Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराष्ट्रिय धान दिवसको सन्दर्भमा

राष्ट्रिय धान दिवसको सन्दर्भमा


भोलामानसिंंह बस्नेत
भूमिका : संसारको सबभन्दा उच्चस्थानमा धानखेती हुने ठाउँ नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । नेपालमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक वृद्धिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक वृद्धिदर नै ओरालो लाग्छ । तसर्थ धानले देशलाई पु-याएको देनलाई सिंहावलोकन गरी देशले पनि धानबालीको अनुसन्धान र विकासमा प्राथमिकताका साथ विशेष लगानी गर्नु पर्दछ । हामीले प्रत्येक वर्ष हेलिकप्टरबाट कर्णालीमा खाद्यान्न पु-याउँदा जहिलेपनि त्यहाँका जनता परनिर्भर हुने भए । त्यसैले सरकारले सबै जिल्लाहरूमा खाद्यान्न वृद्धि गराउने अभियान नै चलाउनु पर्दछ । भनिन्छ खानलाई माछा दिने होइन बरु माछापालन गर्ने विधि सिकाइदिनु पर्दछ । नेपालमा एक–अर्कालाई भेट्दौ भात खानु भयो ? भनेर सम्बोधन गर्ने चलनले पनि धानको देशमा कत्तिको महत्व छ भनेर झल्काउँदछ होइन र ?

आर्थिक वर्ष २०७६।७७ बमोजिम नेपालमा १४ लाख ५९ हजार हेक्टरमा धानखेती भई ५५ लाख ५० हजार मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने तीन हजार आठ सय ०४ किलोग्राम प्रतिहेक्टर रहेको थियो । आर्थिक वर्ष २०७६।७७ को विगत १० महिनामा १८ अर्ब रूपैयाँबराबरको चामल आयात भैसकेको छ । आर्थिक वर्ष २०७५।७६ अनुसार नेपालमा १४ लाख ९१ हजार हेक्टरमा धानखेती भई ५६ लाख १० हजार मेट्रिक टन रेकर्ड उत्पादन भएको थियो र उत्पादकत्व भने तीन हजार सात सय ६० किलोग्राम प्रतिहेक्टर थियो । आर्थिक वर्ष २०७५।७६ मा रेकर्ड धान उत्पादन भएको वर्ष पनि आवश्यकताभन्दा करिब १० लाख टन धानको कमी भएको पाइयो । विदेशिएका लाखौँ युवाहरू नेपाल फर्किएका छन् र अब उनीहरूलाई पनि खुवाउन प-यो । श्रमशक्ति थपिएकाले बाँझो जमीनमा कमी आउन सक्छ ।

नेपालमा पनि संयुक्त राष्ट्र संघले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय धान वर्ष सन् २००४ (२०६१) मनाउने सिलसिलामा कृषि क्षेत्रबाट विभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गरिएको थियो । यस स्तम्भकारको विशेष पहलमा नेपाल सरकारको २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अब आइन्दा प्रत्येक वर्षको असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’को रूपमा मनाउने घोषणा पनि भएको थियो ।

२०७७ साल असार १५ गते सोमबार, १७औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको बाली विज्ञान महाशाखा, खुमलटार, ललितपुरमा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित मनाउने निर्णय भएको छ । कोभिड १९ सम्बन्धी नेपाल सरकारले निदेशसन गरेअनुसार सतर्कता अपनाई देशभर १७औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुहुन हार्दिक अनुरोध गरिन्छ । नेपालमा असार १५ लाई ‘दही चिउरा खाने’ संस्कृति, चाड अर्थात पर्वको रूपमा पनि लिइन्छ । संयुक्त राष्ट्र संघको घोषणापश्चात् संसारमा प्रत्येक वर्ष निरन्तररूपमा राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो ।

उन्नत जातहरूमध्ये कृषकले आफ्नो क्षेत्रको लागि सबभन्दा पछि उन्मोचन भएका बीउहरू लगाउने प्रयास गर्नु पर्दछ । किनकी नयाँ बीउहरूमा रोग, कीरा नलाग्ने र उत्पादन बढी हुने भएकोले नै समितिले उन्मोचन गरेको हुन्छ । सबभन्दा पछि उन्मोचन, सिफारिस भएका धानका जातहरूमा हर्दिनाथ १, हर्दिनाथ २, हर्दिनाथ ३, चैते ५, तरहरा १, लल्काबास्मती, सुनौलो सुगन्धा, खुमल ८, खुमल १०, खुमल १३, लोकतन्त्र, मिथिला, राम, पोखरेली जेठाबुढो, लेकाली १, लेकाली ३, बहुगुणी १, बहुगुणी २, राधा १३, राधा १४, स्वर्णा सव १, साम्भा मसुली सव १, सुख्खाधान १, सुख्खाधान २, सुख्खाधान ३, सुख्खाधा ४, सुख्खाधान ५, सुख्खाधान ६, चेहरान सव १ आदी हुन् । उत्पादन बढाउन, नयाँ जातको साथै खेतीगर्ने तौरतरिकाको तारताम्य पनि मिलाउनु पर्दछ । खाली जात मात्र भनेर हुँदैन । भनिन्छ गुणस्तरीय बीउले मात्र कुल उत्पादनमा १५ देखि २० प्रतिशत देन दिएको हुन्छ ।

सन् २००७।२००८ मा विश्व खाद्यसंकट हुँदा खाद्यान्न निर्यातको प्रतिबन्धले गर्दा हामीले भारतबाट खाद्यान्न खरिदगर्न पाएनौ र देश पनि खाद्यान्नमा आत्मनिर्भर नहुने हो भने तपाईं हामीसँग खल्तीमा पैसा भए पनि खाद्यान्न किन्न नपाउने अवस्था श्रृजना हुनसक्छ । त्यसैले देशलाई हरहालतले खाद्यान्नमा आत्मनिर्भर बनाउनै पर्दछ र सो गर्ने धानबालीका जात, बीउ, प्रविधिहरू हामीसँग छ पनि । के बँच्नको लागि पनि हामीले अरुको मुख ताक्ने ? नेपालको कुल खाद्यान्नमा धानको ५० प्रतिशतभन्दा बढी योगदान हुने गरेको छ र कुल गार्हस्थ्य उत्पादन जीडीपी र एजीएपीमा क्रमशः करिब ७ र २१ प्रतिशत योगदान हुन आउँदछ ।

भनिन्छ देशले १० प्रतिशत धानको उत्पादन बढाउन सक्यो भने नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतले वृद्धि हुनेछ । नेपालको कुल खेतीयोग्य जमीनमध्ये आधाभन्दा बढी जमीनमा धानखेती हुनेगरेको छ । बेरोजगारी समाधान गर्न र आवश्यक क्यालोरी आवश्यकताको परिपूर्ति गर्न समेत धानको विशेष योगदान रहिआएको छ । खाद्य अधिकार पनि मानवको लागि एक मौलिक अधिकार नै हो ।

सरकारले कुनै हालतमा पनि जनतालाई बिहान–बेलुका दुई छाक खुवाउनै पर्दछ तर साङ्गलाई कुनै कामै नगरी फोकटमा खुवाउने रणनीतिपनि हुनु हुँदैन । यस स्तम्भकारले संसारमा देखिएको खाद्यसुरक्षा अर्थात् विश्व खाद्य संकट, नाकाबन्दीजस्ता समस्यालाई मध्यनजर राखी नेपालमा एक ‘उच्चस्तरीय राष्ट्रिय खाद्यसुरक्षा मिसन’ बनाउन प¥यो र उक्त मिसनमा समावेश हुने विभिन्न सरोकारवालाहरूमध्ये वर्तमान र अवकाशप्राप्त भएका भए पनि, वास्तविक वैज्ञानिक, विज्ञहरू जसले आ–आफ्नो क्षेत्रमा पढेर, परेर, गरेर, क्षमता, प्रतिभा प्रदर्शन देखाइसकेका हुनुपर्दछ । नेपालमा धान, चामल सुरक्षा भनेकै खाद्यसुरक्षा हो ।

६० को दशकको मध्यतिर कृषिमा हरितक्रान्तिको सुरुवात पनि भएको थियो । सो समयमा भारत, मद्रासका एकजना कृषकले आईआर ८ जातको धानबाली काट्दै थिए र उत्पादन पनि धेरै राम्रो भएको थियो र त्यसैबेला उनको श्रीमतीले घरमा छोरा जन्माइन् र धेरै नै खुसी भएर कृषकले छोराको नाम नै आईआर ८ राखेका थिए । नेपालमा सिफारिसपछि उन्नत बीउहरूले ढाकेको क्षेत्र करिब ९६ प्रतिशत रहेको पाइएको छ । हालसम्म नेपालमा एक सयभन्दा बढी धानका उन्नत जातहरू उन्मोचन, सिफारिस भएका छन् । एकपटक उन्मोचन गरेको बीउ रोग, कीराको हिसाबले सदाबहार सहन, लड्नसक्ने हुँदैन ।

भनिन्छ, अनुसन्धानकर्ताजस्तै रोगहरूले पनि अनुसन्धान गरिरहेका हुन्छन् । उदाहरणको लागि नेपालमा उन्मोचन भएका जातहरूमध्ये सबैभन्दा प्रचलित, लोकप्रिय धानको जात मसुली हो र यो जात २०३० सालमा उन्मोचन भएको थियो, त्यसबेला रोगको समस्या थिएन तर अहिले आएर मरुवा (ब्लाष्ट) रोगले सखाप पार्ने हुनाले यो जातको खेती धेरै नै घटिसकेको छ । भनिन्छ कृषि वैज्ञानिकको साथै रोगले पनि अनुसन्धान गरिरहेका हुन्छन् । यो कुरा मसुली जातलाई पहिला रोग लाग्दैनथ्यो तर हाल आएर रोग लाग्नाले रोगले पनि अनुसन्धान गरेको प्रमाणित हुन्छ ।

धानको विविधता : धानको उदाहरण लिने हो भने फिलिपिनस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था, इरीले अनुमान गरेनुसार संसारमा करिब एक लाख ४० हजार प्रकारका रैथाने धानका जातहरू छन् र सोमध्ये एक लाख १७ हजार प्रकारका रैथाने जातहरू इरीले आफ्नो जीन बैंकमा संकलन गरिराखेको छ । नेपालबाट पनि ७२ जिल्लाहरूबाट संकलित करिब तीन हजार प्रकारका रैथाने धानजातका बीउहरू फिलिपिनस्थित इरी, जापान र इटली, रोम, नर्वे स्भालबार्डको जीनबैंकमा राखिएका छन ।

संसारको सबैभन्दा ठूलो जीनबैंक नर्वेको स्भालबार्डमा रहेको छ र यसको वार्षिक सञ्चालन खर्च अमेरिकन डलर ३४ मिलियन भएको थाहा हुन आएको छ । नार्कको करिब २० वर्षको अथक प्रयासले अर्थ मन्त्रालयबाट बजेट प्राप्त भएकोले खुमलटार, ललितपुरमा जीनबैंक भवन तैयार भई महामहिम राष्ट्रपतिद्वारा समुद्घाटनसमेत भैसकेको छ । यस सुविधाले गर्दा हाम्रा रैथाने बीउहरू जुन हाम्रा पूर्वजहरूको धरोहर पनि हो, हामी देशमै संकलन गरी राख्न सक्षम हुने भएका छौं ।

उत्पादनको हिसाबले साधारणतया उन्नत बीउसँग तुलना नहुने भए पनि रैथाने बीउहरू रोग, कीरा, खडेरी, बाढी, चिसो, गर्मी आदि सहनसक्ने विभिन्न गुण भएका हुन्छन् । यदि यी जातहरू लोप भए भने कहाँबाट पुनः सिर्जना गर्न सकिन्छ र ? नेपालमा ४ वटा जंगलीधानका प्रजातिहरूको पहिचानपनि गरिसकिएको छ । नर्वेको स्भालबार्डमा हिमाली चट्टान फोरेर भूकम्प, पहिरो, आगलागी, प्रमाणु विस्फोटन, लोडसेडिङ आदिबाट समस्यारहित जीनबैंक तैयार पारी बीउहरू संकलन गर्ने कार्य भैरहेको पनि छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया