Techie
विचार

कृषिको अवस्था र धान दिवसको सार्थकता

विश्वनाथ खरेल
नेपाल सरकारले विसं २०६१ साल मंसिर २९ गते को निर्णयअनुसार विसं २०६२ साल असार १५ गतेदेखि हरेक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको थियो । यसको लागि समय परिस्थिति अर्थात अवस्था हेरी खँदिलो तथा दरो नारा तय गरिने गरिएको छ । यसलाई निरन्तरता दिँदै यस सालको नारा भने ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुख्य नाराको रूपमा रहेको छ ।

नेपाल धान उत्पादन गर्नका लागि जल, वायु, जमीन सबै किसिमले उपयुक्त भए पनि अपेक्षित धानको उत्पादन भइरहेको छैन । अझै पनि अकासे खेतीमा भर पर्ने अवस्था छ धेरै किसानहरूलाई । धेरै उब्जाउ खेतहरूमा सिँचाइको आवश्यक व्यवस्था हुनसकेको छैन । भ्रष्टाचार र राजनीति अस्थिरता यसको प्रमुख बाधक हो । किसानलाई तालिम, सहुलियत, अनुदान, बीउलगायत आधुनिकीकरण र व्यवसायिकीकरणको अभावले पनि नेपालले चाहेको धान उत्पादन गर्न नसकेको तीतो यथार्थ हो । नत्र नेपालमा संसारको सबैभन्दा उच्च स्थानमा धान फलाउने प्राकृतिक अनुकूलता छ ।

नेपालको जुम्ला जिल्लाको छुमचौर संसारको सबैभन्दा उच्च स्थानमा धान उत्पादन भइरहेको स्थानको कीर्तिमान साथ धान उत्पादन दिइरहेको छ । त्यहाँ जुम्लामार्सी धानको उत्पादन गरिन्छ । उच्च पहाडी भेकदेखि तराईको समथर मैदानी भेकमा धान उत्पादन हुने प्रसस्त जमीन भए पनि नेपाल धान उत्पादन गर्ने देशहरूको क्रममा निकै तल नै पर्दछ ।

मुलुकको अधिकांश क्षेत्र पहाडी भू–भागको रूपमा रहेको नेपालको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार एक सय हेक्टरमध्ये केबल २१ प्रतिशत भू–भाग अर्थात् ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य र छ हजारभन्दा बढी नदीनाला छन् । त्यस्तै गरी खेतीयोग्य भूमिको ३४ दशमलव ५२ प्रतिशत अर्थात् १० लाख ६७ हजार हेक्टर भूमि सिञ्चित रहेको अनुमान छ ।

यसरी अधिकांश खेती गरिने क्षेत्रफलबाट अतिरिक्त उत्पादन नभै प्रतिइकाइ उत्पादन स्थिरतामै रहनु निश्चय पनि सोचनीय कुरो हो यसको प्रमुख कारण कहिलेकाहीँ मौसमको प्रतिकूलताले बढी ह्रास हुने गर्दछ । तर, सिँचाइ सुविधा नभएर बाँझै राख्नुपर्ने स्थिति छ । बाँकी खेत आकाशे वर्षामा भरपर्नुपर्छ । जब कि १ दशमलव २५ प्रतिशतका दरले वर्षेनी बढिरहेको जनसंख्यालाई भरणपोषण गर्न कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनलाई बृहत् रूपमा हेर्ने हो भने सबैभन्दा बढी योगदान खाद्यान्न बालीमा धानको २० प्रतिशत रहेको अनुमान छ ।

देशको केही भागमा मात्र बाह्मासे सिँचाइ छ भने अधिकांशमा मौसमी सिँचाइ मात्र छ केही दशकअघिसम्म धान निर्यात गर्ने नेपालले अहिले आफैँलाई ठीक्क हुने उत्पादन गर्छ । कुल खेतीयोग्य जमीनको ३४ प्रतिशतभन्दा कम जमीनमा सिँचाइ सुविधा प्राप्त भएको कारणले नेपालको कृषि व्यवस्था मूलतः मनसुनमा निर्भर रहेको स्पष्ट हुन्छ । देशको ६५ दशमलव ६ प्रतिशतभन्दा बढी जनसंख्या कृषि पेशामा लाग्नु, राष्ट्रिय आयको ४० प्रतिशत अंश कृषि क्षेत्रबाट प्राप्त हुनु, विदेश व्यापारको ८० प्रतिशत अंश कृषि क्षेत्रले ओगट्नु र ८६ प्रतिशत जनसंख्याले ग्रामीण जीवन बिताउनुले नेपालको अर्थव्यवस्था भनेको पनि कृषि नै हो भन्ने पनि संकेत गर्दछ ।

प्रतिव्यक्ति प्रतिवर्ष सरदर आय केबल एक हजार अमेरिकी डलर र २१ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको दृश्यले नेपालको अर्थव्यवस्था र कृषिको पछौटेपनको बोध स्वतः स्पष्ट हुनजान्छ । देशमा पछिल्ला वर्षहरूमा धानको उत्पादन घट्दै गए पनि उत्पादकत्वमा भने वृद्धि भएको छ ।

समग्रमा भन्नुपर्दा चालू आर्थिक वर्षको कुल कृषि उत्पादनको परिणाममा खाद्यान्न बालीको अंश ४५ दशमलव २ प्रतिशत रहेको अनुमान छ । त्यसैगरी चालू आर्थिक वर्षमा धानको उत्पादकत्व ३ दशमलव ८० प्रतिहेक्टर मेट्रिक टन रहेको अनुमान गरिएको छ । प्रमुख खाद्यानन बालीको रूपमा रहेको धान बालीको क्षेत्रफल आर्थिक वर्ष ०७५/७६ को तुलनामा आर्थिक वर्ष ०७६/७७ मा २ दशमलव २ प्रतिशतले ह्रास भएको छ । मौसम प्रतिकूलताले गर्दा समयमा रोपाइँ हुन नसकी केही जमीन बाँझो रहेकोले धान बालीको क्षेत्रफलमा ह्रास आएको छ ।

धान बालीको उत्पादन अघिल्लो आर्थिक वर्ष ८ दशमलव ९ प्रतिशतले बढेकोमा चालू आर्थिक वर्षमा १ दशमलव १ प्रतिशतले घटेको छ । त्यस्तै गरी चालू आर्थिक वर्षमा धान बालीको उत्पादकत्व भने आर्थिक वर्षमा १ दशमलव १ प्रतिशतले बढेको छ । उन्नत तथा हाइब्रिड जातको बीउको उपलब्धता तथा प्रयोगमा आएको वृद्धि औसतको तुलनामा लामो मनसुन अवधि, रासायनिक मलको सहज उपलब्धता तथा सिँचाइ प्रविधिमा आएको सुधारजस्ता कारणले धानबालीको उत्पादकत्व हालसम्मकै उच्च रहेको छ ।

आर्थिक वर्ष ०७३/७४ मा बीउ प्रतिस्थापना दर १४ दशमलव ५ रहेकोमा चालू आर्थिक वर्ष ०७६/७७ मा २० दशमलव ५ पुग्नुले पनि धान बालीको उत्पादकत्व उच्च रहेको छ । त्यसै गरी आर्थिक वर्ष ०७६/७७ मा धान बालीको कुल उत्पादन ५५ लाख ५० हजार आठ सय ७८ मेट्रिक टनमध्ये सबभन्दा बढी २५ दशमलवम ६ प्रतिशत प्रदेश नं. २ मा उत्पादन हुने अनुमान छ ।

प्रदेश नं. १ र प्रदेश नं.५ मा कुल उत्पादनको क्रमशः २२ दशमलव ४ र २१ दशमलव ४ प्रतिशत उत्पादन हुने अनुमान रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम कुल उत्पादनको २ दशमलव ४ प्रतिशत उत्पादन हुने देखिन्छ । प्रदेशगत रूपमा हेर्दा चालू आर्थिक वर्षमा धानको उत्पादन प्रदेश नं.१, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षको तुलनामा बढेको छ भने अन्य प्रदेशमा यसको उत्पादन घटेको छ । कुल गार्हस्थ उत्पादनमा धानको मात्रै २० प्रतिशत योगदना रहेको छ ।

देशमा सबैभन्दा धेरै धान उत्पादन झापामा भएको पाइन्छ । पहाडी २२ जिल्लामा भएको धानका उत्पादन बराबर एउटै झापा जिल्लामा उत्पादन भएको छ । तराईलाई देशको अन्न भण्डारको रूपमा रहनुको साथसाथै झापाको यही उत्पादन क्षमतालाई दृष्टिगत गरेर सरकारले झापालाई धान उत्पादनको सुपरजोन घोषणा गरेको छ । यो घोषणाले झापामा अत्यधिक धान उत्पादन गरेर यसको लक्ष्य हासिल गर्न सकेमा मात्र यो सार्थक भएको मानिनेछ ।

झापामा पनि अरु क्षेत्रजस्तै तीव्र गतिमा धानसमेतका खेतीयोग्य जमीन मासिने क्रम जारी भएको अवस्था छ । किसानहरू खेतीबाट पलायन भएर जानेक्रम बढिरहेको छ । जसले गर्दा देशले वार्षिकरूपमा ३० अर्बभन्दा बढी रूपैयाँको चामल आयत गर्दै आएको छ । युवाहरू खेतीबाट विकर्षित भइरहेको अवस्था छ । यी सबैमा सम्बन्धित निकायको गम्भीर ध्यान गएको जस्तो लाग्दैन । योजना वा कार्यक्रम जाँचिने टेबल होइन, फिल्ड हो । कुरा, भाषण र निर्णय होइन, परिणाम हो ।

नेपालमा लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्दछ । नेपाललाई यति धेरै धानको जरुरी नपर्ने हो । तर धेरै नेपालीहरू भात नै खान रुचाउने भएकाले पनि चामलको माग धेरै भएको हो । अतः धानको चामलभन्दा कोदो, फापर, गहुँ, जौ आदिमा पौष्टिक तत्व धेरै भए पनि परम्परागत खाद्य बानीले गर्दा धान वा मकैको भात खाने नै बढी छन् ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस