Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना समस्या समाधानमा व्यावहारिक शिक्षाको भूमिका

कोरोना समस्या समाधानमा व्यावहारिक शिक्षाको भूमिका


डिआर पोखरेल
कोभिड–१९ अर्थात् कोरोना भाइरस महामारीको कारणले निम्त्याएको सङ्कटले आज शैक्षिक क्षेत्र प्राय ठप्प छ । विद्यालय तथा कलेजका भवनमा जवरजस्त क्वारेनटाइन निर्माण गरिएको छ । यस क्षेत्रका शैक्षिक जनशक्ति शिक्षक, विद्यार्थीहरू देशको कुनाकाप्चामा तितरबितर भएका छन् । विद्यार्थीहरूलाई कुनै पाठ्यक्रममा बाँध्न नसकेर अस्तव्यस्त छोडिएको छ । भविष्यका कर्णधार मानिने विद्यार्थीहरूको दैनिकी मोबाइल, इन्टरनेट तथा समय बिताउने अन्य क्रियाकलापहरूमा व्यस्त छन् । यसलेविद्यार्थीको मानसिकतामा सकनरात्मक वा नकनरात्मक कस्तो खालको असर पारेको छ भन्ने विषयमाथि कुनै र कसैको पनि ध्यान दिएको पाइँदैन ।

देशले अर्बाैंलगानी गरेर शैक्षिक जनशक्ति निर्माणमा खर्चिए पनि व्यावहारिक रूपमा समाजसँग प्रत्यक्ष जोड्न नसक्दा विषम परिस्थितिमा यति धेरै शैक्षिक जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । कुनै पनि महामारीबाट बच्न र बचाउन देशको जनङ्ख्यायाको तल्लो तहसम्म नै शैक्षिक सचेतना अनिवार्य हुन्छ जो शैक्षक जनशक्ति व्यावहारिक उपयोगबाट नै सम्भव रहेको देखिन्छ । अहिले फैलिएको कोरोना भाइरससँग जुध्न विद्यालय र क्याम्पसभित्रको शैक्षिक जनशक्तिलाई बन्दको बहनामा घरमा थुनेर होइन उचित प्रशिक्षणले दक्ष बनाई परिचालन गर्ने हो भने तल्लो तहबाटै परिवार र समाज सुरक्षित राख्न सम्भव देखिन्छ ।

कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीको कारण विश्व नै आक्रान्त भएको छ । विश्वका प्रायजसो मुलुकले लकडाउन मुख्य रणनीति बनाएर समाधानको बाटो खोजिएपनि विश्वभर देखिएको सङ्क्रमितको संख्या र मृत्युदर हेर्दा खासै सन्तुष्ट हुने किसिमको निकास निस्किएको पाइँदैन । अनिश्चितकालीन रूपमा बिनायोजना गरिएका लकडाउनले सामान्य जीवनस्तरलाई अत्यन्तै कष्टकर बनाउँदै समग्र राज्यको अर्थतन्त्रहरू नै ढलमलाउन लागेका छन् । नेपालमा अर्थतन्त्र चलायमानको आवश्यकता महसुस गरी निजी क्षेत्रको विरोधलाई सम्बोधन गर्दैलकडाउन केही खुकुलो गरिएको छ । शैक्षिक क्षेत्रलाई अनिश्चितकालीन बन्दमै राखेर खुकुलो लकडाउनको रणनीति तयार गर्नुले कोरोनाको व्यावहारिक र सुरक्षित समाधानका विकल्पमा शैक्षिक जनशक्तिको उपयोगलाई महत्व नदिएको स्पष्ट हुन्छ ।

शिक्षकले विद्यार्थीलाई सैद्धान्तिक कुरामा मात्रै लगाएर राम्रो ग्रेडको नतिजा ल्याउनु मात्रै शैक्षिक गुणस्तरको मापन हैन । शैक्षिक गुणस्तरका लागि त केही विकसित मुलुकमा जस्तै राज्यका नागरिकका हैसियतले अनिवार्यरूपमा केही समय राज्यकका निम्ति स्वयमसेवक बनेर सामाजिक कार्यमा बाँधिनु जरुरी हुन्छ । आजको यस विषम परिस्थितिमा राज्यको शैक्षिक प्रणालीमाथि प्रश्न उठाएर परिवर्तनको खोजी गरिएको त होइन तर लाखौं विद्यार्थीहरू कामविहीन भएर घरमा बस्दा सुरक्षित समाजमा शैक्षिक जनशक्तिलाई दिने प्रभावकारी भूमिकाका लागि तयार गरिएको स्वरूप हुन सक्छ ।

सैद्धान्तिक शिक्षालाई मुख्य आधार बनाएर हाम्रो शैक्षिक प्रणाली सञ्चालन गरिएको छ । यस्तो शैक्षिक प्रणालीबाट व्यावहारिक एवं समाज विकाससँगै आवश्यकताअनुरूपको नतिजामुखी समाज निर्माणमा यसको योगदानले खासै महत्व राखेको पाइँदैन । विद्यार्थीहरू औपचारिकता निभाउनका लागि मात्रै विद्यालय जानाले गुणात्मक शिक्षाको अवलम्बन हुन नसकेको यथार्थलाई नकार्न सकिँदैन । विद्यार्थीलाई जबसम्म समाजसँग प्रत्यक्ष सम्बन्धित बनाइँदैन अथवा उनीहरुको सिकाइमा समाज जोडिँदैन त्यस्तो सिकाइले खासै परिपक्वता पाउन सक्दैन । विद्यार्थी शिक्षित हुनुको अर्थ अन्ततः परिवार र सामाजिक सम्बन्धलाई सुदृढ बनाउनु रहेको हुँदा हरेक विद्यार्थीलाई समाजसँग जोड्नुपर्ने हुन्छ ।

समाज र परिवारका समस्यामाथि जबसम्म विद्यार्थीलाई जोड्न सकिँदैन तबसम्म सिर्जनात्मक समाजमा विद्यार्थीले कुनै भूमिका खेल्न सक्दैन । व्यावहारिक रूपमा समस्या समाधानमा संलग्न गराउँदा विद्यार्थीलाई वास्तविक सामाजिक कार्यको अनुभव पनि हुने र महामारीको रूपमा आएका यस्ता सङ्कटबाट आफ्नो समाजलाई बचाउन पाउँदा समाजप्रति अपनत्व पनि बढ्दै जान्छ । यस्ता कामबाट उनीहरुले भित्रभित्रै गर्वको महसुससमेत गरेको पाइन्छ । कोभिड–१९ मात्रै नभएर वातावरणीय प्रदूषण विश्वमा तीव्ररूपमा फैलिँदै गएका अन्य प्राणघातक तथा सरुवा रोगको प्रभाव र रोकथामका लागि प्रत्यक्षरूपमा राज्यको भविष्य काँधमा राखेका विभिन्न तहका विद्यार्थीसँग साझेदार रहनु पर्दछ ।

शैक्षिक प्रणालीले औपचारिक रूपमा व्यावहारिक ज्ञान हासिल दिलाउन नसक्नु नै आज समग्र शैक्षिक प्रणालीमा समस्या दर्ज भएको यथार्थता कोभिड–१९ मा शैक्षिक जनशक्तिको उपयोग गर्न नसक्नुले स्पस्ट बनाउँदछ । लाखौँ विद्यार्थीलाई व्यावहारिक विधि निर्माण गरेर समाजसँग जोड्ने हो भने समाजले तुरुन्तै उचित प्रतिफल पाउन सक्छ । संघीय संरचनामा मुलुक अगाडि बढेको यो समयमा शैक्षिक प्रणालीमा व्यावहारिक पक्षले जोड नपाएको हुँदा नुनबिनाको तरकारीजस्तो महसुस भएको छ ।

विश्वव्यापीकरणले विश्व नै साँघुरो पार्दै समाजमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आन्तरिक तथा बाह्य वातावरणले प्रभाव पार्दै गइरहेको छ । एकातिर दिनप्रतिदिन तीव्ररूपमा फैलिँदै गरेको सरुवा रोगको प्रकोपले समाजमा अनौठो त्रास फैलाउँदै आएको छ भने अर्कोतिर प्राणघातक रोगले परिवारलाई तहसनहस पु-याएको छ । यस्तो जटिल परिस्थितिमा स्वस्थ समाज निर्माण गर्नु अत्यन्तै चुनौतीपूर्ण कार्य हुन आउँछ । सरकारी तथा गैरसरकारी संस्था तथा सरोकारवालाहरूको पहलबाट विद्यार्थीको पाठ्यक्रममै अनिवार्यरूपमा व्यावहारिक सामाजिक सेवा कार्यक्रमको जोडले साँच्चिकै विद्यार्थीलाई समाजसँग जोड्न सक्छ । विद्यार्थीलाई स्वस्थ्य सचेतना कार्यक्रम, सरुवा रोगको जानकारी तथा बच्ने उपाय सम्बन्धित स्वास्थ्यमूलक कार्यक्रम साथै समाजमा प्रत्यक्ष देखिने समस्याको समाधानमा सहभागी बनाएर प्रत्यक्ष भूमिका देखाउन जरुरी छ ।

सैद्धान्तिक क्षेत्रका लाखौँ शैक्षिक जनशक्तिलाई सामाजिक रूपान्तरणसहितको व्यावहारिक विधि निर्माण गरेर प्रत्यक्ष समाज निमार्णमा लगाउनु नै समाजले महसुस गर्नेसहितको कोरोना नियन्त्रणको महत्वपूर्ण उपाय हुन सक्छ । कलेज विद्यालय बन्द गरेर होइन सञ्चालन गरी जनशक्तिलाई उचित काममा लगाएर मात्रै कोरोना जित्न सकिन्छ । लगातारको लकडाउनले भोकमरी निम्ताएर देशलाई सङ्कटको घडीमा पु¥याउनुभन्दा पनि सजिलै उपयोग गर्न सकिने शैक्षिक जनशक्तिको अधिकतम उपयोग गर्न सकिने शैक्षिक जनशक्तिको अधिकतम उपयोग गरेर कोरोना सङ्कटलाई जित्दै अन्ततः सबै शैक्षिक संस्थामा व्यावहारिक शिक्षाको आवश्यकता स्थापित हुनु आजको माग रहेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया