाराका महान चिन्तक माक्र्स पनि देश निकालामा परेर बेलायतमा शरण परेका थिए । विचारहरू जन्मिरहन्छन् । एउटै मात्र विचार सार्वकालिक रहँदैन । सत्य पनि समयसापेक्ष हुन्छ । एउटा मात्रै अनुभुती वा विचार सार्वकालिक रहन्छ त्यो हो नित्य शान्ति र सन्त हृदय ।

हाम्रो देशका नेताहरूलार्ई गालीगलौज र विरोधको भाषा धेरै आउँछ । सन्तले बोल्ने भाषा होइन यहाँ त अहंकारको भाषामा छेडखान हुन्छ । नेताहरू विरोधीलार्ई सिध्याउन पर्छ भन्छन् । नेपालका नेताहरूले समाजसेवा, विकास र समृद्धिका लागि राजनीति गर्ने होइनन् । राजनीति सत्तामा पुग्ने एक मात्र विकल्प बनेको छ । राजनीति मन्त्री हुनको लागि वा त्यस्तै कुनै महत्वोपूर्ण पद प्राप्तिका लागि गरिने यज्ञ हो । नेपालका नेताहरूमा अध्ययन कम, शान्ति कम, ज्ञान कम, समभाव कम, सेवाभाव कम, मृदुलता कम, र सकारात्मक सोच कम छ । मनमा बदलाको आगो बलिरहेको हुन्छ । हरेक पल दाउपेच र घोचपेचमा समय बर्बाद गरिरहेका हुन्छन् । नेपालका प्रायः सबै नेताहरूमा बर्बरता छ । मिल्यो भने यिनीहरू सबै हिटलर हुन खोज्छन् । अनि यिनीहरूले नै फेरि बुद्धजस्तो शान्त हुनुपर्छ भन्छन् । देश निर्माणका लागि केही मात्रामा विरोधी स्वर पनि गुञ्जिनु पर्ला त्यो आफ्नो स्थानमा छ तर यहाँ अर्कोले गरेको राम्रो कामको पनि विरोध गर्ने परिपाटी सनातनदेखि नै छ ।

भीमसेन थापाकी कान्छी श्रीमतीले महारानी साम्राज्यलक्ष्मी देवीलार्ई गाली गरेको निहुँमा नेपालका गौरव भीमसेन थापाले आफ्नो साथमा रहेको खुकुरीले सेरिन प¥यो । पदच्युत गरिएका भीमसेन थापाले आत्महत्याको प्रयास गरे । भित्र दरबारमा राजेन्द्रविक्रम शाह अत्यन्तै क्रुद्ध थिए । भीमसेन थापाको घाँटीबाट रगत बगिरहेको थियो । त्यस्तै नाजुक अवस्थामा उनका विरोधीहरूले साउन महिनाको मध्यवर्षामा जीवन मरणको अन्तिम घडिमा रहेका वीर भीमसेनलार्ई विष्णुमतीको किनारमा लगेर फ्याँकिदिए । ९ दिनसम्म अन्न र जल विमुख उनले त्यही विष्णुमती किनारमा ६४ वर्षको उमेरमा प्राण त्यागे ।

भीमसेन ज्युँदै छ कि मर्यो भनेर हेर्न पनि कोही गएनन् । भीमसेनको लासलाई स्याल, कौवा र गिद्दले खाएर सकेको थियो । अझ भीमसेनलाई कोही पानी खुवाउन वा कोही सहयोग गर्न जान्छ कि भनेर वरिपरि सैनिक बसिरहेका थिए । हिन्दु धार्मिक परम्पराअनुसार उनको काजकिरिया समेत भएन गर्न दिइएन । नेपालको इतिहास केवल बदलाको रगतले लेखिएको छ । बुद्ध भूमिको आँगनमा हजारौं नागरिक मारिएका छन् । हतियार र युद्धबाट मात्रै सत्तामा पुगिन्छ भन्ने नरक विचारले यहाँका नेताहरूको मस्तिष्कको नाली भरिएको छ । नेपालको इतिहास युद्ध झगडा बेमानी क्रुररता जालझेल लुटका शब्दमालाबाट लेखिएका छन् । त्यसैको निरन्तरताको एउटा पाटो थियो दश वर्षको माओवादी जनयुद्ध र नेपाल विकासमा पचास वर्ष पछाडि धकेलियो । त्यसपछिका दिनहरू कहिले पनि शान्त रहेकोे छैन । राजदरबार हत्याकाण्ड र दुई सय पचास वर्षको शाह वंशीय इतिहास नै समाप्त भएपछि नयाँ संविधान र गणतन्त्र त पाए तर नेपाली जनताकोे स्थिति उही भीमसेन थापाकै पालाको जस्तो बदलाको आगोमा होमिरहेका छन् सत्तापक्ष र प्रतिपक्षी ।

यी विविध कटुता र द्वन्द्वका कारण यहाँ कहिले पनि समृद्धिको घाम लागेन र सधैं जनता अध्यारोमै बस्न विवस भएका छन् । जनता रैतीबाट नागरिक भएको त भनिन्छ तर आज पनि माथिल्लै त्यहाँ व्यक्तिहरूको द्वन्द प्रतिद्वन्द्व हेर्दाहेर्दै समय बितिरहेको छ । पञ्चायत कालखण्डमा सूर्यबाहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीचको राजनीतिक द्वन्द्व कहिले समाप्त भएन । हिजो इतिहासमा थापा पाण्डे बस्नेत र राणा राणाबीचको सत्ता प्राप्तिको डरलाग्दो रणसम्हार चलिरह्यो । इतिहास जसरी गुज्रिएको छ बर्तमान र भविष्य पनि त्यसकै जगमा उभिने रहेछ । र आज पर्यन्त नेपालका राजनीतिक पार्टीहरूबीचको झगडा, आन्तरिक द्वन्द्व, सत्ता प्राप्तिको घिनलाग्दो चलखेलका कारण देशको समृद्धिको सम्भावना क्ष्यय हुँदै गैरहेको छ । संसदीय अभ्यासका नाउँमा संसद्भित्र सत्तामा हुनेलाई सत्ताबाहिर पर्नेले सधैं अपमान गाली खेदो अपशब्द मात्र प्रयोग गरिरहेको सुनिन्छ । प्रतिपक्षी भनेको सत्ता पक्षलार्ई गाली गर्ने मेसिन मात्रै हो भन्ने कुरा नेपाली जनताले बुझ्न थालेका छन् । सबै नेतालार्ई कुर्सी र पद चाहिएको कारण यो देशलार्ई सात प्रदेशमा विभाजन गरिएको थियो ।

आज सांसद र मन्त्रीको संख्या गन्न नसकिने अवस्था छ । प्रदेश नै विच्छेको मन्त्रिमन्डल छ । अब भोलिका दिनमा प्रदेश प्रदेशपिच्छे राष्ट्रपति पनि अलग चाहिन्छ भनेर स्वतन्त्र माग हुन सक्छ नेपालका नेताहरूको । देशको खर्बौं ढुकुटी सात प्रदेशका माननीय सांसद मुख्य मन्त्री स्थानीय सरकारलार्ई तलबभत्ता बाँड्दैमा सकिन्छ । केन्द्र संघ र स्थानीय सरकारलार्ई तलब बाँड्नका लागि राज्यको ढुकुटी रित्तो हुँदै गइरहेको छ । साधारण जनतासँग जन्मदा र मर्दा पनि कर असुलिन्छ । जनता बेरोजगारीले गर्दा छिमेकी देश भारतको गुलाम बनेका छन् । सारा युवा खाँडी मुलुकको तातो बालुवामा मरिरहेका छन् । दिनहुँ लासको कफिन बक्सा तिनका आफन्तजनले कर तिरेर बुझिरहेका छन् । जनतासँग कात्रो किन्ने पैसा हुँदैन तर राजनीतिक नेताहरू दश करोडको कार किन्छन् । जनताको रगत र आँसुमा पौडी खेल्न रमाउने स्यालहरू फेरि आफैँ–आफैँ सत्ता प्राप्तिका खेलमा देशलार्ई नै बन्दक राख्छन् ।

सांसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी बजेटसँग सम्बन्धित नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका माननीय सांसदज्यूहरूलाई सदनमार्फत आ–आफ्ना भनाइहरू राख्न समय दिइएको थियो । विपक्षी दलका र कतिपय आफ्नै पार्टीको सरकारमा प्रतिनिधित्व गर्ने माननीय सांसदज्यूहरूले आ–आफ्ना धारणा पेश गर्नुभयो । विपक्षी दलका सदस्यहरूले यो नीति तथा कार्यक्रमको बारेमा निर्लज्ज तरिकाले आ–आफ्नो कुण्ठा पोखे, यो विपक्षी दलको धर्म नै होला । तर सत्तापक्षकै सांसदहरूले पनि विरोधी नारा घन्काएको देख्दा अचम्म लाग्यो ।

नीति तथा कार्यक्रमलाई कसैले लामो भने कसैले शब्द र अक्षरहरूको पहाड भने कसैले कागजको खोस्टो भने कसैले यो पुरानै दोहोरियो भने कसैले यो कार्यान्वयन हुनै सक्तैन भने तर कसैले पनि यो निति तथा कार्यक्रमको बारेमा रचनात्मक कुरा राखेनन् । संसद्भित्र जति विरोध गरेर कुर्लियो त्यति नै भाइरल होइन्छ भन्ने सोच र क्षुद्र मानसिकताबाट ग्रसित छन् सत्ताबाहिर हुने सांसदहरू । सत्तापक्षकै सांसदहरू पनि जसले मन्त्री बन्ने भाग्य पाएका छैनन् तीनीहरूले आफ्नै सरकारले पेश गरेको नीति तथा कार्यक्रमको व्यापक विरोध गरेका छन् । नेपालका सबै रोगी सांसदहरूलाई केवल सत्ता र भत्ता चाहिएको छ । जनताको पक्षमा होइन यिनीहरू कसरी सत्तासिनहरूलाई गाली गर्ने र सत्ता आफ्नो हातमा पार्ने भन्ने खेल रच्नमा उद्यत हुन्छन् ।

यतिबेला विश्व, महामारी रोग कोरोनाले संकटमा छ । धनी र सप्पन्न देशहरू पनि असफल अवस्थामा पुगिसकेका छन् । उनीहरू आर्थिकरूपमा नै टाट पल्टन लागिसके । अमेरिका जस्तो सप्पन्न देशमा करोडौं बेरोजगार संख्या थपिएका छन् । एक लाखको हाराहारीमा मानिस मर्न लागिसके । हाम्रो देशमा पनि यो विपत्तिले दिनानुदिन जरा फैलाउँदो छ । यो महाविपत्तिमा सत्ताबाहिर रहेका सांसदहरूले सरकारलार्ई पूर्णरूपमा सहयोग गर्ने कि गाली मात्रै गर्ने ? गाली गर्नेका सन्तानलाई कोरोना लाग्दैन ? विपत्तिमा पनि किन सत्ताकै सिनोको गन्ध सुँघ्न मन लागेको ? यतिबेला हामी झै–झगडामा होइन एकतामा रहनुपर्छ र विपत्तिमा परेका नागरिकलार्ई सहयोग गर्नुपर्छ । रोग भोक र शोकमा डुबिरहेकालाई एकताबद्ध भएर सहयोगमा जुटौँ, चुनाव त भोलि पनि आउँछ भोलि तिनै जनताको सामु जानुपर्छ भोटको भीख माग्न अहिले दुःख परेको बेलामा हाउसमा सत्ताको लागि झगडा मात्रै गर्ने कि ? ती भोट दिने जनताका लागि केही गर्ने ? बुद्धको आँगनीमा सधैं झगडा मात्रै किन ? सत्ताको सिनोमा मात्रै किन घुमिरहेका छन् स्यालहरू ? यो बेला सत्ता पक्ष र विपक्षी बाझिरहने समय होइन ।

यो बेला जनताको प्राण रक्षा गर्ने बेला हो । यतिबेला हातमा बन्दुक बोकेको शिकारीजस्तो होइन, सन्तजस्तो दयालु भएर लोकको कल्याण गर हे माननीय सांसदहरू हो ! भो नबाझ, झगडा नगर, क्रुद्ध नहोऊ, शान्त मनले दुखी जनताको सेवा गर । राजनीतिलार्ई पेशा नसम्झ । यो त समाजसेवा हो । जिब्रो नै चुँडिने गरेर बोल्दैमा वा भाषण गर्दैमा तिमीलार्ई अब्बल दर्जाको नेता भनेर यो दुनियाँले सम्झिदिन्नन् । जति शान्त रहन्छौ जति कोमल रहन्छौ जति मृदुल रहन्छौँ त्यति नै तिमीलार्ई सम्झिनेछ यो दुनियाँले । खहरेमा सधैं पानी हुने भए किन मानिसहरू आफूलाई निर्मल तुल्याउन समुद्र धाउँथे ?

तपाइको प्रतिकृया

यो पनि पढनुहोस