Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआँपको मागभन्दा आपूर्ति न्यून किन ?

आँपको मागभन्दा आपूर्ति न्यून किन ?


विश्वनाथ खरेल
नेपालको विविधतापूर्ण भौगोलिक बनोटले गर्दा यहाँ विविधतायुक्त बाली, बागवानी, पशुपालन तथा वनखेती प्रणाली विशेषताको रूपमा रहिआएको पाइन्छ । हावापानीको दृष्टिकोणले गर्दा यहाँं विभिन्न किसिमका फलफूलहरू उत्पादन भैरहेका छन् । कुल खेती गरिएको भू–भागमध्ये ३ दशमलव ३४ प्रतिशत भाग फलफूल खेतीले ढाकेको छ । आव २०७५/०७६को तथ्यांकअनुसार एक लाख २० हजार २८ हेक्टरमा भैरहेको फलफूल खेतीवाट ११ लाख ७८ हजार तीन सय ५२ मेट्रिक टन फलफूल उत्पादन भएको छ जसको उत्पादकत्व ९ दशमलव ८२ मेट्रिक टन/हेक्टर रहेको थियो ।

आव २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा क्षेत्रफलमा ७ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ भने त्यस्तै गरी उत्पादन ८ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ । उत्पादकत्व भने शून्य दशमलव ९३ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ । फलफूलमा आँप सबैभन्दा राम्रो मानिन्छ । यसले शरीरको लागि आवश्यक तत्व प्रदान गर्दछ । विभिन्न फलफूलमा आ–आफ्नै किसिमको खाद्यतत्वहरू पाइने हुन्छ । यसमध्ये आँप पनि एक हो । देशको भौगोलिक विविधताले गर्दा ठाउँअनुसार विभिन्न जातका आँपहरू लगाउन सकिने अवस्था रहेको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । हाम्रा देशका किसानहरूलाई आँप लगाउन सिकाउने र सरकारी अनुदान दिने हो भने प्रत्येक वर्षको वैशाखदेखि कात्तिकसम्म आँप उत्पादन गर्नसक्ने भौगोलिक वातावरण रहेको पाइन्छ । उदाहरणको लागि सुर्खेतको रामघाटको दशहरी आँप असोजमा खानयोग्य हुन्छ ।

त्यस्तै गरी फलफूललगायत उच्चमूल्यका कृषि उपजहरू विश्वमै तुलनात्मकरूपमा लाभ हुनेगरी उत्पादन गर्नसक्ने हो भने आन्तरिक र बाह्य बजार प्रशस्त पाउन सकिने सम्बन्धित क्षेत्रका विश्लेषकहरूले बताएका छन् । आ.व. २०७४/०७५मा नेपालको कुल आँप क्षेत्रफल भने ४६ हजार सात सय ५३ हेक्टरमध्ये ३६ हजार पाँच सय ४५ हेक्टरमा मात्र आँपको क्षेत्रफल रहेको छ । यसको उत्पादन तीन लाख २८ हजार दुई सय ७९ मेट्रिक टन हुने अनुमान गरिएको छ । यसको उत्पादकत्व दर भने ९ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । प्रतिवर्ष सयदेखि तीन सय हेक्टरमा आँप खेती विस्तार भइरहेको छ ।

नेपालको सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायत जिल्लामा आँपको बढी खेती हुने गरेको पाइन्छ । त्यसमध्ये पुरानो बोटबाट करिब दुई तिहाइ अर्थात करिब एक लाख २२ हजार मे. टन आँप उत्पादन भएको थियो । काठमाडौं उपत्यका, मनाङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट र बाजुरा गरी १० जिल्लाहरूमा आँपको व्यावसायिक रूपमा खेती गरिएको पाइँदैन । बाँकी ६५ जिल्लाहरूमा भने आँपको खेती हुने कृषि तथा पशुपन्छी विकासमन्त्रालयको आँकडाले देखाएको पाइन्छ । मुलुकमा गतवर्षको तुलनामा यसवर्ष आँपको मूल्य वृद्धि भएको छ । आँपको बजारको माग दिनप्रतिदिन बढ्दै गएको छ । तर उपभोक्ताको मागबमोजिमको आपूर्ति कम हुनगएको कारणले गर्दा नै मूल्यवृद्धि भएको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यसमा स्वदेशी आँपको आपूर्तिमा कमी भएको कारणले गर्दा छिमेकी मुलुकहरूबाट आउने आँपको मूल्य बढी हुनेगरेको पाइन्छ ।

यसर्थ स्वदेशमा उत्पादन हुने आँप घट्न थालेपछि भारतीय आँप बजारमा आउन थालेकोले मूल्यवृद्धि भएको हो । गत वर्ष पनि आँपको मूल्य अहिलेकै जसरी घटबढ भएको थियो । स्वदेशमा उत्पादन हुने आँप घट्न थालेपछि भारतीय आँप बजारमा आउन थालेकोले मूल्यवृद्धि भएको हो ।

समग्रमा भन्नुपर्दा सरकारी तथ्यांकअनुसार सबैभन्दा बढी सप्तरी र सिराहा जिल्लामा आँप उत्पादन हुन्छ । सप्तरीमा पाँच हजार हेक्टरबाट ३५ हजार मेट्रिक टन र सिराहामा पाँच हजार हेक्टरबाट २० हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यसपछि महोत्तरी, कपिलवस्तु, धनुषा, सर्लाही र रौतहटलगायतका जिल्लामा आँप धेरै फल्छ । नेपालमा ४६ हजार चार सय ६९ हेक्टरमा आँपखेती हुन्छ । त्यसमध्ये ३८ हजार तीन सय ५२ हेक्टरमा आँपको प्रचुर मात्रामा उत्पादन हुन्छ । बजारमा अहिले वार्षिक २७ लाख ७८ हजार चार सय ७८ मेट्रिक टन आँपको खपत भइरहेको छ । नेपालबाट १२ लाख २३ हजार सात सय ६८ किलो आँप भारतलगायतका मुलुकमा निर्यात समेत भइरहेको छ । गत वर्ष देशको राजधानी सहरको कालिमाटी तरकारी बजार र अन्य बजारमा गरी दैनिक सरदर ४० मेट्रिक टन आँप आएको थियो ।

त्यस्तै गरी गत वर्ष मोटामोटीरूपमा हेर्ने हो भने आठ हजार मेट्रिक टन आँप काठमाडौंमा भित्रिएको थियो । त्यस्तै गरी यस वर्षलाई पनि करिब ८÷१० हजार मेट्रिक टन आँप आवश्यक पर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरूले बताएका छन् । यसको सरदर थोक मूल्य ७० का दरले थोक भाउ राख्दा पनि ६० करोड मूल्यबराबरको हुन आउँछ । आँपलाई अन्य फलफूलको दाँजोमा अति उत्तम मानी राजा फलको रूपमा संज्ञा दिइएको छ । यसबाट मानव शरीरलाई पनि निकै नै फाइदाजनक हुनेहुँदा यस फलफूल सबैलाई मन पर्ने हुन्छ । दिनप्रदिन बढ्दो जनसंख्याको कारणले गर्दा राजधानीमा अहिले दैनिक ५० हजार केजीसम्म आँप भित्रिने गरेको व्यवसायीहरू बताउँछन् । यस मौसममा ७० लाख केजीभन्दा बढी आँप राजधानी भित्रिइसकेको फलफूल तथा तरकारी थोक व्यवसायी संघले जनाएको छ ।

गत वर्ष यो मौसममा ५० लाख ३० हजार सात सय केजी आँप राजधानी आएको थियो । राजधानीको आँपका उपभोक्तहरूले विशेषरूपमा मन पराउने माल्द, कलकत्तीया, किसनभोग, दशहरी, बम्बइलगायत जातको आँपको बिक्री हुनेगरेको छ । यहाँ केही दिनअघिसम्म ६० देखि ६५ रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको आँप हाल आएर ८५ देखि एक सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ । यस वर्ष काठमाडौंको बजारमा १० हजार मेट्रिक टन आँप भित्रिएको व्यवसायीहरूको अनुमान रहेको छ । अहिले बजारमा तराई र भारतीय आँप आउन सुरु गरेको छ र केही दिनपछि गएर विभिन्न पहाडी भेगमा फलेका आँपहरू पनि राजधानीमा आउँदा मूल्यमा धेरै नै वृद्धि हुने व्यवसायीहरू बताउँछन् । यस वर्षको आँपको मुख्य सिजन पनि यही नै हो ।

आँपको आपूर्तिभन्दा माग बढी भएको कारणले गर्दा बजारमा आँपको आपूर्तिमा कमी आएको हो । यसकारणले गर्दा आँपको मूल्य पनि दिनहुँ आकासिँदै गएको छ । हाम्रो देशमा कृषि विकासको जिम्मा लिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वदेशमा नै आँपमा आत्मनिर्भर हुने हो भने तराईका २० जिल्लाहरूलाई पकेट आँपको खेती विस्तार गर्नुपर्ने हुन्छ । त्यसको लागि सरकारले आवश्यक पर्ने बेर्ना, बीउ, मल, सिँचाइ, प्राविधिक सहयोग, ऋण, उन्नत औजारहरूको व्यवस्था गर्नुपर्ने एकातिर छ भने अर्कोतिर मुलुकका सानाखाले कृषकहरूको व्यवसायमा पनि वृद्धि भई रोजगारीको अवसर प्राप्त हुने कुरामा कसैको पनि दुईमत नहोला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया