विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षण
काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोगमा आकर्षण बढ्दो छ । खनिज तेलको दिन प्रतिदिन बढ्दो मूल्य तथा वातावरणीय स्वच्छताको लागि पनि विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य भइसकेको छ । वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न विद्युतीय सवारी साधनको भूृमिकालाई नजरअन्दाज गर्न सकिन्नँ । विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहनको खाँचो खट्किएको देखिन्छ । नेपालमा विद्युतीय सार्वजनिक सवारी साधनको रूपमा ट्रली बस विसं २०३२ देखि २०५८ सालसम्म काठमाडौं त्रिपुरेश्वरदेखि सूर्यविनायक भक्तपुरसम्म चलेको थियो । राणाकालमा नै हेटौंडा काठमाडौं विद्युतीय रोप वे चलेको थियो । माल पाएर चाल नपाएको कारणले ती सबै इतिहास बने । पछिल्लो समयमा विद्युतीय सवारी साधन प्रयोगमा लोकप्रियता बढ्दै गएको छ । भर्खरै निजी लगानीको सुन्दर यातायातले काठमाडौं उपत्यकमा बिजुली बस सञ्चालनमा ल्याए पनि यसको विस्तार आशातीत हुन सकेको छैन ।
सरकारी निकायबाट नै विद्युतीय सवारी साधन प्रयोगको सुरुवात भए प्रभावकारी हुनेछ । प्रधानमन्त्री तथा मन्त्रीहरू र विशिष्ट कर्मचारीहरूबाट विद्युतीय साधनको प्रयोग गर्ने, कर्मचारी ओसारपसार गर्ने साना तथा मझौलाखालका बसहरू विद्युतीय बसहरू सञ्चालन गर्ने, सरकारी र अर्धसरकारी निकायका सवारी साधनहरू पनि विद्युतीय बनाउँदै लाने, निजी क्षेत्रहरूको संलग्नता बढाउन केही समयको लागि भारी मात्रमा भन्सार छुटको व्यवस्था गर्ने, विद्युत् प्राधिकरणले अनिवार्यरूपमा विद्युत्वाहन मात्र सञ्चालन गर्ने नीति लिने, वित्तीय संस्थाहरूबाट विद्युतीय सवारी साधन खरिद गर्न सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था आदिले विद्युतीय सवारी साधन प्रयोगप्रति आकर्षण बढाउन सक्छ ।
सरकारको बोली र व्यवहारमा तालमेल नमिलेको कारण विद्युतीय सवारी साधनको प्रयोग करको कहरमा थल्लिएको छ । नेपालमा सन् २०३० सम्म कम्तीमा २० प्रतिशत यातयातका साधन विद्युतीय बनाउने लक्ष्यका साथ सार्वजनिक यातायातलाई सहज सुविधायुक्त र वातावरणमैत्री बनाउन खनिज तेलबाट चल्ने सवारीसाधनलाई क्रमशः विस्थापित गर्दै लैजान विद्युतीय यातायातका लागि राष्ट्रिय कार्ययोजनाको लोकार्पण गरिएको थियो । जसमा सन् २०५० सम्ममा खनिज इन्धन उपभोग आधा घटाउने, सन् २०४० सम्म विद्युतीय रेलवेको नेटवर्क विस्तार गरिने, सन् २०२५ सम्म वायुको गुणस्तर सुधार गरी स्वस्थकर बनाउने आदि महत्वाकांक्षी लक्ष्यलाई साकार पार्न ठूलै अठोट र दृढ इच्छाशक्तिको खाँचो पर्छ । आफ्नो देशमा खनिज तेल नहुनु, विश्वमा खनिज तेलको भण्डारण रितिँदै गइराखेको र दिनप्रति दिन तेलको भाउ बढ्दै गइराखेको परिवेशमा नवीकरणीय ऊर्जा उत्पादन र प्रयोग दिगो विकल्प हुन सक्छ । विकसित देशहरूले समेत विद्युतीय वाहनहरूको प्रयोगमा उच्च प्राथमिकता दिँदै राष्ट्रिय कार्ययोजनामा समय नै तोकेर तेलको खपत कटौती गर्ने घोषणा गरेका जगजाहेर छ । चीनले सन् २०३० सम्म सम्पूर्ण विद्युतीय वाहन मात्र चलाउने घोषणा गरेर तीव्ररूपमा कार्यान्वयन गर्दैछ । भारतले १० वर्षपछि विद्युतीय कार मात्र उत्पादन गर्ने र ठूला साधनहरूमा पनि क्रमशः परिवर्तन गर्दै लैजाने घोषणा गरेको छ । प्रकृतिमा जैविक इन्धन रित्तिँदै गएको र वातावरणीय प्रभावका कारण डिजेल पेट्रोलबाट चल्ने यातायातका साधनलाई विद्युतीय सवारी साधनबाट विस्थापन गर्ने विश्वमा होड नै चलेको छ ।
वातावरणीय तथा आर्थिक फाइदाका लागि विद्युतीय सवारी साधनको प्रयोगमा विकास र विस्तारलाई तीव्रता दिनुपर्ने आजको आवश्यकता हो । तर सरकारले चालू आर्थिक वर्ष २०८०/८१को बजेटमा अस्वाभाविक किसिमले करको दर तोकेको कारणले विद्युतीय सवारी साधनको प्रयोगमा ब्याकगेयर लाग्ने प्रायः निश्चित देखिन्छ । जसमा ५० किलोवाटसम्मको विद्युतीय सवारी भन्सार महसुल १० प्रतिशत र सडक निर्माण दस्तुर पाँच प्रतिशत बनाएका छन् । त्यस्तै, ५० देखि १०० किलोवाटसम्मको ३० प्रतिशत, १०० देखि २०० किलोवाटसम्मको २० प्रतिशत कायम गरिएको छ । अनि दुईदेखि तीन किलोवाटसम्मको लागि ४० प्रतिशत साथै तीन सय किलोवाटभन्दामाथिको लागि ६० प्रतिशत अन्तःशुल्क र पाँच सडक निर्माण दस्तुर कायम गरिएको छ । यसरी भन्सारलगायतका शुल्कहरूमा अव्यावहारिक किसिमले निर्धारण गर्दा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्नुको साटो ब्याकगेयर लगाउने काम सरकारले गरेको छ । अव्यावहारिक कर निर्धारणको कारण विद्युतीय सवारी साधनको प्रयोगमा व्यापकता आउन सकेको छैन ।
नेपालको अर्थतन्त्र सुधारका लागि विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य नै भइसकेको छ । अहिले नेपालको व्यापारघाटा उच्च हुनुको प्रमुख कारण इन्धन आयात नै हो । वार्षिक दुई खर्बभन्दा बढी रकमको खनिज तेल भारतबाट खरिद गर्दै आएको र यातायात साधनको संख्या बढ्ने क्रमसँगै इन्धन खपत पनि वर्षेनि बढ्दो छ । विद्युत्वाहन र विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहित गरेर उत्पादित बिजुलीको खपत देशभित्र नै गरेर व्यापार घाटा उल्लेख्य मात्रामा घटाउने मात्र नभएर स्वच्छ वातावरण कायम गर्न पनि मद्दत पुग्ने वास्तविकता हो । चीनमा निर्मित भनिएको १९ सिटे बिजुली बसमा उभिँदा करिब ३६ जना यात्रु क्षमता रहेको छ । बसको ब्याट्री चार्ज गर्न चार घण्टा लाग्ने र दुई सय किलोमिटरसम्म गुड्ने भनिए पनि अहिले ग्यारेजमा थन्किएर बसेका छन् ।
एलपी ग्यासबाट १० लिटर पानी उमाल्न १६ रुपैयाँ लाग्छ । जबकि विद्युत्बाट १० रुपैयाँमा नै उमाल्न सकिन्छ, पेट्रोल कार प्रतिकिलोमिटर सात रुपैयाँ खर्चिनुपर्छ भने विद्युतीय कारलाई दुई रुपैयाँ र डिजेल बसहरूलाई प्रतिकिलोमिटर इन्धन लागत १७ रुपैयाँ लाग्छ भने विद्युतीय बसलाई प्रतिकिलोमिटर १३ रुपैयाँ भए पुग्छ । विद्युतीय स्कुटर प्रतिकिलोमिटर लागत ५० पैसा हो भने पेट्रोल इन्जिन स्कुटर प्रतिकिलोमिटर दुई रुपैयाँ पर्न जाने विश्लेषणात्मक तथ्याङ्क विद्युत् प्राधिकरणको छ । विद्युतीय सवारी साधन किन्दा पहिला केही महँगो भए पनि सञ्चालन खर्चमा किफायती रहने देखिन्छ ।
विश्वमा नै जलस्रोतको दोस्रो धनी देश नेपालले लोडसेटिङको सकस खेप्न छोडेको केही समय भए पनि विद्युत्को पर्याप्त प्रयोग गर्न अझ केही समय कुर्नुपर्ने देखिन्छ । विद्युत् प्राधिकरणमा सफल नेतृत्वको कारण निकट भविष्यमा नै पर्याप्त विद्युत् उत्पादन हुने पक्का भएको छ । आगामी दिनमा उत्पादित विद्युत् खपतको व्यापारिक व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तन गर्ने बेला आइसकेको छ । नेपाल सरकारले भारत, चीन र बंगलादेशलाई बिजुली बेच्ने रणनीति अपनाएको भए पनि त्यति भरपर्दो नहोला कि भन्ने आशंका कायमै छ । यस्तो विषम परिस्थितिमा उत्पादित विद्युत् स्वदेशमै खपत गर्ने रणनीति दिगो समाधानको उपाय हुन सक्छ । यसको लागि डिजेल पेट्रोललगायतका खनिज तेल र ग्यासबाट चल्ने यातायातका साधनलाई विद्युत्बाट चलाउने उपाय खोजिनु बुद्धिमानी ठहर्छ ।
वर्तमानमा एलपी ग्यासबाट चल्ने सफा टेम्पो, ब्याट्रीबाट चल्ने कार, स्कुटर, हाइब्रिड कार, विद्युतीय रिक्सा आदिको संख्या क्रमशः बढ्दै छ । पछिल्लो समयमा विद्युतीय रेल, बसलगायतका यातायातका साधनको प्रयोग बारे सरकारी गैरसरकारी क्षेत्रमा बहस हुन थाल्नु सकारात्मक हो । ठूला कुरा र सपना बाँड्ने तर कार्यान्वयनमा उदासीनता देखाउने नेपाली राजनीतिको संस्कार नै बनेको अनुभवमा विद्युतीय सवारी साधन सञ्चालन पनि हल्लामा नै सीमित हुने त हैन भन्ने आशंकालाई अस्वाभाविक मान्न सकिन्नँ । विद्युतीय सवारी साधनको दिगो विकास र विस्तारका लागि आवश्यक पूर्वाधारको विकास र विस्तार हुनु पहिलो सर्त हो । विद्युतीय सवारी साधन पहिला किन्दा केही महँगो पर्ने भएकाले भन्सारमा न्यायोचित छुट, पायक पर्ने ठाउँमा चार्जिङ स्टेसनको व्यवस्था, निजी र सहकारी क्षेत्रलाई सवारी साधन सञ्चालनमा प्रोत्साहित गर्ने आकर्षक नीति, आवश्यक पार्टपुर्जाको सहज उपलब्ध गराउने व्यवस्थाले पक्कै पनि विद्युतीय सवारी साधनको प्रयोगमा आशातीत प्रगति हुने वास्तविकता हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया