Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगधानको उत्पादन र रोपाइँ

धानको उत्पादन र रोपाइँ


विश्वनाथ खरेल
विश्वभर आर्थिक वर्ष २०७५/७६, २०७४/७५ र २०७३/७४ मा चामल उत्पादन क्रमशः चार सय ८८ मिलियन टन, चार सय ८५ मिलियन टन र चार सय ८४ मिलियन टन उत्पादन भएको विभिन्न माध्यमबाट जानकारी भएको छ । धानको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपत एसियाली देशहरूमा हुने भएकोले धानले एसियालीहरूलाई एक स्थानमा ल्याउन सेतुको काम पनि गर्दछ ।

विश्वभरको अवस्था हेर्ने हो भने आधा जति जनसंख्या यानी तीन अर्ब ५० करोड जति मानिसको मुख्य खाद्यान्न चामल नै हो । विश्वको जनसंख्या सन् २०५० सम्म नौ अर्ब पुग्ने र उनीहरूका लागि हालको भन्दा ७० प्रतिशतले खाद्यान्न उत्पादन वृद्धि गर्नुपर्ने हुन्छ । यसको साथै जलवायु परिवर्तनले गर्दा अर्को समस्या एवं चुनौती थपिएको छ । हाम्रो देशको कुरा गर्ने हो भने असार महिना मानो रोपेर मुरी फलाउने मौसम हो । यो वर्ष १३ लाख ७१ हजार हेक्टरमा रोपाइँ हुने अनुमान छ  । त्यसमध्ये १२ लाख ५७ हजार हेक्टरमा रोपाइँ सकिएको छ । मूलतः समयमै भएको वर्षाका कारण देशभर रोपाइँ सकिन लागेको छ ।

गत ६ साउनसम्म देशभर ९१ दशमलव ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ मा सबैभन्दा धेरै ९६ दशमलव ७७ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, प्रदेश १ मा ८२ दशमलव ४१ प्रतिशत रोपाइँ सकिएको छ । उत्पादनका हिसाबले प्रदेश १ र २ सबैभन्दा उर्वर मानिन्छ । साउन ६ गतेसम्म ९१ प्रतिशत रोपाइँ भएको छ अर्थात् एक हप्तामा १० प्रतिशत मात्र रोपाइँ भएको छ तर गत वर्षको यसै अवधिभन्दा यो वर्षको रोपाइँ धेरै भएको छ । गत वर्ष यति बेलासम्म ६३ दशमलव ७९ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

तराईका अधिकांश समथल भू–भाग डुबानमा परेका छन्, त्यसमध्ये धेरै ठाउँमा रोपाइँ भइसकेको थियो, रोपिसकेको ठाउँमा बाढीले क्षति पु-याएको छ । क्षति पु-याएको ठाउँमा पुनः रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ । बाढीका कारण प्रदेश २ मा मात्र ८६ हजार हेक्टरमा लगाइएको धानलगायतका बाली नष्ट भएको छ । अन्य जिल्लाको अवस्था पनि त्यस्तै छ । प्रदेश २ का सम्बन्धित क्षेत्रका विज्ञका अनुसार रोपाइँ भइसकेको ठाउँमा १० देखि २० प्रतिशत पुनः रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ ।

बाढीले कृषि क्षेत्रमा पु-याएको क्षतिको विवरण सङ्घको कृषि मन्त्रालयलाई पठाउने र क्षतिबारे सङ्घीय सरकारले केही नगरे प्रदेशबाट नै पीडित किसानका लागि केही सहयोग गर्ने जानकारी छ । यद्यपि प्रदेश २ मा गत साउन ६ गतेसम्म ९४ दशमलव १७ प्रतिशत रोपाइँ भइसकेको छ जब कि असार ३१ गतेसम्म ८३ दशमलव ४१ प्रतिशत रोपाइँ मात्र भएको थियो । डुबान नभएको ठाउँमा अझै रोपाइँ भइरहेको कृषि मन्त्रालयले जनाएको छ । प्रदेश १ मा असार ३१ गतेसम्म ६९ दशमलव ९१ प्रतिशत रोपाइँ मात्र भएको थियो भने साउन ६ गतेसम्म ८२ दशमलव ४१ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै, वाग्मती प्रदेशमा असार ३१ गतेसम्म ७२ दशमलव १० प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ८२ दशमलव २२ प्रतिशत रोपाइँ भएको छ ।

गण्डकी प्रदेशमा ९१ दशमलव ११ प्रतिशत, प्रदेश ५ मा ९५ दशमलव १४ प्रतिशत रोपाइँ भइसकेको छ । कर्णाली प्रदेश ९६ दशमलव २३ प्रतिशत र सुदूूरपश्चिम प्रदेशमा ९५ दशमलव ४९ प्रतिशत रोपाइँ भइसकेको छ । बाढीका कारण देशैभर बालीनालीमा पुगेको क्षतिको विवरण कृषि मन्त्रालयले संकलन गरिरहेको छ । देशैभरको तथ्यांक आइसकेपछि क्षतिको बारेमा के गर्न सकिन्छ भन्ने निर्णय गरिनेछ । बाढीका कारण गण्डकी प्रदेशमा एक हजार ८२ हेक्टरमा लगाइएको धान, मकै, कोदो नष्ट भएको छ भने तीन सय कुखुरा साथै ९२ वटा पशु नष्ट भएको सङ्घका कृषि मन्त्रालयले जनाएको छ ।

प्रदेश ५ मा एक सय ५७ हेक्टरमा पहिरो गएको छ भने तीन सय कुखुरा र ९९ वटा पशु नष्ट भएको बताइएको छ । कर्णाली प्रदेशमा १० हेक्टर जमिनमा लगाइएको धान, मकै, कोदोमा क्षति पुगेको छ भने पाँचवटा गाई पनि मरेको बताइएको छ । सुदुरपश्चिम प्रदेशमा तीन सयवटा ब्रोइलर कुखुरा नष्ट भएका छन् । आर्थिक दृष्टिकोणले भन्ने हो भने नेपालमा धान उत्पादन एकखर्ब रूपैयाँभन्दा बढिको हुने गर्दछ । धान उत्पादन १० प्रतिशतले वृद्धि हुँदा कुल गर्हस्थ्य उत्पादन १ प्रतिशतले बढ्ने देखिन्छ । त्यसै गरी चालू आर्थिक वर्षमा करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्नेमा ३४ लाख मेट्रिक टन स्वदेशमै उत्पादिन धानबाट प्राप्त हुने र छ लाख मेट्रिक टन अपुग हुने देखिएको छ । वार्षिक करिब एक खर्व ५० अर्ब रकम बराबरको धान तथा धानका सहायक उत्पादन हुने गरेको छ भने चामल आयातका लागि ३१ अर्ब रकम बाहिरिने गरेको तथ्यांक छ ।

मनसुन समयमा नै हुँदा धान रोपाइँ सकिन लाग्यो । समयमै भएको वर्षाका कारण देशभर रोपाइँ सकिन लागेको छ । गत ६ साउनसम्म देशभर ९१ दशमलव ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । त्यसले प्रत्यक्ष उत्पादनमा असर पर्छ । सिँचाइ, मल, बीउ बर्सेनि समस्या हो । बजारमा मलको पनि अभाव छ । हाल कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । जसमध्ये धानको मात्रै करिब ७ प्रतिशत छ ।

समष्टिरूपमा भन्नुपर्दा मुलुकभर समयमा वर्षात् राम्रो भएको हुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ करिब सकिन लागेको छ । धान देशको प्रमुख खाद्य बाली हो । गत वर्ष ५० लाखभन्दा मेट्रिक टन बढी धान फलेको थियो । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था हुँदा धान उत्पादन वृद्धि भएको थियो ।

सरकारले चामललगायत खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । धान उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विशेष पकेट क्षेत्र बनाइएको छ । मन्त्रालयले धान उत्पादन बढाउन खडेरी र धेरै पानी परेर डुबान हुने नयाँ जातका धान लगाउन प्रोत्साहित गर्दै आएको छ ।

देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनिय छ । हाम्रो देशमा कृषि परापूर्व कालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेशाको रूपमा रहिआएको छ । विश्व अर्थतन्त्रमा अरु क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ ।

देशको अर्थतन्त्रमा कृषि क्षेत्रले ओगटेको छ । मुलुकमा युवा जनशक्ति विदेशिनु, जमीनमा हुने खण्डीकरण, समयमै कृषकलाई बीउबिजन तथा रासायनिक मलको व्यवस्थापनमा देखिएको समस्या र चुनौतीका कारण उत्पादनमा समेत असर परेको छ । यसरी खाद्य सुरक्षाका लागि धानको उत्पादकत्व वृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने, नीति निर्माण तह कृषकमैत्री हुनुपर्ने, वैज्ञानिक भण्डारणको व्यवस्था हुनुपर्ने र उपभोक्ता बजार मूल्य र किसानले पाउने मूल्य न्यायोचित हुनुपर्ने देखिन्छ । प्रत्येक वर्ष किसानले भोग्नुुपरेको बजार भाउ समस्या तथा कृषि क्षेत्रको समग्र विकासमा केन्द्रित रहेर मन्त्रालयले हालै ५८ बुँदे मागर्चित्र अघि सारेको छ । आगामी ५ वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने सरकारको लक्ष्यबमोजिम मन्त्रालयले स्पष्ट र प्रभावकारी कार्ययोजना बनाएर अघि बढेको जनाएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया