रोल्पाको माडीचौरदेखि जनमुक्ति सेनाको डेपुटी कमान्डर हुँदै अर्थमन्त्रीसम्म अनन्त
काठमाडौं । नेकपा माओवादीले २०५२ सालदेखि सुरु गरेको जनयुद्ध र तत्कालीन सात राजनीतिक पार्टीले चलाएको जनआन्दोलनको फ्युजनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले दूरदराजका धेरै मानिसहरूलाई मन्त्री हुने भाग्य खोलिदियो । कपडा सिलाउँदासिलाउँदै गरेका महिलाहरू माननीय बने भने आदिवासी जनजाति, मधेशी, पिछडिएका धेरै मानिसहरूले उच्च ओहदाका पद पाए ।
राणा शासनदेखि पञ्चायत हुँदै बहुदलीय शासन व्यवस्थासम्म आइपुग्दा नेपालका केही मुख्य मुख्य सहरहरूमा विकास भए पनि मध्यपश्चिम, सुदूरपश्चिम, कर्णालीलाई विकासको पहुँचबाट धेरै नै पछाडि पारिएको थियो । त्यस्तैमा एक हो रोल्पा पनि । त्यही रोल्पाको सामान्य परिवारमा जन्मेका वर्षमान पुन (क. अनन्त) यतिबेला अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । दुई वर्ष लामो संकटपूर्ण अवस्थाबाट गुज्रेको देशमा आर्थिक सुधार र अर्थतन्त्रलाई नयाँ गतिमा लैजाने जिम्मेवारीसहित यही फागुन २४ गते पदभार ग्रहण गरेका अनन्त रोल्पाको सामान्य परिवारमा जन्मिँदै कठिन यात्रासहित अध्ययन सकेर संघर्षपूर्ण जनयुद्धको डेपुटी कमान्डर हुँदै अहिले शान्तिपूर्ण राजनीतिमार्फत अर्को कठिन जिम्मेवारीमा आइपुगेका छन् ।
रोल्पा जिल्लाको सिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा वर्षमान पुनको जन्म विसं २०२८ साल जेठ १८ गते भएको थियो । बुबा इर्खराम पुन र आमा तीर्थमाली पुनको दोस्रो सन्तानको रूपमा जन्मिएका पुन जीवनको ५२ औँ वर्षको हुँदा मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्न दोस्रो पटक अर्थमन्त्रालय प्रवेश गरेका छन् । २०५२ सालदेखि सुरु भएको जनयुद्धअघि नै क्रान्तिकारी राजनीतिमा होमिएका पुन १० वर्षे जनयुद्धमा गठन गरिएको जनमुक्ति सेना नेपालको डेपेटी कमान्डरको भूमिका निर्वाह गर्दै शान्ति प्रक्रियापछिको १८ वर्षदेखि निरन्तर मूलधारको राजनीतिमा सक्रिय छन् । शारीरिक अस्वस्थताका बीचमा पुन चीनमा दुर्लभ उपचार गराउँदै राजनीतिमा सक्रिय हुँदै आइरहेका छन् । पुनको बाल्यकाल असाधारण क्षमतासहित कठिन तरिकाले अध्ययन गरेका थिए । उनी पाँच वर्ष पुग्दानपुग्दै एक घण्टा टाढाको स्कुल प्रावि जंकोटमा भर्ना भए । विद्यालय जानु र पढ्नु भन्ने कुरा तत्कालीन अवस्थामा निकै कठिन थियो । कक्षा १ मा प्रथम भएकाले उनलाई हौसला दिने र पढ्न उत्साह थप्नेहरू धेरै भएकाले अगाडिको अध्ययनमा प्रोत्साहन पाइरहे । दुई कक्षामा छिमेकी गाविसमा रहेको कोटगाउँस्थित निमावि विद्यालयमा भर्ना गरिदिए । त्यहाँ उनी कक्षा सातसम्म सधैँ प्रथम नै भएर उत्तीर्ण भए । तर, घरबाट टाढा रहेको विद्यालयमा बाल्यकालदेखि नै दैनिक घण्टौँ पैदल यात्रा गरेर विद्यालय पुगेर अध्ययन पूरा गरेका थिए ।
१३ वर्षको हुँदा अर्थात् २०४१ मा माध्यामिक तहको अध्ययनका लागि उनले घर छाडेर जिल्ला सदरमुकामस्थित बालकल्याण मावि कक्षा ८ मा भर्ना भए । त्यहाँको शिक्षक थिए कृष्णबहादुर महरा । सो क्षेत्रका कम्युनिस्टका गुरु महरा शिक्षक र राजनीति दुवै गर्थे । दिनभरि कक्षामा पढ्ने र बेलुकाबेलुका महरासँग राजनीतिक कक्षा लिन थालेका वर्षमान पुनको राजनीतिक जीवनको सुरुवात माध्यमिक तहको अध्ययनसँगै २०४१ सालदेखि ४३ सालसम्म यही बाल कल्याण माविमा भएको थियो ।
अनन्तले २०४४ मा एलएलसी पास गरे । सामाजिक अवस्था र राजनीतिप्रति सचेत भइसकेका अनन्तले राजनीतिक सामाजिक कार्यकर्ता बनेर समाजमा रहेका उत्पीडन, दमन, शोषण अन्त्यको अभियानमा सरिक हुने संकल्प गर्न गर्न थाले । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस, दाङबाट अनन्तले २०४८ मा क्याम्पस फस्ट हुँदै आईएल उत्तीर्ण गरे । यतिबेलासम्म नेपालमा बहुदल स्थापना भइसकेको थियो । अनि कम्युनिस्ट राजनीतिको उदय भइरहेको थियो । पूर्णकालीन राजनीतिसँगै २०४९ उनले नेपाल ल क्याम्पसमा विएलमा भर्ना भए । वर्षमान पुन २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइएल भर्ना भएसँगै अखिल छैठौंमा आबद्ध भई विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिका निभाउन थाले । २०४८ सालमा निर्मल लामाको नेतृत्वमा राष्ट्रिय जनआन्दोलन भयो । रोल्पामा महरा संयोजक र पुन सहसंयोजक भएर काम गरे । जनयुद्ध सुरु हुनुअघि नै तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले गरेको दमनको प्रतिवाद गर्न वाईसीएल (योङ कम्युनिस्ट लिग) गठन गर्न मुख्य भूमिका खेलेका पुनले वर्ग संघर्षको आन्दोलनमा सहभागी हुँदा २०४९ सालमा ३ वटा मुद्दा लाग्यो । उहाँले (डाँका मुद्दा)मा दुई पटक ४८ दिनसम्म हिरासतको भोगेका थिए ।
२०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्धमा पहिलो दिनबाटै सहभागी वर्षमान पुन रोल्पा जिल्ला सदस्यको हुँदै रोल्पाकै चर्चित होलेरी कारबाही पुनकै नेतृत्वमा रहेको लडाकु, स्वयंसेवक र सुरक्षा दलका नाममा तीन अर्धसैन्य र सैन्य दस्ताले कुशलतापूर्वक सम्पन्न गरेको थियो ।
अनन्तले रोल्पा, प्युठान, रुकुम, सल्यान र जाजरकोटको इन्चार्जको जिम्मेवारी सम्हाल्दै २०५५ सालदेखि २०५९ जेठसम्म उनले पश्चिम कमाण्डको सैन्य मुख्यालयको कमाण्डरको नेतृत्व सम्हाले । २०५८ साल मंसिर ८ गते गठन भएको जनमुक्ति सेनाको डेपुटी कमाण्डरसम्मको भूमिका निर्वाह गरेका वर्षमान पुन जनयुद्धकै दौरानमा आफ्नो कमाण्डमा घर्तीगाउँ, घोराही ब्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महत गाउँलगायतमा माओवादीले गरेको कारबाहीमा उहाँले कमिसार र कमाण्डर भूमिका निर्वाह गरेका थिए । त्यस्तै, पूर्वी कमाण्डको जिम्मेवारी सम्हालेर धेरै वटा सफल जनकारबाहीहरू गरेका थिए । २०६२ सालमा जनयुद्धको उत्कर्षतिर काठमाडौं आसपासको क्षेत्रलाई विशेष कमाण्ड बनाएर थानकोट, साँखुमा एकैसाथ आक्रमण गरेर तत्कालीन पुरानो सत्ताको सातोपुत्लो लिन विशेष भूमिका निर्वाह गरेका थिए । त्यस्तै, जनआन्दोलन २०६२।०६३ मा माओवादी र सात राजनीतिक दलहरूका बीचमा विशेष समन्वय गरेर जनसागर उतार्न मुख्य भूमिका निर्वाह गरेका थिए ।
राजनीतिक यात्रा
पुनले आईएल पढ्दा २०४७ सालमा पार्टी सदस्यता लिएका थिए । २० वर्षको उमेरमै २०४८ सालमा नेकपा (एकता केन्द्र) को तत्कालीन ९ नम्बर क्षेत्रको संस्थापक एरिया सेक्रेटरी बने । २०४९ सालमा पार्टीको पहिलो रोल्पा जिल्ला सम्मेलन भयो । त्यतिबेला पुन जिल्ला समिति सदस्य बने । दुई वर्षपछि २०५१ सालमा पार्टीको दोस्रो जिल्ला सम्मेलन भयो । पुन ३ सदस्यीय कार्यालय सदस्यमा परे ।
जनयुद्ध सुरुका केही महिना (२०५३ साल)मै पुन माओवादीको रोल्पा जिल्ला सचिव भए । लगत्तै रोल्पा र प्युठानको संयुक्त जिल्ला समिति बन्यो । त्यसको पनि सचिव भए । उनी २६ वर्षमा (२०५५ साल) मा चौथो विस्तारित बैठकबाट माओवादीको केन्द्रीय सदस्य बन्न सफल भएका थिए । जनयुद्धको सुरुवात भएको केही महिनामै अनन्त २०५३ मा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी भए । लगत्तै रोल्पा र प्युठान जिल्लाको संयुक्त जिल्ला कमिटी बन्यो, त्यसको पनि सेक्रेटरी बने उनी । २६ वर्षमा लाग्दै गर्दा २०५५ मा चौथो विस्तारित बैठकबाट अनन्त माओवादीको केन्द्रीय सदस्य बने । उनको भूमिका इन्चार्जसिपमा रूपान्तरण हुन थाल्यो । त्यो केन्द्रीय समितिमा उमेरले सबैभन्दा कान्छो अनन्त नै थिए । शक्ति बस्नेत, नेत्रविक्रम चन्द विप्लव, हितमान शाक्य, मणि थापा, चक्रपाणी खनाल, रवीन्द्र श्रेष्ठ त्यसै विस्तारित बैठकबाट एकसाथ केन्द्रीय समितिमा बढुवा भएका थिए ।
त्यो एउटा त्यस्तो परिघटना थियो, एक साथ सात जना युवा केन्द्रीय समितिमा पुगे र त्यसले माओवादी आन्दोलनलाई निर्णायक मोड दियो । युवाहरूलाई नेतृत्वमा पुग्ने बाटो खुल्यो । २०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट अनन्त वैकल्पिक पोलिट्ब्युरो सदस्यमा निर्वाचित भए । २०५९ मा भारतको गोवामा बसेको बैठकबाट उनी पूर्ण पोलिट्ब्युरो सदस्य बनेका थिए पुन । २०६२/२०६३ को शान्तिप्रक्रिया लगत्तै माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो । उनी त्यसमा सदस्य बने । त्यसपछि माओवादी पार्टीमा बन्ने सचिवालय, हेड्क्वाटरमा अनन्त निरन्तर सदस्य छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भएका पुन । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । २०६८ साल भदौ ५ गते बाबुराम भट्टराई प्रधानमन्त्री भए । त्यतिबेला पहिलो पटक अर्थमन्त्री भएका पुनले उतिबेला १८ महिना पदमा रहेर काम गर्दा अर्थतन्त्रका धेरै कुरामा सुधार गर्न भ्याए । दुर्भाग्य उनले उतिबेला बजेट ल्याउन पाएनन् । राजनीतिक अस्थिरताको कारण अन्योलका बीचमा पाँच सय १७ वटा भ्याट छली गर्ने ठूला व्यापारीमाथि निर्मम कारबाही गरी अर्बौँ रुपैयाँ भ्याट छली गर्ने अपराधीहरूलाई कारबाहीको दायरामा ल्याएर अर्बौँ रुपैयाँ राजस्व उठाउन सफल भए । आमनिर्वाचन २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार वर्षमान पुन रोल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ४१ हजार सात सय १४ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार पूर्ण बुढा मगरले १६ हजार चार सय ८५ मत प्राप्त गरेका थिए ।
यसअघि एमालेसँग पार्टी एकता भई बनेको नेकपा गठन हुनुमा पनि पुनको ठूलो हात छ । भनिन्छ, उनी बिरामी भएर लामो समय चीनमा उपचार गराउन नगएको भए सम्भवतः नेकपा पुनः विभाजनको नहुन पनि सक्थ्यो । जनयुद्ध सुरु हुनुअघि २०५२ साल भदौ ११ गते रोल्पाकै जनकल्याण माविमा अध्ययन गरेकी ओनसरी घर्ती (उषा)सँग विवाह गरेका पुनको परिवार नै राजनीतिमा सक्रिय रहेको छ । ओनसरी घर्ती सुभाष नेम्वाङपछि दोस्रो संविधानसभाकी अध्यक्ष हुन् । विवाहपछिको युवा अवस्थामै सबै कुरा त्योगेर युद्धको मैदानमा होमिएकी उषाले जनयुद्धकै बीचमा सल्यानको बाफुखोलामा छोरी जन्माएकी थिइन् ।
पटक–पटक मृत्युसँग पौठेजोरी
जनयुद्धका दौरान अनन्त पटक–पटक मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएका छन् । पछिल्लो पटक २०६२ चैत्र १४ गते सिन्धुपाल्चोकको ठोकर्पास्थित बाघभैरव माविमा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाका चार वटा हेलिकोप्टरबाट भएको हवाई आक्रमणमा बालबाल बच्न सफल भएका थिए । अग्नि सापकोटासँगै रहेका अनन्त विद्यालयमा कार्यक्रम हुनै लाग्दा सेनाले सुरु गरेको अन्धाधुन्द गरेको हवाई आक्रमणको शिकार हुन पुगेका थिए । सँगै रहेका अर्का नेता अग्नि सापकोटा सामान्य घाइते भए पनि पुन भने सकुशल सेनाको घेरा तोडेर भाग्न सफल भए । त्यस्तै, डोल्पा सदरमुकाम, अछाम सदरमुकाम मंगलसेन आक्रमणबाट फर्किँदा सौभाग्यले बाँचेका थिए अनन्त । पूर्वको कमाण्डर हुँदा बन्दीपुर हाइवेको आक्रमणपछिका घटनामा उनले बाँच्ने आशा मारिसकेको अवस्थामा नयाँ जीवन पाउन सफल भएका थिए ।
एकपटक कृष्णबहादुुर महरा र अनन्त सल्यानको बाँफुखोलामा थिए । अनन्तको छोरी भर्खरै जन्मिएकी थिइन् । सात दिनकी सुत्केरी थिइन्, ओनसरी । त्यसै ठाउँमा चारैतिरबाट प्रहरीले घेरा हाल्यो । सुत्केरी ओनसरी साथीहरूसँग जंगलतिर लागिन् । अर्को घरमा रहेका महरा र अनन्त घेरामा परे । अनन्तले पेस्तोलबाट फायर खोले । त्यही बेलामा महरा ओरालोतिर झर्दै भागे । अनन्तले फायर खोलेपछि सेना डिफेनस पोजिसनमा पुग्यो । किलोसेरा अप्रेसन चलाउँदै देख्नेबित्तिकै गोली हान्ने आदेश पाएको प्रहरीलाई डिफेन्समा राखेर महरालाई जंगलमा पु¥याएर बचाएको घटनाले आपतमा आफू मात्रै बाँच्ने नभई नेतृत्वलाई बचाउने इमान्दारिता अनन्तमा रहेको छ ।
केही वर्षदेखि वंशाणुगत जण्डिस रोगका कारण बाँच्ने आशा मारिसकेका पुन भारतको नयाँ दिल्ली, काठमाडौंको सुमेरु सिटी अस्पताल, सिंगापुर हुँदै चीनसम्म पुगेर उपचार गराए । अन्तमा चीनमा गरिएको उपचारले पुनर्जीवन पाएका पुन केही समयअघि चीनमा उपचार गराएर फर्केका हुन् । नियमित चेकजाँच र खानपानमा ध्यान दिनुपर्नेबाहेक अहिले कुनै पनि स्वास्थ्य समस्या छैन ।
१८ महिने कार्यकालको समीक्षा
पहिलो पटक १८ महिना अर्थमन्त्री हुँदा दुर्भाग्यवश अनन्तले पूर्ण बजेट ल्याउन पाएनन् । राजनीतिक कोपभाजनमा पर्दा दुई आर्थिक वर्षको पूरक बजेट मात्र ल्याए । तर उनले त्यो संक्रमणकालमा पनि पूर्ण बजेट ल्याउन नपाउँदा पनि काम गरेर देखाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका वर्षमान पुनसँग यसपटक पनि नेपाली आर्थिक जगतले धेरै अपेक्षा गरेका छन् ।
अघिल्लो १८ महिने कार्यकालमा पुनले सरकारी ढिलासुस्तीलाई छिटो छरितो बनाउने, वैदेशिक लगानीलाई एकद्वार प्रणालीमा ल्याएर बास्केटमा हाल्ने, नेपालले वैदेशिक ऋण विश्व बैंक र एसियाली विकास बैंकबाट मात्रै लिइरहेकोमा चीन, युरोपियन युनियन, जापान, कुबेती फन्ड, साउदी फन्डलगायतका नयाँ माध्यम, नयाँ ठाउँबाट पनि ल्याउन सकिने व्यवस्था गरेर आफूलाई रणनीतिक अर्थमन्त्रीको रूपमा प्रस्तुत गर्न सफल भएका थिए । उतिबेला २१ वटा परियोजनाहरूलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापनदेखि बजेट व्यवस्था गर्ने काम उनै पुनले गरेका थिए । राजधानी काठमाडौंको सडक विस्तारका लागि चार अर्ब बजेट अभाव हुँदा अनन्तले त्यो बजेटको व्यवस्था गर्ने काम र शान्तिप्रक्रियाका बजेट व्यवस्था गरेर एउटा निष्कर्षमा पुर्याउन सफल भएका थिए ।
मार्क्सवादी चेतनाले लैस भएका पुन तल्लो वर्ग, तल्लो तहका कर्मचारी, तल्लो तहको जनसमुदायमा प्रभावकारी काम गर्ने उनको दृष्टिकोणमा प्रतिबद्ध छन् । निजी क्षेत्र, उद्योगको प्रवद्र्धन गर्न जुनसुकै काम गर्ने, भ्रष्टाचार, कमिसन र विचौलियाको चलखेलमा शून्य सहनशीलता अपनाउने वर्षमान पुनले आफ्नो पालामा बजेट ल्याउन नपाउँदा पनि २२ प्रतिशतभन्दा बढी राजस्व वृद्धि गरेर एक सफल अर्थमन्त्रीको रूपमा प्रस्तुत गर्न सफल भएका थिए ।
अबको कार्यदिशा
प्रधानमन्त्री प्रचण्ड यतिबेला जनयुद्ध जत्तिकै कठिन मोडमा उभिएका छन् । जनयुद्धमा एउटा तनाव थियो । युद्ध जित्ने तर अहिले जनतालाई डेलिभरी दिनैपर्ने दायित्व बाँधमा आइपरेको छ । पछिल्लो समय नयाँ शक्तिहरूको उदय, जनयुद्धको औचित्यमाथि निरन्तर प्रश्न उठिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड गर या मरको अवस्थाबाट गुज्रिरहेका छन् । प्रधानमन्त्री प्रचण्डमाथि आइरहेको यो दबाबको ठूलो हिस्सा अर्थमन्त्री वर्षमान पुनको काँधमा पनि आउने निश्चित छ । त्यसैले यस पटकको अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनको लागि निकै गह्रौँ हुनेछ । देशको अर्थतन्त्र सीमित व्यक्तिहरूको हातमा पुगेर निमुखा जनताका छोराछोरीहरू आङ ढाक्न र हातमुख जोर्नकै लागि विदेश जानुपर्ने विभत्स अवस्थामा रहेको मुलुकमा आर्थिक सुधारको लागि युद्धस्तरमा काम गर्नुपर्नेछ । एकातिर जनताको गुनासो अर्कोतिर लगानीकर्ताको गुनासो । चारैतिर गुनासो नै गुनासोको बीचमा कुशल नेतृत्वको प्रदान गर्न विद्यालयमा प्रथम हुने अध्ययन शैली, जनयुद्धमा कुशल नेतृत्व क्षमताको परीक्षण अबका दिनमा हुनेछन् ।
कुनै समय बन्दुक बोकेर राष्ट्रिय सेनाको ब्यारेक ध्वस्त पार्ने सैन्य रणनीति बनाउने वर्षमान पुन अहिले देशको अर्थतन्त्रलाई सक्षम, सबल र राज्यको वितरण सीमित व्यक्तिको हातबाट खोसेर बहुसंख्यक जनताको पक्षमा वितरण गर्ने योजना बनाउने ऐतिहासिक जिम्मेवारीमा पुगेका छन् । परिवर्तनको लागि गरिएको जनयुद्धले जनतालाई मुक्ति र आर्थिक समृद्धि नभएको बरु झन झन दलदलमा फसाएर जनतालाई धोका दिएको आरोप लाग्न थालेको अवस्थामा अर्थमन्त्री पुनको काँधमा राष्ट्रिय अर्थतन्त्रमा मुठ्ठीभर र सीमित माफियाहरूको कब्जाबाट फुत्काएर आमजनताको समान पहुँच स्थापित गर्ने योजना बनाउने ठाउँमा पुगेका छन् । करिब ६० लाख सेयर लगानीकर्ताको आँखा वर्षमान पुनतिर छ भने निमुखा जनताले जनयुद्धपछिको गणतन्त्रमा जनताले के पाउँछन् भनेर हेरेर बसिरहेका छन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
- सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह
- सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
- उत्पादनमूलक काममा लाग्न घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
- मोदीको प्राथमिकता विज्ञान, प्रविधि र सुरक्षामा
- भारतमा अडानी समूहले ६६ सय मेगावाट बिजुली आपूर्ति गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया