Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबौरिएको पर्यटन र पूरा नहुने लक्ष्य

बौरिएको पर्यटन र पूरा नहुने लक्ष्य


काठमाडौं । पछिल्लो तथ्याङ्कअनुसार सन् २०२४ को ८ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटकहरू नेपालको भ्रमण गर्न आएका छन् । यसरी हेर्दाखेरि समग्र नेपाली पर्यटन क्षेत्रमा क्रमशः बढोत्तरी हुँदै गएको छ, विस्तारै नेपाली पर्यटनले हरियाली छाउने बेला आउँदै छ । मेरो भनाइको मतलब नेपालमा मुख्य पर्यटकीय सिजन सुरु भएको छ । जुन सिजन नेपालमा अलिक बढी पदयात्राका लागि चहलपहल हुन्छ । यसअघि अर्थात् वर्षात्को सिजनामा चाहिँ धेरथोर विदेशी पर्यटकहरू मात्रै पदयात्रामा जाने गर्छन् ।

हुन त नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरू बिदा मनाउने, मनोरञ्जन गर्र्ने उद्देश्यले आउने गरेका छन् । त्यसपछि भेटघाट गर्ने, धार्मिक पर्यटक (तीर्थयात्रीहरू), व्यापारीहरू, सभा–सम्मेलन गर्र्र्ने उद्देश्यले आउने विदेशी पर्यटकहरू रहेका छन् । जुन संख्या धेरै कम रहेको छ । तर, उनीहरूचाहिँ बाह्रैकाल नेपाल भ्रमणमा गर्न आउने गरेका छन् ।

हुन त आजभोलि विश्वका प्रायः सबै देशमा पर्यटकीय गतिविधि बढेको छ, पर्यटकीय अवस्था चकाचक रहेको छ भन्न सकिन्छ । फलतः सन् २०२४ लागेपछि हाम्रो देशमा मासिकरूपमा एक लाखभन्दा केही बढीको संख्यामा लगातार विदेशी पर्यटकको आगमन भइ रहेको छ । हुन पनि हाम्रो देश नेपाल ‘मास टुरिस्ट’को प्रमुख गन्तव्यकै रूपमा रहेको छ । त्यसरी हेर्दा सन् २०२४ को जनवरी महिनामा ७९ हजार एक सय जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । त्यस्तै, गरेर सन् २०२४ को फेब्रुअरी महिनामा चाहिँ ९७ हजार चार सय २६ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२४ को मार्च महिनामा त नेपालमा एक लाख २८ हजार एक सय ६७ जना विदेशी पर्यटकहरू भ्रमण गर्न आएका थिए ।

त्यस्तै, गरेर सन् २०२४ को अप्रिल महिनामा एक लाख ११ हजार तीन सय ७६ जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका छन् । चार महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या हेर्दाखेरि मासिकरूपमा एक लाख चार हजारको हाराहारी रहेको छ ।

यही रफ्तारमा विदेशी पर्यटकहरू आएमा सन् २०२४ मा नेपालमा सन् २०२४ को १२ महिनामा १४ लाख ५०–६० हजारदेखि १५ लाख ३०–४० हजारसम्म संख्या पुग्ला कि ? भनी अनुमान गर्न सकिन्छ । खासमा नेपाल सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई उडानको व्यस्था गर्न अन्तर्राष्ट्रिय हवाई उडान थप्न सके साढे १७ लाखदेखि १८ लाखसम्म पुग्न सक्ने सम्भावना देखिन्छ । तर तत्काल त्यो सम्भावना देखिँदैन । यसरी हेर्दाखेरि सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुपेई प्रान्तको राजधानी सरह वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भएपछि त्यसको अत्यन्तै नराम्रो असरस्वरूप सन् २०२० र सन् २०२१ विश्वभरि धेरै कम संख्यामा मात्रै पयर्टकहरूले पयर्टक भई भ्रमण गरेका थिए । तर सन् २०२२ मा भने विश्व पयर्टनले गति लिन थाल्यो । यसरी सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भएपछि विश्वभरिका मानिसहरूले एक अर्को देशमा आफूले चाहे जसरी यात्रा गर्न पाएनन् । फलतः सन् २०२० र सन् २०२१, २०२२ मा विश्वव्यापी पर्यटन उद्योगले ठूलो क्षति व्यहोर्नुपर्यो । नेपाली पर्यटन क्षेत्रको त झन् के कुरो गराइ भो र ? त्यसैले नेपाली पर्यटनले पनि ठूलो स्केलमा क्षति व्यहोर्यो, तीन वर्षे कोरोना महामारी कालमा ।

हो, साँच्चै २०१९ को डिसेम्बर अन्तिमताका उत्तरी छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापीरूपमा महामारीका रूपमा फैलिन सुरु भएपछि, त्यसले विश्व अर्थतन्त्रलाई नै ‘डामाडोल स्थिति’मा पुर्याएको थियो । जुन कुरो विश्वका कुनै पनि सरकार प्रमुख, राज्य प्रमुख र भाइरल रोग विज्ञहरूले समेत त्योस्तरमा आर्थिक संकट आउने र विश्वभरि सन्नाटाको छाउने स्थिति निर्माण हुने सोचेका थिएनन् होला ? हुन पनि त्यसबेला केसम्म भयो भने कोभिड–१९ फैलन सुरु भएपछि विश्वको समग्र अर्थतन्त्र र अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको पर्यटन उद्योग कम्तीमा पनि ८८/९० प्रतिशतदेखि ९४/९६ प्रतिशतले चल्नै नसक्ने अवस्थामा पुगेको थियो । यसरी कोभिड–१९ ले विस्तारैविस्तारै विश्वव्यापी महामारीको रूप लिएपछि तत्कालै विभिन्न देशका सरकार प्रमुखहरूले एक देशबाट अर्को देशमा जाने यात्रुहरूलाई (हवाईजहाज, रेल, बस, कार, जिप आदि यात्रामाथि) प्रतिबन्ध लगाउन थाले । जसले गर्दा हवाई यातायात, रेल, बस, कार, जिप व्यवसायी र होटल व्यवसायीहरूले नराम्रोसँग मार खानु पर्यो । हेर्दाहेर्दै विश्व नै एक किसिमले सुनसान (श्मशान) बन्न पुग्यो ।

भलै तथापि पनि त्यो बेलाका केही देशका उग्रराष्ट्रवादी नेता तथा सरकार प्रमुखचाहिँ ‘नोभेल कोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिइएको) लाई ‘यो केही पनि होइन, सामान्य भाइरस हो यो चाँडै हट्छ’ भनी मनगडन्ते ढंगले ‘अन्डर–माइन्ड’ गरिरहेका थिए, खिल्ली उडाइरहेका थिए । जबकि ‘नोभेल कोरोना भाइरस’ तत्काल हटेर जानुको सट्टा झनै फैलँदै गएर विश्वव्यापीरूपमा महामारीको रूप लिएको थियो । अहिले पनि तथ्याङ्क हेर्दा विश्वमा ७० करोड ४५ लाख २१ हजार पाँच सय १५ जनामा (कोभिड–१९) देखिएको छ भने ७० लाख आठ हजार सात सय ६६ जनाले (कोभिड–१९) का कारण आफ्नो अमूल्य जीवन गुमाएका छन् । त्यस्तै, ६७ करोड ५३ लाख ७२ हजार ५७ जना पूर्णरूपमा निको भएर घर फर्केका छन् । भनिन्छ, एक समयमा ८७ करोड मानिसहरू कोरोना भाइरसको महामारीको प्रकोपमा परेका थिए (तथ्याङ्क स्रोतः वोर्ल्डो मिटर) ।

अन्तिममा भन्नुपर्दाखेरि नेपाल सरकारले सन् २०२४/२५ मध्यसम्ममा अर्थात् चालू आर्थिक वर्ष विसं २०८१ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने जुन लक्ष्य लिइएको छ, सो लक्ष्य पूरा हुनु कताकता, १२ लाखदेखि साढे १२ लाख नाघ्न पनि मुस्किल होला कि ? जस्तो देखिन्छ । किनभने हामीले गत अप्रिल महिनाको अन्त्यदेखि आगामी अप्रिल महिना (सन् २०२४/२५) को मध्यसम्म नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको संख्यालाई आधार मान्नुपर्ने हुन्छ । तर, माथि नै एक प्रसंगमा सन् २०२४ को आठ महिनाको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या उल्लेख गरिएको जुन संख्या छ, सो संख्यालाई आधार मान्दा नेपाली पर्यटन निश्चय पनि विगतका वर्षहरूमा भन्दा धेरै नै ठूलो स्केलमा बौरिएको मान्न सकिन्छ । तर, त्यसो भन्दैमा हामीले वास्तविक धरातलको आकलन नगरिकन जथाभावी ढंगले अनुमानकै भरमा ठूलो संख्यामा विदेशी पर्यटकहरू नेपाल भित्रिने छन् भन्ने अनुमान गरेर लक्ष्य निर्धारण नगरौँ भन्ने मेरो आग्रह नेपाल सरकार र सरकारी कर्मचारीहरूमा रहन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x