Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवैदेशिक रोजगारी र अहिलेको अवस्था

वैदेशिक रोजगारी र अहिलेको अवस्था


काठमाडौ । विदेश शब्दमा ‘इक’ प्रत्यय लागेर वैदेशिक शब्द बन्छ । रोजगारी भनेको आम्दानीका लागि गरिने काम वा पेसा हो । अर्थात् आम्दानीका लागि विदेशमा गएर गरिने कामलाई वैदेशिक रोजगारी भनिन्छ । विश्वव्यापीकरणको अवधारणाको विकाससँगै यसको पनि अवधारणा विकास भएको हो । आजभोलि वैदेशिक रोजगारीको हावा संसारभरि चलेको छ । विकासोन्मुख मुलुकमा उद्योगधन्दाको विकास पर्याप्त नहुँदा बेरोजगारी भएका कारण प्रायःजसो नागरिक आम्दानीका लागि वैदेशिक रोजगारीमा आबद्ध हुने गरेको पाइन्छ । त्यसैले यसको सबैभन्दा बढी प्रभाव विकासोन्मुख मुलुकमा परेको छ । कोरोना महामारीका कारण धेरै उद्योगधन्दा एवम् कलकारखाना बन्द भएपछि बेरोजगारी बढेको छ । जसले गर्दा आमसर्वसाधारण स्वदेश छोडेर वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । आजभोलि यसको प्रभाव नेपालजस्तो विकासोन्मुख देशमा यति गाढा भएको छ कि हरेक घरपरिवारबाट कमसेकम एकजना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा आजभोलि महिला पनि सलंग्न हुने क्रम बढेको छ । नेपालीहरू मुख्यतः खाडी मुलुक, मलेसिया, युरोप र अस्ट्रेलिया जाने गरेका छन् । एक तथ्याङ्कअनुसार दैनिक करिब दुई हजार नेपाली रोजगारीका निमित्त नेपालबाट बाहिर जाने गरेका छन् । युवा वर्गहरू मुख्यतया वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ । यसको प्रभाव प्रत्यक्षरूपमा मुलुकलाई परिरहेको अवस्था छ । गाउँघरतिर यसको प्रभावले गर्दा वृद्धवृद्धा, बालबालिका र बाँझो जमिन मात्र देखिन थालेको छ । गाउँघर पहिलेजस्तो हरियाली र रमाइलो छैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्न सकेको छैन । नेपालजस्तो प्रकृतिले भरिपूर्ण मुलुक हो, यहाँ पर्याप्त स्रोतसाधन छ । तर उद्योगधन्दाको पर्याप्त विकास नहुँदा आमसर्वसाधारण बेरोजगारको समस्याले ग्रसित छन् ।

आफ्नो घरपरिवारको आवश्यकता पूर्ति गर्न पनि विदेश गइरहेका छन् । सर्वप्रथम यसले हाम्रो मुलुकको बेरोजगारी समस्यालाई कम गर्न मद्दत गरेको छ । बेरोेजगारीले गर्दा निम्तिने गरिबी पनि यसले गर्दा घटेको छ । मानिसहरूको जीवनस्तर उकास्न सहयोग पु¥याएको छ । वैदेशिक रोजगारीमा आबद्ध व्यक्तिले पठाएको रेमिट्यान्सले उसको परिवारको जीवन धानिएको छ । देशको अर्थतन्त्रमा वैदेशिक रोजगारीले निकै टेवा पुर्याएको छ । विदेशी मुद्रा सञ्चितिमा पनि सहयोग पुगेको छ । वैदेशिक रोजगारीमा सलंग्न व्यक्तिहरूले विभिन्न सिप सिकेका हुन्छन् । ती सिप आफ्नो देशमा ल्याएर स्वरोजगार भई वा विभिन्न उद्योगधन्दा सञ्चालन गरेमा अरूले पनि रोजगारी पाउँछन् । वैदेशिक रोजगारीमा जाँदा विश्वको विविध किसिमका संस्कृति, चालचलन, भूगोल, भाषा र भेषभूषा इत्यादिको बारेमा जानकारी लिन सकिन्छ । तर यसबाट सिप, आधुनिकता एवम् राम्रा कुराहरूको मात्र सञ्चार भने हुँदैन । मानिसहरू एक मुलुकबाट अर्को मुलुकमा सञ्चार गर्दा विभिन्न किसिमका रोग, महामारी पनि आफूसँगै ल्याइरहेका हुन्छन् । उदाहरणका लागि कोभिड १९ को समयमा चीन र अन्य देशहरूबाट फर्किएका मानिसहरूबाट अन्य व्यक्तिहरूमा उक्त भाइरस सरेको थियो । हामीलाई थाहै छ कि विकास निर्माण कार्यमा युवाको आवश्यकता हुन्छ । जसरी जगविना घर सम्भव छैन, त्यसरी नै युवावर्गविना विकास सम्भव हुँदैन । हाम्रो मुलुकको अहिलेको प्रमुख समस्या पनि यही हो । दक्ष जनशक्ति सबै विदेशिएका छन् । गाउँघरमा विकासको लागि युवायुवतीहरू देखिनुको साटो वृद्धवृद्धा र बालबालिकाहरू मात्र देखिन्छन् । भएको उर्वरभूमि पनि बाँभैm हुन्छ । मुलुकमा खाद्यान्नको अभाव हुँदै गएको छ भने आयातका कारणले व्यापार घाटा बढेको छ । वैदेशिक रोजगारीले क्षणिकको बेरोजगारीको समस्या समाधान गरे पनि यसले निम्त्यिाउने असरहरू धेरै छैन । यसले हामीलाई परनिर्भर बनाएको छ । वैदेशिक रोजगारीमा जाँदैमा टन्न पैसा कमाइन्छ भन्ने सोच हामी कहाँ छ, जुन गलत हो । सरकारले रोजगारीको व्यवस्था मिलाउने हो र विदेशमा जानेहरूले यही मेहनत गर्ने हो भने नेपाल विकासमा निकै अघि जान सक्छ ।

अहिले देशको शासन प्रणालीमा युवावर्गको सहभागिता निकै आवश्यक छ । तर अहिलेको शासन प्रणालीमा केबल बुढापाका मात्र छन् । विदेशिएका कतिपय मानिसहरू त्यही अड्डा जमाएर बस्छन् र आफ्ना आमाबुबालाई वृद्धाआश्रममा छोडेर जान्छन् । आमा वा बुबा विदेशिएको कतिपय अवस्थामा यहाँ रहेका तीनका सन्तति गलत लतमा परेको, पतिपत्नीबीच सम्बन्ध बिग्रेकोजस्ता घटनाहरू घटेको समाचार सुन्नमा आउँछ । तर जे भए पनि हामी वैदेशिक रोजगारीमा जान बाध्य छौँ । आफ्नो र आफ्नो परिवारको पेट भर्न भए पनि युवावर्ग यसमा संलग्न हुनुपर्ने बाध्यता आजको समाजमा देखापरेको छ । यसमा खासै उनीहरूको गल्ती छैन । सरकारले नै उनीहरूलाई यसमा जान बाध्य बनाएको छ । फेरि कसलाई आफ्नो परिवार, देश र संस्कृतिबाट टाढिएर पराईहरूको ठाउँमा गएर पसिना बगाउन मन लाग्छ र सरकारले आफ्नो देशको नागरिकहरूलाई रोजगारी प्रदान गर्न नसक्दा देशमा यो परिस्थिति देखापरेको हो । सरकारले जनताहरूलाई सिपमूलक तालिम प्रदान गर्ने, उद्योगधन्दाका परिचालन गर्ने एवम् स्वरोजगारका लागि सस्तो ब्याजमा ऋण उपलब्ध गराउने हो भने यो समस्या पनि विस्तारै कम हुँदै जान्छ । साथै, देश पनि प्रगतितर्फ अघि बढ्छ । सरकारले यति कामहरू गर्न नसके पनि यहाँबाट वैदेशिक रोजगारीमा जाने मानिसहरूलाई आवश्यक पर्ने सिप, ज्ञान, सुरक्षाका उपायहरू आदि कुराहरूबारे तिनीहरूलाई अवगत गराएमा उनीहरूलाई निकै राहत मिल्छ । आजको समयमा, युवावर्गहरूको प्रमुख समस्याका रूपमा यसलाई नै चिनिन्छ । घरपरिवारको आर्थिक अवस्था कमजोर हुन्छ । देशमा आफूले भनेकोजस्तो गतिलो काम पाइँदैन ।

महँगीले दिनानदिनु नयाँ रेकर्ड कायम गर्दै हुन्छ । यही समस्या लिएर १२ कक्षा उत्तीण गर्नेबित्तिकै विनासिप, विनानयाँ ठाउँको उनीहरू नेपालबाट बाहिर भासिन्छन् । उनीहरूको मनस्थिति र मानसिकता नै यस्तो भइसक्यो । भर्खर १८–१९ वर्षका किशोरकिशोरी, न हातमा सिप छ, न नयाँ ठाउँको ज्ञान छ । सर्वप्रथम त, म्यानपावर एवम् विदेश पठाउने एजेन्सीबाट ठगिने सम्भावना । हामीले दैनिक रुपमा सुन्न र पढ्न सक्छौँ, व्यक्ति वा एजेन्सीहरूले विदेशमा काम लगाइदिने बहानामा पैसा असुल्छन् तर काम गर्नलाई भने पठाइदिँदैनन् । विदेश पठाइदिए पनि भनेकोजस्तो काम हुँदैन, कतिलाई त विदेश लग्ने बहानामा बेचिदिन्छन् । झन् आजभोलि महिलाहरू पनि वैदेशिक रोजगारीमा सलंग्न हुने दर बढेको छ । मुख्यतया नेपालीहरू कामको खोजीमा खाडी मुलुक र मलेसियातिर जान्छन् । उनीहरूलाई विदेशमा त पठाइन्छ काम गर्न भनेर तर यौन धन्दामा लगाइन्छ । उनीहरूको श्रम शोषण भइरहेको छ । काम गर्नसम्म गर्न लगाइन्छ तर पारिश्रमिक निकै कम दिइन्छ । कति त काम गर्दागर्दै दुर्घटनामा परेर घाइते हुन्छन् वा ज्यान गुमाउँछन् । विदेश पुगेपछि पनि कति समयसम्म काम र बस्ने ठाउँको ठेगान हुँदैन, कामको लागि भौतारिनुपर्छ । उनीहरूलाई त्यहाँको भाषाबारे ज्ञान हुँदैन । अर्कोतिर, सिप नभएकाले उनीहरू सारै सास्ती छ । प्रायःजसो विदेशिएका नेपालीसँग यी दुवै कुराको अभाव हुन्छ । परिवार पाल्न भनेर विदेश हिँडेकाहरू फर्किएर आउने बाटो पनि हुँदैन । त्यसकारण उनीहरू त्यहाँ यौन व्यवसाय र अन्य गलत क्रियाकलापमा संलग्न हुन्छन् ।

यसर्थ भन्नुपर्दा नेपालबाट रोजगारी लागि विदेशिने मानिसहरूलाई देशले सिप र आवश्यक ज्ञान प्रदान गर्न नसक्दा नेपालीहरू परदेशमा भौतारिनुपरेको र गलत काममा संलग्न हुनुपरेको हो । नेपाल सरकारले नेपाली जनताको यो दुर्गति हटाउन यथाशीघ्र पहल गर्नुपर्ने देखिन्छ । यसका लागि सरकारले सबैभन्दा पहिले देशमै रोजगारीको व्यवस्था गर्न सक्नुपर्छ । विदेशिने प्रक्रिया तत्कालै रोकिन सकिँदैन । बिस्तारैबिस्तारै गरेर यसलाई नियन्त्रण गर्नुपर्छ । विदेशिने नागरिकलाई पनि सिपमूलक तालिम र ज्ञान प्रदान गरेर मात्र विदेश पठाउनुपर्छ । वैदेशिक रोजगारी बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेलाई तालिम दिइरहेको छ । यसलाई थप प्रभावकारी बनाउन जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

ताजा अपडेट