Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक सुधारवादी दृष्टिकोण विकासको मूलमन्त्र

आर्थिक सुधारवादी दृष्टिकोण विकासको मूलमन्त्र


काठमाडौं । आर्थिक सुधारवादी विचारधारा त्यस्तो विचारको गाम्भीर्य हो, जसले सामाजिक व्यवहार एवं अर्थतन्त्रबीचको अन्तरसम्बन्धलाई हरेक कोणबाट केलाउने प्रयास गर्नेछ । तत् सन्दर्भमा केन्द्रिकृत रहँदै सामाजिक आर्थिक गतिविधिका विधागत विषयहरूलाई आफ्नो क्षेत्राधिकारभित्र समाहित गर्दै मुनाफा एवं लगानीका सु–अवसरलाई समाजको हितकारी कार्यको लागि लोकतान्त्रिक आर्थिक सुधारका अभ्यासलाई आत्मसाथ गर्दै क्रमशः अगाडि बढाउने अवधारणागत विशेषता नै सम्बद्ध क्षेत्रको विकासको मूलमन्त्र समेत हो ।

मूलतः उपभोग एवं अर्थतान्त्रिक वातावरणको प्रभावजन्य असरको बारेमा अध्ययन गर्दै के–कस्तो प्रकारको सुधार ल्याउनुपर्ने हो भन्ने सन्दर्भमा विशेष रूचि राखी सोहीअनुरुपको व्यवहारलाई क्रमशः अगाडि बढाउने प्रयास समेत गर्नेछ । प्रस्तुत विचारहरू कहिलेकाहीँ परम्परागत आर्थिक सैद्धान्तिक धरातलबाट पृथक रहँदै अन्य सामाजिक विषयका सन्दर्भमा विचारहरूको मन्थन गर्ने अवस्था तयार गर्ने भएबाट विरोधाभाषपूर्ण परिस्थिति निर्माण हुने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

जसअनुसार सीमान्तकृत समूहलगायतका अन्य सामाजिक पृष्ठभूमि रहेका वर्गले आफ्नो दैनिक जीवनयापनका लागि आर्थिक कोषको निर्माण कसरी गर्छन् भन्ने तथ्यमा आधारित रहँदै मानवीय आवश्यकताका असीमित चाहनालाई परिपूर्ति गर्ने क्रममा वस्तु तथा सेवाको दरमा पहुँचको अभिवृद्धि कुन तरहबाट गर्नेछन् भन्ने मूलभूत प्रश्नको सेरोफेरोमा केन्द्रित रहँदै तत्सम्बन्धी कार्यदिशाको निचोड निकाल्ने कार्य समेत गर्नेछ । जसका लागि सामाजिक व्यवहारतः एवं अर्थतन्त्रको बीचमा सामञ्जस्यता कायम राख्दै सोपश्चात प्राप्त हुने नतिजालाई समाज हितकारी कार्यका लागि खर्चिने प्रवृत्तिको विकासले अन्ततः आर्थिक समतामूलक नागरिक समाज निर्माण गर्न सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिन सकिनेछ ।

परिणामतः नागरिक समाजमा विद्यमान रहेको अर्थतान्त्रिक संकटलाई आर्थिक विकासका नयाँँ प्रविधिगत अवधारणामा आधारित मोडलहरूको अधिकतम उपयोग एवं प्रयोगबाट कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको चयन गर्दै समानान्तररूपमा आर्थिकरूपान्तरणको दिशानिर्देश समेत गर्नुपर्ने हुन्छ । आर्थिक सामाजिक अर्थतन्त्रहरू संगठनजस्तो रहने भएकै कारण सामाजिक तथा वातावरणीय मुद्दाहरूलाई आत्मसाथ गर्दे सोको व्यावसायिक कार्यदिशालाई अगाडि बढाउन सधैं नै चनाखो रहनुपर्ने हुन्छ । दिगो आर्थिक विकासका लक्ष्यहरू हासिल गर्न प्रस्तुत प्रवृत्तिका कार्यहरू निकै नै लाभदायी सिद्ध हुने देखिन्छ ।

प्रस्तुत व्यवहारको विकासबाट नवप्रवद्र्धन तथा उद्यमशीलताको क्षेत्रमा जोड दिने संस्कृतिको विकास हुने भएकाले व्यावसायिक साझेदारीलाई समाज केन्द्रित समूहको हितको लागि उपयोगमा ल्याउन सकिने उपयुक्त वातावरणको विकास समेत हुनेछ । जसबाट उत्पादनको क्षेत्रमा नवीनताको अनुभूति प्राप्त हुने तथ्यहरूले प्रमाणित गरेको वर्तमान अवस्था हो । परिणामतः सम्बद्ध क्षेत्रमा कायम रहने जोखिमको उच्च मूल्याङ्कन गर्दै जोखिम बहन गर्न सक्ने क्षमता–विकासले कर्मचारी एवं कामदारको सामूहिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने भएकाले आर्थिक विकासका खातिर अवलम्बन गरिएको विकास केन्द्रित रणनीतिहरूले विनाअवरोध निर्धारित समयमा लक्ष्य प्राप्ति गर्नेछन् भन्ने विश्वास लिन सकिनेछ ।

यो हुनु भनेको आर्थिक विकासको धारलाई समय सापेक्ष सुधार एवं परिमार्जन गर्दै विकाससम्मत लक्ष्य प्राप्तितर्फ अग्रसर गराउनु सरहको अवस्था हो । जसबाट निर्यातजन्य आपूर्तिको गतिशीलतालाई थप प्रभावकारी बनाउँदै आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने देखिन्छ ।

तदुपरान्त व्यापारचक्रको हरेक क्षेत्रमा समाज केन्द्रित दृष्टिकोणको अवधारणानुसार आर्थिक वृद्धि एवं अवसरको सन्तुलनलाई समानुपातिक आधारमा अगाडि बढाउँदा मनग्य आर्थिक लाभ प्राप्त हुने तथ्यगत विशेषतालाई अन्यथा लिन अवश्य पनि मिल्दैन । अन्य अवस्थामा जस्तै प्रस्तुत आर्थिक सुधारवादी दृष्टिकोणको विकासबाट उच्चदरको रोजगारी सिर्जना हुन गई दक्ष जनशक्ति विकासमा प्रत्यक्ष वा परोक्ष सहयोग पुग्न जाने अवस्था तयार हुनेछभन्दा हामीहरू कसैको पनि दुईमत रहन सक्दैन । जसबाट लगानीयोग्य पूर्वाधारको निर्माण हुने भएकाले उचित लगानीको अवसरको सुनिश्चितता कायम रहन गई मुलुकको अर्थतन्त्रले अग्रगामी छलाङ मार्न सक्षम रहन सक्नेछ भन्ने यस क्षेत्रका जानकारहरूको बुझाइमा रहँदै आएको पाइन्छ ।

यस प्रकारका गतिविधिहरूको विकासले स्थानीय अर्थतन्त्रको स्तरोन्नति गर्न सहयोग पुग्ने देखिन्छ । प्रस्तुत अवधारणाको विकासले दिगो सामूहिक विकासको क्षेत्रमा उल्लेख्य सहयोग पुर्याउने ह‘ुदा समूहगत भावनामा अभिप्रेरित रहँदै आर्थिक जनजीवन सुधारका लागि आवश्यक पर्ने आर्थिक सरोकारका मुद्दाहरूलाई यथासमयमा नै सम्बोधन गर्न सकिने भएकाले नागरिकको जीवनस्तर सुधारमा आशातीत सफलता हासिल गर्न कुनै पनि प्रकारको असहज परिस्थितिको सामना गर्नुपर्ने छैन ।

सम्बद्ध क्षेत्रमा अपार सफलता हासिल गर्न कायम रहन आउने अवरोधहरूलाई चिर्दै निर्दिष्ट लक्ष्यतर्फ सेवामूलक भावनालाई परिणामजनक नतिजा प्राप्त हुने गरी व्यवहारमा समेत लागू गर्नुपर्ने हुन्छ । जसका लागि समूहमा रहेको न्यून पुँजीको उच्चत्तम उपयोग तथा सदुपयोग गर्दै तत्सँग सम्बन्धित मानव पुँजीलाई चलाएमान बनाउनु समय सान्दर्भिक कदम हो भन्न सकिन्छ ।

जसमा विशेषगरी शैक्षिक योग्यताको आधारमा प्रदान गरिने उपयुक्त तालिमको व्यवस्थापन एवम् सीपमूलक कार्यको विकासले निर्णायक भूमिका निर्वाह गर्नेछ । जुन आर्थिक वृद्धिका लागि आवश्यक पर्ने जनशक्ति विकासको क्षमता तथा दक्षता अभिवृद्धि गर्ने कार्यमा कोशेढुङ्गा सावित हुने तथ्यलाई अन्यथा लिन मिल्दैन । तत्पश्चातः आर्थिक विकासका खातिर चालिएका विकाससम्मत कार्ययोजनाहरूले मात्रात्मक, गुणात्मक एवं संरचनात्मक परिवर्तन गर्न कुनै पनि प्रकारको कठिनाईको सामना गर्नुपर्ने छैन । जसलाई आर्थिक विकासको यथोचित दिग्दर्शन समेत मान्दा फरक नपर्ला ।

जसमा अन्तनिर्हित रहँदै एक्काइसौं शताब्दीको आर्थिक वृद्धिको नयाँ र नौलो मोडललाई मुलुकको माटो सुहाउँदो दिशातर्फ प्रतिस्थापन गर्न सकिने वातावरणको विकास नै यसको मुख्य लक्ष्य समेत हो । नागरिक समाजको लागि दिगो आर्थिक विकासको चाहना राख्ने हो भने निश्चितरूपमा लगानीमैत्री वातावरणको विकासको साथै नवप्रवद्र्धनमा आधारित रहँदै तत्सन्दर्भमा आवश्यक पर्ने नीति एवं प्रविधिमैत्री अवधारणाको विकासमा आधारित भरपर्दो वित्तीय प्रणालीलाई एक आपसमा समायोजन गर्दै लक्ष्य प्राप्तितर्फ अग्रसर रहनुपर्ने हुन्छ । प्रस्तुत अवधारणाको विकासलाई मूर्तरूप हासिल गर्न निश्चितरूपमा राजनीतिक स्थिरता एवं नागरिक समुदायको सहयोगात्मक ऐक्यबद्धताको सदैव खाँचो रहन्छ । जसबाट प्रतिव्यक्ति आयको स्तर अभिवृद्धि गर्दै सम्बद्ध समूहको भौतिकस्तरमा समेत सुधारको अपेक्षा गर्न सकिन्छ । अन्यथा विकासको प्रतिफल हासिल हुन सक्ने अवस्था रहने छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x