Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमृद्धिमा कोरोना कहर

समृद्धिमा कोरोना कहर


प्रदीप उप्रेती
नेपाललगायत विश्वका अधिकांश मुलुकले कहालीलाग्दो आर्थिक मन्दीजन्य परीस्थितिको सामना गर्नुपर्ने हुन्छ । जसलाई निश्चितरूपमा कोरोना कहरको प्रभावले निम्त्याएको ऋणात्मक असरको भयावय रूप मान्न सकिन्छ । किनकि आजको विश्व सूचना—प्रविधि एवं हवाइ सेवा प्रदायको विकासबाट आर्थिक क्षेत्रको एउटै छाताभित्र समाहित रहँदै आएको छ । जसका कारण विश्वका कुनै एक स्थानमा भएको आर्थिक विचलनको नकारात्मक असर अन्य स्थानहरूमा सहजै स्थानान्तरण हुने बलियो सम्भावना जीवन्त रहन्छ । प्रस्तुत आर्थिकजन्य व्यवहारमा नेपाल किमार्थ अछुतो रहन सक्दैन ।

नकारात्मक प्रभावका कारण हाल कायम रहनआएको ८ दशमलव ५ प्रतिशतको वार्षिक वृद्धिदरमा संकुचन आई क्रमशः १ दशमल ५ देखि २ दशमलव ८ मा रहनसक्ने आर्थिक क्षेत्रका जानकारको बुझाइमा रहेको पाइन्छ । खुम्चिँदै गएको आर्थिक वृद्धिदरलाई माथि उठाउँदै आम नेपाली जनभावनाको चाहनाअनुरूपको समृद्धिलाई आर्थिक विकासको माध्यमले सिञ्चित गर्दै प्राप्त हुनआउने समृद्धिको प्रतिफलमा रूपान्तरण गर्नुपर्ने हुन्छ ।

यसप्रकारका व्यवहारले संकटग्रस्त आर्थिक परिस्थितिको पुनरुत्थानको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । प्रस्तुत सक्रंमणजन्य प्रभावका कारण विस्थापित हुन सक्ने राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त तुल्याउनु पर्ने जिम्मेवारी आम नागरिक समाजलगायतका सरोकारवाला पक्षको काँधमा आएको वर्तमान अवस्था हो ।

त्यसो भएको हुँदा प्रकोप न्यूनीकरणका अब्बल उपायहरू अवलम्बन गर्दै सुरक्षित रहनु नै यसबाट बच्ने उपायहरू हुन् । जसको प्रभाव मानव स्वास्थ्यमा मात्र सीमित नरही सामाजिक जीवनको महत्वपूर्ण पक्षको रूपमा रहेको आर्थिक पक्षलाई पनि घोषित अघोषितरूपमा धराशायी बनाउन उद्यत रहन गएको देखिन्छ । तसर्थ नागरिक समाजले अनुशासित एवं संयमित रहँदै बुद्धिमतापूर्ण व्यवहार दर्शाउन सके प्रकोप न्यूनीकरणको क्षेत्रमा राहतको अनुभूति प्राप्त हुनेछ ।

कोभिड १९ को गम्भीर नकारात्मक असर क्रमशः नेपाली अर्थतन्त्रमा पनि विस्तारै पर्नलागेको महसुस हुनगएको छ । परीणामत होटल, रेष्टुरेण्टका, अतिरिक्त निमार्ण व्यवसायी, उत्पादनमूलक औद्योगिक समूह, वैदेशिक व्यापार तथा रोजगार क्षेत्र, लामो—छोटो दूरीका यातायात व्यवसायी वर्गलगायतका अन्य वर्ग समेत विस्तारै चपेटामा पर्नथालेका छन् । जसले केही हदसम्म वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतको रूपमा रहेको विप्रेषणको क्षेत्रमा संकुचित अवस्था प्रारम्भ गर्नेछ ।

प्रस्तुत तथ्यले के इंगित गर्छ भने, मुलुकको अर्थव्यवस्थालाई आक्रान्त तुल्याउँदै वैदेशिक रोजगारको क्षेत्रबाट स्वदेश भित्रिने लाखौँ युवागणका लागि आवश्यक पर्ने रोजगार तथा स्वरोजगारको अभिवृद्धि हुन नसकी सम्भावित बेरोजगारीको भयावह समस्यासँंग जुध्न रणनीतिक योजना लागू गर्न अब धेरै ढिलो गर्न हुँदैन । जसको सकारात्मक नतिजा भन्नु नै वैदेशिक समूहबाट भित्रिनेहरूको कामको उचित मूल्यांकन गर्दै सेवा विस्तारको क्षेत्रमा लाग्ने प्रतिबद्धता जनाउने हो भने, राष्ट्रिय अर्थतन्त्रमा न्यून रूपमा भए पनि टेवा पुग्ने देखिन्छ ।

तसर्थः आज कायम रहेको विषम परिस्थितिका बाबजुत पनि सम्भावित राष्ट्रिय अर्थतन्त्रमा पर्नसक्ने कोभिडमय जालोबाट मुलुक एवं नागरिक समाजलाई मुक्त गराई सम्पूर्ण आर्थिकजन्य कारोबार गर्ने क्षेत्रलाई टेवा पुगोस् भन्ने उद्देश्यका साथ नेपाललगायत विश्वको ध्यान केन्द्रित हुन पुगेको छ । यही त्यो कारक तत्व हो जसले चालू रहेको बन्दाबन्दीपूर्ण अवस्थालाई क्रमशः खुकुलो बनाउँदै नागरिक समाजलगायत मुलुकको अर्थतन्त्रलाई न्यून रूपमा नै भए पनि राहत प्रदान गर्ने चेष्टा गरिएको छ ।

खुला अर्थनीतिको कारण आर्थिक विकास र रोजगारीको सम्भावना भएको क्षेत्र पहिचान गर्दै आर्थिक सवलीकरणका माध्यमबाट पुनर्ताजगीको खातिर हरेक तह र तप्कालाई सहयोगका लागि आह्वान गर्नु समयको माग हो । नेपालीजनको आकांक्षाअनुरूपको समृद्धिको चाहनालाई मूर्तरूप दिन मुलुकका औद्योगिक समूह पूर्णकालीन अवस्थामा सञ्चालनमा ल्याउनुको साथै उपरोक्त प्रतिष्ठानहरूबाट उत्पादित उत्पादनका साधनलाई बढ्वा दिँदै गतिशीलता प्रदान गर्नुपर्ने हुन्छ ।

विपरीत अवस्था कायम रहे निर्यातजन्य वस्तु तथा सेवाको उत्पादन क्षमतामा प्रतिकूल असर पर्नगई आयात एवं निर्यातमा गतिरोध उत्पन्न हुने देखिन्छ । जसले आयातित कच्चा पदार्थको क्षेत्रमा न्यूनता छाएको कारण निर्यातजन्य वस्तु उत्पादनमा ह्रास आउनेछ । यस प्रकारका गतिविधिको अत्यधिकताले एकातिर उत्पादनको क्षेत्रमा अनपेक्षित वातावरण तयार भई औद्योगिक समय बर्बाद हुनुको साथै बढदो श्रम बेरोजगारीको कारण संकट उत्पन्न हुने निश्चित छ ।

परिणामतः निर्यातजन्य सामानको उत्पादनमा प्रतिकूल असर पर्नगई निर्यात क्रमशः प्रस्तिथापन हुनुको साथै आयातित वस्तु तथा सेवाले प्रोत्साहन पाउने देखिन्छ । प्रस्तुत अवस्था उत्पन्न हुनु भनेको औद्योगिकीकरणमा ऋणात्मकता छाउनु हो । आर्थिक विकासका माध्यमबाट औद्योगिक उत्पादकत्वको अभिवृद्धि गर्दै समृद्धिको चाहना राख्ने नेपालजस्तो निरन्तर विकासको पथलाई पछ्याई रहेको मुलुकमा समृद्धिको आकांक्षामा उल्टो असर पर्नगई रोजगार र श्रमक्षेत्र उठ्नै नसक्ने गरी भासिन सक्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसपछि ऋणात्मक रहेको अर्थतन्त्रलाई चलाएमान बनाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ ।

जसका लागि आर्थिक पक्षलाई क्रमशः सुधार गर्दै उत्कृष्ट कार्यस्थलको रूपमा औद्योगिक समूहलाई विकास गर्नुपर्ने हुन्छ । जसले क्षमतावान् श्रमलाई कार्यक्षेत्रमा समाहित गर्न गुरुयोजनाको खाका तयार पार्नु पर्नेछ । तदुपरान्त दैनिक आयस्रोतमा वृद्धि तथा रोजगार सुरक्षाको सुनिश्चितताको कारण श्रमिकको श्रममा मोह जाग्ने अवस्था तयार हुनेछ । जसले उत्पादकत्वमा अभिवृद्धि गराई ग्राहकको चाहनामुताबिकको आवश्यकतालाई पूर्ति गराउँदै व्यापार अभिवृद्धिको असीमित अवसर प्राप्त हुने कुरालाई अन्यथा लिन मिल्दैन ।

उक्त कार्यलाई पूर्णरूपले सफल एवं सबल बनाउन नौलो एवं अत्यावश्कीय वस्तुको उत्पादनमा उच्च महत्वाआक्षायूक्त सेवाभावले मात्र आजको प्रतिस्पर्धी युगका औद्योगिक समूहलाई आत्मनिर्भर बन्नसक्ने अवस्था प्रारम्भ हुनेछ । जुन नागरिक समाजको क्रयशक्तिको उचित मूल्यांकनको आधारमा निर्धारण गर्दै सोहीअनुरूपको वस्तु तथा सेवाको उत्पादनमा जोड दिनुपर्ने हुन्छ ।

पुरातन औद्योगिक मूल्य एवं मान्यतालाई कोभिड १९ को सन्त्रासपश्चात् विश्वका अधिकांश औद्योगिक राष्ट्रहरूले सुरक्षात्मक रणनीतिलाई पूर्णतया पालना गर्दै व्यवहारमा उतार्न पुनर्विचार गर्नुपर्ने हुन्छ । परम्परागत औद्योगिक धारणाको स्वरूप परिवर्तन नै नयाँ औद्योगिक सोचको अभ्युदय हो । जसले औद्योगिक समूहलाई नयाँ मार्गमा हिँड्न प्रोत्साहित गर्नेछ ।

आजको विश्व बजारीकरणको ढाँचा यति साँघुरिएको छ कि त्यसको प्रभावबाट नेपाल पनि अलग रहन सक्दैन । किनकि व्यापार तथा सञ्चारको क्षेत्रमा आएको असीमित प्रगतिका कारण विश्वको कुनै एक स्थानमा भएकोे आर्थिक निराशाजन्य अप्रत्यारिलो असरको प्रभाव नेपाली अर्थतन्त्रमा पर्न सक्दैन भन्ने कुराको ग्यारेण्टी कसले प्रदान गर्न सक्छ । त्यसो भएको हुँदा व्यवसाय सञ्चालनको क्षेत्रमा सदैव सुरक्षाका रणनीतिलाई आत्मसाथ गर्दै सोहीअनुरूपको व्यवहार परिवर्तनको चाहनाले मात्र कोरोना कहरमा पनि समृद्धिको चाहनालाई पूरा गर्न सकिने अवसर प्राप्त हुने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया