Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्वाडको दौडमा बैंकिङ क्षेत्र

अर्वाडको दौडमा बैंकिङ क्षेत्र


काठमाडौं । विश्वासमा अडेको, विश्वासमै चलायमान हुने र गति लिने क्षेत्र हो बैंकिङ क्षेत्र । विश्वासमै टिकेको क्षेत्र भएकाले पनि बैंक तथा वित्तीय क्षेत्रले जनताको मन जित्न अनेक कोसिस गरिरहन्छन् । नेपालमा २०४६ सालपछि सबैभन्दा प्रगति गरेको क्षेत्र पनि बैंक तथा वित्तीय क्षेत्र नै हो । विगत दुई वर्षयता अर्थतन्त्रको तेस्रो खम्बा अनि समाजवादतर्फको यात्राको कडीका रूपमा हेरिएको सहकारी क्षेत्रले जनविश्वास गुमायो । खासगरी वित्तीय क्षेत्रको अहिलेको अवस्था तहसनहन नै छ । सहकारी क्षेत्रमा राजनीति गर्नेहरू छिरेपछि, दलाल तथा माफियाहरू छिरेपछि र अकुत एवं शङ्कास्पद धन आर्जन गर्नेहरू छिरेपछि व्यापक सङ्कट आइरहेको छ ।

सहकारी क्षेत्रमा उत्पन्न सङ्कट र गुमेको विश्वासले पनि अन्तत ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई नै लाभग्राही बनाएको छ । यसको कुशल नियमन नेपाल राष्ट्र बैंकले गरिरहेको छ । अहिले बैंकहरूमा सात खर्बभन्दा बढी ऋण प्रवाह गर्न सकिने तरलता थुप्रिएको अवस्था छ । त्यसरी बढ्नुमा सहकारी क्षेत्रको सङ्कट देखेका जनताले पैसा बैंकहरूमा थुपारिनु हो । हरेक आर्थिक वर्षको कात्तिक–मङ्सिरतिरैबाट नेपालमा तरलता अभाव हुने थालेको थियो । त्यसकारण राष्ट्र बैंकको कुशल भूमिकाकै कारण नेपालमा बैंक तथा वित्तीय संस्था आजको समयमा सबल देखिन्छन् ।

कतिपय अवस्थामा धर्मराएका वित्तीय संस्थालाई पनि राष्ट्र बैंकले ट्रयाकमै ल्याएको छ । जस्तोकि केही महिनाअघि एनआईसी एसिया बैंकका बारेमा एकाध व्यक्तिले अफवाह फैलाए । सामाजिक सञ्जालमा प्रभाव बटुलेका त्यस्ता व्यक्तिको अफवाहकै कारण सो बैंकको एक महिनामै ३० अर्बभन्दा बढी निक्षेप अरू बैंकमा गएको समाचार समेत आयो । तर अफवाह धेरै दिन टिकेन र राष्ट्र बैंकले पनि टेवा र प्रभावकारी भूमिका दिएर एनआईसी एसिया बैंक करिब पहिलाकै अवस्थामा फर्कियो । यसकारण बैंकिङ क्षेत्रमा विश्वासको ठूलो महत्व रहन्छ । तर जनविश्वास कमाउन पछिल्ला केही वर्षयता जसरी बैंकहरूले अर्वाड (पुरस्कार) मोह देखाएका छन् । त्यो छद्म विकृत प्रतिस्पर्धाजस्तो देखिएको छ ।

नेपाली जनताले नै नचिनेका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले दिएको अर्वाडकै भरमा बैंकको विश्वास कसरी बढोत्तरी हुँदो हो त ? त्यस्तो गलत अभ्यासमा लाग्नु फेसनजस्तो मात्र देखिन्छ । जस्तो पछिल्ला वर्षहरूमा बैंकिङ क्षेत्रमा बेस्ट बैंक अर्वाड, एसिया मनि अर्वाड, युरो मनि अर्वाड, बैंक अफ दि एसिया अर्वाडलगायतका नानाथरी अर्वाडहरूको बजार हल्ला ब्यापक छन् । तर के एकपछि अर्को बैंकहरूले तिनै र त्यस्तै अर्वाडहरू लागि प्रतिस्पर्धा गर्नु र पाउनु उत्कृष्ट सेवाको परिचायक हो त ? त्यसरी अवार्ड दिने संस्थाहरूलाई नेपालीले चिन्छन् त ? किन भइरहेको छ अवार्ड प्राप्त गर्ने लिगलिगे दौड ? त्यसमा बैंकहरूले कति धनराशि खर्च गरिरहेका छन् ? त्यसको उपादेयता के ? वास्तवमा राष्ट्र बैंकको एकै मापदण्डमा चलेका बैंकहरू सबै समान हुन् । उत्कृष्ट वा कमसल के हो त्यो छुट्याउने भनेको नेपाली ग्राहकहरूले नै हो । अमूर्त विदेशी संस्थाहरूलाई कसरी थाहा हुन्छन् कि कुन बैंकले कस्तो सेवा दिइरहेका छन् । त्यसको गुणस्तर के छ ? त्यो भोग्नेलाई न थाहा हुन्छ ।

खासगरी भन्ने हो भने बैंकहरूले दिने सेवाको गुणस्तर, डेलिभरी, ग्राहकहरूसँग गर्ने मैत्री व्यवहार, प्रचारमा मात्र नभएर साँचो अर्थमा गरिने सामाजिक उत्तरदायित्वको गतिविधिहरू, सरकारी कर तथा राजस्वमा खेलेको भूमिका, व्याजदरमा सहुलियत, रोजगारी र उद्यमशीलता अभिवृद्धिमा खेलेको भूमिका, राष्ट्र बैंकले अनिवार्य गरेका क्षेत्रमा भएका लगानीको अवस्था राम्रो भए ती बैंक राम्रोमा दरिने हुन् । फगत नेपालीले नचिन्ने अन्तर्राष्ट्रिय संस्थाहरूले दिने अवार्डले होइन । त्यसकारण बैंकहरूले गुणस्तरीय सेवा प्रवाह, ग्राहकमैत्री व्यवहार, कुशल सम्बन्ध, गरिब किसानलाई पनि ऋण प्रवाहीकरणमा समेट्नु, दुर्गम तथा पहुँचविहीनहरूकोमा पुग्ने कुरामा प्रतिस्पर्धा जरुरी छ । आधुनिक सेवा सुविधा दिने कुरामा प्रतिस्पर्धा जरुरी छ । अवार्डको दौडमा होइन । त्यसैगरी कतिपय बैंकहरूले मिडियामा यो सुविधा, त्यो सुविधा दिने भनेर हल्ला गर्ने तर त्यसको गुणस्तर र दिगोपन समेत भएको पाइँदैन । वित्तीय क्षेत्रले त्यसलाई सुधार्न जरुरी छ ।

सामाजिक उत्तरदायित्वमा विकृति
हरेक दिनका अखबार वा अनलाइन पोर्टलहरू हेर्दा फलानो बैंक वा वित्त कम्पनीले यति थान कपडा बाँड्यो अथवा वृक्षारोपण ग¥यो अथवा विद्यार्थीहरूलाई कापीकलम बाँड्यो वा वृद्धवृद्धालाई निःशुल्क भोजन गरायो वा त्यस्तै–त्यस्तै समाचार आइरहेका हुन्छन् । त्यसरी बैंक–वित्त संस्थाहरूले गरिरहेका गतिविधिहरू उनीहरूका सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) हुन् ।

सबै त होइनन् तर धेरैले सामाजिक उत्तरदायित्व कार्यक्रमका नाममा कनिका मात्र छर्ने गरेका छन् । एकाधले सिङ्गै स्कुल, धर्मशाला, मठमन्दिर वा गरिबको छाना–नानाको व्यवस्था पनि गरेका समाचार आउँछन् । तर सामाजिक उत्तरदायित्व बहन गर्ने बैंक–वित्त कम्पनीहरूमध्ये धेरैले नाम मात्रैको सहयोग गर्ने गरेका छन् । सो विषयमा धेरैलाई वास्ता छैन । मिडियाले पनि सो विषय गौण ठान्छ । तर वार्षिक अरबौं कमाउने बैंकहरूले सामाजिक उत्तरदायित्वका नाममा आफूले छेरेका कनिकाहरूबारे निकै नै प्रचारप्रसार भने गरिरहेका हुन्छन् । उनीहरूका स–साना समाचारहरूले पनि मिडियामा राम्रै स्थान पाएका हुन्छन् । धेरैजसो मिडिया पूरापूर विज्ञापनमा निर्भर भएकाले पनि त्यसो भएको हुन सक्छ ।

सामाजिक उत्तरदायित्व र समाजप्रतिको दायित्व ठोसरूपमा रहेको देखिंनन् । त्यसैकारण कमाउधन्दामुखी र विज्ञापनमुखी मिडियाहरूमा बैंक तथा वित्तीय संस्थाहरूको विकृत क्रियाकलापहरू बारे कमै समाचार आउने गर्छ । यद्यपि सामाजिक उत्तरदायित्व बैंकहरूको मात्रै दायित्व भने होइन । सबै खालका निजी तथा सरकारी व्यावसायिक सङ्घसंस्थाहरूको दायित्व हो । नेपालमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीबाहेक आयआर्जन सबल भएका उद्योगधन्दा निकै कम छन् । त्यसैले उनीहरू सबैको नजरमा छन् ।

आजको विश्वमा व्यावसायिक संस्थाहरूले आफूले कमाएको मुनाफाबाट कम्तीमा दुई प्रतिशत सामाजिक उत्तरदायित्व वहन गर्ने हिसाबले खर्च गर्ने गरेका छन् । नेपालको हकमा पनि यस चलन चलेको दशकौँ भइसकेको छ । तर नेपालमा बैंक–वित्तीय क्षेत्रबाहेक सीमित व्यावसायिक संस्थाहरूले मात्रै समाजप्रतिको दायित्व निर्वाह गरेका देखिन्छन् । सामाजिक उत्तरदायित्व निर्वाह गर्न नेपालका उद्यम व्यवसाय साँच्चिकै मनदेखि लागेका छैनन् । बैंकहरूले पनि देखावटी मात्रै गरिरहेका छन् । उनीहरूले कुल नाफाको दुई प्रतिशत त्यस क्षेत्रमा सहयोग त गरेकै छैनन् ।

बैंकले ऋण उठाउने नाममा कुनै व्यक्तिलाई आत्महत्या गर्ने हदसम्म दबाब दिन मिल्दैन । व्यक्तिले ऋण नै तिर्न नसक पनि उसले बाँच्न पाउने अधिकार पहिलो हो । मानवीयता त बैंकको नाफा वा ऋण असुलीभन्दा पहिलो प्राथमिकता हुनुपर्ने हो । एकातिर बैंकहरूले सामाजिक उत्तरदायित्व, गरिबहरूको सेवा गर्ने भन्दै करोडौं बजेट छुट्याएझैँ गर्ने, काहीँकतै कनिका छरेझैं पनि गर्ने अर्कोतिर गरिबहरू १०–२० लाख ऋण समयावधिमै तिर्न नसक्दा मृत्युवरण गर्नुपर्ने अवस्थाको सिर्जना गरिदिने पनि गरेका घट्नाहरू छन् । अन्त्यमा, बैंकहरूले अवार्ड प्राप्त गर्न गर्ने खर्च सामाजिक उत्तरदायित्व बहन गर्न गरेको अवस्थामा बैंकको जनताप्रतिको विश्वास र भरोसा पनि बढ्छ । त्यसले एउटा तह र तप्काका अभावग्रस्त मान्छेहरूको आवश्यकता पनि पूर्ति हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x