Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहिमाल बेरोजगार बाँचेको छ

हिमाल बेरोजगार बाँचेको छ


लक्ष्मण सिटौला
हिमाल छैन भने नेपाल पनि छैन । हिमालयको सुरक्षा भनेको पर्वतको मात्रै सुरक्षा होइन । हिमालको फेदमुनि बाचिरहेको हुर्किरहेको त्यहाँका जनता र तिनको हिमाली संस्कृतिको सुरक्षा पनि हो । शेर्पा समुदायको उत्थान र संरक्षकत्वको लागि आजसम्म नेपाल सरकारले के काम ग-यो त्यसको अभिलेख स्थानीय तथा पर्यटन मन्त्रालयमा होला तर त्यहाको अवस्था आज पनि पुरातन नै छ । अहिले कोरोनाको कारण हिमाल आफैँ शून्य छ।

हिमाल मौन छ । हिमालयको आभा फैलिएको पहाडभरि शेर्पा समुदाय बेरोजगारी भएर बाँचेका छन् यतिबेला । तीन महिना हिमालको गाइड र भरिया भएर मनग्गे आम्दानी गरी अरु नौ महिना बसिबसी खाने समुदाय यतिबेला भोकै छ । राज्यले चासो दिन सकेको छैन । हिमालमा कोरोना छैन । हिमाल तीन महिना बाहेक अरु सबै दिन क्वारेन्टाइनमै हुन्छ । हिमालय यसै हिमालय बनेको होइन । तर हिमाली पुत्रहरूलाई राज्यले समावेशीतामा समेट्न सकेको छैन ।

केवल लुक्ला एयरर्पोटमा तारा एयरले दिनको पचास फ्लाइट उडान भरेर विदेशीलाई हिमाल देखाउन ओसारपसार गरेर मात्रै समस्त हिमाली जनताको आर्थिक उत्थान हुँदैन । त्यही लुक्ला हो जहाँ एक पाकेट नुनको ४० रूपैयाँ छ, एक पाकेट वाइवाइको ५० रूपैयाँ छ, एक किलो चामलको तीन सय रूपैयाँ छ, एउटा कुखुराको अण्डाको २५ रूपैयाँ छ, एक पत्ता सिटामोलको दुई सय छ । एक छाक खानाको पाँच सय रूपैयाँ छ । पैसा हुनेले मात्रै बाँच्न पाउने हो र ? सोलु सल्लेरी हुँदै लुक्लासम्म मोटर बाटो पु-याउने योजना बीचमै अलपत्र परेको छ । लुक्लासम्म मोटर बाटो पु-याउन सकिएको खण्डमा हवाइ जहाजबाट बोकेर लगेको खाद्यान्नको महंगाइबाट स्थानीयले राहत पाउने थिए । हिमाल भनेको सगरमाथा मात्रै होइन । हिमाल भनेको अन्नपूर्ण र गौरीशंकर मात्रै होइन । सयौं हिमालय पर्वतले सुसज्जित छिन् नेपाल आमा । हिमाल आफैँ मौन छ । चुपचापले बसेको छ । चुपचापले सहेको छ यस्ले विदेशी बुटको चाप ।

सौन्दर्य बेचेर कमायको पैसा राजधानी भित्रिन्छ, त्यहाँ त केवल फोहोरको थुप्रो लाग्छ । तीन महिना विदेशीको हरक आउला त्यहाँ । केही आम्दानी होला स्थानीय जनतालार्ई पनि । केही भरिया भएर थोरै कमाउलान तर अर्को नौ महिना बेरोजगार भएर बस्नुपरेको पीडा खोइ कसले बुझ्यो र आजसम्म ? एनजीओ र आईएनजीओका हरिया झिंगाहरू खुब भन्किन्छ त्यहाँ पनि ! तर एक पाकेट जीवनजल बेच्दा पसलेले तारा एयरले बोकेको हवाइ भाडाको चौबर दर कसेर लिन्छ अनि पाखाला लागेर थलिन्छन् शेर्पा दाइहरू । शेर्पा दाइको ओठको उभारमा हिमालय हाँसे पनि खोइ किन हो शेर्पा दाइले कहिले पनि मेच कुर्सी भाँचेनन् प्रतिनिधि सभाहलमा । कहिले गुनासो सुनिन मैले तिनको मुखबाट । भन्नलाई त समावेशी गणतन्त्र नेपाल भन्छौं हामी तर के साँच्चै समावेशी छ त नेपालमा ? समावेशी राज्यका नाउँमा फाइदा अरुले जातले लिए होलान् तर हिमालका शेर्पाहरू न प्रतिनिधिसभामा छन् न राष्ट्रियसभामा छन् । हिमाल गयो शेर्पा नै शेर्पा छन् तर राज्यमा तिनको समावेशी आवाज सुन्न पाइँदैन ।

समावेशी गणतन्त्र नेपालमा खोइ मेरो हिमालयका शेर्पा दाइ र शेर्पीनी दिदीको नाम र प्रतिनिधित्व कहाँनेर छ देखाउनुस् त ? केवल तराईको तातोले मथिङ्गल हल्लाउँछ यहाँ तर हिमाल कहिले बोलेन । न ऊ दङ्स्यावो पिङ्गको कुरा गर्छ न ऊ मोदी आउँदा चिच्याउँछ । हिमाल बुद्ध बनेर चुपचापले मौन छ तर हामीले कहिले बुझेनौँ त्यो मौनताभित्रको आदिम लय । तेन्जिङ हिलारीले सगरमाथामाको चुचुरोमा प्रथम पाइला टेकेको मे २९, १९५३ अर्थात् आजभन्दा ६६ वर्ष अगाडि । यो ६६ वर्षको अवधिमा हामीले सगरमाथालार्ई शान्ति र आरामले बस्न कहिले दिएका छौँ त ? फलामबाट निर्मित सबै यन्त्रहरूलाई पनि आराम दिइन्छ । श्वास नभएको चिजलाई के को आराम भनिदैन किनकी यो इन्जिनियरिङ सुत्र हो ।

विगत पचासौं वर्षसम्म हामीले सगरमाथालार्ई निरन्तर कुल्चिरह्यौँ । सगरमाथामा हजारौं टन फोहोर छन् । यदि तापक्रम माइनस डिग्री नहुने हो भने सगरमाथामा यी फोहोर सडेर गन्हाएर बसिनसक्नु भैसक्थ्यो । मानिसका लासदेखि अन्य फोहोरका थुप्राहरूले सगरमाथा दिनदिनै कुरूप हुँदै गइरहेको छ । हिमालय रेन्जहरूका हिउँ पग्लिनुमा हामी आफैँ जिम्मेवार छौ । कहीँ नभएको हिमाली सौन्दर्य छ हामीसँग । भौतिकरूपमा हामी नेपालीहरू गरिब हौला तर हामी प्राकृतिक सौन्दर्यले धेरै धनी छौँ । पश्चिमाहरूसँग पैसा छ तर पैसाले हिमालय उभिँदैन । पैसाले पहाड जन्मिदैन । पैसाले झरना र सिमसारहरू निर्माण गर्न सकिँदैन त्यसैले उनीहरू ती चिजहरू हेरेर छामेर नजिकिएर रमाउन हाम्रोमा आउँछन् ।

ग्लोबल वार्मिङ त एउटा हाउगुजी मात्रै हो । यो एउटा पश्चिमी राष्ट्रेहरूको चलखेल हो । सबैभन्दा धोखेबाज हामी आफैँ हौ प्रकृतिलार्ई किन दोष दिनु । सगरमाथामा रोगी, भिरुंगी, चौसठ्ठी योगिनी, भुत, पिचास, डंकिनी, बलात्कारी, हत्यारा, लुटाहा, फटाहा, भ्रष्टाचारी, सुण्डा, मुसुण्डा, पनि चढे । यतिसम्म अत्याचार हुँदै गयो कि सगरमाथाको शिरमा गएर कुनै एक नरपशुले हस्तमैथुन ग¥यो भन्ने कुरासम्म मिडियामा भाइरल भए । सगरमाथालार्ई हामी आफैँले सस्तो बनाइदियौँ । सबैसँग हिमालय छैन । सबैसँग हिमाल भएको भए हाम्रोमा किन आउँथे र ? चढ्नु रमाइलो कुरा हो । शिरमा पुग्नु रमाइलो कुरा हो । शिरमा पुग्नेहरूले कीर्तिमान कायम गरेर आउँछन् । तर हामीले सगरमाथा रोएको कहिले देखेनौँ । सगरमाथा विश्वको शिर हो । संसारको सबैभन्दा अग्लो यो भूतलको स्वर्ग ।

सगरमाथा हाम्रोमा नभएर अरु कुनै देशमा परेको भए सायद त्यो देशले सगरमाथालार्ई लात्ती हान्न दिँदैनथे होलान् । हामीलार्ई सगरमाथाको नाम बेचेर चामलको जोहो गर्नुछ । पछिल्लो समय सगरमाथा चढ्नुलाई अति सामान्य रूपमा लिइन थालियो । सगरमाथा चढ्नु पहिला अन्तर्राष्ट्रिय गौरवको विषय मानिन्थ्यो । गिनिजबुकमा नाम लेखिन्थ्यो । अहिले फलानाले सगरमाथा चढ्यो भन्दा कुनै महत्वपूर्ण विषय बन्दैन । हिजोआज अब सगरमाथा जो पनि चढ्न सक्छ । मानिसहरूमा उसँग प्रशस्त धन भैसकेपछि अनेक सोच अनेक सोख आउँछ र केही नयाँ गरौँ भन्ने संकल्प आउँछ त्यसैको लहैलहैमा हाम्रो सगरमाथाले अनाहकमा दुःख पाइरहेको छ । हिमालयको सौन्दर्य मात्रै बेच्नुस् न कि यसको शरीरमा कसैलार्ई चढ्न दिएर यस्को अस्मिता बिक्री गर्नु । हामीले हिमालयको उज्यालोमुनि त्यहाँका स्थानीय शेर्पा समुदायको उत्थानका लागि खोइ के कति काम गर्न सक्यौं त ? जति तराईलार्ई महत्व दिन्छौँ हिमालय काखमा बसेकाहरूलाई वास्ता गरेनौ हामीले । अति भएपछि निर्जीवलार्ई पनि दुख्छ । अब केही समयलार्ई सगरमाथामा मान्छे चढ्न प्रतिबन्ध लगाउनुपर्छ ।

हाम्रा हिमालहरू निर्जीव होइनन् । यसलाई निर्जीव त हामीले बनाउँदै छौँ । यी त सजीव छन् । यी त सजल छन् । यी आफैँ सम्मोहित र आनन्दित छन् । हामी हरेक दिन संवाद गर्छौ हिमालसँग । यस्को असीम आनन्दमा पुलकित हुन्छौँ हामी र हामीलार्ई हिमाल सधैं प्रिय लाग्छ । प्रिय चिज कहिले निर्जीव लाग्दैन । सगरमाथा सजीव भए रै हो यसको बुइ चढ्ने गर्छन् हरेक वर्ष ।

हिमाल निर्जीव सम्झने त हामी जिवित मानव पो हौँ । अब हाम्रा हिमालको सौन्दर्य यति सस्तो छैन ता कि हजारौं चढून् मनलाग्दी गरून् । अब हिमाल हेर्नको लागि मात्र हो चढ्नको लागि होइन भन्ने नारा विकास गरौँ । अबका दिनमा हिमाल चढ्न जो कोहिले हिम्मत नगरोस् । चढ्नै दिने हो भने पनि उसले राम्रै मूल्य चुकाउनु परोस् ता कि त्यो रकमले नेपालको हिमाली सौन्दर्य अक्षुण्ड कायम राख्न पुगोस् । मध्यपूर्वका देशहरूलाई जसरी तेलका प्राकृतिक कुवाहरू वरदान साबित भए त्यसैगरी हामीलार्ई पनि हाम्रो हिमाल बरदान साबित होस् र हामीले उन्नति गर्न सकौँ ।

हिजोआज एउटा नाराको विकास भएको छ ‘हिमाल पहाड तराई कोही छैन पराइ’ समावेशी नेपालको नव प्रध्वनि हो यो । तर यो नाराभित्र के साँच्चिकै कोही काखा र कोही पाखा छैनन् होला त पक्कै ! सबैले भन्ने गर्छन तराईमा सुन फल्छ । तर हिमालको नाउँ हम्मेसी कसैले पनि लिँदैनन् । हिमालको नाम वा हिमालय क्षेत्रको चर्चा त्यतिबेला मात्रै चुलिन्छ जब बसन्त ऋतु सुरु हुन्छ । तराई र पहाडमा जब गर्मी सुरु हुन्छ अनि सबैलार्ई हिमाल प्यारो लाग्न थाल्छ । आजको यो लेखमा म हिमालय सौन्दर्यको कुरा वा पर्वतीय श्रृङ्गारको कुरा गर्न गैरहेको छैन । यो लेखमा हिमालमुनिको अँध्यारोको बारेमा केही कुरा भन्न गइरहेको छु ।

हिमालय पर्वतलार्ई आफ्नो काधमा बोकेका जिल्लाहरू जुम्ला मुगु डोल्पा मुस्ताङ मनाङ गोरखा रसुवा सिन्धुपाल्चोक दोलखा सोलुखुम्बु सन्खुवासभा र ताप्लेजुङ् हुन । सातै प्रदेशअन्तर्गत पर्ने यी जिल्लाहरूको पहाडी भेगसम्म विकासको पूर्वाधार खडा भए पनि पहाडी भेगबाट जब उत्तरतिरको हिमालय रेन्ज नजिकका स्थानीय क्षेत्र, जहाँ हिमालयको उज्यालो आउँछ त्यहाँका स्थानीय जनताको समग्र विकासको लागि सरकारको कहिले पनि ध्यानाकर्षण हुन सकेको छैन ।

नेपाल सरकार चाहे पञ्चायतकालीन हुन, चाहे लोकतान्त्रिक र गणतन्त्रकालीन हुन वा प्रजातान्त्रकालीन हुन् ती सबको ध्यान केवल तराई र तराइबासीले दिएको दुःख सम्बोधन गर्दैमा पचासौं वर्ष बितिरहेको छ । एउटा सिङ्गो शरीरको मुटुको घाउ हो तराई तर शिर ( हिमाल ) मा फुलेको रोगी कपाल र भित्र दुखेको पिनासतर्फ हाम्रो ध्यान गएको छैन । सत्ताको लुछाचुडिमा केवल तराई मात्रैको आवाजलार्ई सुनियो तर हिमाल पेन किलर खाएर बाँचिरहेको छ ।

नेपाल सधैं तराईको राजनीतिक समस्या समाधानमा अलमलिएको छ । हिमालय शृङ्खलाका शेर्पा समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक र धार्मिक उन्नतिका लागि हामीले कहिले पनि ध्यान दिएको देखिएन । तराईको सांसदले संसद् भवनभित्र मेच कुर्सी भाँचिरहदा हिमालय भेगका सांसदहरू कुन ढोकाबाट बाहिर निस्कने भनेर हातमा धुपीको माला जपिरहेका हुन्छन् । खोइ किन होला हिमाल कहिले पनि सम्बोधनमा परेन वा महत्वमा परेन । वर्षको पचासौं करोडभन्दा बढी राजस्व हिमाल चढ्नेहरूले मात्रै नेपाल सरकारललाई बुझाउँछन् । त्यसको तीस प्रतिशत आम्दानी स्थानीय तहमा खर्च गरिएको दाबी सरकारले गरे पनि त्यसको अलिकति पनि छनक स्थानीय तहले अनुभूत गर्न पाएका छैनन् । आज पनि त्यहाँ एक पोका चाउचाउको ६० रूपैयाँ छ । चामललगायत अरु खाद्य पदार्थ ढुवानीमा सरकारले दिएको अनुदान पनि प्रभावहीन छ । ढुवानीमा अनुदान दिए पनि महगाइ उस्तै छ ।

एकातिर अनुदान दिएको बहाना गर्ने अर्कोतिर महंगाइ नियन्त्रण र नियमन गर्ने निकायले रिमिते भएर बसिदिएपछि त्यसको असर केही पनि पर्दैन । यातायात अभाव र भौगोलिक विकटताका कारण हिमाली भेगका महिलाहरू प्रसुती सेवा लिन चार लाखको हेलिकप्टर चढेर कि काठमाडौं आउनु प-यो कि एक हप्ता लगाएर खच्चडमा बोकिएर सदरमुकाम झर्नु प-यो । खोइ कहाँ छ राज्यको उपस्तिथि त्यहाँ ? हिमालयको धाक लगाउन हिमालको उन्नतिका लागि खै के ग-यौँ हामीले ?

केवल तराई मात्रै प्राथमिकतामा परेको छ । हिमालय कहिले प्राथमिकतामा परेन । यार्सागुम्बा हुने भेगका स्थानीयले त भलै अलिकति जीवन धान्लान तर सबै ठाँउमा यार्सागुम्बा हुदैन । केवल भोको पेटले हिमाल हेरेर के गर्नु । हिमाल हेर्नु र त्यसको सौन्दर्य शास्त्र आफ्नो ठाँउमा होला तर हिमाल मुनि बाँचिरहेका नेपालीहरूको अनुहारको अँध्यारो कसरी उज्यालो होला यो कुरामा नेपाल सरकारले कहिले ध्यान दिएन ।

हिउँ पगालेर पानी पिउनु पर्ने बाध्यता छ होला भन्ने कुरा कतिपयले अनुमान पनि लगाउन सक्तैनन् । सबै नदीहरूको मुलस्रोत हिमाल हो तर नदी छेउमा घर कतिको हुन्छ र ? हिउँको सिरक बनाएर ओढ्न त सकिँदैन वा हिमनदी बगेको किनारमा घर पनि त हुँदैनन् । हिमालमा पिउने पानीको अभाव छ त्यो कुरा सायद हामीले बुझेका छैनौँ । हिमालमा प्रशस्त जडीबुटी छ तर उपचार गर्न सदरमुकाम नै झर्नुपर्छ । हिमालमा अलिकति आलु अलिकति जौ अलिकति जुनेलो अलिकति कागुनो अलिकति हिउँसिमी फलेर के गर्नु उब्जेको अन्नले दुई महिना पनि खान पुग्दैन ।

तराईका नेपालीको त भारत ससुराली होला ठाउँ समथर छ यता नपुगे उताबाट उता नपुगे यताबाट लैजालान तर हिमाली भेगमा बस्ने नेपाली तिब्बत वा चीन जानलाई हिउको पर्वत नाघ्नपर्छ । हिमालय आफैँ पर्खाल हो । त्यो पर्खाल यति दुर्लङ्ग छ कि कसैले पनि नाघेर जान सक्तैनन् । तराईजस्तो रोटीबेटीको सम्बन्ध राख्दैनन चीनसँग हिमालका बासिन्दाले । भौगोलिक विकटताको आँसु धेरै पिएर बाँचे हिमाली भेगका जनताले । आज पनि कर्णाली मुगु जुम्ला डोल्पा पाँचथर सोलुका जनता बुद्धजस्तै शान्त बाँचेका छन् । तिनका आवाज किन मौन छन् बुझ्न सकिएको छैन । दिनदिनै तराईको चित्कार सुनिरहेका यी कानले हिमालय पर्वतको गीत सुन्न पाएको छैन । बोल्नु चिच्याउनु वा आवाज निकाल्नु मात्रै ठूलो कुरा होइन । आवाज त पाहाडमा पहिरो खस्ता पनि आउँछ, आवाजत नदीमा भेल बग्दा पनि आउँछ । आवाज त मेघ गर्जिदा पनि आउँछ । आवाज त निरीह हरिणलाई बाघले झम्टदा पनि आउँछ । तर मौन बस्नुभित्र कति ठूलो आवाज हुन्छ त्यो कुरा पनि सरकारले बुझ्नुपर्छ । तराईले जस्तो विकास खोसेर लिएन हिमालले । तराईमा जस्तो सधैं आँखा पुगेन सरकारको तर हिमालको दुःख कहिले पनि सम्बोधन भएन । संविधान संसोधनको प्रस्ताव कहिले राखेन हिमालले ।

हिमाललार्ई त हामीले बेच्यौँ मात्रै सालिन्दा । त्यसको आनन्द ताप्न दियौ अरुलाई, त्यस्को स्पर्शले अरुलाई पुलकित बनायौँ तर उनै रोएको खोइ त हामीले देखेको वा तिनको आँसु पुछेको । हिमाल रोएको आँसु तराई पुगेको छ । त्यहीँ आँसुमा तराई पौडी खेल्छ । त्यही आँसुलाई तराई बाँध बाँधेर सिँचाइ गर्छ र सुन फलाउँछ । तर कहिले सोधेन तराईले हिमाललाई के छ तिम्रो दुःख भनेर । तराई सधैं आफ्नो बिहेको रत्यौलीमा रङबंगिरह्यो । उसले कहिले सोधेन हिमालको चिसोको पीडा । तराई सधैं आफ्नै मधुमासमा राज्यलार्ई मेरो मधुमास हेर भनेर घचघच्याइरह्यो । उसले शिरतिर फर्किएर कहिले हेरेन त्यो लेकको कालो घनघटा । हिमाली भेगको सम्पन्नताको बारेमा राज्यले कहिले चासो राखेन । वास्तवमा हिमालय पर्वत हेर्नलाई मात्रै हो भन्ने हेतुमा हामी अलमलिएकै हो । त्यहाँका स्थानीय जनताको समृद्धिको लागि राज्यले बनाउनु पर्ने नीति अब निर्माण गर्नुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया