Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली चलचित्रमा आफन्तको लागि लगानी गर्नेहरू

नेपाली चलचित्रमा आफन्तको लागि लगानी गर्नेहरू


नरेन्द्रमान श्रेष्ठ
२०७६ सालमा प्रदर्शन भएका खस भाषाका चलचित्रहरूले राम्रो व्यापार गर्न सकेनन् । २०७६ सालमा ५६ वटाको हाराहरीमा कलिउडका चलचित्रहरू प्रदर्शन भएको थियो भने १ दर्जनजति चलचित्रहरूले मात्र आफ्नो लगानी उठाउन सकेको र आधा दर्जनजति चलचित्रहरूले मात्र नाफा कमाउन सकेको सरोकारवालाहरू बताउँछन् । तर पनि वर्षको अन्तिममा कोरोनाको कहर र लकडाउनले पनि चलचित्र क्षेत्रलाई असर पारे । तर पनि व्यापारको हिसाबले २०७६ साल पनि चलचित्र क्षेत्रका लागि असफल साल नै साबित भयो । तर पनि चलचित्र निर्माण गर्नेहरूको कमी भने छैन । देशका वरिष्ठ भनिने पत्रकारहरू पनि चलचित्र निर्माण निर्देशनमा लागेका छन् ।

यसमा टेलिभिजन च्यानलमा सबभन्दा बढी अन्तर्वार्ता लिने भनेर भन्नेगरेका सञ्चारकर्मी वरिष्ठ पत्रकार ऋषि धमला पनि चलचित्र निर्मातामा परेका छन् । पत्रकार धमलाले आफ्नी पत्नीलाई चलचित्रकी नायिका बनाउन चलचित्रमा लगानी गरी निर्माता भएका थिए । पत्रकार धमलाले आफ्नी पत्नी एलिजा गौतम धमलालाई नायिका बनाउन चलचित्र ‘अनुराग’को निर्माण गरेको थियो तर चलचित्र व्यापारको हिसाबले चित खायो । चलचित्रले राम्रो व्यापार गर्न सकेन । चलचित्र नराम्रोसँग असफल भए । अब फेरि पत्रकार धमलाले आफ्नी पत्नी एलिजालाई नायिकामा निरन्तरता दिलाउनको लागि चलचित्रको निर्माण गर्लान् ? जनता जान्न चाहन्छ ।

त्यसो त आफन्तको लागि चलचित्रमा लगानी गर्ने पत्रकार धमला मात्र होइनन् । कलिउडमा थुप्रै कलाकर्मीहरू छन् । आफन्तहरूको लागि चलचित्रमा लगानी गर्नेहरू । पछिल्लो समयमा देशमा चलचित्रको निर्माण गर्ने बढिरहेका छन् । पछिल्लो समयमा नेपालमा वर्षमा एक सयको हाराहारीमा खस भाषाका चलचित्रहरू निर्माण भइरहेका छन् त्यसैगरी अरु विभिन्न आदिवासी जनजातिका मातृभाषामा पनि थुप्रै चलचित्रहरू निर्माण हुने गरेका छन् । त्यसो त चलचित्र क्षेत्रलाई उद्योर र व्यापार व्यवसायको रूपमा लिने गरिन्छ । तर पनि कतिपयले चलचित्र निर्माणलाई रहर र शौखको रूपमा पनि लिने गरेको पाइन्छ भने कतिपयले आफन्तलाई कलाकार बनाउन, नायक नायिका बनाउन, निर्देशक बनाउन, चलचित्रमा प्रवेश गराउनको लागि पनि लगानी गरी चलचित्र बनाउने प्रवृत्ति बढ्दै गएको छ भन्दा पनि फरक नपर्ला ।

नेपाली चलचित्र क्षेत्रमा यस्ता धेरै निर्माताहरू छन् । विगतका ४ दशकका चर्चित नायक भुवन केसीले पनि आफ्नी पत्नी सुस्मिता केसीलाई नायिका बनाउन चलचित्रमा लगानी गरी चलचित्र निर्माण गरेका थिए । नायक भुवन केसीले चलचित्र ‘करोडपति’ निर्माण गरी आफ्नी पत्नी सुस्मिता केसीलाई नायिकामा डेब्यु गरेका थिए । त्यसो त नायिका सुस्मिता केसी आफ्नो होम प्रडक्सनको चलचित्रमा मात्र अभिनय गर्ने नायिका भनेर पनि त्यसबेला चर्चा चल्ने गरेको थियो ।

विगतका चार दशकको लोकप्रिय एक्सन नायकको रूपमा चर्चित नायक शिव श्रेष्ठले पनि आफ्नो छोरालाई नायक बनाउनको लागि चलचित्र निर्माण गरे । नायक शिव श्रेष्ठले अफ्ना छोरा शक्ति श्रेष्ठलाई नायक बनाउन चलचित्रमा लगानी गरेका थिए । तर चलचित्रको भने अत्तोपत्तो छैन । चलचित्र बीचमा नै रोकिएको छ भन्ने पनि सुन्नमा आएको छ । त्यसैगरी विगतकी चर्चित नायिका, निर्माता, निर्देशक झरणा थापाले पनि आफ्नी छोरी सुहाना थापालाई नायिका बनाउन चलचित्र ‘ए मेरो हजर ३’ को निर्माण गरेकी छिन् । त्यसैगरी हास्य कलाकार टेलिभिजनमा ‘रातामकै’ उपनामले चर्चित कलाकार किरण केसीले पनि आफ्नो छोरा सुदन केसीलाई निर्देशक बनाउन चलचित्र ‘दाल भात तरकारी’को निर्माण गरे । तर चलचित्र चलेन ।

त्यसैगरी विगतका खलनायक निर्माता निर्देशक अशोक शर्माले पनि आफ्नो छोरा अंकित शर्मालाई नायक बनाउन चलचित्र ‘रातो टिका निधारमा’को निर्माण गरेका छन् । त्यसो त नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउड र हलिउडमा पनि चलचित्र क्षेत्र नातावादमा नै चलेको छ भन्दा फरक नपर्ला । चलचित्र क्षेत्रलाई नातावादले जरा गाडेको छ भन्दा पनि हुन्छ ।

पछिल्लो समयमा मात्र नभई विगतमा पनि अघिल्लो समयमा पनि आफन्तका लागि चलचित्रमा लगानी नगरेको होइन । विगत चालिसको दशकमा नै आफ्नो छोरा विजय लामालाई नायक बनाउन हेम लामाले चलचित्र ‘आदर्श नारी’ निर्माण तथा निर्देशन गरेका थिए । त्यसबेला नायक विजय लामालाई बाबुले बनाएको चलचित्रमा नायक भएको भनेर भन्ने गरिन्थ्यो । नेपाली चलचित्र निर्माण भएको पनि ५ दशक भइसक्यो अहिलेसम्म पनि यस्तै प्रवृत्तिले निरन्तरता पाइरहेका छन् ।

नेपाली चलचित्रमा आफन्तले चलचित्रमा प्रवेश गराएका थुप्रै कलाकारहरू क्षेत्रमा छन् । नेपाली चलचित्र क्षेत्रमा २ दशकसम्म एकछत्र राज गरेका नायक राजेश हमाललाई पनि चलचित्र निर्देशक मामा स्वर्गीय दीपक रायमाझीले चलचित्रमा नायक बनाएका थिए । चलचित्र ‘युगदेखि युगसम्म’मा राजेश हमाललाई नायकमा डेब्यु गरिएको थियो । त्यसैगरी स्व. दीपक रायमाझीले नै अर्का आफ्नो भान्जा किरणप्रताप केसीलाई चलचित्र ‘प्रियसी’मा नायकमा डेब्यु गरेका थिए तर नायक किरणप्रताप केसी भने चलचित्रमा सफल हुन सकेनन् ।

नायक गजित विष्टले पनि आफ्नो ८ वर्षको छोरा सौगाद विष्टलाई निर्देशक बनाउन चलचित्र निर्माण गरेका थिए । त्यसैगरी आफ्नो भतिजा आर्यन अधिकारीलाई नायक बनाउन निर्देशक आकाश अधिकारीले चलचित्र निर्माण र निर्देशन गरेका थिए भने विगतमा थुप्रै चलचित्र निर्माण गरिसकेका निर्माता शेखर कोइरालाले पनि आफ्नो छोरा संयोग कोइरालालाई चलचित्रको नायकमा डेब्यु गरेका थिए । त्यसो त कतिपयले त आफू नायक बन्नको लागि आफैंले लगानी गरी चलचित्रमा नायक भएकाहरू प्नि नभएको होइन नेपाली चलचित्र क्षेत्रमा ।

विगतमा आफ्नी छोरीलाई नायिका बनाउन स्व. शुसिला रायमाझीले खलनायक पवन मैनालीसँग मिलेर चलचित्र निर्माण गरेकी थिइन् । अभिनेत्री स्व. शुसिला रायमाझीले चलचित्र ‘पिञ्जरा’मा आफ्नी छोरी प्रसिद्धीका रायमाझीलाई नायिकामा डेब्यु गरेकी थिइन् । तर नायिका प्रसिद्धिका रायमाझीले पिञ्जरापछि चलचित्र धनवानमा नायिका भएर अभिनय गरेपछि चलचित्र क्षेत्रबाट नै हराइन् । आफन्तले निर्माण गरेको चलचित्रमा अभिनय गरेका र आफन्तले लगानी गरी चलचित्रमा प्रवेश पाएका धेरैजसो कलाकारहरूले चलचित्रमा निरन्तरता भने दिन सकेन ।

यस्ता धेरैजसो कलाकारहरू एक २ चलचित्रमा मात्रै सीमित भए आफन्तले चलचित्रमा कलाकार बनाएका कलाकारहरूमा चलचित्र ‘कस्तुरी’का नायक अजय शेखर चलचित्र ‘आँधीबेरी’का नायक विनोद खरेल, चलचित्र ‘सोह्र वर्षे जोवन’ की नायिका ईश्वरी प्रधान, चलचित्र ‘सकली नकली’की नायिका नुतन प्रधान, चलचित्र ‘लाहुरे’का नायक श्रवण घिमिरे, चलचित्र ‘समय’का नायक बिकी मल्ल, चलचित्र ‘नोथिङ इम्पोसिबल’का नायक जर्जी खड्गी, चलचित्र ‘के भो लौन नि’ की नायिका अनुपमा प्रसाईँ कोइराला, चलचित्र ‘टिचरकी’ नायिका सलिना बस्नेत, चलचित्र सो ‘सिम्पल’की नायिका भावना रेग्मी आदि थुप्रै कलाकारहरूले चलचित्रमा निरन्तरता दिन सकेनन् चलचित्र क्षेत्रमा स्थापित हुन सकेन एक २ चलचित्रपछि कता हराए कता हराए ।

नेपालमा मात्र नभई चलचित्रको ससारमा नै नातावादले जरा गाडेको छ भन्दा पनि फरक नपर्ला । चलचित्र क्षेत्रमा आफन्त हुनेहरूले सजिलै चलचित्रमा प्रवेश पाउन सकिन्छ । चलचित्र निर्माण निर्देशन गरिरहेका आफन्त हुनेहरूको लागि चलचित्रमा प्रवेश गर्न त्यति गाह्रो छैन । तर चलचित्र क्षेत्रमा आफन्त नहुनेहरूको लागि भने आफूसँग प्रतिभा, सुन्दरता, अभिनय क्षमता, तालिम भए पनि चलचित्रमा प्रवेश गर्नको लागि सघर्ष गर्नुपर्ने हुन्छ ।

यसकारणले पनि होला चलचित्रमा प्रवेश गर्नको लागि आफैँले लगानी गर्नेगरेको होला त्यसो त चलचित्रमा आफन्तहरू नहुने र चलचित्रमा लगानी गर्न नसकिनेहरूको लागि त चलचित्रमा नायिका बन्नको लागि निर्माता निर्देशकहरूसँग सम्झौता गर्नुपर्छ भनेर पनि चलचित्रको क्षेत्रमा चर्चा हुने गरेका छन् यस्तो चर्चा कलिउडमा मात्र नभई बलिउड हलिउडमा पनि हुनेगरेका छन् । चलचित्रको संसारमा नै यस्तो हुनेगरेको बताउँछन् सरोकारवालाहरू ।

त्यसो त सबै जसो नवप्रवेशी नायिकाहरूले आफू चलचित्रमा नायिका बन्नको लागि अडिसन दिएर पास गरेरै नायिका बनेको भनेर मिडियाहरूमा गफ दिन्छन् । त्यसो त नेपालमा चलचित्र क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा नातावाद कायमै छ छन् । भन्नुपर्दा चलचित्र क्षेत्रमा र राजनीतिमा नातावादले जरा नै गाडेका छन् । राजनीतिमा पनि नेताहरू आफ्ना पत्नी, छोरा, छोरी, भाइ, बुहारी, ज्वाइँ, साला, साली सबैलाई मन्त्री, सांसद, मेयर बनाउनपट्टि लागेका हुन्छन् ।

त्यसो त चलचित्र क्षेत्रमा आफन्त हुनेहरूले त्यसको लाभ लिन नहुने आफन्तलाई कलाकार बनाउन चलचित्रमा लगानी गर्न हुँदैन र लगानी गरी कलाकार बन्नहुन्न भन्ने पनि छैन । तर पनि पनि चलचित्रमा कलाकार बन्नको लागि आधारभूत तालिम, प्रतिभा, सुन्दरता, अभिनय क्षमताको पनि आवश्यक पर्दछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया