Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगज्ञानलाई अहङ्कारले नष्ट गर्छ

ज्ञानलाई अहङ्कारले नष्ट गर्छ


काठमाडौं । आफ्नो पदप्रतिको घमण्ड नै अहङ्कार हो । म, मेरो, मेरो धर्म, मेरो सम्प्रदाय, मेरो संस्कार, मैले गरेको, मैले श्रेय पाउनुपर्छ, मैले गर्दा भएको, मैले भनेझैँ नै हुनुपर्दछ, म नभएको भए सम्भव थिएन भन्ने ममत्व नै अहङ्कारमा लैजाने कारण हुन् । अहङ्कार आफूले आफूलाई सर्वगुण सम्पन्न र अति जान्नेसुन्ने मान्ने प्रवृत्ति हो । व्यक्तित्व हावी हुनु अहङ्कार हो । कुनै पनि कामको श्रेय या सफलतामा मैले गर्दा नै भएको भन्ने धारणा र केन्द्रमा आफूलाई राख्नु अहङ्कारको प्रस्तुति हो । अहङ्कार भनेको अहम हो । मै हुँ भन्ने भाव, घमण्ड र अभिमान नै अहङ्कार हो । आफूलाई सर्वैसर्वा सम्झने क्रिया, भाव, गुण र मपाइँत्व भावनालाई अहङ्कार भनिन्छ । अहङ्कार भनेको आफू अरुभन्दा श्रेष्ठ हुँ भन्ने गर्वको भाव हो । यसले आफ्नो मात्र मानसम्मान, सुखसुविधा र प्रगतिमा आफूलाई केन्द्रित राख्छ । प्रत्येक व्यक्तिमा चरित्र, धन तथा भोग, शक्ति, पद, ज्ञान तथा बुद्धि, यशसमेतका केन्द्रित अहङ्कारहरू हुन्छन् ।

अहङ्कारी व्यक्तिले आफूलाई संसारमा अत्यन्त महत्वपूर्ण ठान्छ, यदि उसले थोरै मात्र सफलता पाएमा आफूलाई सर्वश्रेष्ठ र महान् सम्झन्छ । यही धन–सम्पत्ति, शारीरिक सौन्दर्य, जाति, वंश, वृद्धि, कला पद प्रतिष्ठा तपस्या, सिद्धि तथा उपलब्धिको आधारमा उसले आफूलाई अरुभन्दा महान् सम्झन्छ । यस्ता व्यक्तिले आफ्नो सधैँ चाकडी र प्रशंसा गर्नेलाई सम्मान गर्ने गर्छन् । यिनले अरुमाथि अधिपत्य जमाउन चाहन्छन् र आफ्नो आलोचना सुन्न चाहान्नन् । यदि कोहीले उसको विरोध र आलोचना गरेमा उसप्रति प्रतिशोध लिन्छन् ।

अहङ्कारले मानिसलाई पतनको बाटोतिर लैजान्छ । मानिसमा जुन विशेषता हुन्छ उक्त विशेषताले नै उसलाई सर्वश्रेष्ठ सिद्ध गर्छ । अहङ्कार मानिसको पतन तथा विनाशको कारण हो भने निरंहकारिताले उसको सुख सन्तोष, प्रगति, उन्नति, सुख, समृद्धि तथा प्रसन्नताको बाटो खोल्छ । मानवलाई विवेकहीन बनाउने यी विकारहरूको धरै प्रभावबाट मुक्त गर्न, तर्क र इच्छा वा आशक्तिको प्रभावबाट मुक्त हुुनु आवश्यक छ ।

अहिले सार्वजनिक जीवनयापन गर्नेहरूमा प्रेम, करुणा, दया, समभाव, समान व्यवहार गर्नुपर्दछ भन्ने सोच र भाव हराउँदै गएको अवस्था विधमान छ। सार्वजनिक जीवनयापन गर्नेहरूमा अहिंसा, सदाचारिता, नैतिकता, दया भाव, विवेक, प्रेमपूर्ण, करुणावान् र परोपकार, मानवीयता आदि गुणहरू आवश्यक पर्दछ । अहिले सार्वजनिक जीवन अवलम्बन गर्नेहरूमा ईष्र्या, द्वेष, क्रोध, हिंसा, घृणा, वैमनस्यता, अस्वस्थ प्रतिस्पर्धाको भावना, अरुसित तुलनाजस्ता नकारात्मक भावहरू उब्जने गरेको पाइन्छ । यस्ता कर्मले गर्दा उनीहरूमा कार्यसम्पादनका सिलसिलामा ठूलो अहङ्कार उत्पन्न हुन आउँछ । आफूलाई अर्को सम्झन्छन् । मैले यति गरेँ, यो मैले गरेँ, मैले मेरै कार्यकालमा गरेँ, म नभएको भए यो सम्भव हुने थिएन, यो गरे सबलाई अहङ्कारले समात्छ । जब व्यक्तिमा अहङ्कार बढ्दै जान्छ तब अनेक विकृति एवं समस्याहरू देखा पर्न थाल्छ ।

ज्ञानीहरू भन्छन् ‘अहङ्कार अज्ञान हो, आसुरी हो, विनाश हो, पतन हो । मानिस जस्तोसुकै शक्तिशाली किन नहोस्, जस्तोसुकै ज्ञानी, तपस्वी, निस्वार्थी त्यागी किन नहोस् यदि अहङ्कारलाई काबुमा राख्नबाट चुक्यो भने उसको पतन निश्चित छ । पौराणिक इतिहासमा यस्ता थुप्रै उदाहरणहरू पाइन्छन् । भस्मासुर, शुम्भ–निशुम्भ, रावण, सबैै वरदानी, शक्तिशाली भएर पनि अहङ्कारका कारण पतन भएका पौराणिक कथामा उल्लिखित अहङ्कारी पात्रहरू हुन् । धार्मिक मान्यताअनुसार पनि त्रेतायुगमा भएको रामायण युद्ध रावणको अहङ्कारले गर्दा भयो । त्यसैगरी द्वापरयुगमा भएको महाभारत युद्ध पनि दुर्योधनको अहङ्कारको कारणबाटै हुनपुगेको मान्न सकिन्छ । महाभारतमा चेडी देशका नरेश शिशुपाल, अहङ्कारको कारण कृष्णको हातबाट मारिए । त्यस्तै हिरण्याक्ष र हिरण्यकश्यपजस्ता दैँत्यहरू वरदानी भएर पनि अन्त्य भए । यी पौराणिक तथ्यहरू चाहे वास्तविक घटना हुन् चाहे कोही विद्वान्ले बनाएका कथा हुन् । दुःखको कारण अहङ्कार हो भन्ने सन्देश दिन्छन् ।

व्यक्तिको आध्यात्मिक स्तरको एउटा महत्वपूर्ण मापण्ड हो, अहम्को मात्रा । यसको अर्थ हो, उनको आत्माको सबैतर्फ अनि विद्यमान अन्धकार कति हटेको छ तथा उनको आफ्नो अन्तरात्माको साथ कति पहिचान स्थापित भएको छ । आत्माको सबैतर्फ अन्धकार अर्थात् अहम्को अर्थ हो, मनुष्यको त्यो प्रवृत्ति जहाँ उनको पहिचान केवल पञ्चज्ञानेन्द्रीय, मन एवं बुद्धिसम्म सीमित हुन्छ । त्यो अहम् अर्थात आफ्नो वास्तविक अस्तित्वको (आत्माको) आध्यात्मिक अज्ञान । हाम्रो आधुनिक शिक्षाप्रणाली र समाजले हामीलाई यही शिक्षा सिकाउँछ कि हाम्रो अस्तित्व, हाम्रो देह, मन एवं बुद्धिसम्म नै सीमित छ र हाम्रो वास्तविक अस्तित्व हाम्रो अन्तरात्मा हो, यो तथ्यबाट हामी अनभिज्ञ छौँ ।

साधना आरम्भ गरेपछि हाम्रो अहम् क्रमशः क्षीण हुन थाल्दछन् । यसको हामीमा बढ्दै गरेको आध्यात्मिक स्तरसँग सिधा सम्बन्ध हुन्छ । आफ्नो गल्ती स्वीकार गर्न नसक्नु पनि अहम्को लक्षण हो । शरीर, मन र अहङ्कारको जीवन जीवन होइन, यी तीनबाट मुक्त भएपछि शून्यको र शान्तिको जीवनमा प्रवेश गरी निर्वाण प्राप्त हुन्छ ।

अहङ्कारी व्यक्ति मनलाई मालिक बनाउँछ, मनको मालिक हुन सक्दैन तर निर्दोष र सरल व्यक्ति मनको मालिक हुन्छ । जब मन मालिक बन्दैन तब निर्दोषता, सरलता पैदा हुन्छ, दम्भ, लोभ र क्रोध मेटिन्छ एवं शान्ति र आनन्द मिल्छ । स्वाभिमानले टाउको उच्च राख्छ भने अहङ्कारले टाउको निहुरिन्छ । मानिसले सम्पन्न हुन्छु भन्ने सोच राख्नु स्वाभिमान हो तर दम्भले अरूलाई विपन्न देख्नु अहङ्कार हो । सफलता खोज्नु स्वाभिमान हो तर अरूको असफलतामा हेला गर्नु अहङ्कार हो । उच्चता खोज्नु स्वाभिमान हो तर अरूलाई कमजोर देख्नु अभिमान हो । अतः विद्वानहरू भन्नुहुन्छ, ‘स्वाभिमान मानव गुण हो भने अहङ्कार अवगुण हो । स्वाभिमान सम्मान गर्न योग्य हुन्छ भने अहङ्कार दण्डयोग्य हुन्छ । स्वाभिमान प्रिय हुन्छ भने अहङ्कार घृणित हुन्छ । अतः विद्वानहरू भन्नुहुन्छ, ‘स्वाभिमानको रेखा पार हुनु अहङ्कारको जन्म हुनु हो । अहङ्कार सबैभन्दा दुःख हो । अहङ्कारीको अन्त अत्यन्त दुखद हुन्छ । अहङ्कारले बुद्धि भ्रष्ट बनाउँछ, विवेकहीन बनाउँछ । वास्तवमा मानवलाई अन्धो बनाउँछ ।

अहङ्कार एउटा प्रयोजन हो, जसले धन, शक्ति र पद माग्छ । अहङ्कार पाएर पनि दुःखी हुन्छ । भनिन्छ, मानिसको घर जति ठूलो हुँदै जान्छ मन त्यति सानो हुँदै जान्छ । अहङ्कारले त्यही माग्छ जहाँ केही पाउने आशा हुन्छ । अहङ्कार त्यहाँ जाँदैन जहाँ उसले केही पनि पाउँदैन । हामी मलाई केन्द्रमा राखेर जीवन चलाइराखेका छौँ । हाम्रो दृष्टि अहम्मा केन्द्रित छ, तसर्थ हामीलाई अहङ्कारको पर्दाले घरेको छ । भनिन्छ अहङ्कारभन्दा ठूलो अरु पाप छैन, बाँकी सारा पाप अहङ्कारबाटै उत्पन्न हुन्छन ।

धनवान्, पदवान् मानिसहरू जति अहङ्कारी देखिन्छन् त्यति अहङ्कारी सामान्य मानिस देखिँदैनन् र हुँदैनन् । धन र पद भएका मानिसहरूमा क्रोध र अहङ्कार बढी हुन्छ । उनीहरूमा यति अहङ्कार हुन्छ कि दुई जना जब एक–अर्कासँग भेट हुन्छन् पहिला कसले कसलाई नमस्कार गर्ने भन्ने अहम् हुन्छ । अहङ्कारले समर्पणमा बाधा दिन्छ । कोही पनि अहङ्कारले मुक्त नभई समर्पण गर्न सक्दैन । मेरोपन अर्थात् ममत्वको भाव नै हिंसा भएकोले समग्र हिंसा आफ्नो र पराईको बीचमा तानिएको सीमारेखाबाट हुन्छ । कुनै पनि म, मेरोको भावना नै मोहको निस्सा हो ।

क्रोधबाट मोह उत्पन्न हुन्छ, मोहबाट स्मरणशक्ति भ्रमित हुन्छ, स्मरणशक्ति भ्रमित हुनाले मानिस पछारिन्छ । अहङ्कारी व्यक्तिको भाव, विचार, वाणी र उसले गर्ने कार्यमा असङ्गति हुन्छ । जब मानिस अहङ्कारले भरिन्छ तब उसले प्रकृतिसँग समेत शत्रुता राख्छ । रजनिश ओशो भन्नुहुन्छ जहाँ अहङ्कार हट्छ त्यहाँ जीवनमा फूल फुल्न थाल्छ, जहाँ झुक्ने अवसर आउँछ त्यँहा झुक्नु, जहाँ झुक्नको लागि परिस्थिति आयो त्यसैगरी अवसर सम्झनु, यसरी झुकिरह्यो भने अहङ्कार काटिँदै जानेछ, अहङ्कार ढुङ्गाको चट्टान हो समय लाग्छ काटिनमा । भनिन्छ, व्यक्तिले आप्mनो जीवनमा दुई प्रकारको यात्रा गर्न सक्छ । एक शक्तिको र अर्को शान्तिको, शक्तिको यात्रा अहङ्कारको यात्रा हो, शक्तिले सत्य जान्दैन । अहङ्कारको अनुपस्थितिमा आनन्द प्राप्त हुन्छ । अहङ्कारको पूर्ण अन्त भएमा विनम्रताको आगमन हुन्छ । अहङ्कारी व्यक्तिहरू आक्रमक र हिंसक हुन्छ । अरुलाई निर्भय भएको देखाउन खोज्छन् । उनीहरू ठूलो पदको खोजमा, धेरै धनको लोभमा, यशको खोजमा लागिरहेका हुन्छन् । उनीहरू सुरक्षित रहन चाहन्छन् कि भोलि रोग, गरिबी, मृत्यु जेसुकै आओस् कुनै डर छैन । भित्रको भयको कारण सुरक्षाको सबै उपाय अपनाउँछन् ।

धन तथा भोगकेन्द्रित अहङ्कार भएको व्यक्तिले म लोभी हुँ, वासनायुक्त हुँ भन्ने बोध भएमा उसले दान गर्ने प्रयास गर्दछ । साथै शक्ति, पद र बलको अहङ्कार भएको व्यक्तिलाई सो आफ्नो अपराधहरूको भित्री बोध म अरुलाई पीडा दिइरहेको छु भन्ने जब बोध हुन्छ उसले पीडा महसुस गर्न थाल्दछ । भाव तथा प्रेमकेन्द्रित अहङ्कारको बोध म मोहग्रस्त हुँ भन्ने भएमा उसले पलायन हुने प्रयास गर्दछ । बुद्धि एवं विचारको अहङ्कार भएको व्यक्तिलाई म चञ्चल, अस्थिर हुँ भन्ने बोध भएमा उसले आफ्नो मनसँग शत्रुता गर्दछ । यसर्थ अहङ्कारको बोध भएमा अहङ्कार हावी हुन नदिने अन्य कार्य गरिन्छ र इगो साम्य हुन्छ ।

आध्यात्मिक मान्यताअनुसार मानिसभित्र क्रोधका चार तह हुन्छन् । सबैभन्दा भित्री पत्र भाव हो । त्यसपछि विचारको तह हो, तत्पश्चात् वाणीको तह र सबैभन्दा बाहिरको तह कर्मको हुन्छ । जब हामी हिंसाको रूपको कार्य गर्छौँ त्यो क्रोधको कर्म बन्छ, विचारमै हामी सजग भयौँ भने त्यहीँ रोकिन्छ र क्रोधले बिदा लिन्छ । अहङ्कारबाट मुक्त हुन सर्वप्रथम हामीले आफूभित्र कुन प्रकारको अहङ्कारको भूत हावी छ त्यसप्रति सजग हुनु जरुरी छ । अहङ्कारका विभिन्न भूतप्रति हामी सजग हुनसकेमा अहङ्कार निष्क्रिय हुन्छ र हृदय प्रेमले भरिन्छ । अक्सर हामी आफ्नो अहङ्कारको भूतको पुष्ट्याइँ गर्न कोसिस गर्छौँ, तर्कविर्तक गर्छौँ, आफ्नो भूतलाई तर्कद्वारा प्रमाणित गर्न खोज्छौँ तर, यस्तो कार्य गर्दा झन् अर्को अहङ्कारको भूत थप हुन्छ ।

अहङ्कारी मानिस प्रशंसाको भोको हुन्छन्, आलोचना त सुन्नै चाहँदैनन् । मानिस प्रशंसामा प्रसन्न हुन्छन्, आलोचनामा क्रोधित हुन्छन् । उनीहरू आफ्नो कार्यमा, क्षमतामाथि प्रश्नचिह्न लागेको हेर्न चाहँदैनन् । अहङ्कारले शक्ति, क्षमताको दुरूपयोग गर्न प्रेरित गर्छ । अहङ्कारीको सम्पन्नता कमजोरहरूको दुःखको कारण बन्छ । अहङ्कारी मानिस आफ्नो क्षमता, शक्ति वा सम्पनतामाथि कसैले औँला उठायो भने असाध्यै असह्य हुन्छन् र क्रोधित भएर प्रश्नलाई नै समाप्त गर्ने प्रयत्न गर्छन् । ती मानिस सही या गलतको कुनै लेखाजोखा गर्दैनन् । यहाँ सत्य असत्यको कुनै गुञ्जायस हुँदैन ।

जीवनमा काम, क्रोध, लोभ, मोह र अहङ्कारलाई दुःखका कारण मान्न सकिन्छ तर सबै अवस्थामा दुःखको कारणको रूपमा मान्न उचित हुँदैन । यी पाँच तत्वहरू प्राकृतिक हुन् । मनुष्य जीवनमा यसको आवश्यकता अनिवार्य छ । संवेदनाहरू सबै अवस्थामा विकार हुँदैनन् । लोभले मानवलाई अतृप्त तृष्णामा डुबाउँछ र सत्य, नैतिकता र कर्तव्यबाट अलग गरिदिन्छ । मानिसलाई आवश्यकताभन्दा धेरै मोहले दुर्बल बनाउँछ । दुर्बलता विनाशको मार्ग हो । अहङ्कारको प्रभावले मानवलाई अपराधी बनाउँछ । जो व्यक्तिमा अहङ्कार हुन्छ र धेरै रिस उठ्छ, उसलाई दुश्मनको आवश्यकता नै पर्दैन । अहङ्कारलाई निश्कृय पार्न प्रेम, मैत्री र करुणा बढाउनु पर्छ । मैत्री र करुणामा म र मेरोको भेद हुँदैन । प्रत्येक व्यक्तिले आफूभित्रको अहङ्कारलाई निरीक्षण गर्दै चेतनाको दियो जगाउने प्रयास गर्नु आवश्यक पर्छ । कतिपय अवस्थामा शारीरिक, मानसिक र भावनात्मक लहडको कारण व्यक्तिको अहङ्कार उच्च तहमै पुगिसकेको हुन्छ। यीभन्दा माथि उठेर व्यक्ति शरीर, मन र भावना मात्र नभई आन्तरिक चेतना हो भन्ने बोध भएको क्षण अहङ्कार निस्तेज हुन पुग्दछ । अहङ्कार उन्नति र प्रगतिको बाधक हो । सार्वजनिक जीवनमा सफलता प्राप्त गर्ने हो भने अभिमान, अहङ्कार त्यागी अगाडि बढ्नुको विकल्प छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x