Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली चलचित्रको व्यापार सधैँ घाटामा

नेपाली चलचित्रको व्यापार सधैँ घाटामा


नरेन्द्रमान श्रेष्ठ
नेपाली चलचित्रको २०७६ सालमा पनि अघिल्लो वर्षहरूको व्यापारभन्दा माथि उठ्न सकेन । २०७६ सालमा पनि चलचित्रको व्यापार अघिल्लो वर्षहरूमा जस्तै रह्यो भन्दा पनि फरक नपार्ला । यस सालमा ५६ वटा जति नेपाली चलचित्रहरू प्रदर्शन भएको बताइन्छ । यो संख्या विगतको वर्षहरूको भन्दा आधा नै कम हो भन्दा पनि फरक नपर्ला । २०७५ सालमा सयवटा जति नेपाली चलचित्रहरू प्रदर्शन भएको थियो । त्यसो त कतिपयले कोरोेना भाइरसको कारणले चलचित्रको प्रदर्शनमा कमी आएको हो भनेर पनि भन्लान तर यो सालको अन्तिमतिर मात्र कोरोना भाइरसको कारणले चलचित्रहरू प्रदर्शन नभएको हो ।

२०७६ सालमा पहिलो चलचित्र २०७६ साल वैशाख १३ गते कालो वर्षको प्रदर्शन भएको थियो भने अन्तिम चलचित्र फागुन १६ गते धर्सोे प्रदर्शन भएको थियो । यस वर्ष पनि विगतको वर्षहरूमा जस्तै एक दर्जन चलचित्रहरूले मात्र सफलता हासिल ग-यो भन्दा पनि फरक नपर्ला । आधा दर्जन जति चलचित्रहरूले मात्र नाफा कमाउन सके भने आधा दर्जन चलचित्रहरूले आ–आफ्नो लगानीसम्म उठाउन सकेको र बाँकी चलचित्रहरूका लगानीकर्ताहरूले घाटा व्यहोर्न परेको भन्ने भनाइको रहेको छ । वर्षमा लगभग एक सयवटा जति खस भाषाका चलचित्रहरू निर्माण हने गरेको बताउँछन् सरोकारवालाहरू । यस हिसाबले चलचित्रहरूमा वर्षमा अर्बौं रूपैयाँ रकम लगानी हुुने गरेको देखिन्छ ।

चलचित्र क्षेत्र पनि देशको अर्थतन्त्रको एउटा गतिलो पाटो हो । चलचित्र क्षेत्रले पनि प्रत्यक्ष र अप्रत्यक्षरूपमा थुुप्रैलाई रोजगारी दिइरहेको छ भने यसबाट सरकारले पनि मनग्य राजस्व पाउने गरेको छ । त्यसो त विगतमा भन्दा पछिल्लो समयमा नेपालमा चलचित्र निर्माण बढ्नको साथ साथै चलचित्र क्षेत्रमा धमाधम नयाँ–नयाँ कलाकारहरू पनि बढिरहेका छन् । पछिल्लो समयमा नेपाली चलचित्रहरूको लागत पनि बढ्दै गएको छ । सोही आधारमा चलचित्रहरूको बजेट बढिरहेका छन् । तर पनि चलचित्रहरूमा लगानी बढेअनुसार लागत बढेअनुुसार बजार बढेको भने पाइँदैन । नेपालमा चलचित्र निर्माणको आधा शताब्दी भइसक्दा पनि नेपाली चलचित्रहरूको बजार त्यति बढ्न सकिरहेको छैन ।

नेपालमा २०२१ सालतिरबाट चलचित्र निर्माण सुरु भएको थियो । नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमा हो । तर पनि आजको समयसम्म आइपुग्दा पनि चलचित्रको बजारले व्यापकता लिन सकिरहेको छैन । नेपालका चलचित्रहरूले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा बजार लिन सकिरहेका छैनन् भने नेपाली चलचित्रकर्मीहरू पनि अहिलेसम्म पनि विदेशी प्रभावबाट मुक्त हुन सकिरहेका छैनन् ।

अहिलेसम्म पनि कतिपय नेपाली चलचित्रकर्मीहरू विदेशी चलचित्र खासगरी भारतीय चलचित्रहरूको नक्कल गरी निर्माण गर्ने गरिरहेका छन् । नेपालमा नेपाली चलचित्र निर्माण भएको आधा शताब्दीभन्दा बढी भइसकेको छ । तर पनि नेपाली चलचित्र निर्माणकर्ताहरू विदेशी चलचित्रको नक्कल गरी नेपाली चलचित्र निर्माण गर्न भने छाडेका छैनन् । पछिल्लो समयमा निर्माण भएको केही चलचित्रहरू विदेशी चलचित्रको नकल गरी निर्माण गरेको पाइन्छ ।

त्यसो त अहिलेका दर्शकहरू चुजी भइसकेका छन् । विगतमा जस्तै नेपाली चलचित्र भनेपछि आँखा चिम्लेर हेर्ने दर्शक अहिलेका छैनन् । अहिले पनि चलचित्र निर्माण गर्दा दर्शकहरूको रुचि र चाहनालाई ध्यान नदिई निर्माण गरे लगानीकर्ताहरूको लगानी डुब्नेछ । तर पनि कतिपय चलचित्र निर्माणकर्ताहरू दर्शकहरूको रुचिलाई ध्यान नदिई भारतीय चलचित्रहरूको नक्कल गरी नेपाली चलचित्रहरू निर्माण गर्ने गरिहेका छन् । अहिलेका दर्शकहरू केही नयाँपन केही आफ्नोपन र भरपुर मनोरञ्जन खोज्न थालेका छन् । त्यसो त चलचित्र भनेको मनोरजनात्मक हुनुपर्दछ भन्ने अधिकांश दर्शकहरूको भनाइ रहेको पाइन्छ ।

नेपाली चलचित्रहरूले आफ्नै परिवेश आफ्नै गाँउ ठाउँको विषयवस्तुलाई मनोरजनात्मक ढंगले प्रस्तुत गर्नु पर्दछ । तर पनि चलचित्र चलचित्रको लागि मात्र बनाउने उपयुक्त हुँदैन । चलचित्रले समाजलाई रूपान्तरित गर्न सक्ने हुनुपर्दछ । चलचित्रमा समाजको यथार्थ चित्रण गर्न सक्नुपर्छ भनिन्छ । तर पनि चलचित्रलाई मनोरञ्जनको साधनको रूपमा लिनुपर्ने हुन्छ र चलचित्र निर्माण भनेको रहर, शोख र व्यवसाय मात्र पनि होइन चलचित्र निर्माण भनेको कला हो । चलचित्र समाजको ऐना पनि हो भनेर पनि कतिपय विज्ञहरूको भनाइ पनि रहेका छन् ।

नेपालमा नेपाली चलचित्रहरूको बजारलाई हेर्दा वर्षमा सयवटाभन्दा बढी नेपाली चलचित्रहरू निर्माण हुने गरेका छन् भने लगभग त्यति नै चलचित्रहरू प्रदर्शन हुने गरेका छन् । २०७६ सालमा प्रदर्शन भएका नेपाली चलचित्रहरूमा व्यापारको हिसाबमा कमाउने चलचित्रहरूमा हास्य कलाकारहरूको समूहले निर्माण गरेको चलचित्र छ माया छपक्कै, कब्बड्डी कबड्डी ३, जात्रैजात्रा, दाल भात तरकारी, आमा आदि छन् । त्यसैगरी छ माया छपक्कै, जात्रै जात्रा र कब्बड्डी कबड्डीले ५१ दिन मनाएका छन । त्यसो त आमा चलचित्र पनि पाँचौँ हप्तामा चलिरहँदा कोरोना भाइरसको कारणले प्रदर्शन रोसिकएको हो भन्दा पनि फरक नपर्ला । त्यसो त दिपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र आमा अरु चलचित्रहरूभन्दा अलि कम लागतमा बनेको भए पनि राम्रो व्यापार गरेको बताइन्छ ।

त्यसो त विगतमा व्यानर र चर्चित कलाकार र निर्माताहरूले निर्माण गरेको बिग बजेटका चलचित्रहरूले भने राम्रो व्यापार गर्न सकेन भने निर्माताहरूले घाटा व्यहोर्न प-यो । आफूलाई सामाजिक अभियन्ता समाजसेवी भन्न रुचाउने हास्य कलाकार सिताराम कट्टेलले निर्माण गरेको बिग बजेटको भनिएको दुई करोड ५० लाखको बजेटमा निर्माण भएको भनिएको चलचित्र सेन्टी भाइरस व्यापारको हिसाबले सफल हुन सकेन । सेन्टी भाइरस कोरोना भाइरसजस्तै भइदिए ।

त्यसैगरी बिगतका चर्चित कलाकार निर्माता निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्र रातो टिका निधारमाले पनि राम्रो व्यापार गर्न सकेन । त्यसैगरी भोजपुरी चलचित्रबाट फर्केर नेपाली चलचित्रमा प्रवेश गरेका नायक विराज भट्टले निर्माण तथा निर्देशन गरेको र नेपाल सुन्दरी निकिता चण्डकले पहिलो चलचित्र साङ्लो पनि व्यपारको हिसाबले असफल नै रह्योे भने ठूलै घाटा व्यहोर्न परेको बताइन्छ । २०७६ साल नेपाली चलचित्र क्षेत्र चलचित्रको व्यापारको हिसाबले शून्य भने रहेन ।

पछिल्लो समयमा नेपालमा थुप्रै नेपाली चलचित्रहरू निर्माण भइरहेका छन् । चलचित्र निर्माण बढेसँगै चलचित्रको लगानी चलचित्रको बजेट पनि बढिरहेको देखिन्छ । तर लगानीअनुसारको लगानीकर्ताहरूले प्रतिफल पाउन सकिरहेका छैनन् । चलचित्रहरूमा वर्षमा अर्बौं रूपैयाँ लगानी भइरहेका छन् । यसकारणले पनि चलचित्र निर्माण गर्दा विशेष ध्यान दिन पर्ने हुन्छ ।

त्यसोत कुुनै पनि चलचित्र निर्माणकर्ताहरूले आफ्नो लगानी डुबोस् भनेर चाहदेन प्रतिफल पाउनको लागि नै चलचित्रमा लगानी गर्ने गरेका हुन्छन् । त्यसो त पछिल्लो समयमा नेपाली चलचित्र निर्माणमा नयाँ नयाँहरूको प्रवेश भइरहेका छन् भन्नुुपर्दा पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई नवप्रवेशीहरूले नै बोकी रहेका छन् भन्दा पनि फरक नपर्ला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया