Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसुरक्षित वित्तीय अवधारणा

सुरक्षित वित्तीय अवधारणा


प्रदीप उप्रेती
वर्तमान परिप्रेक्ष्यमा नेपाललगायत विश्वभर नै वित्तीय अपराधीकरणको गलत मनसाय अभिवृद्धिको कारण सुरक्षित रहनुपर्ने नागरिकका सम्पत्तिमाथि प्रश्न खडा भएको पाइन्छ । परिणामतः यस समूहमा अन्योल बढ्नुको साथै वित्तीय सुरक्षाप्रति थप सजक रहनुपर्ने परिस्थितिको निर्माण भएको छ । प्रस्तुत सन्दर्भमा भन्नुपर्दा यथार्थमा नै मुलुकका बैंकिङ क्षेत्र सुरक्षाको हिसाबमा असुरक्षित रहेकै हुन् त ? यसै अहम् प्रश्नको सेरोफेरोमा रही मुलुकको केन्द्रीय बैंकलगायतका आर्थिक कारोबार गर्ने हरेक समूहले संकलित नागरिकको सम्पत्तिको सुरक्षाको खातिर पुनः एकपटक गहन रुपले मनन गर्दै हाल कायम रहँदै आएको सुरक्षा प्रणालीसम्बन्धी अवधारणामा केही पुनरवलोकन आवश्यक छ वा छैन भन्ने तथ्यलाई मध्यनजरमा राखी कार्य गर्नुपर्ने हुन्छ । जसले सुरक्षा चुनौतीको क्षेत्रमा उल्लेख्य सकारात्मक भूमिका निर्वाह गर्न सक्दो सहयोग पु-याउनेछ भन्ने विश्वास लिन सकिन्छ । आर्थिक कारोबार गर्ने समूहमा बेलाबखतमा हुने आपराधिक समूहको हमलाले वित्तीय सुरक्षाको सवालमा केही कमी/कमजोरी रहेको तथ्य औँल्याउँदै सुधारको लागि सम्वेदनशील रहन सम्बन्धित सबै पक्षलाई सूचित गरेको वर्तमान अवस्था होभन्दा फरक नपर्ला ।

किनकि कमजोर सुरक्षा नीति एवं अपरिपक्व वित्तीय प्रशासनका कारण सहजै नगदहरु लुटिने, अनधिकृत रुपमा एक अर्को पक्षमा रकमको स्थानान्तरण हुने, किर्ते हस्ताक्षर वा यस्तै अन्य आधुनिक प्रविधिलाई गलत मनसायका कर्मचारीहरुले आफूअनुकूलको गैरकानुनी लाभहानिको लागि प्रयोग गर्दा हुने वित्तीय जोखिमको दरमा दिनहुँ तीव्र रुपमा अभिवृद्धि हुँदै गएको मात्र हो ।

बढ्दो आपराधिक क्रियाकलापका कारण निक्षेपको सुरक्षा वर्तमान परिप्रेक्ष्यमा निकै जटिल एवं चुनौतीपूर्ण बन्दै गएको छ । किनकि व्यापार विविधीकरणको प्रयोजनार्थ यस समूहलाई निश्चित रुपमा रकमको जोहो गर्नुपर्ने हुन्छ । जुन निक्षेपको रुपमा वित्तीय क्षेत्रमा भित्रिने गर्दछ । तर सुरक्षित अवधारणाअनुसार जुन क्षेत्रमा निक्षेपहरु सुरक्षित रहनु हो । सो सहज रुपमा हुनसक्दैन भन्ने नकारात्मक सन्देश यदि निक्षेपकर्ता सक्षम प्रवाह हुन्छ भने त्यस अवस्थामा निक्षेपको दरमा ऋणात्मकता आउनेछ  ।

त्यसो भएको हुँदा वित्तीय सुरक्षालगायतका निक्षेप सुरक्षाका सन्दर्भमा ठूलो धनराशि विनियोजन गर्नुपर्ने अवस्था तयार भएबाट थप आर्थिक व्ययभार थपिने जाने देखिन्छ । यस्तै अवस्था कायम रहे एकातिर निक्षेपका दरमा नकारात्मक असर पर्न जाने तथा संकलित निक्षेपको सुरक्षाको लागि थप आर्थिक व्ययभार थपिने भएबाट यस समूहमा अन्योल कायम रहन जानेछ । सुरक्षाका अभावमा ग्राहकले आफ्नो संकलित निक्षेपमध्ये ठूलो धनराशि एक्कै साथ माग गर्ने अवस्था तयार भए अराजकताको अवस्था सिर्जना भई वित्तीय जनविश्वास गुम्न जाने परिस्थितिको निर्माण हुनेछ । सम्भावित ऋणात्मक प्रभावको जोखिमबाट बच्न समस्या समाधानका लागि सुरक्षात्मक रणनीति अवलम्बन गर्नुपर्ने हुन्छ । जसले सुरक्षित अवधारणाअनुसार वित्तीय आर्थिक जोखिमको दर न्यून गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

तसर्थ निक्षेप सुरक्षाको प्रश्नमा हिजोआज बैंकिङ्ग क्षेत्र निकै नै चनाखो रहनुपर्ने भइसकेको छ । संदिग्ध कुनै पनि प्रकारको गतिविधि देखिन आएमा नजिकको प्रहरी वा सुरक्षा निकायलाई अविलम्ब जानकारी दिने प्रवृत्तिको विकास गर्न सकिए आपराधिक तत्वको मनोबल घट्न गई बैंकिङ्ग सुरक्षाको अभिवृद्धिले प्रश्रय पाउनेछ ।
सुरक्षाका विविध उपायहरुमध्ये अत्यधिक वित्तीय समूहले अख्तियार गर्दै आएको सम्बन्धित चेकधनी महानुभावको चेक भुक्तानी पूर्वसम्भव भए आधिकारिक व्यक्ति/समूह वा सम्प्रदाय विशेषलाई टेलिफोन सम्पर्क गरी चेक एवं रकमको वास्तविक स्थितिबारे जानकारी दिने प्रक्रियाको विकासले ग्राहक एवं वित्तीय समुहदायलाई केही हदसम्म भए पनि सुरक्षाको प्रत्याभूति दिलाउनेछ ।

यसका अतिरिक्त मोबाइल बैंकिङ तथा एसएमएस सेवाको विस्तारलाई अनिवार्य रुपमा हरेक ग्राहक महानुभावलाई समेट्ने प्रयास गर्ने हो भने ग्राहकसेवा विस्तारको कसीमा महत्वपूर्ण फड्को मार्न सम्भव हुनेछ । साथै ग्राहक पहिचान फारामलाई चुस्त दुरुस्त राख्ने सुरक्षात्मक विधिलाई बाध्यकारी बनाइनुपर्ने हुन्छ । यस व्यवस्थाबाट एकातिर वित्तीय समूहले आफ्ना सही ग्राहकको पहिचान गर्न सक्षम रहन्छ भने अर्कोतर्फ अनधिकृत रुपमा गैरव्यक्तित्वले गैरकानुनी लाभ हासिल गर्दै निक्षेपको दुरुपयोग गर्ने प्रवृत्तिको पूर्ण रुपले अन्त्य हुने विश्वास लिन सकिन्छ  ।

परिणामतः कुनै कारणवश वित्तीय ग्राहकको निधन भएपश्चात् संकलित वित्तीय चल÷अचल सम्पत्तिहरु सम्बद्ध समूहको नजिकका आफन्तलाई हस्तान्तरण गर्न वित्तीय समूहलाई सहज हुनेछ । किनकि वित्तीय समूहमा संकलित दस्तावेज एवं ग्राहकका आफन्तले हकदाबीका लागि पेस गरेको दस्तावेजका बीचमा मेल खान गएमा सम्बन्धित समूहलाई सम्पत्ति हस्तान्तरण गर्न कुनै प्रकारको कानुनी बन्देज रहनसक्दैन । प्रस्तुत व्यवस्थाबाट ग्राहक वित्तीय समूह दुवै पक्ष लाभान्वित हुने कुरामा द्विविधा रहनेछैन ।

तर यसका लागि केही हदसम्म ग्राहक समूह पनि सजक रहनुपर्ने हुन्छ । अनधिकृत व्यक्ति वा समुदायलाई सहजै विश्वास नगर्ने, नगद कारोबार वित्तीय अवधारणाअनुसार गर्ने, वित्तीय क्षेत्रमा कायम रहेको आफ्नो हस्ताक्षर जथाभावी नगर्ने, चेक अतिआवश्यक सुरक्षित दस्तावेजलाई जथाभावी त्यसै नछाड्ने । यदि कुनै कारणवश अति आवश्यक वित्तीय दस्तावेजहरु हराएमा वा नाशिएमा सोको सूचना सम्बन्धित निकायलाई अविलम्ब सम्प्रेषण गर्ने बानीको विकास गर्नुपर्ने हुन्छ ।

प्रस्तुत व्यवहारको विकासले नगद एवं निक्षेप कारोबारको क्षेत्रमा अपेक्षाकृत सुरक्षाको अनुभूति गर्न सकिनेछ । जसबाट सर्वसाधारण आमनागरिक समुदायको चल—अचल सम्पत्तिको सुरक्षाको क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुनेछ । यसदेखि बाहेक वित्तीय समूह दिवालिया वा टाट पल्टेको अवस्थामा नागरिकको सम्पत्ति रक्षाको खातिर मुलुकको केन्द्रीय बैंकले हरतरहबाट चल/अचल सम्पत्ति फिर्ता गर्ने सुरक्षाको सुनिश्चिततासहितको ग्यारेण्टी प्रदान गर्ने हो भने यस क्षेत्रको विकास एवं साखमा धनात्मक परिणाम हासिल गर्न सम्भव रहनेछ । जसलाई ग्राहक, केन्द्रीय बैंक एवं बैंकिङ क्षेत्रको आपसी विश्वास एवं सहकार्यको जनहितकारी नमूनाको उच्च प्रदर्शनको रुपमा लिन सकिनेछ ।

विपरीत अवस्था तयार भए वित्तीय क्षेत्रलाई बदनाम गराई अनधिकृत रुपमा लाभ लिन खोज्ने प्रवृत्तिको विकासले अन्ततः यस क्षेत्रलाई थप समस्याग्रस्त बनाउनेछ । जसले अमूल्य ग्राहकको विश्वास जित्ने कार्यमा असहजता उत्पन्न गर्दै द्विविधायुक्त अवस्था पैदा गर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । तसर्थ वित्तीय साखको रक्षाको खातिर आवश्यक सकारात्मक रणनीतिसहितको कार्ययोजनालाई ग्राहकसामु पस्किनुपर्ने हुन्छ । जसले वित्तीय सुरक्षाको मजबुत अनुभूति गराई निक्षेप एवं कर्जा विकासमा उल्लेख्य सफलता हासिल गर्न सम्भव रहनेछ । वित्तीय सुरक्षाको सम्वर्द्धन, प्रवर्द्धन एवं विकासको लागि अधिकाधिक ग्राहक सेवाको विस्तारलाई अपनाउनुपर्ने हुन्छ । जसले यस क्षेत्रको विकासमा निक्षेपका दरलाई वृद्धि गराउँदै आफ्नो अमूल्य उपस्थिति दर्शाउँदै सुरक्षित वित्तीय अवधारणालाई यथार्थमा नै साकार बनाउने कार्यमा सहयोगीको भूमिका निर्वाह गर्नेछ भन्दा फरक नपर्ला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया