Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपृथ्वीमा झण्डै आठ अर्ब जनसंख्या

पृथ्वीमा झण्डै आठ अर्ब जनसंख्या


विश्वनाथ खरेल
पृथ्वीको जनसंख्या झण्डै ७ दशमलव ८ अर्ब पुगेको अनुमान छ । मुलुककादुई छिमेकी देशहरू चीन र भारत संसारमा सबैभन्दा बढी जनसंख्या भएका देशहरू हुन् । यी दुई देशमा मात्र कुल विश्व जनसंख्याको दुई तिहाइभन्दा बढी अर्थात् ३६ दशमलव १७ प्रतिशत मानिसहरू बसोबास गर्छन् । छिमेकी देशहरूको तुलनामा नेपालको जनसंख्या निकै नै थोरै अर्थात् १ दशमलव शून्य ६ प्रतिशत रहेको तथ्यांकमा देखिन्छ । छिमेकी देशहरूको दाँजोमा यस्तो देखिए पनि देशमा जनसंख्या वृद्धिदर उच्च रहेकोले नीतिनिर्माताहरूलाई नेपालको बढ्दो जनसंख्याप्रति चिन्ता लाग्नु स्वभाविकै हो ।

प्रत्येक वर्ष जुलाई ११ तारिकलाई विश्व जनसंख्या दिवस मनाइँदै आएको छ । विश्वमा देखा परेका प्रमुख समस्याहरूमा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो छैन । प्राकृतिक स्वरूपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसंख्याको अत्याधिक चाप हो । सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रूपमा जनसंख्या वृद्धि नै हो ।

विश्वमा प्रत्येक २ सेकेण्डमा नौ जना, प्रतिमिनेट पाँच सय ४० जना, प्रतिघण्टा ३२ हजार चार सय, प्रतिदिन ७ लाख ७७ हजार छ सय जना, प्रतिमहिना दुई करोड ३३ लाख २८ हजार र प्रतिवर्ष २७ करोड ९९ लाख ३६ हजार शिशुको जन्म हुन्छ । त्यसरी नै प्रत्येक २ सेकेण्डमा ३ जना, प्रतिमिनेट एक सय ८० जना, प्रतिघण्टा १० हजार आठ सय, प्रतिदिन दुई लाख ५९ हजार दुई सय जना, प्रतिमहिना ७७ लाख ७६ हजार र प्रतिवर्ष नौ करोड ३३ लाख १२ हजार जना शिशुको मृत्यु हुने सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अनुमान छ । यसरी जन्मने र मर्ने शिशुहरूको हिसाबकिताब गर्ने हो भने प्रत्येक २ सेकेण्डमा ६ जना, प्रतिमिनेट तीन सय ६० जना, प्रतिघण्टा २१ हजार छ सय, प्रतिदिन पाँच लाख १८ हजार चार सय जना, प्रतिमहिना एक करोड ५५ लाख ५२ हजार र प्रतिवर्ष १८ करोड ६६ लाख २४ हजार जना शिशुको अनुहार विश्व जनसंख्यामा थपिने अनुमान गरिएको छ ।

जनसंख्याको प्रमुख बोझ विकासशील देशहरूमा परिरहेको छ । विकसित मुलुकहरूमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकहरूमा ८० प्रतिशत जनसंख्या बसोबास गर्दछन् । यसैगरी विश्वको कुल प्रजननदर २ दशमलव ३८ रहेको छ । विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १ दशमलव ५ प्रतिशत मात्र रहेको भए पनि अविकसित देशहरूमा यसको वृद्धिदर दुई प्रतिशतभन्दा बढी भएको हुनाले सन् २०२५ मा ८ अर्ब ३१ करोड र सन् २०५० मा आठ अर्ब ९० करोड मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत रहेको छ ।

जनसंख्या वृद्धिको काहलीलाग्दो चापले अल्पविकसित देशहरूको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशहरूको पंक्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।

देशको जनसंख्या वृद्धिदर नियन्त्रित गर्ने आजसम्मका प्रयासहरू सफल नभएको यो एक उदाहरण हो । आजको विद्यमान जनसंख्यालाई त भरणपोषण गर्न हामी असमर्थ छौं भने अब आउँदा वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण गर्ने साधन र क्षमता हामीसित के रहनेछ ? जनसंख्या नियन्त्रणतर्फ प्रभावकारी नीति निर्देशनको आवश्यकतालाई उपेक्षा गर्नु भयावह समस्यालाई निम्त्याउनु होइन र ? मुलुकको जनसंख्या झण्डै तीन दशकदेखि उच्चगतिमा वृद्धि हुँदै छ । यसको मुख्य कारण हो एकातिर मृत्युदरमा कमी आउनु र अर्कोतिर उच्च प्रजनन दर कायमै रहनु हो ।

विश्वका विभिन्न देशको तुलनामा नेपालको जनसंख्या वृद्धिदर निकै उच्च नै रहेको छ । जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद सुरु हुन थालेको छ, विसं २०५६ सालमा नेपाल सरकारले विद्यालयमा ल्याएको नयाँ पाठ्यक्रमअनुसार जनसंख्या वृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्ये धेरैलाई पढाइएको पनि छ । तर सधैँ जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन, अहिले विश्वका विकसितभन्दा विकसित मुलुकहरूमा जनसंख्या वृद्धि नकारात्मक बिन्दुमा पुगेकाले डरमर्दो अवस्था छ । मान्छेहरू बच्चा जन्माउनभन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो । जनसंख्या थोरै भएमा थोरै स्रोतले पनि गुणस्तरयुक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो ।

नेपालको जनसंख्या वृद्धिदर अझै अतिउच्च नै छ । मुलुकको जनसंख्या वृद्धिदर तीव्र गतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । देशमा प्रत्येक प्रतिघण्टा ६१ जना, प्रतिदिन एक हजार चार सय ६४ जना, प्रतिमहिना ४३ हजार नौ सय २० र प्रतिवर्ष पाँच लाख २७ हजार ४० शिशुको जन्म हुन्छ । त्यसरी नै प्रत्येक घण्टा २६ जना, प्रतिदिन छ सय २४ जना, प्रतिमहिना १८ हजार सात सय २० जना र प्रतिवर्ष २ लाख २४ हजार छ सय ४० जना शिशुको मृत्यु हुने सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अनुमान छ । यसरी जन्मने र मर्ने शिशुहरूको हिसाबकिताब गर्ने हो भने प्रत्येक घण्टा ३५ जना, प्रतिदिन आठ सय ४० जना, प्रतिमहिना २५ हजार दुई सय जना र प्रतिवर्ष तीन लाख दुई हजार चार सय जना शिशुको अनुहार नेपालको जनसंख्यामा थपिने अनुमान गरिएको छ । विसं १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए पनि विसं २००९/११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ ।

विसं २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत रहेको देखिएको थियो । औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नहरूमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि ३ सन्तानप्रति आमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहेमा ३३ वर्षभित्र नेपालको जनसंख्या दोब्बर हुनजाने अनुमान छ । वि.सं. २०५८ सालको जगगणनामा नेपालको कुल जनसंख्या दुई करोड ३१ लाख ५१ हजार चार सय २३ रहेको अनुमान गरिएको थियो ।

देशको पछिल्लो २०६८ को जनगणनाअनुसार दश वर्षको अवधिमा ३३ लाख ४३ हजार जनसंख्या वृद्धि भएको जनाएको छ । यसमा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको छ । पछिल्लो जनगणनाले देशको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको देखिएको छ जसलाई प्रतिशतको आधार भन्ने हो भने शून्य दशमलव ९ प्रतिशत बिन्दु घटेको हो । अहिले देशको जनसंख्या तीन करोडभन्दा बढी भएको अनुमान गरिएको छ । यो पछिल्लो जनगणनाको ९ वर्षको अन्तरालमा ३५ लाख पाँच हजार चार सय ९६ जनाले वृद्धि भएको अनुमान छ । यो वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्ने हो भने १३ दशमलव २३ प्रतिशतले वृद्धि भएको देखिन्छ । यो जनसंख्या छ करोड अर्थात् दोब्बर हुनभने ५२ वर्ष लाग्ने अनुमान छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया