Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगखाद्य सुरक्षा नै जीवन सुरक्षा

खाद्य सुरक्षा नै जीवन सुरक्षा


प्रदीप उप्रेती
मानव समुदायलगायत सम्पूर्ण प्राणीजनको लागि खाद्यान्न जीवनमुखी अनिवार्य आवश्यकता हो । यी दुवै पक्षको अन्योन्याश्रित सम्बन्ध विस्तारबाट सुरक्षित जीवनको मूर्तरूप धारण गर्न सकिनेछ । जसको उपभोगबिना कुनै पनि जीवको जीवन रक्षा एवं सुरक्षा कायम राख्न सकिँदैन भन्ने तथ्यहरूले प्रमाणित गरिसकेको छ ।

जीवनको मुख्य सार भनेकै जल तथा खाद्यान्न नै हो । मानिसको जब जन्म हुन्छ उसले जीवन रक्षाको लागि निश्चितरूपमा दुग्धजन्य पदार्थ उपभोगका खातिर अज्ञानताको अवस्थामा पनि अपेक्षा राख्ने हुँदा यसको महत्व कतिसम्म रहेको छ भन्ने तथ्य, घामजस्तै छर्लङ्ग भएको छ । वर्तमान परिपेक्षमा बढ्दो कोभिड—१९ को सन्त्रासबाट बच्न सुरक्षितरूपमा उपभोग गरिएका खाद्यान्न नै प्राणिजन्य समुदायको जीवन रक्षाको प्रमुख आधारशीला बन्न सक्ने देखिन्छ ।

यति हुँदाहुँदै पनि उचित खाद्य व्यवस्थापनको अभावमा जनस्वास्थ्यमा पार्ने ऋणात्मक प्रभावका बारेमा प्राणीमध्ये सर्वश्रेष्ठ रहेको मानव समुदायले सतर्क एवं सम्वेदनशील भएर रहनुपर्ने अवस्था तयार भएको छ । खरिदका नाममा परीक्षणबिना सोझै बजारबाट खरिद गरेर ल्याइएको खाद्यान्नलगायतका वस्तुहरू उपभोग गर्ने हो भने हाम्रा नांगा आँखाले सहजै देख्न नसक्ने जैविक विषाणुहरू प्राणीजन्य समुदायमा प्रविष्ट हुने सम्भावनालाई नकार्न मिल्दैन ।

यसप्रकारका विषाणुजन्य तत्वहरू केवल सुक्ष्मदर्शक यन्त्रको सहायताले मात्र देख्न सकिने हुँदा जोखिमको मात्रा सधैँ नै उच्च गतिमा रहन्छ भन्ने तथ्यलाई मनन् गर्दै सावधानिपूर्वक उपभोग गर्नु प्राणीजगतको लागि हितकर रहन्छ । सामान्यतया बजारबाट खाद्यवस्तु खरिदका सन्दर्भमा उपभोक्ता वर्गमा एउटा भ्रमले दशकौँदेखि पछ्याइरहेको पाइन्छ । महंगो वस्तु नै जनस्वास्थ्यको लागि लाभदायी सिद्ध हुनेछ भन्ने भ्रमले नागरिक समाज दिग्भ्रमित हुनगई अखाद्य वस्तुको प्रचलन हुनसक्ने डरलाग्दो अवस्था अध्यावधि कायममै रहेको छ ।

वस्तुको गुणस्तर केही हदसम्म ताजापनमा निर्भर रहने हुँदा सधैँ नै ताजा वस्तुको उपभोगलाई प्रमुख प्राथमिकतामा राख्ने हो भने स्वस्थ्य जीवनको परिकल्पना यथार्थमा नै साकार हुन आउनेछ । प्रस्तुत क्रियाकलापलाई व्यवहारमा उतार्ने प्रयास गर्ने हो स्वास्थ्य सुरक्षा सम्वेदनशीलताको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ भन्दा फरक नपर्ला ।

यसका साथै खाद्य सुरक्षाको क्षेत्रमा नेपाललगायत विश्वका जुनसुकै लोकतान्त्रिक सरकारको प्रमुख दायित्व भनेको सम्बद्ध मुलुकका नागरिक समुदायको लागि खाद्य सुरक्षाको सुनिश्चिता प्रदान गर्दै विश्वस्त रहनसक्ने आधार स्तम्भ तयार पार्नु हो । जसका लागि कृषिजन्य क्षेत्रमा आवश्यक सुधार गर्दै समस्या निराकरणका लागि प्रयासरत रहनुपर्ने हुन्छ । प्रस्तुत व्यवस्थापनले खाद्य सुरक्षाको क्षेत्रमा आवश्यक नियमन गर्दै खाद्यान्न उत्पादन अभिवृद्धि गर्ने रणनीतिक योजनालाई सहजरूपमा नागरिक समाजमा प्रस्तिथापन गर्नसक्ने अवस्था पैदा हुनेछ । जसका कारण विषम परिवेशमा पनि उत्पादन क्षमतामा वृद्धि गर्ने अवस्था पैदा हुनेछ । जुन खाद्य सुरक्षाको मूलमन्त्र हुनुको साथै जीवन रक्षाको महत्वपूर्ण सगंम समेत हो । यस प्रकारका क्रियाकलापले खाद्यान्न उत्पादनको क्षेत्रमा आत्मनिर्भर बन्न गई भोकमरीजस्तो विकराल अवस्थाबाट नागरिक समाजलाई विमुख राख्न कोशेढुंगा साबित हुने देखिन्छ ।

तसर्थः गुणस्तरहीन खाद्य वस्तुको क्षणिक उपभोग गर्नुभन्दा गुणस्तरीय खाद्यान्नको प्रचलनमा बढवा दिनु राम्रो मान्न सकिन्छ । विपरीत अवस्था तयार भए औषधिजन्य समूहको प्रयोगमा ध्यान दिने हुँदा खाद्य सुरक्षाको प्रश्नमा नकारात्मक भावना अभिवृद्धि हुने देखिन्छ । सम्भव भएसम्म कम्तीमा चौबीस घण्टा अगावै खरिद गरेर ल्याएको खाद्यान्नको प्रयोगलाई प्राथमिकता राखी उपभोग गर्ने सस्कृतिको विकासले हाल देखिएको कोरोना संक्रमणको सन्त्रासबाट केही हदसम्म भए पनि आफू र आफ्नो समूहलाई सकुशल राख्न सकिने अवस्था प्रारम्भ हुनेछ ।

त्यसो भएको हुँदा पोषणयुक्त खाद्यान्न नै प्राणी मात्रको जीवन सुरक्षाको मुख्य आधार बिन्दु भएको हुँदा हरेर तवरले पोषण तत्व नष्ट नहुने गरी उत्पादन, उपभोग तथा वितरण प्रणालीलाई व्यवहारतः प्रचलनमा ल्याउनुपर्ने हुन्छ । जसलाई जीवन सुरक्षाको मूलमन्त्र समेत मान्न सकिन्छ । किनकी उपभोक्तासँग पर्याप्त मात्रामा खाद्यान्न प्राप्तिका लागि आवश्यक पर्ने पुँजी रहँदारहँदै पनि यदि समयमा नै पहुँचमा अभिवृद्धि गर्न सकिएन भने संकट निम्तिने निश्चित छ ।

तसर्थ स्थिर एवं प्रभावी खाद्य सुरक्षाका अतिरिक्त उपलब्धता, उपभोग एवं स्थायित्वका साथै कुपोषणरहित खाद्य प्रणालीको वितरण नै सही अर्थमा खाद्य सुरक्षा नीतिको सकारात्मक पक्ष हो । जसलाई अनुगमन, नियमन र नियन्त्रण गर्ने कार्य खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले गर्ने गर्दछ । यस क्षेत्रको प्रमुख दुई अवस्थामा विशेषगरी मानव स्वास्थ्यको दृष्टिकोणबाट हानी नगर्ने तथा उपभोगका लागि योग्य रहेको छ भनी प्रमाणीकरण गरेको भने अवश्य पनि हुनुपर्दछ । जुन मानवीय जीवन सुरक्षाको लागि वरदान साबित हुने देखिन्छ ।

जसको अभावमा नागरिक समाजले भोकमरीजस्तो डरलाग्दो परिस्थितिको सामना गर्नुपर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । जोखिमपूर्ण प्रस्तुत घडीमा आम जनमानषको खाद्य सुरक्षाको क्षेत्रमा पहुँचको अभिवृद्धि गर्ने वातावरण तयार पार्नु राज्यको दायित्व हो । अतः असहज परिवेशमा पनि हुनसक्ने सम्भावित खाद्य सामग्रीको चुस्त दुरुस्त वितरण प्रणाली तयार गरी न्यूनभन्दा न्यून समूहको खाद्यान्नमा पहुचको अभिवृद्धि गर्नु यस क्षेत्रको अब्बल सुरक्षा नीति हो । जसका लागि उचित मात्रामा मलखादको प्रयोगमा जोड दिनुको साथै उत्पादकत्व अभिवृद्धिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने हुन्छ ।

विपरीत अवस्था तयार भई घर–घरमा खाद्यान्न अभाव हुनसक्ने तथ्यलाई आंकलन गर्दै अनावश्यक रूपमा जम्मा गरी राखेको खाद्यान्नले खाद्य सुरक्षाको क्षेत्रमा ऋणात्मक असर देखाउने छ । किनभने एकातिर खाद्यान्नको अभाव रहन गई भोकमरीको अवस्था सामना गर्नुपर्ने परिस्थितिको निर्माण हुन्छ भने अर्कोतर्फ अनधिकृतरूपमा खाद्यान्नको बचत गर्ने प्रवृतिको विकासले न्यून पुँजी भएको समूहमा खाद्य संकट उत्पन्न हुन गई भोकमरी र कुपोषणको स्थिति तयार हुने देखिन्छ । यस देखिनबाहेक अत्यधिक मात्रामा कम पानीको प्रयोगबाट धेरै उत्पादन हुने फसलको प्रयोगमा जोड दिने रणनीतिलाई आत्मसात गर्दै पहुँच वृद्धिको सम्भावनालाई व्यापकीकरण गर्नुपर्ने हुन्छ ।

जसका लागि उत्पादन स्थलबाटै उपभोक्ताले सोझै खरिद गरेर लग्नसक्ने अवस्था तयार गर्दै खाद्य प्रयोगमा मितव्ययी बन्दै बाँकी रहन आएको खाद्यान्नलाई खाद्य अभाव भएको क्षेत्रमा वितरण व्यवस्थापनको लागि आवश्यक पहलकमी गर्ने हो भने उल्लेख्यरूपमा उपलब्धिमूलक नतिजा हासिल गर्न सकिनेछ । यस क्षेत्रको मुख्य चुनौती भनेको वर्षेनी बढ्दै गएको जनसंख्याका चापका आधारमा कसरी खाद्यान्नको पहुँच अभिवृद्धि गर्न सकिन्छ भन्ने कुरा नै मूल चुनौतीको रूपमा रहेको पाइन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया