बढ्दै गएको भ्रष्टाचार र जनताको अवस्था
काठमाडौं । भनिन्छ, अहिले देशमा व्यापक भ्रष्टाचार छ । साधारण व्यक्तिले समेत बुझेका, देखेका र अनुभव गरेको विषय भनेको नै भ्रष्टाचार हो । यसरी फैलिँदै गएको छ कि देशको प्रत्येक कुनामा पुगेको छ । जहाँ सरकार पुगेको छ, त्यहाँ भ्रष्टाचार पुगेको छ । सात सय ५३ वटा स्थानीय सरकार छन् । कुनै दिन भ्रष्टाचार नभएको समाचार पढ्न पाइँदैन । भ्रष्टाचार भनेको जनताले पसिना बगाएर कमाएको आयमा तिरेको करको दुरुपयोग गर्नु हो । अर्थात् आफ्नै खल्तीमा पैसा राख्नु हो ।
अहिले सरकारी सेवा महँगो हुँदै गएको छ । महँगो मात्र होइन सेवा लिन पनि त्यत्तिकै कठिन छ । ऐन नियम प्रक्रियाबाट काम हुनै सक्दैन । व्यक्तिको स्वविवेकबाट हुने गर्छ । सेवाग्राहीले सेवा पाउने अधिकार भए पनि तोकिएको अवधिमा सेवा पाउन सकेको हुँदैन । नागरिकले सास्ती खेप्नै पर्छ । भानुभक्तीय कथा ब्यथा चरितार्थ हुँदै आएको छ । आफ्नो पसिनाको कमाइ भन्न पाइँदैन । मुफ्तमा पसिना बिक्री गर्नुपरिरहेको अहिलेको अवस्था हो ।
अहिले जनताले विकास निर्माणभन्दा पनि सरकारी काम कारबाहीबाट मुक्त हुन चाहेका छन् । जीवन धान्न त जसरी भए पनि धानेकै हुन्छन् । सरकारले लगाई दिने झन्झट नै दुःखको पाटो बनेको छ । नागरिक राज्यलाई कर तिर्न जान्छ । कर तिर्नकै लागि पनि अतिरिक्त स्रोतको आवश्यकता पर्छ । पानी नआउने धाराको महसुल बुझाउन जान्छ, जरिवाना तिरेर घर फर्किन्छ । लोडसेडिङको पैसा बुझाउन जान्छ, विलम्ब शुल्क बुझाउँछ । जग्गा नामसारी, फुकुवा, अंशबन्डा गर्न जान्छ भनिसाध्य छैन । यसरी चलिरहेछ निमुखा नागरिकलाई सरकारले दिने सेवा ।
निःशुल्क शिक्षा भनिन्छ, जतिसक्यो असुल्ने काम हुन्छ । स्वास्थ्य जनताको पहुँचबाहिर छ । रोजगारी झनै छैन । औद्योगिक वातावरण पनि देखिँदैन । आन्तरिक उत्पादन छैन । खाद्यान्नदेखि लिएर निर्माण उपकरणलगायत सबै वस्तु आयातले नै धानिएको छ । आयात गरिएका सामान स्वतः महँगा हुन्छन् । त्यसमा पनि सकेसम्म भन्सार लगाउँदा जनताको ढाड सेकिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्रि भएकाले यहाँ पनि मूल्य बढेको निउँ बनाइन्छ । बिचौलिया र दलालीको कारणले गर्दा जनताले चर्को मूल्य चुकाउनुपरेको छ ।
स्वदेशमा रोजगारी नहुँदा ऊर्जाशील युवाहरू रोजगारीको लागि विदेश पलायन भइरहेका छन् । शिक्षित युवा अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान ,क्यानडा आदि मुलुकहरूमा गइरहेका छन् भने सामान्य पढेलेखेका युवाहरू ५० डिग्रीको तापक्रममा बालबच्चा बचाउन खाडी मुलुक पसेका छन् । यिनीहरूको पसिनाको आर्जनबाट देशको अर्थतन्त्र धानिएको छ । प्रत्येक दिन २५ सयका दरले पलायन भएका युवाहरूको अवस्था कष्टकर भएको सवैलाई अवगत नै छ ।
अहिलेको २१औँ शताब्दीमा पनि नेपाली युवाहरू युद्धमा होमिनुपर्ने बाध्यता छ । रसिया–युक्रेन युद्धमा कति युवाहरूले ज्यान गुमाए र अझै कतिले गुमाउने हुन् । त्यसप्रति सरकारले चासो लिएको देखिँदैन । विप्रेषणबाट वार्षिक १४ खर्बभन्दा बढी भित्र्याउने ती युवाको पक्षमा सरकारबाट केही शब्द खर्चिएको पाइँदैन । रोजगारीको लागि नेपाली युवा विश्वमा नपुगेको कुनै ठाउँ छैन । ६० लाखभन्दा बढी श्रमशक्ति नेपालजस्तो सानो र गरिब मुलुकबाट विदेशिनु भनेको कम पीडादायी होइन । यति ठूलो जनशक्तिलाई स्वदेशमा नै रोजगारी दिन सकेको भए सायद देशको अवस्था अर्कै हुने थियो । नेपालकै सेरोफेरोमा स्वतन्त्र भएका छिमेकी देश भारत र चीन कहाँ पुगिसके र हामी कहाँ गइरहेका छौँ । एकपटक विचार गर्नैपर्छ– देशको अवस्था किन यस्तो भयो ?
प्रत्येक वर्ष आउने बजेटमा राम्रै कुरा लेखिन्छन् । जनताका पक्षमा धेरै कुरा उल्लेख गरिएका हुन्छन् । तर, कार्यान्वयन भने निराशा नै हुने गरेको छ । बजेट खर्च गरे पनि नतिजामुखी हुँदैन । यही कारणले २५ खर्बभन्दा बढी सार्वजनिक ऋण पुगेको छ । प्रत्येक नेपाली जन्मिदासँगै ८६ हजार ऋण बोकेर आउने गरेको छ । यो प्रत्येक नेपालीको दुःखद् पाटो हो ।
गाउँ, गाउँजस्तो देखिँदैन । उजाड बन्दै गएको छ । वृद्ध बाआमा घरको पिँडी कुरिरहेका हुन्छन् । विदेशिएको सन्तानको अनुहार सम्झेर बाँच्नुपरेको छ । लास उठाउने मानिसको अभाव हुँदै गएको छ । लासले विदेशिएको सन्तानलाई कुरिरहेको हुन्छ । खेतबारी बाँझो बन्दै गएको छ । मानिस नभएको घर, खेती नगरिएको जग्गा र विकृति बढ्दै गएको समाजले सुधार खोजिरहेको छ तर कसले गर्ने ? धेरै प्रश्नहरू अनुत्तरित हुँदै गएका छन् ।
राजनीति नाफामूलक संस्थामा परिणत हुँदै गएको छ । मुदास्फीति र मूल्यवृद्धि मात्र भएको छैन जनताले छनौट गर्ने निर्वाचनमा समेत उम्मेदवार हुन सक्ने अवस्था छैन । जोसँग पैसा छ उसले नै विजय हुने परिपाटीको विकास भएको छ । पैसा नहुने र राम्रो छवि भएका व्यक्तिले निर्वाचनमा विजयी हुने गुञ्जायस नै देखिँदैन । कस्ता जनप्रतिनिधि निर्वाचित भएका छन् ऐनाजस्तै छर्लङग छ । असल चरित्रको कामै छैन ।
जनप्रतिनिधि असल हुनुको कामै रहेनछ । खराब नै हुनुपर्दो रहेछ । एकै छिन मात्र भए पनि विचार गरौँ त हाम्रा जनप्रतिनिधि कस्ता छन् । कसैले आफ्ना नागरिकलाई अनागरिक बनाएर भ्रष्टाचार गरेका छन् । कसैले राष्ट्रिय ढुकुटी दोहन गरेका छन् । कसैले व्यापार व्यवसाय चलाएका छन् । कसैले नीतिगत भ्रष्टाचार गरेका खबर आएका छन् । यिनै नेताहरूको हालीमुहाली चलेको छ ।
अहिले सहकारीमा भएको भ्रष्टाचारमा कस्ता व्यक्ति संलग्न छन् र कसरी भ्रष्टाचार गर्दा रहेछन् भन्ने कुरा छर्लङ्ग भएको छ । आफ्नो बालबच्चाको छाक काटेर बचत गरेको पैसामा समेत ठूलाठूला व्यक्तिबाट हिनामिना हुनुलाई किन आँखा चिम्लिइन्छ बुझ्न सकिएको छैन । भुइँमान्छेको रुवाबासी भएको छ । सरकार भने मौन छ । भ्रष्टाचारीको पहिचान भइसक्दा पनि किन कारबाही अघि बढाइँदैन । दिनदुखी निमुखा नागरिकको पैसामा विदेशमा रजगज गर्नेहरूलाई किन देशभित्र ल्याएर कारबाही गरिँदैन । जहाँ पनि राजनीति जोडिएपछि केही उपाय हुँदो रहेनछ ।
सहकारी प्रकरणमा खर्बौँ भ्रष्टाचार भएको छ । यस्ता ठूला काण्डमा ठूलै मानिसको संलग्नता हुँदोरहेछ । सत्ता खल्बलिने डरले कालोलाई सेतो बनाउन खोज्नु देशकै लागि लाजमर्दो कुरो भए पनि यहाँ त यस्तै भइरहेको छ । जसका नाम जोडिएका छन्, उनीहरू नै शक्तिशाली भएपछि जनताको पसिना डुब्ने नै भयो । भ्रष्टाचार देखिएको छ । व्यक्ति पहिचान भएका पनि छन् । यद्यपि कानुनी प्रक्रिया अघि बढ्दैन भने यस्तो सरकारबाट जनताले के अपेक्षा गर्ने ?
ठूला मुद्दाहरू पहिचान भएका छन् तर सेलाउँदै गएका पनि छन् । लाउडा, धमिजा, यति, ओम्नी, गिरीबन्धु, क्यान्टोन्मेन्टजस्ता अनगिन्ती काण्डहरूले राष्ट्रिय ढकुटी हदैसम्म दोहन भएको छ । कारवाहीअघि बढाउने चासोसम्म देखाइन्नँ । तैँ चुप मैँ चुप भएको अवस्था छ । यसरी देशको सम्पत्ति लुटिएको अवस्था छ । अरू त रजगज गर्ने मात्र हुँदा रहेछन् ।
यहाँ हुने र देखिने भनेको भ्रष्टाचार मात्र रहेछ । जनताको जीवनस्तर उठ्ने त अवस्था नै छैन । मागेको र अरूले दिएको स्रोतबाट देश कति दिनसम्म चल्न सक्छ र ? विदेश भ्रमण गर्दा कसले कति दिन्छ भन्ने कुरामा खुसी हुनुपर्ने अवस्था देशको लागि लाजकै विषय हो । तर हामी लाजै नमानी हात थापेकै छौँ । पैसाका लागि जस्तोसुकै सर्त स्वीकारेकै छौँ । अब त दिनेले पनि हाम्रो नाडी छामिसकेका छन् ।
भ्रष्टाचार यसरी बढ्दै गएको छ कि अब यसको निराकरणको लागि शल्यक्रिया नगरी नहुने अवस्था छ । महालेखापरीक्षकको प्रतिवेदनले ११ खर्बभन्दा बढीको आर्थिक अनियमितता औँल्याएको छ । त्यहाँ आर्थिक अनियमित गतिविधि मात्र हुँदैनन् । भ्रष्टाचार पनि जोडिएको हुन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी, दायर मुद्दा र संलग्न भएकाहरूको अनुहार हेर्दा देश कसरी दोहन हुँदै गएको छ भन्ने कुरा ऐनाजस्तै प्रष्ट देख्न सकिन्छ ।
यो सानो आलेखमा धेरै कुरा निश्चय नै छुट्न गएका छन् । सवैलाई समेट्न सकिएको छैन । यो केवल सानो उजागर मात्र हो । भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ तर राजनीति नेतृत्वमा प्रतिबद्धता र कटिबद्धताको अभाव छ । अर्को कुरा सबै दलहरूसँग जोडिँदै गएको हुनाले सर्प, भ्याकुतो र बिच्छिको जस्तो अवस्था भएको छ ।
तपाईँ हामीलाई थाहा छ कुनै पनि नेता गरिब हुन परेको छैन । जसले राजनीति गर्छ ऊ धनी भएकै देखिन्छ । सबै धनी नै देखिन्छन् । कुनै दिन विश्वका धनी मानिसको सूचीमा राजनीतिक ब्यक्तित्व पर्ने सम्भावना पनि हुनेछ । देशको आर्थिक अवस्थामा कुनै परिवर्तन नहुने, जनताको जीवनस्तरमा सुधार नआउने र नेताहरूको जीवनशैली भने अस्वाभाविक देखिनु नै आम नागरिकको लागि चिन्ताको विषय हुन गएको छ ।
अहिले जनताको आवाज सुनिदिने र सार्वजनिक गरिदिने भनेको एक मात्र माध्यम सञ्चार जगत हो । यही सञ्चार माध्यमलाई दुःख दिने काम भएपछि जनतामा निराशा उत्पन्न भएको छ । केही समयअघि पूर्वाग्रह राखेर सञ्चार माध्यमलाई सास्ती दिने काम भयो । जनताको आवाज सुनिदिने र बोलिदिने सञ्चार माध्यमलाई विनाकारण दुःख दिने काम सरकारबाट हुनुलाई राम्रो भन्न सकिँदैन । पूर्वाग्रह राख्दै जाने हो भने निमुखा जनताका सबै अधिकार यसरी नै कुण्ठित हुँदै जाने छन् । सधैँ यसरी नै शासन चलाउन पनि कति सम्भव होला र ।
सरकारले शासन गरेको सात सय ६१ ओटा सरकारमा कहाँ भ्रष्टाचार छैन ? कहाँ बेथिति छैन ? कहाँ सेवाग्राहीले सहजरूपमा सेवा पाएका छन् ? सरकारको महत्वपूर्ण अंगको रूपमा रहेका कर, भन्सार, मालपोत, सडक, सिँचाइ, खानेपानी, ठूलाठूला पूर्वाधार निर्माणमा कहाँ छैन भ्रष्टाचार ? व्यापकरूपमा बढ्दै गएको भ्रष्टाचार किन नियन्त्रण हुन सक्दैन ? शासन र प्रशासनमा भ्रष्टाचार भएपछि आम नागरिकको जीवनस्तर खस्किँदै जानुलाई के अनौँठो मान्नु र ?
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- उपनिर्वाचनका लागि निर्वाचन आयोगले ताक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत
- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ
- कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
- राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट
- ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय
- साउनयता छ सयभन्दा बढीमा स्क्रब टाइफस
- महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्: परराष्ट्रमन्त्री
- बाइडेन र ट्रम्पबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया