Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराजधानीमा दुर्लभ मानिने रोल्पाली सागसब्जी

राजधानीमा दुर्लभ मानिने रोल्पाली सागसब्जी


काठमाडौं । रोल्पा एक विकट जिल्ला हो भन्ने ठानिन्छ, वास्तवमा सोचेजस्तो विकटचाहिँ होइन् । नबुझ्नेहरूले रोल्पालाई डोल्पा सरह नै ठान्छन् । रोल्पाको सदरमुकाम लिबाङलाई झट्ट हेर्दा सानो दार्जिलिङ हो कि जस्तो लाग्छ । भ्रमण गरेर र केलाएर हेर्ने हो भने रोल्पामा धेरै सम्पदाहरू भेटिन्छन्, अर्को शब्दमा भन्नुपर्दा रोल्पालीहरू धनी नहोलान्, तर रोल्पा धेरै धनी छ । प्राकृतिक सुन्दरता, धार्मिकस्थलहरू, सुन र फलामलगायतका खानी, झरना, नदिनाला, गुफा र गढी त्यहाँका प्रमुख सम्पदाहरू हुन् । बहुमूल्य जडीबुटीहरू धेरै पहिलेदेखि नै ढाकरद्वारा ढाक्रेहरूले भारततर्फ निकासीका लागि कोइलाबाससम्म लैजान्थे । उनीहरूले सही मूल्य पाउँथे वा पाउँदैनथे त्योचाहिँ थाहा भएन । व्यापारीहरूले रोल्पाको भाँगो, सिमीको गेडा, भटमासलगायतका उपजहरू जिल्लाबाट बाहिर लगेर बिक्री गर्न थालेको धेरै भइसक्यो । तर किसानहरूले उचित मूल्य पाए वा पाएनन् यहाँ शंका गर्नुपर्ने अवस्था छ । रोल्पाको प्रमुख अनाजहरूमा मकैका साथै कोदो, फापर, लट्टे, जुनेलो पर्छन् । जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छन् । रोल्पामा धान खेतीका लागि खासै खेतका फाँटहरू देखिँदैनन्, कताकतै मात्र धानखेती हुने गर्छ । रोल्पाको जडान धानले भने कुनै बखत चर्चा कमाएकै थियो । जडन धान अहिले लोप भइसक्यो भन्दा पनि हुन्छ । संघीय राजधानी काठमाडौंमा दुर्लभ मानिने कतिपय सागसब्जीहरू रोल्पामा उत्पादन हुनेगरेका छन् ।
ती यसप्रकार छन्–

काठेकाउलीः काठेकाउली झट्ट हेर्दा ब्रोकाउलीको जस्तो रङको हुन्छ, तर पातहरू ठूला र च्याप्टा हुन्छन् । काठेकाउली फुल्नुअघि यसका सबै पातहरू एकठ्ठा गरेर टुप्पोनिर डोरीले हल्का किसिमले बाँधिन्छ। बाँधेर पातले ढाकिसकेपछि काठेकाउलीको फूल भने हतहपत्त कसैले पनि देख्न पाउँदैनन् । यसको बिरुवा असारे झरी गर्ने याममा सारिन्छ । यसको बीउ सार्नको लागि ब्याडमा गेडाको बीउ राखिँदैन । बोटको फेँददेखि माथिसम्म पात जोडिएका कापहरूमा साना–साना टुसा वा पालुवा वा रोल्पाली बोलिचालीमा काइना चुँडाएर रोप्ने गरिन्छ । बिरुवा रोपेको ९÷१० महिनामा मात्र यो तरकारी खानको लागि तयार हुन्छ । यसको तरकारी भुटुवाभन्दा पनि झोल नै मीठो हुने भएकाले रसदार किसिमले पकाइन्छ । काठेकाउलीको तरकारी निकै स्वादिलो मानिने हुँदा गाउँघरमा यो लोकप्रिय छ । तर आजकल यसको खेती गर्ने चलन हराउँदै गएको पाइन्छ । यसको खेती बारीमा भन्दा पनि आँगनको डिल वा करेसातिर रोप्नेगरेको पाइन्छ । बन्दागोबी, फूलगोबी, ग्याँठगोबी र ब्रोकाउली चार पाँच महिनामै खानका लागि तयार हुन्छन् भने काठेकाउली तयार हुन नौ–दश महिना लाग्छ ।

काठेकाउली काठमाडौंमा जताजतै खोज्दा पनि पाइँदैन । अर्को अर्थमा भन्नुपर्दा यो राजधानी काठमाडौंमा दुर्लभ तरकारीमा गनिन्छ । रोल्पा र आसपासका क्षेत्रहरूमा व्यावसायिकरूपमा काठेकाउलीको खेती गर्नेगरेको भए राजधानीसम्म आउँथ्यो होला । तर रोप्नेको घरमा मात्र तरकारीको रूपमा प्रयोग हुने हुँदा उत्पादन क्षेत्रबाट अन्यत्र सहर बजारमा यसको पहुँच छैन भन्दा पनि हुन्छ । यो पहाडी भेगका चिसो ठाउँहरूमा रोप्ने गरिन्छ । काठेकाउलीको लागि चिसो मौसम नै अनुकूल मानिन्छ । घरको छेउमा काठेकाउलीको बोट देख्दाबित्तिकै घरको शोभा नै अर्कै अर्थात् आकर्षक देखिन्छ ।

कुथुर्केः कुथुर्के शब्दले एक चराको नाम र बाग्लुङ जिल्लामा पर्ने ठाउँको नाम जनाउँछ भने रोल्पामा पाइने एक तरकारीको नाम पनि जनाउँछ । राजधानी काठमाडौंमा नपाइने अर्को तरकारी हो– कुथुर्के । यो पनि रोल्पातिर तरकारीको रूपमा प्रयोग हुन्छ कुथुर्के निगुरो प्रजातिको वनस्पति हो । यो निगुरोभन्दा अलिक सानो हुन्छ । सुख्खा मौसम सुरु भएपछि बारीमा हरियो साग सब्जी नहुँदा वनपाखातिर पाइने यो कुथुर्के नामको वनस्पति रोल्पा र आसपासका जिल्लाका निश्चित स्थानहरूमा मात्र तरकारीको रूपमा प्रयोग हुन्छ । हुन त पहाडी भेगतिर चैतदेखि नै निउरो टिप्न सुरु गरिन्छ । कुथुर्के टिप्नेहरूमध्ये धेरैजसोले घरमै प्रयोग गर्छन् भने कसैकसैले बिक्रीका लागि बजारतिर लैजाने गर्छन् । रोल्पामा कुथुर्के, निउरो र डौँडे प्रशस्तै पाइन्छन् । रोल्पामा डौँडेका लागि सदरमुकाम लिबाङ नजिकको भुम नामको ठाउँ र गुम्चाल प्रसिद्ध छन् । डौँडेलाई बृहत् नेपाली शब्दकोशमा ‘डौँठे’ भनी उल्लेख गरिएको छ ।

भाल्वापातेः भाल्वापाते पनि रोल्पालीहरूको एक महत्वपूर्ण तरकारी हो । अलि चिसो ठाउँमा मात्र यो पाइन्छ । भाल्वापातेले पनि रोल्पालीहरूको भान्सामा महत्वपूर्ण स्थान पाएको हुन्छ ।

चैतेबाँकोः राप्तीभेगका साथै अन्य ठाउँहरूमा पनि पाइने चैतेबाँको फागुनको दोस्रो सातादेखि उम्रिन थाल्छ र चैतको अन्त्यमा निख्रिन थाल्छ । यसको आकार झट्ट हेर्दा टाउको टेकेर पुच्छर आकाशतिर फर्काएको छोटो सर्पजस्तो देखिन्छ । हल्का कालो रङमा देखिने यो बाँको फाँट वा वनमा खोज्दै जाने क्रममा एउटा बाँको भेटिनासाथ त्यसको टुप्पो कता फर्किएको छ, उतैतिर अर्को पनि भेटिन्छ भन्ने मान्यता छ । चैते बाँकोको पात नभए तापिन यो छिप्पिँदै जाँदा फक्रिन्छ जसलाई राप्तीभेगको शब्दमा पत्ताएको भनिन्छ । पत्ताएको वा फक्रिएको बाँकोको दुर्गन्ध नराम्रो हुन्छ, जसमा झिंगाहरू पनि भ्रममा परेर त्यसैमा झुम्मिन्छन् । कन्दमूल वर्गअन्तर्गत पर्ने यो वनस्पति विशेषगरी ताजा तरकारीको रूपमा पकाइन्छ । साथै, यसलाई बरी अर्थात् मस्यौरा बनाएर सुकाएर पनि राखिन्छ । जुन अन्य तरकारी नपाइने समयमा उमालेर वा पकाएर खाने चलन छ । चैते बाँको उसिनेर सुकाएर राख्ने प्रचलन अझै पनि गाउँघरमा कायमै छ । कतैकतै भने यसको गुन्द्रुक पनि बनाइने गरेको सञ्चार माध्यमहरूबाट जानकारीमा आएको छ । बाँकोको गुन्द्रुक र मस्यौरालाई पाथीको आठसय रुपियाँमा र एक सय ग्रामको दुईसय पचास रुपैयाँमा बिक्री हुने गरेको कुन पनि सुनिन्छ ।

बर्खेबाँकोः जेठ लागेपछि पाइने बर्खेबाँकोमा टुप्पाबाट फैलिएका पातहरू हुन्छन् । यसको कलिलो पातसँगै डाँठ टिपेर तरकारी बनाएमा मीठो हुन्छ भने छिप्पिएको बर्खेबाँकोको तरकारी बढी कोक्याउँछ । बर्खेबाँको असोजसम्म पनि पाइन्छ । यसको डाँठलाई चिरेर कर्कलोको डाँठजस्तै सुकाएर राखेमा तरकारी नपाइने मौसममा आलु मिसाएर र अमिलो वस्तु राखेर पकाएर खाने चलन छ । यसलाई गण्डकी क्षेत्रतिर भने सर्पको मकै पनि भनिन्छ, यो भेगमा बर्खेबाँको खाने चलन छैन । राप्तीभेगमा भने परापूर्वकालदेखि नै दुबै प्रकारका बाँको तरकारीको रूपमा प्रयोग हुँदै आएको बुढापाकाहरू बताउँछन् ।

बगाले च्याउः भदौ असोजतिर पाइने यो च्याउन खेतका कान्लातिर समूह–समूहमा भेटिन्छन् । घाँसे मैदान वा हलेका भिराला जमिनमा भेटिने बगाले च्याउको जरा एकहातसम्म लामा हुन्छन् । बास्नादार यो च्याउ फक्रिएको भने पाइँदैन ।

सल्लिउँ च्याउः सल्लाको घारीमुनी सल्लाका सुकेका पात (स्थानीय बोलिचालीमा सल्लिकुसुम)हरू भएको ठाउँतिर पहेँलो रङमा भेटिने च्याउलाई सल्युँ च्याउ भनिन्छ । यो च्याउन पनि स्वादिलोमा गनिन्छ ।

रत्तिउँ च्याउः घाँसेमैदानमा भन्दा यो वनपाखामा पाइने रातो सङको च्याउन हो । यो पनि बर्खायाममा नै उम्रने गर्छ । यो पनि स्वादिलो च्याउमा पर्छ ।

फुटुके च्याउः सालका सुकेका पातहरू थुप्रिएका ठाउँहरूमा डल्लो परेर उत्पत्ति भएर रहने यो च्याउ फुटाउँदा भित्र कालोकलो धुलो हुने भए तापनि त्यसै काँचो खाए पनि मीठो हुन्छ ।

पट्टिउँ च्याउः पट्टिउँ च्याउ समूहमा नभै एक्लो भएर उम्रिने र यसको छत्र फराकिलो र ठूलो हुन्छ । यो फट्टिउँ च्याउ पनि काँचै खाए पनि हुन्छ । माथि उल्लिखित सबैखालका च्याउहरू पकाएर तरकारीको रूपमा खाँदा ज्यादै मीठो हुने हुँदा च्याउ खोज्न र टिप्नका लागि गाउँलेहरू बन तथा घाँसे मैदानतिर जाने गर्छन् । यो लेखकलाई पनि यी सबै च्याउहरूको स्वादको अनुभव छ । सहर बजारमा पाइने कृत्रिम च्याउमा स्वादिलोपना खासै हुँदैन । पहिलेपहिले काठमाडौंको असन बजारमा पनि वनतिरका च्याउहरू बेच्न ल्याउँथे । तर हालका दिनहरूमा त्यसरी गाउँघरबाट वनका च्याउ बेच्न ल्याउने गरेको पाइँदैन ।

जिब्रेको सागः कालोचुत्रो वा करौतीका बोटहरूको समूहमुनिको जमिनमा पाइने जिब्रेको साग पहिले पहिले गोठालाहरूले वनबाट टिपेर घरमा ल्याउँथे । तर हालका दिनहरूमा गाई बाख्राहरू पाल्न छाडेपछि वनमा कोही पनि जानुपर्दैन र जिब्रेको साग घरघरमा आउँदैन ।

गेँजरीको सागः पुत्लेकोसा वा कुतली कोसाको नामले चिनिने गेँजरीको मुन्टाको साग पनि स्वादिलो नै हुन्छ । गेँजरीको खेती गर्नुपर्दैन यो आफू अनुकूलको मौसममा आफैँ उम्रिन्छ र पुसदेखि फागुनसम्म यसको मुन्टाको साग खान सकिन्छ । यसको फल वा कोसालाई उसिनेर वा भुटेर वा काँचै पनि खान सकिन्छ । पहिलेपहिले केटाकेटी तथा ठूला मान्छेहरूले पनि कुतलीकोसा हरियो चनाको कोसा सानो केराउको कोसा खाँदै हिँड्दै गरेका दृश्यहरूको सम्झना यो लेखकलाई ताजै छ ।

काठेको सागः तोरी वर्गमा पर्ने काठे पनि छर्नुपर्दै, बारीमा आफैँ उम्रिन्छ । पहिले पहिले काठेको गेडालाई पिसेर अचारमा पनि प्रयोग गरिन्थ्यो । यसको साग पनि तोरीको जस्तै स्वादिलो हुन्छ ।

सिमसाग वा खोलेसागः पानी बगिरहेने तथा पानी जम्मा हुने खोलाहरूको छेउछाउमा पाइने सागलाई कतैकतै सिमसाग र कतैकतै खोलेसाग पनि भनिन्छ । देशका जुनसुकै सहर बजारमा पनि यो साग सहजैरूपमा पाइन्छ । यसको लागि खेती गर्नुपर्दैन फुर्सदमा खोलातिर गएर टिपे पुग्छ ।

पूर्वीभेगको जरिंगेको साग भने पश्चिम नेपालतिर पाइँदैन । यो लेखकले संखुवासभाबाट ल्याइएको जरिंगे सागको बीउ दश वर्षअघि रोपेकोमा हरेक वर्ष आफैँ उम्रिन्छ । यसले बोटमुनि गानो बनाइसक्ने हुँदा हरेक वर्ष त्यही ठाउँमा जमिन फुटाएर माथि टुँसो पलाएर आउँछ । यसको फल अंगुरको झुप्पाजस्तो हुने र एउटा दानामा २०/२५ वटा बीउको गेडा हुन्छ । फागुन महिनामा बीउ राखेर चैत वैशाखमा बीउ सार्न सकिने यो जरिंगेको साग पनि ज्यादै स्वादिलो हुन्छ । सुख्खा याम वा मौसममा अरू हरियो साग सब्जी नभएको अवस्थामा जरिंगेको सागले भोजनलाई पूर्ण बनाइदिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
सर्व
सर्व
22 days ago

रोल्पाका प्रचलित रैथाने सागसव्जीका वारेमा जानकारी लिन पाइयो, लेखकलाइ धेरै धन्यवाद छ ।

1
0
Would love your thoughts, please comment.x
()
x